इजरायल- हमास युद्धभित्र शक्ति राष्ट्रको भू-राजनीति र बढ्दो वैश्विक खतरा !

द्वन्द्व क्षेत्रीय रुपमा मात्रै सीमित नरहने चिन्ता : समस्याग्रस्त अवस्थामा रहेको विश्व अर्थतन्त्रमाथि कालो बादल

Photo: www.aljazeera.com

अहिले विश्वको ध्यान युक्रेनबाट हटेर प्यालेस्टाइनमा पुगेको छ । अघिल्लो शनिवार हमास समुहले इजरायलमा एक्कासि आक्रमण गरेपछि मध्यपूर्वमा जारी तनाव थप फराकिलो हुँदै गइरहेको छ । हमासको आक्रमणमा परेर १० जना निर्दोष र निहत्था नेपाली विद्यार्थीको मृत्यु भइसकेको छ भने हराएकाको अवस्था अज्ञात छ । घाइते नेपालीहरूको उपचार त्यही जारी छ । ज्यान गुमाएकाहरूका परिवारजन अझै शवको प्रतीक्षामा अधैर्यताका साथ बसिरहेका छन् ।

यसरी इजरायली भूमिमा नयाँ ज्ञान आर्जन गर्न पुगेका नेपालीले समेत ज्यान नै गुमाउनुपर्ने गरी त्यहाँ भएको आक्रमण भित्र लुकेको भू-राजनीति के हो ? किन त्यहाँ कहिल्यै शान्ति छाउन सक्दैन ? त्यहाँका नागरिकहरू किन र कसको के स्वार्थका कारण सधैँ त्रासदीपूर्ण जीवनयापन गर्न विवश छन् ? अनि, गाजामा आधाभन्दा धेरै जनसङ्ख्या हिस्सा ओगट्ने १८ वर्ष मुनिका निर्दोष बालबालिका किन कष्टपूर्ण जीवन र अकल्पनीय मृत्युलाई स्वीकार्न बाध्य बनिरहेका छन् भन्ने विषयमा यो छोटो आलेखमा चर्चा गरिएको छ ।

हमासको ‘अपरेसन अल-अक्सा फ्लड’

‘अपरेसन अल-अक्सा फ्लड’ प्यालेस्टाइनी इस्लामिक लडाकु समुह हमासले अघिल्लो शनिवार अर्थात्  अक्टोबर ७, २०२३ को दिन इजरायलमाथि गरेको योजनाबद्ध आक्रमणको नाम हो । यो आक्रमण शत्रु पक्षले गरेको एउटा क्रियाको प्रतिक्रियाका रुपमा हमासले गरेको थियो, जुन धेरैले हेक्का राखेकै छैनन् । त्यसैले हमासलाई अनाहकमा इजरायलमाथि आक्रमण गरेर नरसंहारको लागि परमाणु हतियारधारी एउटा बलियो राष्ट्रलाई उक्साएको भन्दै हमासलाई दोष दिने भाष्य अहिले बढी सुनिने गरेको छ ।

हमासलाई अनाहकमा इजरायलमाथि आक्रमण गरेर नरसंहारको लागि परमाणु हतियारधारी एउटा बलियो राष्ट्रलाई उक्साएको भन्दै हमासलाई दोष दिने भाष्य अहिले बढी सुनिने गरेको छ ।

यो आक्रमण सन् १९७३ अक्टोबर ६ का दिन इजरायल र अरब राष्ट्रहरू बीच युद्ध सुरु भएको ठीक ५० वर्ष पुगेको दिन गरिएको थियो । मुस्लिम मुलुकहरू इजिप्ट र सिरियाको नेतृत्वमा २० दिनसम्म चलेको त्यो युद्धमा अरब राष्ट्रहरूको हार भएको थियो र उनीहरू इजरायललाई एउटा राष्ट्रको मान्यता दिन बाध्य बनेका थिए । जसको बदला लिने भाव जीवितै राखेका इस्लामिक लडाकुहरूले यस पटक आक्रमण गरेका हुन् जुन पाँच दशक अघि झैँ एउटा उत्सव मनाइरहेका युवाहरू माथि भएको थियो ।

लगभग ५ हजार भन्दा बढी मिसाइलसहित आकाश र जमिन दुवैतर्फबाट इजरायल छिरेका उनीहरूले एकै दिन सयौंको हत्या गरेका थिए भने सयौँलाई बन्धक बनाएर आफूसँगै गाजातर्फ लगेका छन् । माथि उल्लेखित पुरानो कारण त छँदै थियो तर ‘अपरेसन अल-अक्सा फ्लड’ का लागि हमासलाई उक्साउने दुई वटा घटना भने भर्खरै इजरायलले गरेको थियो ।

पहिलो, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याउले अघिल्लो महिना सेप्टेम्बरमा संयुक्त राष्ट्र सङ्घको महासभामा ‘नयाँ मध्यपूर्व’ भन्दै एउटा नक्सा प्रदर्शित गरे । जसमा प्यालेस्टाइनको अस्तित्व नै छैन । अर्थात् अर्को शब्दमा भन्दा इजरायली प्रधानमन्त्रीले विश्व समुदाय समक्ष पेश गरेको नक्सामा आफ्नो मुलुकको नाम निशाना नै नहुँदा प्यालेस्टाइनी हमास समुह क्रुद्ध बन्ने मात्र स्थिति बनेन कि उनीहरूले ‘हामी यहाँ छौँ’ भनेर नेतान्याउलाई सम्झाउनै पर्ने भयो । जसका लागि यो आक्रमणको विकल्प उनीहरूसँग थिएन ।  त्यति मात्र होइन इजरायली प्रधानमन्त्रीको त्यो कर्म स्वयम् संयुक्त राष्ट्र सङ्घले यो समस्या समाधानका लागि गरिरहेको प्रयास र सबै घोषणाहरूको पनि उपहास थियो ।

पछिल्लो आक्रमणको दुई दिन अघि मात्र पनि ८३२ जना इजरायली अतिवादीले त्यहाँको सेनाको संरक्षणमा त्यो पवित्र स्थल नजिकै बसोबास र व्यापार गर्ने मुस्लिम बिरुद्ध नाराबाजी गर्ने, पसल तोडफोड गर्ने, लुट्ने र भौतिक रुपमा आक्रमण गर्ने काम गरेका थिए ।

दोस्रो, जेरुसलेममा रहेको मुस्लिमहरूको पवित्र धार्मिक स्थल अल-अक्सा मस्जिदमा मुस्लिम समुदायलाई नै प्रवेशमा रोक लगाउने, उनीहरूलाई निर्ममतापूर्वक पिट्ने, प्रहरीले दमन गर्ने जस्ता इजरायली पक्षबाट भइरहेका कार्यहरूले हमासलाई त्यसको प्रतिरोध गर्न उक्साइरहेको थियो । पछिल्लो आक्रमणको दुई दिन अघि मात्र पनि ८३२ जना इजरायली अतिवादीले त्यहाँको सेनाको संरक्षणमा त्यो पवित्र स्थल नजिकै बसोबास र व्यापार गर्ने मुस्लिम बिरुद्ध नाराबाजी गर्ने, पसल तोडफोड गर्ने, लुट्ने र भौतिक रुपमा आक्रमण गर्ने काम गरेका थिए । इजरायलको यस्तो बर्बरतापूर्ण आक्रमणका कारण प्यालेस्टाइनी मुस्लिम र लडाकु हमासलाई इजरायल माथि प्रत्याक्रमणको लागि मानसिक रुपमा तयार पार्‍यो । फलतः उनीहरूले विलम्ब नगरी तुरुन्तै दुई दिनपछि इजरायलमा आक्रमण गरे ।

अल-अक्सा भर्सेस पर्ल हार्बर

यो सन्दर्भमा स्मरणीय पक्ष के हो भने अल-अक्सा प्यालेस्टाइनी जनताको लागि मात्र नभएर पुरै इस्लामिक विश्वको लागि त्यो बिन्दु हो जसको खातिर उनीहरू जस्तोसुकै मूल्य चुकाउन तयार छन् । तर, आफुले अल-अक्सामा गरेको ज्यादति र हिंसाको तथ्यलाई छोप्न कट्टरपन्थी यहुदी सरकार रहेको इजरायलले हमासको ‘अपरेसन अल-अक्सा फ्लड’ लाई दोस्रो विश्वयुद्ध जापानले अमेरिकाको पर्ल हार्बर मा गरेको पहिलो आक्रमणसँग तुलना गरिरहेको छ । उसले यसरी पर्ल हार्बरसँग तुलना गरेर अक्टोबर ७ तारिख यता गाजामा आफूले गरिरहेको अमानवीय आक्रमणलाई जायज र अत्यावश्यक प्रमाणित गर्न खोजिरहेको छ । जबकि यी दुई घटना तुलनायोग्य हुँदै होइनन् ।

त्यो बेला जापानले पर्ल हार्बर मा आक्रमण गरेर अमेरिकालाई युद्धमा होमिन उक्साएको थियो भने यहाँ इजरायलले संयुक्त राष्ट्रसङ्घदेखि अल-अक्सासम्म पहिलो आक्रमण गरेर आफ्नो अस्तित्व रक्षाको लागि प्रतिरोधमा उत्रन प्यालेस्टाइनीलाई बाध्य पारेको देखिन्छ । त्यहाँ इजरायलले गरिरहेको मुस्लिम समुदायको नश्लनाशको विरुद्ध हमास, हज्बुल्लाह र इरानले संयुक्तरुपमा तर हमासको नाममा गरिरहेको प्रतिरोधको पछिल्लो तर भयानक आक्रमण थियो, ‘अपरेसन अल-अक्सा फ्लड’ । जसमा निर्दोष नेपालीले समेत ज्यान गुमाउनु पर्‍यो । त्यसैले यो घटनाले हामी नेपालीलाई जति पीडा दिएको छ त्यसको जिम्मेवार इस्लामिक अतिवादी हमास लडाकु मात्र होइन की चरम पन्थी यहुदी इजरायली सरकार पनि जिम्मेवार छ ।

एकातिर अहिले गाजामा भइरहेको इजरायली आतङ्कलाई पश्चिमा सञ्चारमाध्यमहरूले जायज ठहर गर्न गरिरहेको प्रयत्नको एउटा पक्ष मात्र हो पर्ल हार्बरसँगको तुलना । यो तुलनाले अमेरिकाले जापानमा गरेको  अणुबमको वर्षा समेत अनिवार्य थियो भन्ने भाष्यलाई फेरी उठान गर्दा आफ्नो स्वाधीनताको युद्ध लडिरहेका प्यालेस्टाइनी माथि मात्र अन्याय हुँदैन कि आजसम्म पनि सन् १९४५ को चोट नबिर्सिएका जापानीहरूको पनि चित्त दुख्न सक्छ  ।

युक्रेनमा पुरा नभएको युद्दमत्ताको निरन्तरता

युक्रेनलाई आफ्नो छिमेकी रुस बिरुद्ध भड्काएर नाटोको सदस्यता लिन उक्साउने अमेरिका र पश्चिमा जगत् रुस-युक्रेन युद्धमा नराम्ररी फसेको छ । रुसले पनि सोचेजस्तो सहज जित निकाल्न सकेको छैन भने अमेरिका र युरोपले संयुक्त रुपमा गरिरहेको छद्म युद्ध उनीहरूको लागि निकै महँगो साबित हुँदै गएको छ ।

खनिज तेलको बिक्री लगायत चीन र भारतसँगको स्थानीय मुद्रामा भएको व्यापारले रुसलाई बलियो बनाइरहँदा पश्चिमी मुलुकहरूले त्यसबाट आफुलाई बाहिर निकाल्ने उपाय खोजी गरिरहेको बेला यो अवसर प्राप्त  भएको छ  । त्यसैले अब पश्चिमा मुलुकहरू रुसलाई छाडेर इरानलाई प्रमुख निशानामा राख्ने तयारीमा लागेका छन् ।

आफ्नो पछिल्लो रिपोर्टमा अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकी नेतृत्वमा जारी आर्थिक प्रतिबन्ध र पुरै पश्चिमी राष्ट्रहरूसँगको छद्म युद्धका बाबजुद रुसको अर्थतन्त्र थप बलियो भएको उल्लेख गरेको छ । खनिज तेलको बिक्री लगायत चीन र भारतसँगको स्थानीय मुद्रामा भएको व्यापारले उसलाई बलियो बनाइरहँदा पश्चिमी मुलुकहरूले त्यसबाट आफुलाई बाहिर निकाल्ने उपाय खोजी गरिरहेको बेला यो अवसर प्राप्त  भएको छ  । त्यसैले अब पश्चिमा मुलुकहरू रुसलाई छाडेर इरानलाई प्रमुख निशानामा राख्ने तयारीमा लागेका छन् ।

यसले जुनसुकै रूप र बहानामा भए पनि अमेरिका युद्धमा रहिरहने र हतियारको व्यापारलाई कायम राख्ने काम गरिरहेको छ भन्ने कुरालाई थप प्रमाणित गरेको छ ।                                         

हमासको हातमा युक्रेनी हतियार !

मात्र एक वर्ष अघि युक्रेनका कमेडियन राष्ट्रपति भन्दै थिए- अब युक्रेन अर्को इजरायल बन्नेछ । अहिले सबैले देखिरहेका छन्, एक वर्षको अवधिमा युक्रेन के बन्यो र अब के बन्ने दिशामा अघि बढिरहेको छ । बरु, यस बेला केही सञ्चार माध्यमहरूमा विभिन्न स्रोतको हवाला दिँदै समाचारहरू प्रकाशित भइरहेका छन्- युक्रेनका सैन्य अधिकारीहरूले अवैध बजारमा  बिक्रिगरेका हतियारहरू अहिले हमासको हातमा छन् ।

एकातिर हमास युक्रेनबाट आफ्ना सहयोगीहरूले खरिद गरिदिएका  आधुनिक हतियारले सुसज्जित हुँदै गर्दा चीन, रुस, टर्की, साउदी अरब र इजिप्टले इजरायललाई गरेको शान्ति वार्ताको प्रस्ताव उसले अस्वीकार गरेको थियो । यसरी लेबनान, प्यालेस्टाइन र सिरियासँग शान्ति वार्तामा सम्मिलित हुनुको सट्टा आफ्नो घमन्ड प्रस्तुत गरेको इजरायल विरुद्ध लेबनानको हजबुल्लाह समुह भिड्न तयार भएर बसेको छ ।  यदि इजरायल समयमा नै संयमित भएर हाल गाजामा गरिरहेको नरसंहार रोक्नेतर्फ लागेन भने हजबुल्लाहले पनि आक्रमण शुरुगर्ने लगभग पक्का छ । सामान्य झडपहरु त शुरु पनि भइसकेको छ ।

हजबुल्लाहका नेता हसन नस्रल्लाहले अब युद्ध भयो भने त्यो इजरायलभित्रै हुनेछ भन्दै चेतावनी दिइरहेका छन् । जे होस्, इजरायलले हजबुल्लाह र हमासलाई नजरअन्दाज गर्यो भने त्यो निकै ठुलो गल्ती प्रमाणित हुनसक्छ किनकि त्यसपछि इरान पनि लतारिएर यो युद्धमा प्रत्यक्ष रुपमा सामेल बन्न बाध्य हुनेछ ।

हमाससँग भएका घरेलु मिसाइल र साना खालका रकेटहरुका विपरीत अहिले हजबुल्लाहसँग ४० किलोमिटरदेखि ५०० किलोमिटरसम्म मार हान्न सक्ने लगभग एक लाख ब्यालेस्टिक मिसाइल र रकेट रहेको अनुमान छ । तीमध्ये उनीहरुसँग उल्लेख्य मात्रामा गाइडेड मिसाइलहरुसमेत रहेको कुरा प्रकाशमा आएको छ । सानो प्रतिरोधी सङ्गठन हमासको तुलनामा हजबुल्लाहहरु एउटा बलियो नियमित सेनाको हैसियत राख्छ । यो कुरा इजरायललाई पनि राम्ररी थाहा छ । त्यसमाथि हजबुल्लाहका नेता हसन नस्रल्लाहले अब युद्ध भयो भने त्यो इजरायलभित्रै हुनेछ भन्दै चेतावनी दिइरहेका छन् । जे होस्, इजरायलले हजबुल्लाह र हमासलाई नजरअन्दाज गर्यो भने त्यो निकै ठुलो गल्ती प्रमाणित हुनसक्छ किनकि त्यसपछि इरान पनि लतारिएर यो युद्धमा प्रत्यक्ष रुपमा सामेल बन्न बाध्य हुनेछ ।

युद्ध भित्रको भू-राजनीति

पछिल्लो युद्धको सबैभन्दा महत्त्वपूर्ण भू-राजनीतिक महत्त्व भनेको इजरायल र अरब मुलुकहरू बीच विकसित हुँदै गएको सम्बन्धलाई खलबल्याउन अमेरिकी योजना सफल बन्ने हो । विगत लामो समयदेखि रहेको अन्य अरब राष्ट्र र इरानबीचको सम्बन्ध सुधारमा चीनको सफलता र इजरायल अनि साउदी अरबबीच सम्बन्ध सुधारको लागि चीन लगायतका ब्रिक्स राष्ट्रहरूको प्रयास अमेरिकाको लागि सही नसक्नु बन्दै गएको थियो ।

त्यसमाथि महत्त्वपूर्ण अरब मुलुकहरू ब्रिक्स+ (प्लस) मा सहभागी बन्ने कुरा अमेरिकी साम्राज्यको लागि नै ठुलो चुनौती बनेको छ । त्यसैले एकल ध्रुवीय विश्वको दावी गरिरहेको अमेरिका ब्रिक्स ११, सघाई कोअपरेशन, युरेसियन इकोनोमिक युनियन र चीनको बीआरआईका कारण आत्तिएको अवस्था छ ।

उता मध्यपूर्वमा अमेरिकाले लाडप्यारले हुर्काएकी छोरी, इजरायललाई, यसै वर्ष अफ्रिकन युनियनको सम्मेलनमा निमन्त्रणा गरिएको थिएन । त्यहाँ एउटा प्रतिनिधि मण्डल त पुग्यो तर त्यसलाई सभा कक्षबाट बाहिर निकालिएको भिडियो निकै भाइरल बनेको थियो । उता, अघिल्लो महिना संयुक्त राष्ट्रसङ्घको महासभामा इरानी राष्ट्रपति इब्राहिम रैसीले सम्बोधन गर्ने क्रममा बाधा पुर्‍याउन एकजना इजरायली कूटनीतिज्ञले गरेको प्रयासमा अन्य कुनै पश्चिमाहरूले साथ दिएका थिएनन् । अन्ततः उनी सभा हलबाट बाहिरिएका थिए ।

बरु, सन् २०२२ को डिसेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिंगले आफुले स्वतन्त्र प्यालेस्टाइन राष्ट्र र त्यसको राजधानी पूर्वी जेरुसेलम भएको हेर्न चाहेको बताएका थिए । चीनले प्यालेस्टाइनलाई राष्ट्रसङ्घको पूर्ण सदस्य बनाउन समर्थन समेत गरेको छ ।

यसरी भू-राजनीतिको चपेटामा पनि यो युद्ध भड्किएको र त्यसलाई थप लामो समयसम्म जारी राख्ने काम पनि त्यही भू-राजनीतिबाट निर्देशित बन्ने देखिंदैछ ।

विश्वव्यापी आर्थिक मन्दीको कालो बादल

यो युद्धमा अमेरिका प्रत्यक्ष रुपमा जोडियो भने युद्धले क्षेत्रीय युद्धको स्वरूप ग्रहण गर्ने पक्का जस्तै छ । त्यो हुने बित्तिकै सन् ७० को दशकमा झैँ तेल उत्पादक राष्ट्रहरूले अमेरिका र युरोपलाई तेल आपूर्ति रोक्नेछन् । उता इरानले सर्वाधिक धेरै तेल आपूर्ति हुने जलमार्ग हर्मुज घाँटीबाट हुने तेलको आपूर्ति र अन्य कारोबारमा रोक लगाउने छ । जसको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नै ३०० अमेरिकी डलर प्रतिब्यारेल सम्म पुग्न सक्ने अनुमान अर्थशास्त्रीहरूले गरेका छन् । स्मरण रहोस्, अहिले कच्चा तेलको मूल्य ९० अमेरिकी डलर प्रति ब्यारेल मात्र रहेको छ ।

इजरायल-प्यालेस्टाइन युद्धले विश्वव्यापी ऊर्जा आपूर्तिमा ल्याउने समस्याले विश्व वित्तीय प्रणालीमा नै ठूलो समस्या सिर्जना गर्ने सम्भावना यो द्वन्द्व पछिल्लो संस्करणले एक हप्ता पूरा गर्दा बढेर गएको छ ।

अहिले नै पनि रुसबाट युरोपमा आपूर्ति हुँदै गरेको प्राकृतिक ग्याँसको पाइपलाइन बन्द छ । जसले गर्दा पुरै युरोप अहिले अमेरिका र मध्यपूर्वबाट आपूर्ति भएको ग्याँसको भरमा छ । यदि यही रफ्तारमा मध्यपूर्वमा तनाव कायम हुने र त्यसमा थप राष्ट्रहरू समाहित हुँदै जाने हो भने यो हिउँदमा युरोप जाडोमा कठाङ्ग्रिन बाध्य बन्नु पर्ने हुनसक्छ । त्यस्तो अवस्था आएको खण्डमा झन् विश्वको अर्थतन्त्र अकल्पनीय सङ्कटमा पर्ने हुन्छ । यसरी इजरायल-प्यालेस्टाइन युद्धले विश्वव्यापी ऊर्जा आपूर्तिमा ल्याउने समस्याले विश्व वित्तीय प्रणालीमा नै ठूलो समस्या सिर्जना गर्ने सम्भावना यो द्वन्द्व पछिल्लो संस्करणले एक हप्ता पूरा गर्दा बढेर गएको छ ।

विश्व समुदायले सुझबुझपूर्ण निर्णय र अतिरिक्त दबाब सिर्जना गरेर इजरायललाई अहिले नै उसले गाजामा चलाइरहेको नरसंहार नरोक्ने हो भने स्थित भयावह बन्दै जाने देखिन्छ ।  चीनका विदेश मन्त्री वाङ यीले इजरायलले गाजाका बासिन्दालाई सामूहिक दण्ड दिन रोक्नु पर्ने बताउँदै साउदी अरबका विदेश मन्त्री फैसल बिन फरहानलाई फोन गरेर गाजामा इजरायलले गरिरहेको कारबाही आत्मरक्षाको दायरबाट बाहिर पुगेको बताएपछि यो द्वन्द्व क्षेत्रीय रुपमा मात्रै सीमित नरहने पो हो कि भन्ने चिन्ता समेत थपिएको छ । यी सबै घटनाक्रमले अहिले नै समस्याग्रस्त अवस्थामा रहेको विश्व अर्थतन्त्र माथि कालो बादल मडारिरहेको प्रतिबिम्बित गरिरहेका छन् ।