हत्या भएको ३५ वर्ष पछि सैनिक सम्मानका साथ समाधिस्थ गरिएका क्रान्तिकारी थोमस संकरा

'क्रान्तिकारीलाई व्यक्तिका रुपमा मार्न सकिन्छ तर विचार लाई मार्न सकिदैन !'

सन् १९८३ को ४ अगस्तमा अपर भोल्टा भन्ने पश्चिम अफ्रिकामा अवस्थित भूपरिवेष्ठित देशमा सैनिक विद्रोह भयो । उक्त विद्रोह ३३ र्षीय युवा सैनिक क्याप्टेन तथा मार्क्सवादी क्रान्तिकारी थोमस संकाराका समर्थकहरुले उनका पक्षमा गरेको थिए । त्यसबेला संकरालाई तत्कालीन शासकले घरमै नजरबन्द अवस्थामा राखेका थिए । सैनिक विद्रोहको गरी सत्ता हातमा लिएपछि उनी राष्ट्रपति बनेतर उनले लामो समय शासन गर्न भने पाएनन् । आफ्नै सहकर्मीले गरेको सैनिक विद्रोहकै कारण उनको निर्मम हत्या भएको थियो ।

थोमस संकराले जम्माजम्मी र्ष मात्र शासन चलाउन पाए । सत्तामा आउनेबित्तिकै उनले नेशनल काउन्सिल फर द रिभोलुसन (CNR) गठन गरेका थिए । उनको नेतृत्वमा भटाभट सामाजिक, वातावरणीय र आर्थिक नीतिहरु तयार गरेर लागू गरिएको थियो । ४ वर्षको शासनकाल परिवर्तन र सुधार लागू गर्नका लागि छोटो  समय हो तर त्यो अधिमा उनले हासिल गरेका उपलब्धिहरु असाधारण छन्। उनले शासनमा रहदा गरेका केही कामहरु निम्न छन् :-

-सत्तामा आएको एक वर्ष पुग्दा ४ अगस्त १९८४ का दिन देशको नाम अपर भोल्टालाई बदलेर बुर्किना फासो राखे। जसको अर्थ हुन्छ इमान्दार मानिसको देश। 

-देशब्यापी साक्षरता अभियान चलाए, जसको फलस्वरूप सो देशमा १९८३ मा १३% रहेको साक्षरता दर १९८७ मा ७३% पुग्यो

-२५ लाख बालबालिकाहरुलाई केही हप्ता भित्रै मेनेनजाइटिस, येलो फिवर र दादुराको खोप लगाइए ।

-जमिन्दारहरुबाट जमिन खोसेर किसान लाई वितरण गरिए ।

-रुभुमिकरण रोक्न १० लाख रुखहरु रोपिए ।

-देशको एकता बलियो बनाउन बैदेशिक सहायता बेगर ने सडक र रेलमार्गहरु निर्माण गरिए ।  

-समाजमा व्याप्त महिलाहरुको खतना (female genital mutilation), जबर्जस्ती विवाह र वहुविवाह जस्ता प्रथाहरु उन्मूलन गरिए ।

-महिलाहरुलाई उच्च सरकारी पदमा नियुक्त गर्न थालियो ।  सेनामा समावेशी तथा  प्रसुति बिदाको व्यवस्था गरियो ।

-शासकहरुले चढ्दै आएका सबै महंगा मर्सिडिज कारहरु बेचेर त्यस बखत बुर्किना फासोमा उपलब्ध सबै भन्दा सस्तो कार मन्त्रीहरुलाई चढ्न लगाए । उनी आफैं पनि  रेनाल्ट्स ५ नामक सस्तो गाडी चढ्थे ।

-उनले आफू लगायत सबै जनताका सेवकहरुको तलब घटाए, उनले आफ्नो तलब ४५० डलर मात्र कायम गरे

-राजधानी ओगाडुगुमा रहेको सेनाको बन्दोबस्तीको दोकानलाई देशको पहिलो डिपार्टमेन्ट स्टोरमा परिणत गरे

-सबै सरकारी कर्मचारीहरुलाई आफ्नो एक महिनाको तलब सरकारी परियोजनालाई दिन लगाए

-उनले सबै सरकारी कर्मचारीहरुलाई आफ्नै देशमा बनेको घरेलु कपडाको पोसाक लगाउन अनिवार्य गरे

-उनले आफ्नो अफिसमा एअर कन्डिसनर प्रयोग गर्न अस्वीकार गरे । उनको भनाइमा देशका जनताहरु यो विलासिता उपभोग गर्न असमर्थ छन्

-उनले वैदेशिक सहायतालाई अस्वीकार गरे।  थोमस संकाराले भन्ने गर्थे - जसले तपाईंलाई खुवाउँछ उसले तपाईंलाई नियन्त्रण पनि गर्छ

newafricanmagazine

जसले तपाईंलाई खुवाउँछ उसले तपाईंलाई नियन्त्रण पनि गर्छ

थोमस संकरालाई उनकै साथी र सहयोद्धा ब्लेज कम्पाओरेले १९८७ को १५ अक्टोबरमा  सैनिक विद्रोह गरेर हत्या गरे। त्यसबेला उनको उमेर केवल ३७ वर्ष थियो अर्थात् विश्वप्रख्यात क्रान्तिकारी चे ग्वेभाराभन्दा २ वर्ष कम । उक्त हत्याकाण्डमा थोमस संकरासहित उनका १२ जना साथीहरुको हत्या गरिएको थियो। यो हत्याकाण्डमा फ्रान्सको हात रहेको अनुमान गरिन्छ। स्मरणीय के छ भने तत्कालीन अपरभोल्टा (हालको बुकिनो फासो) पहिले फ्रान्सकै उपनिवेश थियो र ११ डिसेम्बर १९५८ मा फ्रेन्च कम्युनिटीभित्रको स्वशासित राष्ट्रको रुपमा तथा ५ अगस्त १९६० मा मात्रै यो स्वतन्त्र राष्ट्रको रुपमा अस्तित्वमा आएको थियो ।

संकरालाई हत्या गरी सत्तामा आएका कम्पाओरेले फ्रान्ससंगको आफ्नो देशको सम्बन्ध फेरि पुनर्स्थापित गरे। उनले अर्थतन्त्रमा संकराले गरेका राष्ट्रियकरणलाई उल्टाउँदै निजीकरण नै लागू गरे।संकराले घटाएको उच्चपदस्त  कर्मचारीहरुको तलब फेरि पुरानै अवस्थामा फर्काइदिए। राजधानी ओगाडुगुको बाहिरी क्षेत्रको पुनर्निर्माण गर्नको लागि छुट्टाइएको कोषबाट आफ्नो लागि एउटा निजी बोइङ्ग जेट खरिद गरे। त्यस्तै उनले फ्रान्सलाई ग्यारेन्टी राखेर अन्तर्राष्ट्रिय मुद्राकोषबाट ६७ मिलियन डलर ऋण लिए। समग्रमा भन्ने हो भने कम्पाओरेले थोमस संकराका सबै कामहरुलाई उल्टाईदिए।

ब्लेज  कम्पाओरेको २७ बर्ष सम्म शासन गरे। उनको शासनकालमा थोमस संकराको नाम लिनुलाई समेत अपराध मानिन्थियो। तर बुर्किनो फासोका जनताले थोमस संकरालाई बिर्सेनन्। २०१४ मा भएको जनविद्रोहमा कम्पाओरेले शासन परित्याग गरेर देश छोडेर भाग्नु पर्यो। थोमस संकराका परिवार र जनताको माग बमोजिम २०१५ मा उनको शव फेरि उत्खनन गरियो। संकराको शरीरको शव परीक्षणको क्रममा के पत्ता लाग्यो भने उनको छातीमा ७ वटा गोली लागेको थियो। फेरि थोमस संकराको हत्याको छानबिन सुरु भयो। २०१७ मा बुर्किना फासोको सरकारले फ्रान्ससंग  थोमस संकराको हत्यासंग सम्बन्धित सबै दस्ताबेजहरु आफुलाई उपलब्ध गराउन माग गर्यो । तर अहिले सम्म फ्रान्सले दिएको छैन। २०२१ मा बुर्किना फासोको सरकारले पूर्व रास्ट्रपति ब्लेज कम्पाओरेमाथि सैनिक विद्रोह र थोमस संकराको हत्याको आरोपमा मुद्दा दायर गर्यो। अर्को र्ष २०२२ मा उनलाई त्यहाँको अदालतले त्यो अपराधमा दोषी ठहर गर्दै आजीवन जेलको सजाय सुनायो। थोमस संकरालाई उनको हत्या भएको ३५ र्षपछि २०२३ को फेब्रुवरी २३ मा सैनिक सम्मानका साथ समाधिस्थ गरियो।

३० सेप्टेम्बर २०२२ मा बुर्किना फासोमा फेरि अर्को सैनिक विद्रोह भयो। यो विद्रोहको नेतृव ३४ र्षीय क्याप्टेन इब्राहिम त्राओरेले गरेका थिए। ब्राहिम त्राओरेले जुन कार्यशैली अपनाइरहेका छन् त्यो धेरै हदसम्म थोमस संकरासंग मिल्दछ। उनले संकराले जस्तै फ्रेन्च नवउपनिवेशवाद विरुद्ध लडाइँ सुरु गरेका छन्। दुबैले आर्थिक रुपमा स्वस्थ, बलियो र आत्मनिर्भर बुर्किना फासोको सपना देख्छन्। क्याप्टेन इब्राहिम त्राओरेले आफ्नो देशलाई पश्चिमा हैकमवाद विरुद्ध उभ्याउदै रुसको नजिक पुर्याएका छन्। उनले २०२३ मा भएको रुस-अफ्रिका सम्मेलनमा भनेका थिए- अफ्रिकाले  पश्चिमी शासनको गुलामी गर्ने समय अब सकिएको छ।  पूर्ण स्वतन्त्रताको लागि लडाइँ सुरु भएको छ मातृभूमि वा मृत्यु !

१९८७ मा अफ्रिकी चे ग्वेभाराको नामले प्रख्यात थोमस संकाराले आफ्नो आफ्नो हत्या हुनुभन्दा एक हप्ता अगाडि चेको सम्मानमा उनको २० औ स्मृति दिवस आफ्नो देशमा मनाएका थिए। सो समारोहमा थोमस संकाराले भनेका थिए - क्रान्तिकारीलाई व्यक्तिका रुपमा मार्न सकिन्छ तर विचारलाई मार्न सकिदैन !

Title Photo: i0.wp.com