भूकम्प पीडित र संवेदनाहीन तमासेहरु
भ्वाङ परेको फरियाको ओत मुनि
बच्चालाई दुध चुसाउदै सुताउन खोजेको
माथिबाट एक्कासी ठूलो आवाज आयो
भूईबाट धूलोहरु, अस्ति भूइँचालो जाँदा जस्तै
सोहोरिएर आकाशमा मडारिन थाले
र जीवनका सपनाहरु सँगै
भ्वाङ परेकै फरियाको ओत पनि उडाएर लग्यो
तल बारीमा यौटा अजङ्गको हेलिकोप्टर ओर्लियो
केही मानिसहरु ओर्लिए
त्यसको केही छिनपछि
भूइँमा मत्थर हुन खोज्दै गरेका धूलोहरुलाई
वतासे कार्यकर्ताहरुलाई जिस्काए जस्तै
फेरी हावामा उडाएर तिनीहरु फर्किए
तिनीहरु फर्किएको केही बेर पछि थाहा भयो
उद्धार र राहतका सामग्रीहरु
सरकारले गर्ने देश विकासको गति जस्तै
ट्रक चढेर बिस्तारै फूर्सदमा आउदै रहेछ
अंगालोमा च्यापेको बच्चा, भोको म
र शिरमाथिको खुला आकाश
फेरी पनि मेरो विवेकले काम गरेसम्म
मैले धैर्य गर्नै पर्छ
मलाई थाहा छ, राजधानीतिरको समस्या
डिमेन्सियाले जस्तै सम्झन सक्ने क्षमता गुमाएर
उपलब्धिविहीन भ्रमण, निरीक्षण र निर्देशनमा रमाउने
विशिष्ट भनिनेहरुको भीड, विवेकहीन झुण्ड
र सरकारी कोषको ट्याबलेटमा रमाउने
तमासेहरुको समस्या झन् विकराल छ।
* २४ कार्तिक २०८०
प्रतिक्रिया