फिडेल क्यास्ट्रोको अन्तिम उपहार

क्यास्ट्रोको अन्तिम इच्छा थियो - मेरो सम्मान–सम्झनामा कुनै पनि मुर्ति नबनाउनु र कुनै पनि सडक लाई मेरो नामबाट नामाकरण नगर्नु ।

क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले ८० बर्षको उमेरमा स्वाथ्यको कारणले गर्दा औपचारिक राजनीतिबाट अवकाश लिइसकेका थिए। उनी राजधानी हवानाको पश्चिमी किनारामा रहेको एक भवनमा बस्थे। क्युबाको सत्ता सञ्चालन  भाइ राहुल क्यास्ट्रोले गरे पनि त्यहाको राजनीतिमा फिडेलको प्रभाव कम भएको थिएन। पार्टिक मुखपत्र ग्रान्मामा लेख लेख्ने, विदेशी प्रतिनिधिसंग भेटघाट गर्ने आदि काम उनले जारी राखेको थिए ।

 फिडेल क्यास्ट्रोले आफ्नो निवासबाट कामको लागि कतै बाहिर जाँदा वा आउँदा बाटामा भेटिएका आममानिसहरुसंग नियमित संवाद गरिरहन्थे। आफू सक्रिय रुपमा सत्तामा नरहे पनि सामान्य जनताको दैनिक जनजीवनका समस्याबारे उनलाई सधैं चासोचिन्ता रहिरहन्थ्यो। कसैलाई केही समस्या परे त्यसलाई हल गर्ने प्रयास क्यास्ट्रोले गर्थे। त्यसैले जनतामाझ उनी लोकप्रिय थिए ।

२०१६ को नोभेम्बेर ९ का दिन फिडेल क्यास्ट्रो आफ्नो निवासबाट कारमा बाहिर कतै जादै थिए। उनले सडकमा केटाहरु फुटबल खेलिरहेको देखे। आफ्नो गाडी रोक्न लगाएर फिडेल केटाहरुसंग कुरा गर्न थाले। उनले सोधे– तिमीहरु किन सडकमा फुटबल खेल्दैछौ ? ८ कक्षामा पढ्ने १३ वर्षका किशोर योसेइल क्लाभोले जवाफ दिए- हामीहरुले खेल्ने अरु कुनै ठाउँ नै छैन। फिडेलले यो मामिलामा चासो लिदै सोधे- फुटबल खेल्ने ठाउँ नै छैन भनेर तिमीहरुले के भन्न खोजेको हो ? आफूहरुलाई फुटबल खेल्ने ग्राउण्डको अभाव भएको र त्यसले गर्दा सडकमा खेल्नु परेको कुरा ती किशोरहरुले व्याख्या गरेपछि फिडेल क्यास्ट्रोले बचन दिँदै भने-  म तिमीहरुको लागि फुटबल खेल्ने मैदान बनाइदिन सरकारलाई सिफारिश गरिदिन्छु।

नभन्दै भोलि पल्ट देखि त्यो ठाउमा फुटबल मैदान बनाउन सुरु भयो। यो घटना भएको दुई हप्ता नबित्दै ९० बर्षको उमेरमा फिडेल क्यास्ट्रोको निधन भयो।

०००

क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्त्रो, जस्ले क्युबामा ४७ बर्ष सम्म शासन गरे । उनको अन्तिम इच्छा (Dying wish) थियो - मेरो सम्मान–सम्झनामा कुनै पनि मुर्ति नबनाउनु र कुनै पनि सडक लाई मेरो नामबाट नामाकरण नगर्नु (no statues be erected in my honour and no streets be named after me)। फिडेलको इच्छालाई सम्मान गर्दै क्युबा सरकारले कतै पनि उनको मुर्ति ठड्याउने र सडकको नाम राख्ने काम गरेन । फिडेल क्यास्त्रोको अस्तुलाई एउटा ठुलो ढुङ्गामा खोपेर समाधिस्थ गरियो । त्यसमा Fidel भनेर मात्र लेखिएको छ । 

हाम्रो देशमा रहेका नाम र प्रचारका भोकाहरुलाई देख्दा फिडेल क्यास्त्रो जस्ता जननेता पनि यो संसारमा थिए भन्ने मीठो अनुभूति हुन्छ ।