संकटमा म्यान्मारको सैन्य सत्ता

गत केही हप्ता यता म्यान्मारका जनजाति विद्रोही समुहहरुको गठबन्धनको आक्रमणमा सरकारी सेनाले नराम्रो हार व्यहोर्नु परेको छ। विभिन्न जनजाति समुहहरुको गठबन्धन ब्रदरहुड एलायन्सले सुरु गरेको अप्रेसन १०२७ को क्रममा म्यान्मारको राष्ट्रिय सेनाले हार व्यहोर्नु परेको हो।

ब्रदरहुड एलायन्समा म्यान्मार नेसनल डेमोक्र्याटिक डिफेन्स आर्मी (एमएनडिएए), तांग नेसनल लिबरेसन आर्मी (टिएनएलए) र आराकान आर्मी (एए ) समावेश छन्। दुई हप्ता यता म्यान्मार सरकारका सय वटा जति सैनिक चौकीहरु विद्रोही समुहहरुले कब्जा गरिसकेका छन्। यो आक्रमणको क्रममा ठुलो मात्रामा हतियारहरु समेत विद्रोहीहरुले कब्जा गरेका छन्। उनीहरुले म्यान्मारको शान राज्यको चीनको सिमानामा रहेको महत्त्वपूर्ण नगर समेत कब्जा गरेका छन्। दशकौंदेखि म्यानमारको सेनाको नियन्त्रणमा रहेका नौ वटा शहरहरु केही हप्ता भित्रै गुमाउन पुगेको छ। सरकारी सेना माथि आक्रमणको लहर शान राज्यमा मात्रै सीमित नभएर अरु राज्यमा पनि फैलिदै गएको छ। रखाइन राज्यमा समेत आराकान आर्मीको आक्रमणका कारण सरकारी सेनाहरुले लगभाग ४० वटा सैनिक चौकीहरु गुमाउनु परेको छ।

उता म्यान्मारको कयाह राज्य (करेन ) मा समेत विद्रोहको लहर पुगेको छ। करेनी विद्रोही समुहहरु करेनी आर्मी, करेनी न्यासनालिटी डिफेन्स फोर्स र पिपल्स डिफेन्स फोर्सले संयुक्त रुपमा अप्रेसन ११११ सुरु गरेका छन्। यस क्रममा उनीहरुले म्यान्मार सेनाका ७ वटा चोकीहरु कब्जा गरेका छन्। करेनी सेनाहरुले कयाह राज्य राजधानीमा रहेको युनिभर्सिटीमा रहेको सैनिक अड्डा कब्जा समेत गरेका छन्। यी आक्रमणहरुमा थुप्रै सैनिक मारिएको र दर्जनौंलाई बन्धक बनाइएको समेत जनाएको छ।

 केही दिन अगाडि भारतसंगको सिमानामा रहेको चीन राज्यको एउटा शहर रे खाह डामाथि चिन स्टेट आर्मीका विद्रोहीहरुले कब्जा गरेका छन्। सो आक्रमणको क्रममा ५ जना सरकारी सैनिक र ६ जना विद्रोहीहरुको मृत्यु भएको थियो। त्यस्तै ३० जना सरकारी सैनिकहरुले आफ्नो ज्यान जोगाउन भारतको मिजोराम राज्य तर भागेका थिए। 

विद्रोहीहरुको आक्रमणको जवाफमा म्यानमारी सेनाले हवाई आक्रमण गरिरहेको छ। उसले विद्रोही समुहहरुको घेराबन्दीमा परेका शान राज्यका आफ्ना सैनिक अखडाहरुमा प्लेन र हेलिकप्टर मार्फत थप जनशक्ति पुर्याइरहेको छ। त्यस्तै केही स्थानमा प्लेनबाट प्यारासुटको माध्यमबाट रसद र गोगोला बारुदहरु झारिरहेको छ। तर म्यान्मार सरकारले विद्रोही विरुद्ध प्रभावाकारी प्रत्याक्रमण गर्न सकेको छैन।

म्यान्मारको सेनासंग यति व्यापक स्तरमा फैलिएको विद्रोहलाई सामना गर्न सक्ने जनशक्ति उपलब्ध छैन। अहिलेसम्म म्यान्मारको सैनिक सरकारले विद्रोहीहरुलाई फुटाउ र शासन गर अन्तर्गतको नीतिअन्तर्गत काम गरिरहेको थियो। केही विद्रोही समूहलाई आफूसंग शान्ति सम्झौता गरेवापत आफ्नो इलाकामा आफैं शासन गर्न दिने नीति लिएको थियो। त्यस्तै केही विद्रोही समूहलाई दबाउने नीति लिएको थियो। तर २०२१ को सैनिक बिद्रोहमा आङ सान सुकीको सरकारलाई अपस्थ गरेपछि  म्यान्मारको बस्तुस्थिति पुरै फेरियो। सैनिक सरकार विरुद्ध जनविद्रोह सुरु भयो। हिजोसम्म म्यान्मारको सुदुर क्षेत्रमा मात्र सीमित जनजाति समुहको विद्रोहलाई सहजै सामना गरिरहेको सेनाले देशको चारै तिर लड्नु पर्ने भयो। म्यान्मारको सैनिक सरकार अहिले चौतर्फी संकटमा छ।

Title Photo: https://www.irrawaddy.com