धर्म नै रहेको थियो भारत विभाजनको मूल कारण !
नास्तिक मुसलमान विभाजनको पक्षमा, कट्टर हिन्दूवादी अन्तिम समयसम्म विभाजनको विरुद्धमा खडा रहे
सबैलाई थाहा भएको कुरा हो– हाम्रो देश भारतले सबैलाई दबाउन–हेप्न खोजिरहेको छ । उसको सोचाइमा हामी ठूलो भाइ हौं हामीले जे भन्छौं अरुले गरोस् । तर एक मानववादीको हिसाबले मेरो लागि धर्म, राष्ट्र वा कुनै पनि हिसाबले सबै समान हुन् ।
काल्पनिकीको कुरा गरौं, ७५ वर्षअघि अंग्रेजहरुले भारत छोडेर जाँदै गर्दा यस क्षेत्रका सबै मानिसहरु मानववादी थिए भने के हुन्थ्यो होला ? भारतको विभाजनको बेला भएको विश्वकै इतिहासमा भएको सबैभन्दा रक्तरंजित नरसंहार हुने थिएन होला । पाकिस्तान र भारतलाई हेर्ने हो भने, साँस्कृतिक, भाषिक, खानपान, रहनसहन, जलवायु, जातियता लगायतका हिसाबले खासै भिन्नता छैन । तर उनीहरुलाई भिन्न उनीहरुले विश्वास गरिरहेका र मानिसरहेका धर्मले गरायो । मैले काल्पनिक कुरा गरिरहेको छु र यथार्थमा यो हुँदैन पनि ।
सबै कुरामा समानता हुँदाहुँदै पनि भारत विभाजन किन भयो ? त्यसको उत्तर हो एकाथरिले एउटा भगवानमाथि विश्वास गरिरहेका थिए भने अर्कोले अर्कैथरि । त्यही आस्थाले हामीलाई विभाजित तुल्यायो । त्यो विभाजन मुख्य गरेर धर्मकै आधारमा भएको थियो । पञ्जाबी मुश्लिम र पञ्जाबी हिन्दूमा यति धेरै समानता छन् कि त्यो पञ्जाबी मुश्लिम र बंगाली मुश्लिममा छैन । बंगाली हिन्दू र बंगाली मुश्लिमलाई हेर्ने हो भने उनीहरुबीचमा खासै भिन्नता हुँदैन, धार्मिक आस्थाबाहेक ।
सबै कुरामा समानता हुँदाहुँदै पनि भारत विभाजन किन भयो ? त्यसको उत्तर हो एकाथरिले एउटा भगवानमाथि विश्वास गरिरहेका थिए भने अर्कोले अर्कैथरि । त्यही आस्थाले हामीलाई विभाजित तुल्यायो ।
अर्को रक्तरंजित घटना भयो– बंगलादेशको निर्माण । कति हजार मारिए भनेर सोच्नोस् । त्यो विभाजन धर्मको आधारमा भएको थिएन, त्यो त शोषण, भाषा र संस्कृतिको आधारमा भएको थियो ।
यी दुई रक्तरंजित घटनाहरु भिन्नताका आधारमा भएका थिए । मानिसहरु मानववादी हुन्थे भने त्यो भिन्नता हुँदैनथियो ।
म यहाँ काल्पनिकीको कुरा गर्दैछु ।
विभाजनपछि भारत धर्मनिरपेक्ष भयो । पाकिस्तान पनि धर्मनिरपेक्ष नै भयो । विभाजनको बेला उनीहरुले हिन्दू बाहुल्यता तथा मुश्लिम बाहुल्यता भउका दुई धर्मनिरपेक्ष राष्ट्रहरु हुनेछन् भनेर भनेका थिए । तर मुश्लिम बाहुल्य भएको देश इस्लामी स्टेट बन्यो । अहिले हिन्दू बाहुल्यता भएको देश पनि हिन्दू राष्ट्र बन्ने कोशिश गरिरहेको छ । अहिले विभाजनको ७५ वर्षपछि आएर हिन्दू बाहुल्य देश पनि धर्मनिरपेक्षता हटाउने, धार्मिक विभाजन हटाउने र हिन्दू राष्ट्र बन्ने कोशिश गरिरहेको छ । वैज्ञानिक दृष्टिकोणले हेर्दा यो भइरहेको म देख्छु ।
कल्पना गनोस्, यो कसले परिकल्पना गरेका थिए ? एक नास्तिक हिन्दूले गरेका थिए । उनी सावरकर थिए । उनी र अरु नास्तिक मुस्लिमहरु मिलेर यस महादेशलाई विभाजन गरे । एक कट्टर, भगवानप्रति अगाध आस्थावान हिन्दूले त्यो विभाजनलाई रोक्ने कोशिश गरे । उनी थिए– मोहनदास करमचन्द गान्धी । यो असङ्गततालाई हेर्नोस्, गान्धी नास्तिक र तर्कवादी थिएनन्, उनी पूरै कट्टर थिए । तर उनले विभाजनलाई रोक्ने कोशिश गरे । केन्द्रमा रहेका एक नेताले मुलुकलाई धर्मनिरपेक्ष तथा वैज्ञानिक सोच भएको, प्राविधिक अग्रता भएको राख्ने कोशिश गरे ।
आपतकालको त्यो घटनापछि इतिहासमा पहिलो पटक इन्दिरा गान्धीलाई गलहत्याएर पहिलो पटक विपक्षी पार्टीहरु केन्द्रको सत्तामा आए । त्यसमा वामपन्थीहरु बाहेक समाजवादी लगायत सबै मिसिएका थिए र उनीहरुले जनता पार्टी बनाए । त्यहाँबाट हिन्दूत्व बनाउने प्रक्रियाको आरम्भ भएको हो ।
पछि सत्ता गुम्ने भयले इन्दिरा गान्धीले आपतकाल लागू गरे । हामी सबैले त्यसको विरोध गर्यौं । चरम दक्षिणपन्थीदेखि चरम वामपन्थीहरु अर्थात् जनसंघदेखि कम्युनिष्ट पार्टी आफ इन्डिया मार्क्ससिस्टसम्मले विरोध गरे । विपक्षमा इन्दिरागान्धी थिए । त्यो घटनापछि इतिहासमा पहिलो पटक इन्दिरा गान्धीलाई गलहत्याएर पहिलो पटक विपक्षी पार्टीहरु केन्द्रको सत्तामा आए । त्यसमा वामपन्थीहरु बाहेक समाजवादी लगायत सबै मिसिएका थिए र उनीहरुले जनता पार्टी बनाए । त्यहाँबाट हिन्दूत्व बनाउने प्रक्रियाको आरम्भ भएको हो । विश्वास नलाग्न सक्छ, तर यो लामो चरणको प्रक्रिया हो । क्याथोलिकहरु भन्ने गर्छन्, भ्याटिकनले शताब्दीको हैन, सहस्राब्दीको सोच्ने र योजना बनाउने गर्छ । हिन्दूत्ववादीहरुले सम्भवतः आगामी ५० वर्षका लागि योजना बनाए । उनीहरु कसरी सफल भए ? जनताका विश्वासलाई कसरी जित्न सफल भए ? यो त्यो कथा हो, जसले अहिले शासन गरिरहेका पार्टीलाई सत्तामा ल्याइपुर्यायो ।
उनीहरुभित्रै पनि थुप्रै द्वन्द्वहरु छन् तर एकताबद्ध भइरहनका लागि उनीहरु विभिन्न मुद्दाहरु खोजिरहन्छन् र त्यसलाई वास्तविकभन्दा ठूलो रुपमा प्रस्तुत गर्ने गर्छन् । भावनाकीकरण गर्छन्, तिमीहरु एकापसमा लड्छौ तर हामी सबैका साझा दुश्मन अरु नै छन् भने दुश्मन देखाइदिन्छन् । उनीहरु निरन्तर दुश्मन सिर्जना गरेर देखाइरहेका हुन्छन् ।
त्यसलाई यहाँ हुन नदिनका लागि यी कुराहरु तपाईंहरुका लागि पनि पाठ हुन सक्छन् ।
म दक्षिण कर्नाटकाबाट आएको हुँ । हाम्रो जिल्लालाई दक्षिणमा हिन्दूत्व उत्पादन गर्ने प्रयोगशाला भनिन्छ । अनि म्याङलोर चाहिँ त्यो प्रयोगशालाको टेस्टट्यूब । त्यहाँ रोमन क्याथोलिक, प्रोटेस्टेन्ट, मुश्लिम, जैन र आजभोलि हामीले हिन्दू भन्ने गरेकाहरु सबै छन् । यहाँ मैले आजभोलि भनिने गरेको हिन्दू किन भनेको भने तिनीहरु वास्तवमा हिन्दू होइनन्, जात र उपजात मात्रै हुन् । यस प्रयोगशालामा तिनीहरुले कसरी मानिसहरुका बीचमा विभाजन ल्याउने व्यवस्था गर्न सक्छन् भन्ने कुरा एउटा अध्ययनकै विषय हुन सक्छ । यसबारेमा मैले ‘राइज अफ कम्युनिलाजम, म्याङलोर अ केस स्टडी’ भनेर लेखेको पनि छु । त्यसमा कसरी विभाजन गरिन्छ र तिनलाई प्रयोग गरिन्छ भन्ने बारे लेखेको छु । उनीहरुले भन्ने गरेको हिन्दूत्व वास्तवमा हिन्दूत्व होइन । यो त मनुवाद हो । यो भिन्नभिन्न क्याप्सुलमा भएको मनुवाद हो । भिन्न रङ र स्वादका मनुवाद यिनीहरुले उत्पादन गरिरहेका छन् । उनीहरुले बहिष्करणमा रहेका दलित तथा आरक्षित जातिहरुलाई कसरी भित्र हुलेका छन् ? यिनीहरुले आरक्षितहरुलाई कसरी राखेका थिए र पछि कसरी उनीहरुलाई आफूमा समाहित गरे? सम्भवतः १९२० पछि आरक्षितहरुलाई हाम्रो जिल्लामा मनुष्यत्वको महत्वबोध भयो । यो कुन कारणले भयो ? यो कुनै हिन्दूत्ववादीहरुका कारण नभई एक महान सुधारक नारायण गुरुका कारण भएको थियो । आजभोलि मानिसले उनलाई भुलिसके । उनलाई याद नै गरियो भने पनि हिन्दूत्वमा ल्याउनेछन् । अम्बेडकरलाई पनि मानिसहरुले हिन्दूत्वमा ल्याइरहेका छन् । यस्तो षड्यन्त्र रचिइरहिएको छ कि मानिसहरुलाई थाहै छैन कि के भइरहेको छ ?
उनीहरुले भन्ने गरेको हिन्दूत्व वास्तवमा हिन्दूत्व होइन । यो त मनुवाद हो । यो भिन्नभिन्न क्याप्सुलमा भएको मनुवाद हो । भिन्न रङ र स्वादका मनुवाद यिनीहरुले उत्पादन गरिरहेका छन् । उनीहरुले बहिष्करणमा रहेका दलित तथा आरक्षित जातिहरुलाई कसरी भित्र हुलेका छन् ?
यिनीहरुले मिथकहरुलाई अगाडि ल्याइरहेका छन् र आफ्ना हिनताबोधलाई लुकाउनका लागि सबै कुराहरु बेद पुराणमा छन् भनेर भनिरहेका छन् । कतिसम्म भने इन्टरनेट, अङ्गप्रत्यारोपण, कृत्रिम गर्भाधान, विमानसम्बन्धी ज्ञान सबै वेद पुराणमा थिए भनेर दावी गर्छन् । पुष्पक विमानको कुरा गर्ने मोदीलाई बोइङ नै चाहिन्छ । नायकहरु सिर्जना गरिए । राजा हुँदा राजपुरोहितहरु बनाइए । तिनीहरु सबै हिन्दूत्वको वकालत गर्नेहरु थिए ।
लाला रामकृष्ण यादव उर्फ रामदेवले सन् २०२३ मा भारतलाई रोगमुक्त दबाईमुक्त बनाउने गफ दिए । के भइरहेछ– सबै सामु छ । अहिले भारत संसारकै सबैभन्दा ठूलो गोमूत्र विक्रेता भएको छ । स्वदेशीको नाममा सबै कुरा हेराफेरी गरिने गरेको छ । अर्का श्री श्री छन् उनी मानिसहरुलाई कलाको नाममा सास फेर्न सिकाइरहेका छन् । उनी राजगुरुका अर्को नमूना हुन् ।
यी सब भारतमा भइरहेका छन् ।
विस्तारै भारतबाट धर्मनिरपेक्षता हटाउने कोशिश भइरहेको छ । इन्दिरा गान्धीको आपतकालको समयमा एउटा धारा ५१ एएच आयो । त्यसमा नागरिकहरुको कर्तव्य हालियो । धर्मनिरपेक्षता पनि त्यही बेला आएको थियो । त्यो धाराले भन्छ– वैज्ञानिक स्वभाव र प्रश्नहरु सोध्ने संस्कार विकसित गर्नु तथा मानववाद प्रत्येक नागरिकको कर्तव्य हो । यसरी भारतको संविधानमै नागरिकको कर्तव्यमा मानववाद राखिएको छ । संविधानमा नै मानववाद समावेश भएको मुलुकमा हिन्दूत्व र हिन्दूराष्ट्रको कुरा गरिँदैछ ।
कल्पना गर्नोस् यो कस्तो पाखण्ड हो ?
किताबमा जेसुकै लेखिएको भए पनि वास्तविकतामा के भइरहेको छ हामी सबैलाई थाहा छ ।
म कर्नाटकबाट आएको हुँ। त्यहाँको भाजपा सरकारलाई अब आफू फेरि सत्तामा आउन सम्भव नहुने ठानेपछि मुस्लिमहरुले स्कुलमा हिजाब लगाउन नपाउने नियम ल्याए । अरुलाई हानि नगर्ने हिजाबलाई निषेध गरिएपछि मुस्लिमहरुले विरोध गरे । भाजपाले हिन्दू केटाहरुले गेरुवा साल ओढेर स्कुल आउने हथकण्डा सिर्जना गरे । यसरी दुई समूहका बीचमा संघर्ष पैदा गराइयो जबकि त्यसको कुनै अर्थ छैन । चुनावमा नराम्ररी पराजय भोगेपछि र कांग्रेस सत्तामा आएपछि अहिले भाजपा चूप छ ।
मानववादले सबै मानिसहरुलाई खुसी रहने अधिकार हुन्छ भन्ने मान्छ । तर तपाईंको खुसी यस्तो हुनुपर्यो, जसले अरुको मानवाधिकारमाथि बाधा नपुर्याओस् । मानवाधिकार नै सबैभन्दा सर्वोच्च हो र त्यसले मात्रै वास्तवमा शान्ति ल्याउन सक्छ ।
दुःखका साथ म भन्छु, हामीले नै मानिसहरुलाई भाजपालाई परास्त गर्न सक्ने कांग्रेस पार्टीको पक्षमा काम गर्न भन्यौं । मानिसहरुको बीचमा विभाजन ल्याउने र एकाथरिलाई उँचो र अर्कोथरिलाई निचो देखाउने भाजपाको तुलनामा केही राम्रो कांग्रेस सत्तामा आयो ।
२०२४ मा चुनाव आउँदैछ । पक्कै पनि हिन्दूत्ववादीहरुले केही अचम्भित तुल्याउने खालका हथकण्डाहरु अपनाउनेछन् । हामी चिन्तित र भयभीत छौं – त्यसबेला उनीहरुले अपनाउने हथकण्डाहरुले कति लाशहरु होलान्, कति रगत बग्लान् ?
यी हामीले भोगिरहेको वर्तमान हो ।
हामी मानवतावादी हौं । तपाईंका आस्था र विश्वास तपाईंको निजी कुरा हो । तपाईंका भाषा, धर्म, संस्कृति, रहनसहन, खानपान, आचारविचाार सबै तपाईंका निजी कुराहरु हुन् । त्यसलाई आफ्ना घर तथा त्यही कामका लागि निर्माण गरिएका स्थानहरुमा सम्पन्न गर्नोस् । मानववादले सबै मानिसहरुलाई खुसी रहने अधिकार हुन्छ भन्ने मान्छ । तर तपाईंको खुसी यस्तो हुनुपर्यो, जसले अरुको मानवाधिकारमाथि बाधा नपुर्याओस् । मानवाधिकार नै सबैभन्दा सर्वोच्च हो र त्यसले मात्रै वास्तवमा शान्ति ल्याउन सक्छ ।
बृहत् नागरिक आन्दोलनले असोज २४ गते बुधबार मार्टिन चौतारीमा आयोजना गरेको 'विविधतायुक्त समाजमा धर्मनिरपेक्षता, दक्षिण एसियाली सन्दर्भ : धार्मिक तथा साम्प्रदायिक द्वन्द्व' शीर्षकको विद्वत प्रवचनमा व्यक्त विचारको सम्पादित अंश । डा. नरेन्द्र नायक फेडेरसन अफ इन्डियन र्यास्नलिस्ट एसोसियसनका सभापति हुन् ।
प्रतिक्रिया