पश्चिमा प्रोपोगण्डालाई धक्का: अल जजिरालाई मत्थर पार्न अमेरिकी अनुरोध !

अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले कतार सरकारलाई अलजजिरा टेलिभिजनको इजरायल र हमास युद्धको प्रसारणलाई अलिक मत्थर पार्न अनुरोध गरेको छन्। अमेरिका र पश्चिमी जगतको बुझाइमा यो युद्धको बारेमा अलजजिराले गरिरहेको रिपोर्टिंगले आम जनताको अभिमतलाई उत्तेजित बनाइरहेको र युद्धलाई झन् चर्काउने जोखिम बढाइरहेको छ । त्यसले यस युद्धमा इजरायल, अमेरिका र युरोपको भूमिकाबारे आमजनमानसमा नकारात्मक छवि निर्माण गर्ने काम गरिरहेको छ भनेर उनीहरु चिन्तित छन्। अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले अलजजिरा सम्बन्धी उक्त चिन्ता कतारी प्रधानमन्त्री शेख मोहमद बिन अब्दुल रहमान बिन जसिम अलथानी संगको भेटमा व्यक्त गरेका थिए। अमेरिका यो मिडियाको अरब जगतमा रहेको ठुलो प्रभाव बारे विगत लामो समयदेखि चिन्तित छ।

अलजजिरा नेटवर्कको लगानीकर्ता कतारी राजपरिवार हो। तर यसले आफूलाई स्वतन्त्र मिडिया भएको दावी गर्दछ। तर अरु अरब देशहरुले र पश्चिमी जगतले यसलाई कतारको सौम्य शक्ति वा सफ्ट पावर भएको दावी गर्ने  गर्छ ।  

अलजजिरा युद्धग्रस्त गाजा पट्टिमा आफ्नो समाचार व्युरो राखेर त्यहा भैरहेका घटनाको प्रत्यक्ष रिपोर्टिंग गर्ने अन्तरास्ट्रीय स्तरको एक मात्र मिडिया हो। यसले गाजा पट्टिमा इजरायलले गरिरहेको भारि बमबारी र त्यस बाट त्यहा भैरहेको जनधनको क्षति बारे निरन्तर रिपोर्टिंगहरु गरिरहको छ। पश्चिमा मिडियाहरुले यस युद्धमा इजरायलले गरेको हरेक कारवाहीहरुलाई जायज र प्यालेष्टाइनीहरुले गरेका प्रतिरोधी कारवाहीलाई चाहिँ आतंकवादी गतिविधिको रुपमा चित्रित गर्दै आइरहेको छ । इजरायलले गरेका 'युद्ध अपराध' तहको सर्वसाधारण नागरिकहरु, जसमा अत्यधिक संख्या बालबच्चा र महिलाहरुको रहँदै आएको छ, माथिको नरसंहारलाई 'इजरायलले गरेको आत्मरक्षाको कारवाही'को रुपमा सही ठहर्याउने र सोहीअनुसारको समाचारहरु प्रसार गर्दै आइरहेका छन् । उनीहरुको लेखाइमा इजरायलको कारवाहीमा मानिसहरुको 'मृत्यु' हुन्छ भने प्यालेष्टाइनी (हमास समेत) को प्रतिरोधी कारवाहीमा चाहिँ मानिसहरुको 'हत्या' हुने गर्छ । पश्चिमी मिडियाले युद्धको सत्यतथ्य प्रस्तुत गर्नुको सट्टा इजरायल, अमेरिका र युरोपले चाहेअनुसारको एकपाखे समाचार मात्रै प्रसार गरेपछि यतिखेर युद्धका बारेमा प्रतिपक्षी आवाजलाई बोक्ने प्रभावकारी मिडिया अलजजिरा नै भएको छ र त्यसले अमेरिका र युरोपको सहमा लामो समयदेखि इजरायलले प्यालेष्टाइनमाथि चलाउँदै आएको अन्यायपूर्ण सैनिक कारवाही र उसको युद्ध अपराधहरुबारे थाहा पाउने वैकल्पिक मिडियाको रुपमा अलजजिरा नै देखिएको छ । तर युद्धग्रस्त गाजा पट्टि प्रत्यक्ष समाचार प्रसारण गरेवापत अलजजिराले थेरै ठुलो मूल्य पनि चुकाउनु परेको छ। अलजजिराका सम्वादाता र उनीहरुका परिवारहरु इजरायली आक्रमणमा मारिएका छन्। गत हप्ता इजरायली हवाई हमलामा अलजजिराका गाजा स्थित प्रमुख सम्वादाता वाहिल अलदाउदका श्रीमती, छोरी र नाति सहित उनका परिवारका २१ जना मृत्यु भएको थियो। त्यस्तै पोहोर साल इजरायली सैनिकले हानेको गोली लागेर वेस्ट ब्यांकमा अलजजिराकी सम्वादाता शिरीन अबू अकलेहको मृत्यु भएको थियो।

अलजजिराले गाजापट्टिबाट गरिरहेको निरन्तर रिपोर्टिंग बट आजित भएर इजरायलले यो मिडियालाई प्रतिवन्ध लगाउन आपतकालीन नीति नियमहरु पारित गरेको छ। यो कानुन अनुसार इजरायलले अलजजिरा नेटवर्कको प्रसारण रोक्न सक्छ, इजरायलमा रहेको कार्यालय बन्द गर्न सक्छ, यसका उपकरणहरु जफत गर्न सक्छ र यसको वेबसाइटलाई बन्द गर्न सक्छ। इजरायल सरकारका अनुसार अलजजिराले इजरायलबिरुद्ध अरुलाई भड्काएको र हमासलाई प्रवर्धन गरेको आधारमा प्रतिन्ध लगाउन सक्छ।

यति बेला इजरायल र हमास बीच गाजापट्टिमा घमासान युद्ध चलिरहेको छ। यो युद्ध केवल रणमैदानमा मात्र सीमित छैन। बरु यो युद्ध प्रचार र सूचना युद्धमा परिणत भएको छ। एउटै घटनालाई कुन पक्षले कसरी प्रस्तुत गर्ने र कुन रुपमा जनमानसमा पुर्याउने भन्ने होडबाजी चलिरहेको छ। संचार जगतमा एउटा भनाइ चर्चित छ 'कुनै पनि कुरा निष्पक्ष हुँदैन। हरेक व्यक्तिको पक्षधरता हुन्छ।' अहिलेको इजरायल प्यालेस्टाइन युद्धमा पनि त्यही लागु भइरहेको छ। इजरायल हमास युद्धको सुरुमा प्रख्यात बेलायती प्रसारण संस्था बिबिसीको पक्षधरता झल्केन रिपोर्ट खुब चर्चित भएको थियो। जसमा लेखिएको थियो इजरायलले बदला स्वरुप गरेको भारी हवाई हमलामा गाजामा ५५० भन्दा बढी व्यक्तिको मृत्यु भयो। हमासले शनिवार इजरायलमा गरेको आक्रमणमा ७०० जना भन्दा बढी व्यक्ति मारिएका छन् । बिबिसीको रिपोर्टले कुन पक्षलाई पक्षपोषण गरेको थियो त्यो प्रस्ट नै छ।

आजसम्म विश्वभर पश्चिमी संचार माध्यमले नै संचार र सूचना प्रसारणको क्षेत्रमा दबदबा कायम राखेका छन्। उनीहरुलेनै उपलब्ध गराएका सूचना र समाचारका बारेमा बाँकी बिश्वले कुनै पनि घटनाको बारेमा थाहा पाउनु पर्ने र त्यसअनुसार धारणा बनाउनुपर्ने अवस्था छ । पश्चिमा मिडियाको यो बर्स्चस्वलाई एउटा सानो तर अत्यधिक धनी देश कतारको एउटा मिडिया अलजजिराले चुनौती दिन थालेको छ। आफ्ना कृत्यहरुलाई जायज ठहराउने र त्यसअनुसार संसारभरि जानकारी फैलाउने पश्चिमा सञ्चारजगत्माथि अलजजिराले खडा गरिदिएको यो चुनौतीले यतिखेर सम्पूर्ण पश्चिमी जगत तिल्मिलाएका छन् भन्ने प्रष्टै छ ।