उत्तर कोरियाले नेपालस्थित दूतावास बन्द गर्ने: समाजवादी खेमासँग  सम्बन्ध चिसिन थालेको हो ?

 सन् २०१९ को अन्त्यमा नेपालले ४८ जना उत्तर कोरियाली नागरिकको भिसा रद्द गर्दै स्वदेश फिर्ता गरेपछि सुरु भएको नेपाल र उत्तर कोरियाबीचको चिसोपन अब नेपाल स्थित उत्तर कोरियाली दूतावास बन्द सँगै नयाँ चरणमा प्रवेश गर्ने भएको छ । अमेरिकी दबाबमा नेपालले उत्तर कोरियाली लगानीका व्यापार बन्द गर्दै उनीहरूलाई मुलुक छाड्न आदेश दिएको चर्चा त्यसै बेला चलेको थियो । भलै संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले पारित गरेको एउटा प्रस्ताव अनुरूप नेपालले पनि उत्तर कोरियाको लगानी फिर्ता गराउने निर्णय गरेको सरकारले त्यस बेला जनाएको थियो ।

कूटनीतिक सम्बन्ध स्थापित भएको ५० वर्ष पुग्नै लाग्दा उत्तर कोरियाले नेपाल स्थिति दूतावास बन्द गर्ने भएको छ । सन् १९७४ मे १५ को दिन उत्तर कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । तर, नेपालमा कम्युनिस्ट नाम गरेको पार्टीको सरकार रहेको बेला र संविधानमा नै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने घोषणा रहेको बेला एक समाजवादी मुलुकको दूतावास बन्द हुने खबर भने निकै विरोधाभासपूर्ण देखिन्छ ।

 किन पर्‍यो सूचीमा नेपाल ?

नेपालबाहेक उत्तर कोरियाले स्पेन, युगान्डा, अङ्गोला र हङकङस्थित आफ्ना कूटनीतिक नियोगहरू बन्द गर्दैछ । सार्वजनिक भएको खबरअनुसार उत्तर कोरियाले विभिन्न देशहरूमा रहेको आफ्ना कम्तीमा पनि १२ वटा कूटनीतिक निकायहरू बन्द गर्ने भएको हो।

कोभिड महामारी र अमेरिकी नाकाबन्दीको लामो कहर झेलेको उत्तर कोरियाले पछिल्लो चरणमा आफ्ना कूटनीतिक पहल र गतिविधिहरू बढाउँदै लगेको छ । पछिल्लो पटक उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले युक्रेनसँग युद्धरत रुसको भ्रमण गरेका थिए । यसरी विश्व रङ्गमञ्चमा आफ्नो कूटनीतिक सक्रियता बढाउँदै लगेको उत्तर कोरियाले यसरी हठात् आफ्ना कूटनीतिक नियोगहरूलाई बन्द गर्ने निर्णय गर्नुको ठोस कारण त प्रकाशमा आइसकेको छैन तर यसका पछाडि आर्थिक कारण मुख्य हुन सक्ने अनुमान गरिएको छ ।

लामो समयसम्म राष्ट्रसङ्घका कडा प्रतिबन्धहरूको सामना गरिरहेको उत्तर कोरियाका विश्वभर छरिएर रहेका व्यापारिक गतिविधिहरूलाई पश्चिमी राष्ट्रहरूले निकै सक्रियतापूर्वक खोजी गरेर बन्द गराउँदै आएका थिए ।  नेपालमा भइरहेका व्यावसायिक गतिविधिहरूलाई लिएर पश्चिमा शक्तिराष्ट्रहरूले चासो प्रकट गरेपछि नेपालले समेत त्यस्तो लगानी फिर्ता गरेको थियो ।

जसले गर्दा सो मुलुकको आर्थिक अवस्थामा टेवा पुग्ने गरी मुलुक बाहिर हुँदै आएका व्यापारिक गतिविधि ठप्प भएका थिए । कम्तीमा पनि जुन मुलुकमा दूतावास छ, त्यही मुलुकमा सञ्चालित व्यापारले त्यहाँ हुने खर्च धान्ने उत्तर कोरियाको अघोषित नीतिमा त्यसले ठुलो धक्का पुगेको बताइन्छ ।

दूतावास बन्दको सन्देश

नेपालबाट कूटनीतिक नियोग बन्द गर्ने उत्तर कोरियाको निर्णयले तत्कालै नेपाललाई खासै असर त नपर्ला तर यसले सम्प्रेषण गर्ने सन्देश भने निश्चय पनि साङ्केतिक हुनेछ । किनभने विश्वव्यापी रूपमा ५३ वटा जति कूटनीतिक नियोगहरू सञ्चालित हुँदै आएको कोरियाले यसरी आफ्ना नियोगलाई बन्द गर्ने निर्णय गर्दा नेपाल पनि पर्नु पक्कै पनि फगत संयोग मात्रै होइन । यो यस अर्थमा कि समाजवादी मुलुक कोरियाले नेपालबाट आफ्नो नियोग त्यस बेला बन्द गर्दैछ, जुन बेला नेपालमा पनि समाजवाद उन्मुख संविधानअन्तर्गत समाजवादी सिद्धान्तलाई अङ्गाल्ने नेकपा माओवादीको नेतृत्वमा सरकार छ । र, नेपालबाट उत्तर कोरियाको दूतावास बन्द हुँदा सबैभन्दा ठुलो खुसी अमेरिकालाई हुने पक्का छ ।

त्यसो त पछिल्ला वर्षहरूमा विश्व  रङ्गमञ्चमा नेपालको कूटनीतिक महत्त्व र उपस्थिति कमजोर बन्दै गएको भनी आलोचना हुने गरेको छ । नेपालको धेरै पुरानो मित्र राष्ट्रको रूपमा रहेको फ्रान्सले केही वर्षअघि यहाँको दूतावास बन्दै गर्दै सम्पत्ति समेत बिक्री गरेको थियो । त्यो बेला नै नेपालले आफ्नो अन्तर्राष्ट्रिय साख गुमाएको चर्चा र विश्लेषण भएकोमा त्यो अहिले सही साबित हुँदै गरेको छ ।

खास गरी, अहिलेको संवेदनशील भूराजनीतिक जटिलताबीच नेपालले अपनाउनुपर्ने कूटनीति सन्तुलित र असंलग्न हुनुपर्नेमा यो क्रमशः अमेरिकी खेमातिर ढल्कँदै गएको आरोप लाग्ने गरेको छ । त्यसो त विगतमा आफूलाई अमेरिकी खेमाभन्दा हटक गर्न नचाहने राजतन्त्रले समेत समाजवादी मुलुकहरूसँग राम्रो सम्पर्क र सम्बन्ध स्थापित गरेको कुरा कूटनीतिको जानकारहरू बताउँछन् । उनीहरूका अनुसार, विगतमा अमेरिकी खेमाभित्रका ठानेरै समाजवादी रुसले राष्ट्रसङ्घको सदस्यता लिनबाट नेपाललाई रोक्न खोजेको स्थितिलाई रूपान्तरण गरेर राजतन्त्रले समाजवादी रुस, चीन जस्ता मुलुकहरूबाट ठुलो आर्थिक सहयोग हासिल गर्न सकेको कुरा उनीहरू स्मरण गर्छन् । खासमा अहिले कोरियाले आफ्ना दूतावास बन्द गर्नुको एउटा अन्तर्य नेपालको सम्पर्क र सम्बन्ध समाजवादी खेमाका मुलुकहरूसँग कतै चिसो बन्दै जान थालेको सङ्केत त होइन ? स्वाभाविक रूपमा प्रश्न उठेको  

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।