पुस्तान्तरणपछिको याक चौरी व्यवसाय

अघिल्लो पुस्ताको मुख्य पेशा चौरीगाई पालन भएपनि अहिले उनीहरु चौरीगाई पालनबाट विस्तारै विस्थापित हुँदै तल्लो भेगमा सरेर धान, मकै, कोदो लगायतका खेती पनि लगाउन थालेका छन् ।

परिचय

ढुंगे युगको मध्यम अवस्थामा आइपुग्दा मानवले फिरन्ते शिकारको कामसँगै केही मात्रामा खेतीपाती गर्ने, खानेकुराको संग्रह गर्ने र दूध, मासु तथा छालाको लागि जंगली जनावरहरुका बच्चाबच्चीहरु नियन्त्रणमा लिई पशुपालन गर्ने गरेको देखिन्छ । वैज्ञानिकका अनुमानअनुसार मान्छे समूहमा बस्न थालिसकेपछि नै पशुपालन तथा खेतीपातीको शुरुवात गरिएको थियो । एक अध्ययन अनुसार खेतीपाती भन्दा पहिला इशा पूर्व ९ हजार वर्षअघि नै पशुपालनको शुरुवात गरिएको थियो । मान्छेले जंगली जनावरहरुलाई नियन्त्रणमा लिई घरपालुवा बनाएको मध्ये याक पनि पर्न आउँछ । मान्छेले पाल्ने गरेको याकसँग मिल्दोजुल्दो अर्को प्राणी जंगली याक हो तर यो घरपालुवा याक भन्दा झण्डै डेढ गुणा ठूलो र प्राय कालो रङको हुन्छ । याकका पुर्खाले हजारौं वर्षदेखि मान्छेको पुर्खा पछ्याउँदै १९औं शताब्दिको मध्यसम्म आइपुग्दा पनि जंगली याक र घरपालुवा याकबारे विश्वलाई नै स्पष्ट जानकारी हुन सकेको थिएन । जीवविज्ञका भनाइमा, घरपालुवा याक र जंगली याक एउटै पूर्वज ‘बस प्रिमिजेनियस’ बाट छुट्टिएका हुन्, जुन संसारबाट लोप भइसकेको बताइन्छ । डीएनए परीक्षण अनुसार, याक र जंगली याक १० लाख वर्ष भन्दा अघि नै छुट्टिएका हुन् । तिब्बत र लद्दाखमा थोरै संख्यामा पाइने जंगली याकलाई विश्व प्रकृति संरक्षण संघ (आइ यू सि एन) ले अति संवेदनशील सूचीमा राखेको छ र यो कुनै पनि बेला संकटापन्न अर्थात लोप हुने अवस्थातर्फ उन्मुख देखिन्छ । रुसी अनुसन्धानकर्ता एन एम प्रोजोभाल्स्कीले सन् १८८३ मा तिब्बतमा पाइएको जंगली याकको अध्ययनपछि याक र जंगली याक छुट्टाछुट्टै हुन् भन्ने पत्ता लगाई उनले जंगली याकलाई ‘बस म्युटस’ नाम दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजस्तु विभागद्वारा प्रकाशित ‘द स्टेट्स अफ नेपाल्स म्यामल्स द नेशनल रेड लिष्ट सेरिज, २०११’ का अनुसार नेपालबाट भने जंगली याक लोप भइसकेको छ । तर सन् २०१२ मा हुम्ला लिमीको थुङ्गलिङ गाउँमा जंगली याक देखा परेको र त्यसको तस्विर पनि सुरक्षित गरिएको थियो । हुम्लामा देखा परेको जंगली याक तिब्बतबाट लखेटिएर वा जंगली पोथी याकसँग संसर्ग गर्न नेपाल आइपुगेको अनुमान पनि गरिन्छ तर यसबाट जंगली याक तिब्बत र नेपाल दुवैतर्फ पाइएको कुरालाई भने नकार्न सकिन्न ।

पृथ्वीको छानो भनेर चिनिने संसारको सबैभन्दा उच्च स्थान तिब्बतको पामिर हो । जंगली याक यसै ठाउँको उद्गम मानिन्छ (Miller, 1990) । ढुंगेयुगपछि नवपाषाण युगको अन्ततिर फिरन्ते जीवन बिताउने ‘क्ङ्गिहाई’ जातिले पहिलोपल्ट जंगली याकलाई घरपालुवा बनाएर छाला, दूध तथा मासुको प्रयोग गर्दै आएको विभिन्न आलेखहरुमा उद्धृत गरेको पाइन्छ । तिब्बती भाषामा भालेलाई याक र पोथीलाई नाक भन्ने चलन छ तर अंग्रेजीमा दुवैलाई याक नै भन्ने गरिन्छ । हिमश्रृङ्खलायुक्त मुलुकहरु नेपाल, तिब्बत, भुटान, भारत, पाकिस्तान, मंगोलिया, उत्तरी अमेरिका आदि ठाउँमा याक पाइन्छ । याक र गाईको गुणसुत्र (chromosome2N=60) एउटै हुने हुँदा याक Bos Genus अन्तर्गतका गाई प्रजातिमा पर्दछ । जंगली याकको प्रजाति Mutus हो भने घरपालुवा grunniens हो । हिमाली जलवायु (३००० देखि ५००० मी.) मन पराउने याक एक विशेष पहिचानयुक्त जनावर हो । याकको वर्णशंकर नै चौरी हो । लेकाली जलवायुको चिसो वातावरण मन पराउने, कम रोग लाग्ने, जडिबुटि तथा जंगली बुट्यान खाने, खुल्ला चरिचरन गर्ने विशेषता भएको पशु चौरी हो ।

याक तथा चौरीसँग शेर्पा समुदायको सम्बन्ध

बाह्रौं शताब्दिको प्रारम्भमै उत्तरी मंगोल र तिब्बतमा लिङगेसर (गेसर ग्याल्पो)ले युद्ध छेडी लडाइँ गरिरहेका थिए । लामो समयसम्म युद्ध चलिरहेको कारण खाम क्षेत्र अन्तर्गत मिञाग, ल्होटागटाङा, खामकथोग, सेर्ता, ञेदोङ र उनिमा बसोबास गर्ने स्थानीय मानिसहरु आ–आफ्नो मातृभूमि छाडेर भोटको राजधानी ल्हासा हुँदै उत्तरी भेग समत्यान छोस्लिङ भन्ने एक धर्म स्थलको उत्तरी मैदानमा आइपुगेका थिए । केही समय त्यस ठाउँमा रहने क्रममा लामा गोन्पा रोल्पा दोर्जेछ्याङले ढोङलाई नियन्त्रणमा लिए । मिञागबाट आएकाहरुले ढोङको अनुहारमा समाते, खाम उनीबाट आएकाहरुले ढोङको जुरो (जगडा)मा समाते, खामथोग र सेर्ताबाट आएकाहरुले ढोङको जिब्रो समाते । ढोङको अनुहार सिङ समात्नेलाई ‘सेरप’, जिउ/जुरो समात्नेलाई ‘गर्जा’, मासु भाग लगाउदै जाँदा नपुग्नेहरुलाई च्हापा र ङोनपा भनी सोही अनुसारको विभिन्न मूलथर तथा उपथरहरुको नामाकरण गरेको पाइन्छ यसरी शेर्पा समुदायहरुको वंश विस्तार र एक ठाउँबाट अर्को ठाउँमा बसाईसराईको क्रमसँगै पुरानो समुदायहरुको रितिथिति, वंशज तथा विभिन्न थर–उपथरहरुको विकासक्रम एक अर्कामा सम्बन्धित र प्रभावित भएको पनि देखिन्छ ।

ङ्गेज खाँको राज्य एकीकरणको समय सन् ११६२ देखि १२२७ सम्म नै रहेको थियो । त्यतिबेला तिब्बतमा राजनैतिक असहजता तथा सामाजिक हिंसा र लुटपाटको कारण मुख्य पेशा याक चौरी पालन गरी बस्ने १९ थरीका सबै जाति (खाम्पाहरु) तिब्बतको उत्तरी क्षेत्र समत्यान छोस्लिङ हुँदै दिङरी (थिङ्ग्री) र लाङकोर आदि स्थानहरुमा छरिएर बस्न आइपुगेका थिए । दिङरी तथा लाङकोर र आसपासका क्षेत्रमा इसापूर्व १५० वर्ष अगाडि देखि नै स्थानीय रैथानेहरुको बसोबास क्षेत्र रहेको थियो । स्थानिय रैथाने र आगन्तुक खाम्पाहरुमा जाति, विचार, आचरन, जिविका उपार्जन गर्ने तरिका, चालचलनमा भिन्नता र व्यवसायसँग सम्बन्धित चरन क्षेत्रहरुको कुरामा केही वर्षहरु नबित्दै स्थानीय रैथानेहरुसँग बेमेलको स्थिति पैदा हुन थाल्यो । स्थानीय रैथानेहरु पनि खाम्पाहारुलाई अन्यत्रै पठाउन चाहन्थे । अन्तत स्थानीय रैथानेहरुले खाम्पाहरुलाई हिमालको पछाडि (नेपाल) पट्टि धेरै समय अगाडिदेखि मानिसहरु आउजाउ भइरहेको र सानो समूहमा अघि देखि नै यतैबाट गएर बसोबास पनि भइरहेको एवम् चरनक्षेत्र पनि प्रशस्त रहेको कुरा सुझाए । सोही सल्लाह बमोजिम मिञाग नामक स्थानबाट आएका टाग्थो थरका शेर्पाहरुको पूर्वज मिछेन टाग्पा, लामा शेर्पा थरका पूर्वज शेर्पा दोर्जेयिङ र शेर्पा दुङ्ग्यल (सेरदुङग्यल) सिद्ध सालका थरमा पूर्वज थिम्मि, च्याग्पाका पूर्वज रत्नलिङपा, सिद्धलामा साङवादोर्जे, लामा लुङसम्पा सहित आ–आफ्ना समूह तयार गरी ई.सं. ११९० देखि १२०० को समयावधिमा नाङपाला हिमभञ्ज्याङ पार गरी खुम्बु आएका थिए । शेर्पा दुङग्यालको जेठा छोरा फागचे र मिछेन टागपाको छोरा डुगतारे, यिनको छोरा चुनछ्युङ टशी लगायत अधिकांश शेर्पाहरु तथा तिब्बत चाङलातो तिरका स्थानीय (भोटेहरु) पनि धेरै संख्यामा सम्मिलित भई आफ्नो जीविकोर्पाजनको माध्यम याक तथा ठूलो संख्यामा चौरीहरु र केही कुकुरहरु समेत साथै लिई चरन क्षेत्रकै खोजी गर्दै खुम्बु क्षेत्र प्रवेश गरेको भन्ने बुझिन्छ । खुम्बु क्षेत्रमा निकै लामो समय अघिदेखि केहि छरिएर बसिरहेको समुदायहरु पछिल्लो कालमा तिब्बत पट्टिबाट आएको ठूलो समूह र धार्मिक सिद्ध गुरुहरु देखि अत्याधिक प्रभावित भएको कारण उक्त समूहमा नै समावेश वा साँस्कृतिक, सामाजिक हिसाबले विलिन हुन पुगी पुर्ख्यौली पेशा याक चौरी पालन गर्न थालेकोले खुम्बु क्षेत्रमा पहिलोपटक याक चौरीलाई पुर्ख्यौली व्यवसायको रुपमा भित्र्याउने शेर्पा समुदाय नै रहेको स्पष्ट हुन आउँछ ।

धार्मिक आस्थाको हिसाबले हेर्दा याक माथि चढेको देवतालाई गोलेपिकेको मुख्य देवताको रुपमा लिइन्छ । उक्त याक माथि चढेको देवतालाई चौरी गोठाला र भेडा गोठालाहरुले दूध र पिठो ल्याई पूजा गर्ने गर्दछन् भने स्थानीय समुदायहरु गाईवस्तु र बालीनाली सप्रियोस्, देश विदेशमा भएको सबै मानिसहरुको नाम पुकारेर स्वास्थ्य र दिर्घायुको कामना गर्दै परम्परानुसार चोखो जाँड, चोखो धजा लगायतका सामग्रीहरु ल्याएर पुजा गर्ने गरिन्छ । यसरी पुजा गर्दा कङसुरको विधि अनुसार खुम्बीयुला, दूधकुण्ड र पिके तीन ओटैको पुजा गर्ने प्रचलन रही आएको छ । यसरी गोले पिकेलाई कुल देवताको रुपमा पुज्ने पहिलो समुदाय नै त्यस क्षेत्रका शेर्पाहरु हुन् ।

जैविक र कृषिका दृष्टिकोणले याकचौरी पालनको महत्व

याक चौरी विश्वको सबैभन्दा जोखिमपूर्ण पर्यावरणीय क्षेत्रको कृषिजन्य विविधताको संरक्षणमा त्यस क्षेत्रमा न्यून मात्रा तथा समयमा नपाइने न्यून पौष्टिक घासपात खाएर आफू बाँच्ने र विविध वनस्पतीको विउ संवर्धन तथा मलजल गरी वातावरणीय सन्तुलनमा यस प्राणिको योगदान महत्वपूर्ण छ । जैविक कृषिजन्य उत्पादनका लागि चाहिने जैविक मलको स्रोतको केन्द्रविन्दु पशुपंक्षी पालनलाई मानिन्छ । पशु कल्याणको उच्च सुनिश्चितताको आधार भनेको जैविक कृषि नै हो । त्यसैगरी जनस्वास्थ्यको भरपर्दो सुनिश्चितताको एउटा आधार स्वस्थ र फुर्तिला पशुपंक्षी जसका कारण पशुपंक्षीमा आकस्मिक रुपमा देखापर्ने रोग, परजिविको प्रकोप तथा चय अपचयजन्य विकार सहन सक्ने क्षमतावान हुनु पनि हो ।याक चौरीहरु परपम्परागत ढंगले कृषि क्षेत्रको व्यवसायिक तथा व्यापारीकरण र विविधिकरण अत्यन्त न्यून रहेको भूभागमा पालिन्छ । याक तथा चौरीको प्राकृतिक वासस्थल समुन्द्रि सतहबाट ३००० देखि ५००० मिटरमा अवस्थित जुन भुभाग सबै खाले वातावरणीय प्रदुषणबाट आजसम्म मुक्त मानिन्छ । चौरीका चरन क्षेत्र आजसम्म कुनै पनि खाले रसायनिक अवशेषबाट मुक्त छन् । चौरी विचरण गर्ने बासस्थान कुनै पनि कृषि गतिविधिबाट मुक्त छन्, रासायनिक मल अनि किटनाशक जन्य अवशेषबाट पनि मुक्त छन् । मुलतः यहि कारणले नै याक चौरीलाई जैविक पशुपालन भनिएको हो । यही महत्वले गर्दा उपभोक्ताको पहिलो छनौट हिमाली उत्पादनतिर आकर्षित हुन थालेको छ ।

याक चौरी पालन र चौरीजन्य उत्पादन जैविक उत्पादन हुन किनभने पशुपालनका अन्य क्षेत्रमा जस्तै कुनै रसायन प्रयोग गर्ने गराइएको छैन । यो जीवले हिमाली क्षेत्रमा पाइने बहुमूल्य औषधिजन्य जडिबुटी र झारपात उपयोग गर्ने गरेका छन् । शुद्ध, स्वच्छ अनि स्वस्थ यीनका उत्पादन तथा आजका परम्परागत उत्पादनलाई प्रशोधित एवम् परिमार्जित रुपमा उत्पादन विविधिकरण तथा बजारीकरणका लागि विश्वव्यापी मान्य हुने गरी मानक (ब्राण्ड) तयार गरेर विशिष्ट मौलिक उत्पादन हुन भनी प्रतिलिपि अधिकार लिन सकेमा उच्च हिमाली क्षेत्रको गरिबी निवारणको आधार बन्न सक्दछ ।

पुस्तान्तरणसँगै किन विस्थापित हुँदैछ चौरीपालन ?

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले सन् २०१९ मा नेपालसहित आठ देश समेटिएको हिन्दकुश हिमालय क्षेत्र बारे सार्वजनिक रहेको तथ्याङ्क अनुसार जलवायु परिवर्तनसँगै पृथ्वीको तापमान १.५ डिग्रीले बढ्दै गइरहेको छ । जसका कारण वर्षेनी हिमनदीको सतह ४० सेन्टिमिटरले घटिरहेको छ । यो तापमान वृद्धिले ३६ प्रतिशत हिँउ पग्लिदै गएको र २ प्रतिशत तापक्रम वृद्धि भए ५० प्रतिशत हिँउ पग्लिने तथ्याङ्कमा उल्लेख छ । यसको पहिलो प्रभाव हिमाली क्षेत्रका जनजीवनसँगै याक, नाक र चौरी पालनमा परेको पाइएको छ । खर्कका लागि हिउँद र बर्खामा दुई महिना चरन गर्न चौरीलाई ढुक्क हुने तर घाँस पर्याप्त नहुँदा एक सातामा खर्क (गोठ) सार्नुपर्ने बाध्यता छ । तापक्रम वृद्धि भएकाले उच्च क्षेत्रको मैदानहरुमा घाँस क्रमशः मासिएर अन्य काम नलाग्ने झार पलाउनाले चौरीपालकहरुलाई समस्या हुन थालेको बुझिन्छ ।१० अघिल्लो पुस्ताको मुख्य पेशा चौरीगाई पालन भएपनि अहिले उनीहरु चौरीगाई पालनबाट विस्तारै विस्थापित हुँदै तल्लो भेगमा सरेर धान, मकै, कोदो लगायतका खेती पनि लगाउन थालेका छन् । हिजो प्रमुख व्यवसाय चौरीपालन भएका शेर्पाहरु आजकल गलैचा व्यवसाय, निर्माण, व्यापार, पर्यटन, होटल व्यवसाय र वैदेशिक रोजगारमा संलग्न रहेको पाइन्छ भने कैयौं अहिलेका शेर्पा पुस्ता लगायत हिमाली क्षेत्रका मानिसहरु बसाईसराई गरी शहरी क्षेत्र तथा विदेशमा बसोबास गरिरहेका छन् । यसरी हेर्दा वर्षेनी रुपमा चौरीको संख्या घट्दै जाने र हिमाली पहिचानसँग जोडिएको चौरीगाईको दूधबाट बन्ने छुर्पि, दुर्खा, याक चिज, घ्यू, पनिर, चमर, याक तथा चौरीको रौंबाट बन्ने छेरा लगायत दुग्धजन्य पदार्थको उत्पादनमा गिरावट आउन थालेको छ । अहिलेको युवा पुस्ताले चौरी व्यवसाय भन्दा अन्य फरक वैकल्पिक व्यवसायमा क्रमशः संलग्नता जनाउँदै जानु पनि चौरी व्यवसाय संकटमा पर्दै जानु भन्ने देखिन्छ ।

पछिल्लो अध्ययनबाट हेर्दा मौसममा आएको परिवर्तनकै कारण चरन क्षेत्रमा विषालु वनस्पति फैलनु, चितुवा र ब्वाँसोले अत्याधिक क्षति पुर्याउनु, राज्यको तर्फबाट उचित राहतको व्यवस्था नहुनु, प्राकृतिक विपद, चरन क्षेत्रको अभाव, रोग संक्रमण, बाहिरी नश्लको बढी प्रयोग हुनु, अहिलेका पुस्ताको पेशामा परिवर्तन हुनु, अन्य पेशा जस्तो तत्काल धेरै आम्दानी गर्न नसक्नु, प्रतिस्पर्धात्मक र व्यवसायिक रुपमा चौरीपालन गर्न नसक्नु नै मुख्य समस्या देखिएको छ । यी मुख्य समस्याहरुको अलवा चौरी व्यवसायीहरुले तपसिलका समस्याहरु पनि झेल्नु परिरहेको अवस्था छ ।

पशु उपचार गर्ने प्राविधिक र औषधीको कमी रहेको ।

दूध प्रशोधन तथा गुणस्तरयुक्त उत्पादन गर्न प्रविधिको स्थानीय स्तरमा विकास नभएको ।

सामुदायिक खर्कहरुमा चराउन लाग्ने कर तिर्नु पर्दा उत्पादन लागत अत्याधिक हुने गरेको ।

खर्कमा दिनानुदिन पानीको मुहान सुक्दै जाँदा पशुपालनमा समस्या पर्दै गएको ।

चौरीपालन घुम्ती प्रणालीमा आधारित रहेको र गोठालोको पनि अभाव रहेको ।

चरिचरन गर्दा भिरबाट लडेर ठुलो संख्यामा पशु मर्ने गरेको ।

घुम्ति चरन गर्दा गोठालो लगायतका मानिसलाई चाहिने आवश्यक सामान, पशुलाई चाहिने दाना, चोकर र खाद्यपदार्थ इत्यादि ओसारपसार गर्न सजिलो नभएको ।

चिज कारखानाको अभावमा किसानले दूध विक्रि गर्ने स्थल नपाउनु ।

याक तथा चौरीको बिमा गर्ने प्रावधान भएर पनि सो प्रचार–प्रसारमा कमी तथा क्षतिको निश्चित प्रतिशतले मात्र मुआब्जा उपलब्ध हुने ।

चौरीपालक कृषकहरुमा गुणस्तरीय दूध उत्पादन सम्बन्धी पूर्ण ज्ञान नभएकोले गुणस्तरयुक्त दूधको अभाव।

व्यवसायिक पशुपालन तालिमको अभाव रहेको ।११

याक चौरी प्रवर्धनका लागि सामान्य कार्ययोजना

समग्रमा हेर्ने हो भने उच्च हिमाली क्षेत्रमा व्यथित गर्ने गाईभैसीकै प्रजातिका याक चौरी बारे सरकारी स्तरमा नीतिगत तथा कार्यक्रमिक खाका र आर्थिक लगानी के कति हो ? व्यवसायिक तथा समुदायको पहल र के–कस्ता प्रयत्नहरु रहे ? यो व्यवसाय सम्बन्धि न त कुनै प्राज्ञिक अभिलेख छ, न त कुनै वैज्ञानिक आधार नै । विशिष्ट सामाजिक, प्राकृतिक तथा आर्थिक महत्वका कारण उच्च हावापानीजन्य क्षेत्रमा जुन बेला देखि यी प्रजातिको पालन शुरु गरियो पशुपालनको अन्य प्रजातिभन्दा यसको विशिष्ट महत्व रहेको कुरा बेलैमा बुझ्न जरुरी छ ।

 प्रजनन व्यवस्थापन

याक, चौरीको वंश वृद्धि प्राकृतिक प्रजननमा आधारित रहेको पाइन्छ । प्राकृतिक प्रजनन उत्तम भए पनि inbreeding हुने सम्भावना बढी हुन्छ । लामो समयसम्म बथानमा एउटै याकको प्रयोग गर्ने चलनले धेरैजसो बच्चाहरु कमसल गुणस्तरको निस्कन्छ । प्रजननका लागि शुद्ध र असल नश्लका याक (भाले)को कमी रहेको छ।१२ यसका लागि निम्न कुराहरुमा ध्यान दिन जरुरी छ ।

कृषकहरुमा साँढे लगाउने सिजनको बेला आउनु केही समय अगाडी नै एक गाउँ वा एक समूह र अर्को समूह बीच साँढे केहि दिनका लागि साटासाटको व्यवस्था गर्नु उपयुक्त हुने ।

याकको गुणस्तर सुधार गर्न पायक पर्ने गरी याक स्रोतकेन्द्रको व्यवस्था गर्नु आवश्यक देखिन्छ ।

चरन व्यवस्थापन

करिब २५०० देखि ५००० मीटरको उचाईका चरन क्षेत्रहरुमा जडिबुटीजन्य घाँसे मैदानहरुको प्राकृतिक स्थानीय खर्कहरु छन् तर हाल आएर यी र्खकहरुमा जलवायु परिवर्तनको प्रभाव माटोमा लगायत घाँसपातको उत्पादन, पोषणमा समेत परेको हुँदा पशुलाई चाहिने घाँसको मात्रा घट्दै गएको पाइन्छ । ९एबलमभ च्बmभकजधयच क्ष्लन, द्दण्ण्ठ० चरन क्षेत्रको घाँसपातमा खनिजपदार्थ तथा पोषण तत्वको कमी हुने गरेको विभिन्न अध्ययन अनुसनधानमा उल्लेख भएको पाइन्छ । कुपोषणको प्रभावले पशुहरुमा समयमा गर्भधारण नगर्ने, कम तौलको हुने, उत्पादन घट्ने आदि देखिन्छ । यस सम्बन्धमा निम्न कुराहरुमा ध्यान जान जरुरी छ ।

वर्षेनी पृथ्वीको तापक्रम बढ्दै जाँदा चरन क्षेत्रमा पनि पानीको मुहान सुक्दै पशुले पिउने स्वच्छ ताजा पानीको अभाव हुन थालेकाले भइरहेका मुहानहरुको संरक्षण गर्नुका साथै खर्कमा चिस्यान बढाउन र वर्खे पानी संकलन गर्न कृत्रिम तालहरु निर्माण र सिँचाई आयोजनाको व्यवस्था गर्न उपयुक्त हुने ।

जनसंख्या वृद्धिको असर चरन र खर्कमा पर्न नदिन वैकल्पिक उपायहरुको खोजी गने ।

चरन क्षेत्र तथा खर्कमा अखाद्य तथा विषालु झारपातको वृद्धिलाई नियन्त्रण गर्ने ।

आवश्यकता अनुसार चरन, पशु आहारा, घाँस विकास केन्द्रको स्थापना गरी कार्यक्रम बनाउन आवश्यक देखिएको ।

खर्क नीति, २०६८ लाई आवश्यक परिमार्जन सहित लागु गर्नुपर्ने ।

चरन क्षेत्र एवम् खर्कमा देखिएका समस्याहरु र दिगो उपभोग बारे व्यवसायी र यससँग सम्बद्ध पक्षहरुबीच एकिकृत पहलको आवश्यकता रहेको ।

रोगव्याधी व्यवस्थापन

          याक चौरीमा लाग्ने खोरेत, परजिवी (जुका, किर्ना, उपियाँ, भुसुना, झिंगा) बाँझोपन आदि हुन । धेरैजसो रोगहरु गर्मी याममा लाग्ने गर्दछन् । चर्दा झुक्किएर विषालु घाँसपात खानपुग्दा विष लाग्ने, समयमा स्वच्छ पानी खान नपाउँदा विभिन्न रोग लागि पशु मर्नुका साथै चरनमा लडेर शारीरिक समस्याका साथै खुट्टा भाँच्चिने गरेको पाइन्छ । पशुका यस्ता समस्याहरुबाट बच्न निम्न उपायहरु आवश्यक पर्दछ ।

हिमाली प्रदेशमा पशु स्वास्थ्य प्राविधिक कम हुने, सेवा केन्द्रमा बस्न नचाहने, औषधीको अभाव हुने, पशु सेवा केन्द्र चरन क्षेत्रको वरिपरि नहुने आदि समस्याहरुलाई व्यवस्थापन गर्नुपर्ने ।

पशुमा लाग्ने रोगव्याधी वा भोली देखिन सक्ने रोग व्याधीको अध्ययन अनुसन्धान, अभिलेखीकरण तथा रोग रोकथाम नियन्त्रण एवम् उपचारका लागि विज्ञ पशु चिकित्साकर्मी, पशु चिकित्सक तथा पशु स्वास्थ्य प्राविधिक मात्र हैन कृषक स्तरमा तालिम, प्रशिक्षण एवम् सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने ।

औषधी उपचार र खोपको लागि गोठालोहरुलाई पनि सामान्य उपचार सम्बन्धि ज्ञान दिई स्थानीय पशु  स्वास्थ्य कार्यकर्तासँग समन्वय गर्नुपर्ने ।

उत्पादन तथा बजार व्यवस्थापन

          याकबाट भारी बोकाउने, रौंको राडीपाखी, छेरा, कपडा तयार गर्ने, चमर धार्मिक काममा प्रयोग गर्ने, याक मासुको लागि पाल्ने, छाला तथा हाडबाट भौतिक सामानहरु तयार पारिन्छ । तर याकको भन्दा चौरीको उत्पादन तथा उत्पादकत्व अधिक देखिन्छ । दूधबाट याक चिज, नौनी घ्यू, छुर्पि, दुर्खा, बटर, दहि, सेरगेम, कुराउनी आदि अधिक मूल्य पर्ने पौष्टिक पदार्थहरु बन्दछ । यसको उत्पादन तथा बजार व्यवस्थापनको लागि निम्न सवालहरुमा ध्यान दिन जरुरी छ ।

चौरीजन्य उत्पादनको विश्वव्यापी मान्य गुणस्तर मानक (ब्राण्ड) निर्धारण गरिनुपर्छ ।

सम्भावित रसायनिक प्रदुषण, रोगव्याधी रहित यिनका उत्पादन छन् भन्ने मानक संस्था तोक्ने वा स्थापना गर्ने ।

स्थानीय स्तरमा उपयुक्त हुने प्रविधि, स्थानीय स्तरमा उपलब्ध आर्थिक स्रोतले धान्न सक्ने व्यवस्थापनतिर जोड दिने ।

हाल परम्परागत रुपमा उत्पादन हुने चौरीजन्य उत्पादनको विविधिकरण र गुणस्तर वृद्धिका कार्यक्रम बनाई लागु गर्नुपर्ने ।

चौरीपालक कृषकहरुलाई शुद्ध, स्वच्छ र स्वस्थ चौरीजन्य उत्पादन कसरी गर्ने भन्ने बारेमा तालिम तथा अभिमुखिकरण गराउनु पर्ने ।

चौरीजन्य उत्पादनका स्थानीय बजार व्यवस्थापन मात्र होइन अन्यत्र निर्यातका सम्भावनाका लागि सहजीकरणका लागि पहल गर्नुपर्ने ।

– आम जनसमुदायमा चौरीजन्य उत्पादनका बारेमा सूचना प्रवाह गर्नुपर्ने ।१३

– आवश्यकता र धान्न सकिने गरी चिज कारखाना स्थापना गर्नुपर्ने ।

– स्रोतकेन्द्रमा याक, नाक, चौरी उत्पादन गरी कृषकलाई वितरण गर्नुपर्ने ।

– याक तथा चौरीको संख्या दिनानुदिन घट्ने क्रम रहेकाले यो व्यवसायलाई प्राथमिकीकरणमा राख्नुपर्ने ।

– गोठालो लगायत काम गर्ने जनशक्तिको उचित पारिश्रमिक सहित व्यवस्थापन गर्नुपर्ने ।

– जंगलमा पाइने हिंश्रक जनावर (हिउँ चितुवा, न्याउर, ब्वाँसो, जंगली कुकुर, बाघ) आदिले याक तथा चौरी एवम् बाच्छाबाच्छीहरुलाई शिकार गरी बथान बढ्न नदिने हुनाले रोकथामका उपायहरुको खोजी गरिनुपर्ने ।

– कमजोर मुल्य श्रृङ्खला (सेवा प्रदायी, औषधी उपचार, भौतिक सामान, चीज कारखाना, बजार व्यवस्थापनका) चुनौतीहरुलाई क्रमशः समाधान उन्मुख कार्यक्रम बनाई लागु गर्नुपर्ने ।

व्यवसायिक विकास कार्यक्रम१४

भौतिक सुधार

याक चौरी पाल्ने जिल्ला वा कृषकहरुलाई समूहकृत गरी पायक पर्ने गरी याक स्रोतकेन्द्रको स्थापना हुन आवश्यक छ ।

पशु स्वस्थ राख्न गोठ सुधार कार्यक्रम चरन÷खर्कको व्यवस्थापनमा सम्बद्ध निकायबाट आर्थिक तथा प्राविधिक सहयोग हुन आवश्यक छ ।

पायक पर्ने गरी चीज कारखानाको स्थापना गरी कारखाना/उद्योग/प्रशोधनशाला आदि निजि/सरकारी वा शहकारी साझेदारी अवधारणामा कार्य अगाडि बढाउनुपर्ने ।

अध्ययन, अनुसन्धान

स्थान विशेषको आधारमा सुहाउँदो प्रविधिको विकास, उन्नत जातका पोषिला घाँसका बिउ उत्पादन लगायत अन्य अनुसन्धानात्मक कार्यक्रम नार्कले तयार गरी कृषकहरुको व्यवसाय विकासमा टेवा पुर्याउने काम गर्नुपर्ने ।

प्रविधि हस्तान्तरण कार्यक्रम पशु सेवा ज्ञानकेन्द्र तथा मातहतका निकायहरुले गर्नुपर्ने । राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध क्षेत्रको विकासका लागि नीति नियम÷कार्यशाला, गोष्ठी/अध्ययन, अनुसन्धान गरी समस्या र समाधानका उपायहरु पहिल्याउनु पर्ने ।

प्रवर्धानात्मक कार्यक्रम

याक चौरी पालक कृषकहरुको संस्थागत विकासका लागि समुह, समिति गठन गरी चरन, खर्कका सुधारात्मक कार्यक्रम, पशु बिमा कार्यक्रम, चीज उद्योगहरु खोल्न लगाउने लगायत अन्य आर्थिक तथा प्राविधिक सहयोग जुटाउनमा सहयोग पुर्याउनु पर्ने देखिन्छ ।

जिल्लास्तरीय याक चौरी मेलाको आयोजना गरी पर्यटक भित्र्याउने, याक चौरीको महत्वको बारेमा प्रचार–प्रसार गर्ने र सम्मानित पेशाको रुपमा स्थापित गर्ने कार्यक्रम सञ्चालन गर्ने ।

हिउँदयाममा चिसो छल्न पशु स्थानान्तरण भई तल्लो क्षेत्रतिर झर्ने हुँदा सोही अनुसार चरनको व्यवस्था गर्न आवश्यक छ ।

ऋण तथा कर्जाको लागि बैकिङ्ग सुविधाको व्यवस्था हुनु आवश्यक छ ।

मूल्य श्रृङ्खला

लगानीदेखि आम्दानीसम्मको सम्पूर्ण क्रियाकलापलाई कृषक अनुकूल बनाइनु पर्दछ ।

व्यवसायीहरुको लगानीलाई घाटामा जान नदिन उत्पादन र मुनाफालाई प्रोत्साहित गर्ने कार्यक्रम बनाई लागु गर्नु सक्नुपर्दछ ।

याक चौरी पालनलाई व्यवसायीकरण गर्ने, युवा तथा कृषकहरुको रुची र आकर्षणको व्यवसाय बनाउन मूल्य श्रृङ्खलाका सैद्धान्तिक तथा व्यवहारिक पक्षलाई व्यवस्थित गर्न आवश्यक छ ।

याक चौरी बहुउपयोगी, हिमाली मणीको रुपमा चिनिने जनावर हो । यस पेशालाई व्यवसायीकरण गरी ग्रामीण रोजगारीको सृजना गर्न सक्नुपर्दछ । गुणस्तरीय उत्पादन गरी उचित बजारीकरण गरेर स्वरोजगार प्रवद्र्धन गरी विदेशी मुद्रा आर्जन गर्न, पर्यटन प्रवद्र्धन र आफ्नै ब्रान्ड सहितको हिमाली परिचय दिन बृहत याक चौरी विकास कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्न सरकारी, गैह्रसरकारी तथा निजी क्षेत्रको सहभागिता हुनुपर्दछ ।

पादटिप्पणीहरु

१. ई.आदर्श डट.कम, आदर्श समाज सम्वाददाता, माघ–१०, २०७४

२. कमल मादेन– जंगली याकको पुनरागमन, १७ भदौ २०७४, हिमाल खबर

३. कमल मादेन– जंगली याकको पुनरागमन, १७ भदौ २०७४, हिमाल खबर

४. नेपालमा याक र चौरी पालनको अवस्था र यसको प्रवद्र्धनका लागि कार्ययोजना सम्बन्धी अध्ययन, राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहरभवन, पुल्चोक, आ.व. २०७६÷७७ पृ.–१

५. (चमर) मानिसको नियन्त्रण भन्दा बाहिरको जंगली याक

६. अनुवादक तथा सम्पादक आचार्य ङग्वाङ वोशेर, शेर्पाहरुको इतिहास र वंशावली, पृ.११५,११६–२०६९

७. विलिन भएर बस्न सक्ने भएको हुँदा थिम्मि (विलिन) भनिएको र थिम्मिको पूर्वज जाङपोटासीलाई मान्दै आएको

८. खुम्बुको हिमश्रृङ्खलामा पद्मसंभवको उत्तराधिकारीको रुपमा मानिएको

९. डा.केदार कार्की, उच्च हिमाली भेगमा याक चौरी पालनका जैविक र कृषिमा आर्थिक भूमिका, अग्नी ज्वाला डट कम, कात्र्तिक ८, २०७८

१०. पुस्ता बित्दा चौरी पालन पनि विस्थापित बन्दै, नेपाल न्युज, १६ चैत्र, २०७७

११. नेपालमा याक र चौरी पालनको अवस्था र यसको प्रवद्र्धनका लागि कार्य योजना सम्बन्धी अध्ययन, राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहरभवन, पुल्चोक आ.व. ०७६।०७७

१२. नेपालमा याक र चौरी पालनको अवस्था र यसको प्रवद्र्धनका लागि कार्य योजना सम्बन्धी अध्ययन, राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहरभवन, पुल्चोक आ.व. ०७६।०७७

१३. डा. केदार कार्की, उच्च हिमाली भेगमा याक चौरीपालनका जैविक र कृषिमा आर्थिक भूमिका, अग्निज्वाला डट कम, २०७८ कात्र्तिक ७

१४. नेपालमा याक र चौरी पालनको अवस्था र यसको प्रवद्र्धनका लागि कार्ययोजना सम्बन्धि अध्ययन, राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिरह भवन, पुल्चोक, आ.व. ०७६।७७ 

सन्दर्भ सामग्री

•  ई.आदर्श डट.कम, आदर्श समाज सम्वाददाता, माघ–१०, २०७४

•  कमल मादेन– जंगली याकको पुनरागमन, १७ भदौ २०७४, हिमाल खबर

•  नेपालमा याक र चौरी पालनको अवस्था र यसको प्रवर्धनका लागि कार्ययोजना सम्बन्धी अध्ययन, राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहरभवन, पुल्चोक, आ.व. २०७६/७७ पृ.–१

•  (चमर) मानिसको नियन्त्रण भन्दा बाहिरको जंगली याक

•  अनुवादक तथा सम्पादक आचार्य ङग्वाङ वोशेर, शेर्पाहरुको इतिहास र वंशावली, पृ.११५,११६–२०६९

•  विलिन भएर बस्न सक्ने भएको हुँदा थिम्मि (विलिन) भनिएको र थिम्मिको पूर्वज जाङपोटासीलाई मान्दै आएको

•  खुम्बुको हिमश्रृङ्खलामा पद्मसंभवको उत्तराधिकारीको रुपमा मानिएको

•  डा.केदार कार्की, उच्च हिमाली भेगमा याक चौरी पालनका जैविक र कृषिमा आर्थिक भूमिका, अग्नी ज्वाला डट कम, कात्तिक ८, २०७८

•  पुस्ता बित्दा चौरी पालन पनि विस्थापित बन्दै, नेपाल न्युज, १६ चैत्र, २०७७