‘साला पहाडमें क्या है’

विभाजित शिक्षाले कस्तो खालको समाज निर्माण गरिरहेको छ ? –केदारभक्त माथेमा

कवि मीनबहादुर विष्टको हालसालै प्रकाशित कविता संग्रहको शीर्षक हो– 'साला पहाडमें क्या है ।'

मीनबहादुर विष्ट– नेपाली साहित्य जगतमा चिनाइबस्नुपर्ने नाम नै होइन । सशक्त कविताका सर्जक विष्ट आफैंमा शिक्षाविद पनि हुन् । उनको उक्त नवप्रकाशित कृतिमाथि प्रकाशक किताब पब्लिसर्सले असोज २४ गते अन्तरसंवाद कार्यक्रमको आयोजना गर्यो । उक्त अन्तरसंवादमा कृतिकार कवि मीनबहादुर विष्ट र शिक्षाविद् केदारभक्त माथेमाले कृतिले समेटेका विषयवस्तुहरुमाथि चर्चा परिचर्चा गरे । उनीहरुको अन्तरसंवादमा सहजीकरणको काम पत्रकार देवेन्द्र भट्टराईले गरे ।

केदारभक्त माथेमा

कृतिमा संग्रहित ‘विश्वविद्यालय, देशको विश्वविद्यालय’ शीर्षकको कविताको माथेमाले विश्लेषण गरे । त्रिविको भताभुङ्ग र गिरावटको अवस्थाको बारेमा चिन्ता व्यक्त गरे । कविताले त्रिविको अवस्थाको ठ्याक्कै चित्रण गरेको उल्लेख गरे । उनले कविताको पहिलो प्यारामा उल्लिखित ‘ढाड सेकाएर बसेको छ’ भने जस्तै त्रिविले ढाड सेकाएर बसेको कुरा बताए ।

माथेमाले चर्चा गरेका कविताको प्यारा यस्तो छः

सम्पूर्ण उडान बन्द गरेर
यात्रुहरुलाई अलपत्र पार्दै
एयरपोर्टको कुनै कुनामा ग्राउण्डेड भएर
घाम तापेर बसिरहेको
राष्ट्रिय ध्वजाबाहक जहाज जस्तै
उपत्यकाको अर्को कुनामा ढाड सेकाएर बसेको छ
हाम्रो विश्वविद्यालय
देशको विश्वविद्यालय
नाम मात्रको विश्वविद्यालय ।

त्रिविका बेहाल अति नै भएको र कानून परिवर्तन गरेर त्रिविलाई बोर्ड अफ ट्रस्टिजमा लगी स्वतन्त्रतापूर्वक चलाउन सकिनेबारे आफूले त्रिविका दुई जना पूर्व उपकूलपतिहरुलाई बताएको कुरा उनले त्यहाँ साझेदारी गरे ।

कवि मीनबहादुर विष्टले कवितामा ठीक कुरा उठाएको, कविताका हरेक अनुच्छेद रिपोर्ट लेखिएको जस्तो रहेको चर्चा गर्दै माथेमाले यस कवितालाई व्यापक प्रचारप्रसार गरिनु जरुरी रहेको बताए । 

सर्जक विष्टले त्यो कविता लेख्दा आफूलाई धेरै गाह्रो भएको बताए । आफूले लेख्ने कि नलेख्ने भनेर दोधार परेको, आफूले छोटो समयमै जागिर छाडेको र संस्थासँगको आबद्धता छोटो रहेपछि आफूलाई संस्थाको माया लाग्ने गरेको, आफू सेवानिवृत्त भइसकेपछि पनि आफूसँग भएका एक ट्रकजति किताबहरु शिक्षाशास्त्रको पुस्तकालयलाई दिएको, विद्यावारिधिका विद्यार्थीहरुलाई गाइड गर्ने गरेको कुराहरु पनि उनले सम्झे । साथै, आफ्ना केही नितान्त व्यक्तिगत कुराहरुले पनि त्यो कविता लेख्न अभिप्रेरित भएको समेत उनले बताए । त्यही नै त्रिविको वास्तविकता रहेको र त्यही नै भनिनुपर्ने कुरामा पनि उनले जोड दिए ।

सम्बन्धनका प्रसङ्ग उल्लेख गर्दै विष्टले राजनीतिक र अन्य धेरै कारणहरुले त्रिविलाई व्यवस्थापन गर्न र नेतृत्व दिन सकिनरहेको अवस्थाबारे चर्चा गरे । ‘त्यसलाई सम्बोधन नगर्नु भनेको देशलाई बर्बाद गर्नु हो’ भन्दै विष्टले त्यसैले पनि आफूले उक्त कविता लेखेको बताए ।

अन्तरसंवादमा बोल्दै केदारभक्त माथेमाले नेताहरुको नजरमा शिक्षा पर्दै नपरेको बताए । राजनेताको लागि शिक्षा भनेको समाज बनाउने हो भन्ने चर्चा गर्दै माथेमाले २०–२५ वर्षमा कुन समाज बनाउने हो हामीले भनेर अघि बढ्नुपर्नेमा अहिले त्यसो हुन नसकिरहेको चिन्ता व्यक्त गरे । शिक्षामा विभेद रहेको बताउँदै उनले विभाजित शिक्षाबाट हामीले कस्तो खालको समाज निर्माण गरिरहेका छौं भनी प्रश्न गरे । शहरका छोराछोरीहरुले राम्रा स्कुलमा पढ्ने अवसर पाएको तर गाउँघरका केटाकेटीहरुको शिक्षा सखाप भएको उनले बताए । 'एजुकेसन इज द ग्रेट इकुलाइजर अफ द कन्डिसन्स अफ म्यान' भन्ने भनाइ उदृत गर्दै नेपालको शिक्षाले त्यो समानता सिर्जना गर्न नसकेको उनले बताए । नेपालमा सरकारको लगानी कम रहेको र शिक्षा महंगो भएको पनि उनले चर्चा गरे ।

मीनबहादुर विष्ट

पुस्तकको शीर्षक कविता ‘साला पहाडमें क्या है?’ लेखिनुको परिदृश्यबारे चर्चा गर्दै विष्टले २०३६ को विद्यार्थी संघर्षपछि आफूलाई नेपालको शिक्षाको सर्वे गर्न गाउँ पठाइको कुरा सम्झे ।सर्वेको क्रममा मेचीदेखि महाकालीसम्म धेरै ठाउँमा घुम्ने क्रममा नेपालका विभिन्न ठाउँका गाउँका रुपहरु देख्न पाएको बताए । आधारभूत रुपमा आफूले सबै गाउँहरुमा शोषण, विभेद र आर्थिक लगायतका समस्याहरु समान खालको रहेको पाएको प्रसङ्ग उल्लेख गर्दै विष्टले आफूले देखे–भोगेका कुराहरु उक्त कवितामा वर्णन गरेको बताए । अहिले गाउँमा विभिन्न किसिमले परिवर्तन र विकासहरु आएपनि हेर्नेनै हो भने तात्विक फरक चाहिँ केही नभएको अनुभव सुनाए । विदेश जानेको लर्को बढेको कुरालाई छोडौं, मुलुकभित्रै पनि बसाइसराइ एकदमै बढेर गएको, विकासको नाममा डोजर नाचेर गाउँलाई झनै कुरुप बनाएको, गाउँको शिक्षा नराम्रो भएपछि केटाकेटीहरुलाई शहर पठाउने क्रम बढेको उनले बताउँदै त्यतिखेरको परिवेश अहिले पनि आंशिक वा केही हदसम्म अद्यावधिक मिल्दोजुल्दो नै हुन सक्ने बताउँदै कविता लेख्नुको परिवेश त्यो रहेको जानकारी दिए ।

सङ्ग्रहका कविताहरुका विविध प्रसङ्गहरुबारे चर्चा गर्दै विष्टले  ‘र म पुनः  गिरफ्तार भएको छु’ र ‘जर्साबको कुकुर’ कविताका कारण आफूले धेरै दुःख पाएको बताए । कवितामा विम्ब प्राकृतिक रुपमा आउने गरेको प्रसङ्गबारे चर्चा गर्दै विष्टले कविता निरन्तर विकसित भइरहने प्रक्रिया रहेको, कविता समयआबद्ध मात्रै हैन, समयसीमाबिहीन पनि हुने गरेको, नयाँ नयाँ विम्बहरु खोजिनु पर्ने, त्यसमा सिर्जनात्मकता र रचनात्मकता चाहिने बताए ।

अन्तरसंवादमा माथेमाले विलियम वर्ड्सवर्थको 'Poetry is the spontaneous overflow of powerful feelings: it takes its origin from emotion recollected in tranquility' लाई उदृत गर्दै विष्टका कविताहरुमा त्यो पाइने बताए ।

विम्बकै बारे चर्चा गर्दै विष्टले पञ्चायतकालमा भाले बासेको, उज्यालो भएको जस्ता विम्बहरु मुश्किलैले चलाउन सकिने अवस्था रहेको स्मरण गरे । त्यही क्रममा उनले सिन्धुपाल्चोकमा नाटक देखाउने क्रममा भाले बासेको विम्बको उच्चारण हुँदा पञ्चहरुका लठैतहरुले स्टेजमै आक्रमण गरेको, पर्दा तान्ने भनेकोलाई ‘प्रजातन्त्र’ सुनेर दुईजनालाई रामधुलाइ गरेको प्रसङ पनि रोचक ढङ्गले बताए । आफूले शब्दहरु समाजबाटै लिने गरेको पनि उनले बताए ।

सोही अवसरमा माथेमाले कृतिमा आफूलाई मन परेको कविता ‘विश्वविद्यालय, देशको विश्वविद्यालय’ का निम्न पंक्तिहरु वाचन गरेका थिएः

आसीन छन् गद्दीमा रङ्गीचङ्गी अनुहारहरु
कुनै इमानको भन्दा मानको पछि ज्यान फाल्नेहरु
कुनै भागबन्डामा
कुनै लिलाम बढाबढमा
कुनै बकसमा पद हासिल गरेर माथि पुगेकाहरु
जो माथिकै इसारामा जुट्छन्, माथिकै इसारामा फुट्छन्

सोही अवसरमा कृतिकार विष्टले ३६ सालको सेरोफेरोमा पुजा पत्रिकामा प्रकाशित 'नागरिकता' कविता र  आफ्नो  एउटा अप्रकाशित कविता 'यिनीहरुले के गरे' वाचन गरेका थिए ।

अन्त्यमा प्रकाशक कल्पना ढकालले धन्यवाद ज्ञापन गरेका थिए ।

किताब पब्लिसर्स प्रा.लि.ले प्रकाशित गरेको १५४ पृष्ठको पुस्तकको मूल्य रु ४००।– राखिएको छ । कृतिकारका अल्पायुमै निधन भएकी छोरी शिल्पा विष्टप्रति समर्पित पुस्तकमा केदारभक्त माथेमाले निक्कै रोचक टिप्पणी गरेका छन्–

कवि मीनबहादुर विष्टलाई जुन कुराले पोल्छ, जुन घटना वा अवस्थाले मनमा तरङ्ग ल्याउँछ, तिनै उर्लिएका भावहरुले उनलाई कविता कोर्न बाध्य बनाउँछन् ।

०००

सामान्य संवाद र बोलीचालीको क्षणमा पनि सिङ्गो समाजलाई चित्रमा उतार्ने खालको शैलीले मीनबहादुरलाई अरुभन्दा अलग कवि पहिचानमा उभ्याएको छ ।

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।