मध्यपूर्वका चर्कँदो द्वन्द्व र युद्धको स्थितिले खनिज तेलकाे मूल्यमा कस्तो असर पार्ला ?

काठमाडौँ। गत शनिवार एक्कासि प्यालेस्टाइनमा आश्रित हमास समुहले इजरायलमा जल, स्थल र आकाशबाट एकैचोटी आक्रमण गरेपछि विश्वव्यापी चिन्ता र चासो थपिएको छ । १० जना नेपालीको त्यो घटनामा ज्यान गइसकेको छ भने अरू धरै घाइते छन् । जसको उद्धार र शवलाई स्वदेश ल्याउने काममा नेपाल सरकार लागि परेको छ ।

तर, यहाँ चर्चा गर्न खोजिएको विषय भने फरक छ, त्यो हो के यसअघि नै लगातार मूल्यवृद्धि हुँदै आएको खनिज तेलको मूल्य यो युद्धपछि थप बढ्ने सम्भावना छ ? दशकौँ लामो इजरायल-प्यालेस्टाइन द्वन्द्वको पछिल्लो प्रकरणले विश्वव्यापी तेल बजारको लागि तत्काल जोखिम निम्त्याउने अनुमान गरिएको छैन।

तर, निकट भविष्यमा भने त्यस्तो सम्भावना व्यापक छ किनकि यो युद्धमा परोक्ष रुपमा प्रमुख  तेल उत्पादक मुलुकहरू जोडिएका छन् । जसमध्ये महत्त्वपूर्ण एक हो, इरान। इरानले हमासले इजरायलमा गरेको आक्रामकको प्रशंसा गरेको छ । जुन कार्य विश्वका अन्य शक्ति राष्ट्र विशेष गरी अमेरिकाको लागि पाच्य नहुने पक्का छ ।

अमेरिकी तेल व्यापारी र्‍यापिडन इनर्जी ग्रुपका अध्यक्ष तथा ह्वाइट हाउसका एक पूर्व अधिकारी बब म्याकनालीले अन्तर्राष्ट्रिय समाचार एजेन्सीलाई भनेका छन्, "यदि द्वन्द्व इरानमा फैलियो भने तेल-अवरोधको परिदृश्य हुनेछ," । अहिले नै घटनाहरूको यस्तो क्रम देखिएको पनि छैन।

तर, इजरायलले हमासलाई कमजोर पार्न र अहिलेको आक्रमणको बदला लिन यदि इरान माथि धावा बोल्यो भने त्यसले विश्व बजारमा तेलको मूल्य आकासिने पक्का छ । यदि त्यसो भएन र अमेरिकाले इरान माथि लगाइरहेको नाकाबन्दीलाई थप कडा पार्‍यो भने पनि स्थिति फरक पर्नेवाला छ। किनकि इरान, एक प्रमुख तेल उत्पादक र ओपेक सदस्य राष्ट्र पनि हो । जो इजरायलमा यस सप्ताहान्तको आक्रमण सुरु गर्ने हमास समूहको प्रमुख समर्थकको रूपमा रहेको भन्ने प्रमाणहरू पश्चिमी सञ्चारमाध्यममा सार्वजनिक हुन् थालिसकेका छन्।

बब म्याकनालीको जस्तै भनाई पियरे एन्डुरान्डको पनि रहेको छ। एन्डुरन्ड क्यापिटल म्यानेजमेन्टका हेज फन्ड ट्रेडर समेत रहेका उनलाई उद्धृत गर्दै ब्लूमबर्गले लेखेको छ, "यसले छोटो अवधिमा तेल आपूर्तिमा असर पार्ने सम्भावना छैन तर यसले अन्ततः आपूर्ति र मूल्यहरूमा प्रभाव पार्न सक्छ।"

इरानले आफ्नो पक्षमा प्यालेस्टिनी आक्रमणलाई सार्वजनिक रूपमा समर्थन गरेको छ। यस्तोमा इजरायलले इरान माथि आक्रमण गर्न सक्ने कुरालाई मध्यनजर राख्नेहरूले भने तुरुन्तै पनि तेलको मूल्य बढ्न सक्ने तर्फ सङ्केत गरेका छन् । उनीहरूको अनुमान छ कि इजरायलले इरानका भौतिक पूर्वाधारहरूमा आक्रमण गर्न सक्छ ।

यदि तेल अवीवले इस्लामिक गणतन्त्र इरानका कुनै पनि पूर्वाधारमा प्रहार गरेर प्रतिक्रिया दियो भने कच्चा तेलको मूल्यमा तुरुन्तै वृद्धि हुनेछ । अहिले इरानी कच्चा तेलको ढुवानी विश्व बजारको लागि थप महत्त्वपूर्ण बन्दै गएको छ किनकि पाँच वर्षको उच्च स्तरमा पुगेको छ। पछिल्लो शत्रुताले वाशिंगटनलाई इरानी कार्गो प्रवाह विरुद्ध अझ आक्रामक रूपमा व्यवहार गर्न प्रेरित गर्न सक्छ ।

"मलाई लाग्छ कि यो विकासको अर्थ इरानी प्रतिबन्धहरूको बलियो कार्यान्वयन हो, त्यसैले कम इरानी तेल अगाडि बढ्छ," एन्दुरन्डले एजेन्सीलाई भनेका छन् । तथापि यस क्षेत्रमा डोमिनो प्रभाव कस्तो रहन्छ भन्ने भविष्यवाणी गर्न सम्भव छैन । तर, त्यसको सम्भावनालाई अहिले नकार्न पनि सकिँदैन ।

त्यसो त यदि इरान विरुद्धको नाकाबन्दी थप कडा भयो भने त्यो इस्लामिक गणतन्त्रले ‘स्ट्रेट अफ हर्मुज’लाई अवरुद्ध गरेर प्रतिक्रिया दिन सक्छ। अरब सागरको उत्तरमा रहेको यो त्यो जलमार्ग हो जसबाट हरेक दिन लगभग १७ मिलियन ब्यारेल कच्चा तेल ढुवानी हुने गर्दछ। यदि इरानबाट त्यस्तो कदम चालियो भने पनि अब खनिज तेलको मूल्य निकै बढ्ने छ । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा)