अचम्मै ! धुलाेका सकारात्मक पक्षहरु पनि पो हुँदाे रहेछ !

धुलो–राम्रो कि नराम्रो ?

बाटोमा बेस्सरी हावा चल्दा धुलो उड्ने गर्छ । यसरी कहिलेकाहीँ हिँडिरहेको बेला धुलो आँखामा परेर हिँड्नै गाह्रो पर्ने गर्छ । यसले हाम्रो लुगालाई पनि मैला पार्ने गर्छ । त्यही भएर हामीमध्ये धेरैजसोलाई धुलो मन पर्दैन । हामी कहिले काहीँ संसारमा धुलो नै नहोस् भनेर पनि कामना गर्ने गर्छौं । के धुलो वास्तवमै नराम्रो हो त ? यसले के हानि मात्रै गर्छ त ?

यी प्रश्नहरुको उत्तर दिनुभन्दा पहिले हामीले धुलो कसरी पैदा हुन्छ भन्ने कुरा जान्नु जरुरी छ । धुलो ढुंगाका स–साना कण, मरेको जनवारहरुका नसडेको कण, समुद्रको नुन, ज्वालामुखीको खरानी आदि इत्यादि वस्तुहरुबाट बनेको हुन्छ । यिनीहरु निकै साना भएको हुनाले एकदमै हल्का हुने गर्छन् । यिनीहरुलाई हावाले पनि सजिलै एक ठाँउबाट अर्को ठाँउमा उडाएर लान सक्छ ।

धेरै कुराको लागि धुलो राम्रो वा फाइदाजनक होइन । यसले विभिन्न रोगहरुका किटाणुहरुलाई बोक्ने गर्छ । विशेष गरेर रोगी मानिसले जथाभावी थुक्दा सुकेको थुकमा भएको किटाणु धूलोले नै एक ठाउँबाट अर्को ठाउँमा लैजाने गर्छ । त्यसैले धूलोले रोगहरुलाई सार्ने काम पनि गर्छ । यिनीहरुले घर, आँगन र वातावरण नै फोहोर पार्ने गर्छ । तर अर्कोतर्फ भने यसले धेरै राम्रो काम पनि गरिरहेको हुन्छ । यसले संसारलाई सुन्दर पार्ने गर्छ । यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर यो साँचो हो । साँझ र बिहान देखिने सूर्यको किरणको मनोरम दृश्य हावामा रहेको धुलाका कणहरु कै कारणले निर्माण हुने गर्छ ।

सूर्यको किरण हावाको माथिल्लो भागमा रहेको धुलोको कणहरुमा पर्ने गर्छ । ती कणहरुले सूर्यको प्रकाशलाई विभिन्न दिशामा छर्ने गर्छ । यही भएर सूर्य अस्ताएको एक–दुई घन्टासम्म पनि सूर्यको प्रकाश देखिने गर्छ । धुलोले ती किरणहरुलाई विभिन्न कोणहरुमा छर्ने हुँदा विभिन्न रंग पनि देखिने गर्छ । साँझमा आकाश रातो देखिनुको कारण पनि यही नै हो । ती कणहरुले सूर्यको किरणलाई विशेष कोणमा बङ्ग्याइदिन्छ, जसले गर्दा किरणमा रहेको रातो रंग सबैभन्दा अन्त्यमा बिलाउने गर्छ । बिहान पनि यही नै प्रक्रिया हुने गर्छ ।

केही खास किसिमका तथा ०.०२ माइक्रोनभन्दा साना धुलाका कणहरुले बादलको बीउ (cloud condensation nuclei (CCN))  को काम गरिरहेको हुन्छ । अर्थात् त्यस्ता किमिसका धुलाका कणहरुले पानी पर्नमा पनि मद्दत गरेको हुन्छ । जब पानीको थोपा बाफ बनेर उड्ने गर्छ, धुलोका कणहरुले बाफ पानीको थोपामा परिणत हुँदा ती थोपाहरुको केन्द्रको रुपमा काम गर्छन् । धुलो नहुनु हो भने ति वाफ पानीका थोपाहरु बन्ने थिएनन् । धुलो कै मदतले यस संसारमा अनगिन्ती बादल, हुस्सु, शीत आदि बनिरहेका छन् ।

वास्तवमा ठिक्कको मात्रामा धुलोका केही फाइदाहरु छन् । तर अत्यधिक धेरै धुलाले स्वास्थ्य र वातावरणमा हानी पुर्याउने गर्छ ।

धुलोका अन्य फाइदाहरुलाई निम्नानुसार लिपिबद्ध गर्न सकिन्छ ।

खनिज र जैविक  पदार्थहरु भएका धुलोका कणहरुले माटोको निर्माण र त्यसलाई पोषणदायी बनाउन भूमिका खेल्न सक्छ । त्यस्ता कणहरु समयक्रममा विरुवाका लागि पोषणको स्रोत त बन्छ नै माटोलाई उर्बर पनि बनाइदिने गर्छ ।

धुलोका कणहरुले बोटविरुवाका लागि अत्यावश्यक हुने फस्फोरस लगायतका पोषक तत्व तथा खनिजहरु एक  ठाउँबाट अर्को ठाउँमा पुर्याइदिने काम गर्छ । यसले विरुवाहरुको लागि अत्यावश्यक पोषकहरु उपलब्ध गराएर तथा पोषणचक्रलाई नियमित गरेर पर्यावरणीय सन्तुलनमा योगदान गरिरहेको हुन्छ ।

धुलोका कणहरुमा सुक्ष्म जीवाणुहरु तथा जैविक पदार्थहरु रहेको हुन्छ, जसले माटोको जैविक गतिविधिहरुलाई सन्चालित गर्न तथा जैविक पदार्थहरुलार्ई कुहाएर मल  बनाउने काममा सहयोग गरिरहेको हुन सक्छ ।

केही निश्चित प्रकारका विरुवा तथा ढुसीहरु आफ्ना विउलाई एक ठाउँबाट अर्को ठाउँसम्म फैलाउनका लागि धुलोका कणमा नै निर्भर रहेको हुन्छ । धुलोका कणहरुले ती विरुवा तथा ढुसीका विउहरुलाई विभिन्न ठाउँमा छरिदिएर तिनको जीवनचक्रलाई सुचारु गरिदिइरहेको हुन सक्छ ।

वातावरणमा भएका धुलाका कणहरु ठीक्कको मात्रामा छ भने त्यसले प्रदूषण तथा हावाजन्य खराब कणहरुलाई छान्ने काम गरिदिन सक्छ । यसले  खास किसिमका प्रदूषकहरुलाई हटाएर हावाको गुणस्तरलाई राम्रो बनाइदिने काम  गर्न पनि सक्छ ।

ख्याल गर्नुपर्ने कुरा के हो भने सबै धुलाका कणहरु फाइदा गर्ने खालका हुँदैनन्  । खास परिस्थितिमा खास खालका धुलाका कारणहरुले हामीलाई फाइदा गरिरहेका हुन्छन् । तर निश्चित मात्राभन्दा बढी रहेको धुलोले भने हामीलाई फाइदा हैन, नोक्सानी नै  गर्छ । त्यसले हाम्रो वातावरणलाई जीवनको प्रतिकूल बनाइदिन सक्छ, हामीलाई ठूला स्वास्थ्य समस्याहरुको चक्करमा ठेकिदिन सक्छ । त्यसमाथि थप, प्राकृतिक रुपमा पैदा हुने धुलोभन्दा निर्माण कार्य, खानी उत्खनन, औद्योगिक प्रक्रियालगायत मानवजन्य क्रियाकलापहरुका कारण सिर्जना हुने धुलो त मानव स्वास्थ्यका लागि झनै खतरनाक  र  हानिकारक हुने गर्छ ।

त्यसैले सारमा भन्दा, निश्चित सन्दर्भमा धुलाका केही फाइदाहरु अवश्य पनि छन् । तर यसका पनि सीमाहरु छन् र सीमाभन्दा बढी उत्पन्न भएका धुलोले वातवरणीय चक्र तथा बनस्पति एवं जीवजगत्को स्वास्थ्यमा फाइदा हैन, नोक्सानी नै गर्छ ।

 

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।