आलोचनालाई सहजै पचाउने र शिष्टाचारलाई पालना गर्ने नेहरु

भारतका प्रख्यात कार्टुनिस्ट थिए केशव शंकर पिल्लई।  जो शंकर नामले प्रख्यात थिए।  उनले कुनै पनि नेता र सार्वजनिक पदमा बसेका व्यक्तिको धज्जी उठाउन केही कसर बाँकी राख्दैन थिए। उनको कार्टूनबाट बेलायती भाइसरोय, गान्धी, नेहरु, जिन्हा कोही पनि अछुतो थिएन। त्यही कारण उनी तिनका समर्थकहरुको कोपभाजनको शिकार पनि बन्ने गर्थे ।

केशव शंकर पिल्लई

महात्मा गान्धी पनि शंकरका कार्टून बाट खासै खुसी थिएनन् र बेला बेला चिठी लेखेर उनको आलोचन गर्ने गर्थे।  तर नेहरुलाई भने शंकरको कार्टुन एकदमै मनपर्थ्यो। नेहरुलाई आफूमाथि व्यंग गरिएका कार्टुन यति मन पर्थ्यो कि उनले जेलमा रहदा ती कार्टूनहरुलाई पत्रिका बाट काटेर आफ्नी छोरी इन्दिरा गान्धीलाई चिट्ठी मार्फत पठाउने गर्थे।

शंकरले नेहरुमाथि कठोर व्यङ्ग्य गरेर कार्टुन सिर्जना गर्थे।  तर पनि नेहरु शंकरलाई प्रसंशा गर्दै भन्ने गर्थे- 'शंकर मलाई ब्यङ्ग गर्न नछोड।' नेहरुले भनेका थिए- 'शंकर संग त्यस्तो दुर्लभ गुण छ कि उनले कुनै पनि दुर्भावना र आग्रहबेगरनै कलात्मक कौशलद्वारा सार्बजनिक व्यक्तित्वहरुको कमजोरीहरु उजागर गरिदिन्छन।  हाम्रो घमण्डको मुखुण्डो बेलाबखत च्यातिदा पनि राम्रै हुन्छ।' 

आर के लक्ष्मण

त्यस्तै अर्का प्रख्यात भारतीय कार्टूननिस्ट आर के लक्ष्मणले १९६२ को चीन संगको युद्धपछि नेहरुको बारेमा एउटा असाध्यै बिझ्ने कार्टून बनाए। लक्ष्मणलाई त्यो कार्टून बनाएवापत गालीगलौज वा भौतिक रुपमा आक्रमण भने गरिएन। यो कार्टून छापिएपछि लक्ष्मणले सोचेका थिए नेहरु म संग पक्कै पनि रिसाएका होलान्। तर उनको अनुमान विपरीत नेहरुले लक्ष्मणलाई फोन गरेर भने 'मलाई तपाईंको आजको कार्टून देखेर खुब मजा आयो।  के तपाइले त्यो कार्टूनलाई इन्लार्ज गरेर आफ्नो हस्ताक्षरसहित मलाई दिन सक्नु हुन्छ ? म त्यसलाई फ्रेम गरेर राख्न चाहन्छु।'

ख़्वाजा अहमद अब्बास

 प्रख्यात भारतीय साहित्यकार तथा फिल्मकार ख़्वाजा अहमद अब्बास एक पटक भारतीय प्रधानमन्त्री नेहरुलाई भेट्न उनको सरकारी निवास तीनमूर्तिमा गएका थिए। नेहरु त्यसबेला मृत्युशैयामा थिए।   ख़्वाजा अहमद अब्बास नेहरु बसेको कुर्सीको छेउमा पुगे र अभिवादन गरे।  नेहरु आफ्नो कुर्सीबाट उठ्न खोजे। उनलाई मस्तिस्कघात भएको थियो र शाररिक रुपमा अति नै कमजोर थिए।  ख़्वाजा अहमद अब्बासले नेहरुलाई नउठ्न आग्रह गरे।  नेहरुले जवाफ दिए- अब्बास म मृत्युशैय्यामा छु तर मैले आफ्नो तहज़ीब(शिष्टाचार) बिर्सेको छैन। यो भेटको एक हप्ता पछि नै नेहरुको निधन भयो।   

नेहरुका यी प्रसङ्गहरुले हामीलाई प्रष्टै सन्देश दिन्छ– आफ्नो इज्जत खोज्ने मान्छेले अरुको इज्जत गर्न सिक्नु पर्छ।