अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कमरेड अबिमायल गुजमान (गोञ्जालो) को योगदान र हाम्रो दायित्व

पेरूको नयाँ जनवादी क्रान्तिका चिन्तक तथा पेरू कम्युनिस्ट पार्टी (पेकपा) का तत्कालीन अध्यक्ष कमरेड गोञ्जालो २०७८ भदौ २७ गते तदनुसार ११ सेप्टेम्बर २०२१ मा राजनीतिक बन्दी अवस्थामा शहादत हुनुभयो । तत्कालीन फासिस्ट फुजिमोरी सरकारले अमेरिकी साम्राज्यवादको, खास गरेर सीआइएको योजनामा कमरेड गोञ्जालो र केन्द्रीय समितिको ठूलो हिस्सा गिरफ्तार गर्‍यो । त्यसपछि त्यहाँका सबै सरकारहरूले कमरेड गोञ्जालोलाई कडा सैन्य सुरक्षाबीच एकान्त–कारावासमा राख्दै आएको क्रममा उहाँको निधन भयो । उहाँको निधन मृत्यु होइन, शहादत हो । कमरेड गोञ्जालो एउटा महान् माक्र्सवादी–लेनिनवादी–माओवादी हुनुहुन्थ्यो । उहाँको २९ वर्षको लामो जेल–जीवन विश्वभरिका क्रान्तिकारी कम्युनिस्टहरूका लागि नयाँ जनवाद, समाजवाद र साम्यवादको बाटोमा दृढतापूर्वक लाग्न र अघि बढ्न ठूलो प्रेरणादायी छ । उहाँ एक्काइसौं शताब्दीको एक महान् क्रान्तिकारी शहीद हुनुहुन्छ । उहाँले क्रान्तिप्रति देखाउनुभएको अटल विश्वास र निरन्तरतालाई आत्मसात् गर्ने प्रतिवद्धता जाहेर गर्दै एक्काइसौं शताब्दीका महान् क्रान्तिकारी शहीद कमरेड गोञ्जालोलाई मेरो भावपूर्ण श्रद्धाञ्जलि ।

मैले यहाँ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रहेको कमरेड गोञ्जालोका योगदानहरूको सम्बन्धमा चर्चा नगरेर उहाँको गिरफ्तारीपछि पैदा भएका केही समस्याहरूको चर्चा गर्नेछु ।

१. कमरेड गोञ्जालोको गिरफ्तारीपछि — दुई कार्यदिशाहरू

पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड गोञ्जालोसहित केन्द्रीय नेतृत्वको ठूलो हिस्सा १२ सेप्टेम्बर १९९२ मा गिरफ्तार भएपछि १२ वर्षदेखि त्यहाँ जारी जनयुद्ध र स्वयं पेकपाभित्र ठूलो सङ्कट पैदा भयो । दुईवटा कारणहरूले यो सङ्कट पेकपा र त्यहाँको कम्युनिस्ट आन्दोलनभित्र मात्र सीमित हुन सक्दैन थियो — एउटा, कम्युनिस्टहरू अन्तर्राष्ट्रियतावादी हुन्छन् र कुनै एउटा मुलुकको कम्युनिस्ट आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनको अभिन्न हिस्सा हुन्छ । अर्को, माओको देहावसानपछि चीनमा पूँजीवादको पुनर्स्थापना भएर विश्वव्यापीरूपमा समाजवादी सत्ताहरूको विघटन भएर विश्व कम्युनिस्ट आन्दोलन रणनीतिक रक्षात्मक अवस्थामा धकेलिएको परिप्रेक्ष्यमा निलो आकाशमा मेघ गर्जनको रूपमा कमरेड गोञ्जालोको नेतृत्वमा जनयुद्धको शुरुवात भएको थियो । जसले विश्वभरीका क्रान्तिकारी कम्युनिस्टहरूमा ठूलो आशाको सञ्चारण गर्‍यो । यस परिप्रेक्ष्यमा पेकपाका अध्यक्ष र त्यसको केन्द्रीय नेतृत्वको ठूलो भागको गिरफ्तारीलाई लिएर विश्वभरिका क्रान्तिकारी कम्युनिस्टहरू चिन्तित हुनु र त्यसबाट अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, खासगरेर पेरूको कम्युनिस्ट आन्दोलनमा कमभन्दा कम क्षति पुगोस् भनेर एक आपसमा छलफल र बहस गर्नु विल्कूल स्वाभाविक र आवश्यकीय थियो ।

त्यस सङ्कटको समाधानको सम्बन्धमा पार्टीभित्र दुई फरक विचारहरू देखापरे — एउटा, अध्यक्ष कमरेड गोञ्जालोसहित केन्द्रीय नेतृत्वको ठूलो हिस्सा गिरफ्तार हुनुका बाबजुद पार्टीले जनयुद्धलाई निरन्तरता दिनुपर्छ र त्यसको लागि पार्टी सक्षम हुनुका साथै राष्ट्रिय परिस्थिति अनुकूल छ भन्ने विचार; र अर्को, जनयुद्धका चिन्तक तथा योजनाकार अध्यक्ष गोञ्जालोसहित नेतृत्वको ठूलो हिस्सा गिरफ्तार भएको र पछिल्लो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति जनयुद्धको प्रतिकूल दिशामा विकसित भएकोले त्यसलाई निरन्तरता दिनु आत्मघाती हुन्छ; त्यसैले शान्ति सम्झौताको बाटोबाट अघि बढेर जनयुद्धका उपलब्धिहरू र मुख्य नेतृत्वलाई जोगाउनुपर्छ जसबाट पुनः क्रान्तिको मार्गमा अघि बढ्न सकिन्छ भन्ने विचार । पेकपाको केन्द्रीय समिति, अन्तर्राष्ट्रियतावादी आन्दोलनको समिति र त्यससित सम्बद्ध पार्टी तथा सङ्गठनहरूले पहिलो विचारलाई दृढतापूर्वक अघि बढाए भने जेलमा रहेका र बाहिरका कतिपय व्यक्तिहरूले पछिल्लो विचारलाई अघि बढाए । त्यसपछिको एउटा लामो अवधि पेरू तथा विश्वव्यापी रूपमै यी दुई विचारहरूबीचको सङ्घर्षको अवधि रह्यो ।

भुसको आगो झैं फैलँदै गएको ‘शान्ति सम्झौता’को विचार लामो समयसम्म सामान्य विचारको रूपमा मात्र सीमित रहेन । जनवरी १९९३ मा द रिपब्लिकामा ‘नयाँ निर्णय र नयाँ व्याख्याको निम्ति सङ्घर्ष गरौं !’ (स्थानिय भाषामा यसलाई ‘असुमिर’ भनिन्छ र मैले पनि यसलाई अगाडि त्यही नाउँले उल्लेख गर्नेछु) को प्रकाशनपछि त्यसले एउटा प्रस्ट आकार लियो । त्यसपछि त्यो एउटा सामान्य विचार नभएर पार्टीभित्र दुई लाइन सङ्घर्षको एउटा पक्ष बन्यो । यसै वर्षको उत्तरार्धमा काण्टो ग्राण्डे जेलका बन्दीहरूले यस सम्बन्धमा ‘आधारभूत दस्तावेजको निम्ति रूपरेखा’ नामको अर्को एउटा एघार बुँदे सामग्री बाहिर ल्याए । तर शान्ति सम्झौताको यो प्रस्तावले त्यतिबेला उच्चस्तरीय राजनीतिक हैसियत पायो, जतिबेला पेरूका तत्कालीन राष्ट्रपति अल्बर्टो फुजीमोरीले १ अक्टोबर १९९३ मा संयुक्त राष्ट्रसङ्घमा पेकपाका अध्यक्ष कमरेड गोञ्जालो, जो एक वर्ष पहिले गिरफ्तार भएर बन्दी जीवन बिताइ रहनुभएको थियो, ले सरकारसित शान्तिवार्ताको प्रस्ताव राख्नुभएको कुरा बतायो । त्यसले पेकपाभित्र र पेरूको जनयुद्धको समर्थन गर्ने विश्वका पार्टी तथा सङ्गठनहरूमा ठूलो हलचल पैदा गर्‍यो । कमरेड गोञ्जालोलाई सरकारले कडा सैन्य सुरक्षाघेराभित्र एकान्तवासमा राखेको र कसैलाई उहाँसित भेट्न अनुमति नदिएको अवस्थामा त्यो प्रस्ताव राष्ट्रपति फुजीमोरीले भनेजस्तो उहाँद्वारा प्रस्तावित हो भन्ने कुरा पुष्टि हुन सक्दैन थियो । फुजीमोरीले यो कुराको दावी गरिरह्यो तर कमरेड गोञ्जालोलाई सार्वजनिक गरेर कहिल्यै त्यसलाई पुष्टि भने गरेन ।

फुजीमोरीको उपरोक्त भनाइको लगतै १७ अक्टोबर १९९३ मा पेकपाको केन्द्रीय समितिले वक्तव्य निकालेर त्यसलाई खारेज गर्‍यो । जस्तो कि उक्त वक्तव्यमा लेखिएको छ: “यो एउटा भद्दा र हास्यास्पद छल (Hoax) हो जसलाई अलिकता पनि दिमाग भएको मानिसले गम्भीररूपले लिन सक्दैन । जब यसको सामना जनयुद्धको रोक्नै नसकिने चक्रवातसित हुन्छ, जसले वर्गसङ्घर्षलाई गहन बनाइरहेको छ र जसको हिंसात्मक तीक्ष्णता हडताल र प्रदर्शनहरूका तरङ्गमा देख्न सकिन्छ, तब यो विगतका छलहरू जस्तै गरेर हावामा बिलाउने छ ।” केन्द्रीय समितिले फुजीमोरीको त्यो भनाइलाई “अध्यक्ष गोञ्जालोलाई बदनाम गर्ने र उहाँलाई मार्ने पूर्व सङ्कल्पित, धोखाधडी र उन्मत्त योजना” भनेर खारेज गर्‍यो र त्यस्तो प्रतिक्रान्तिकारी छललाई पराजित गर्न अन्तर्राष्ट्रियस्तरमै आह्वान पनि गर्‍यो । विश्वका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू तथा सङ्गठनहरू फुजीमोरीको उपरोक्त दाबी सम्बन्धमा पेकपाको आधिकारिक धारणा कस्तो आउला भनेर प्रतिरक्षारत रहेको अवस्थामा केन्द्रीय समितिको उपरोक्त वक्तव्यले अँध्यारोलाई चिर्ने काम गर्‍यो ।

पेकपाले फुजीमोरीको उपरोक्त दाबीको सम्बन्धमा आफ्नो स्थिति मात्र प्रस्ट गरेन, त्यसले केन्द्रीय समितिको फेब्रुअरी १९९४ मा जारी प्रतिवेदनमा शान्ति सम्झौताको सम्बन्धमा आएका विचारहरूको सम्बन्धमा पनि आफ्नो स्थिति प्रस्ट गर्‍यो । यस प्रतिवेदनमा त्यसले पहिलो पल्ट पार्टीभित्र जनयुद्धको निरन्तरता र शान्ति सम्झौताका विचारहरू दुई लाइन सङ्घर्षको हदमा विकसित भएको कुरा सार्वजनिक गर्‍यो । उक्त प्रतिवेदनले शान्ति सम्झौताका पक्षधरहरूलाई संशोधनवादी र दक्षिणपन्थी अवसरवादी आत्मसमर्पणवादी बताएर प्रतिक्रान्तिकारी छलका योजनाकारहरूकै हाराहारीमा राखेर दुवैका विरुद्ध सङ्घर्षको आह्वान गर्‍यो । जस्तो कि फुजीमोरीद्वारा कमरेड गोञ्जालोको भनिएको पत्र र शान्ति सम्झौताको प्रस्तावको सम्बन्धमा प्रतिवेदनमा लेखिएको छ:

The so-called letters Fujimari has presented, the so-called phone call abroad and the subsequent monostrosities are a counter-revolutionary plot cooked up there by Yankee imperialism and the genocidal and national-sellout dictatorship in combination with the evil action of the black grouplet. A hoax to win the elections, block the celebration of the Centenary in December and hide the La Canuta cases, in short run, but its essence is to seek to annihilate the People's War and within that continue their plan to murder Chairman Gonzalo.

Denounce, condemn and smash the black grouplet that is raising a revisionist and capitulationist R.O.L., made up of infiltrators, traitors, capitulators and old revisionist. Grouplet directly linked to the reaction. Their monotrosities are a complete negation of the Party's First Congress, a Marxist Congress, a Marxist-Leninist-Maoist, Gonzalo Thought Congress, of the Party Basis of Unity, the headquarters, the Party, the People's War, and therefore they have removed themeselves form the Party by their own free will.

शान्ति सम्झौताको प्रस्तावको सम्बन्धमा पेकपाको केन्द्रीय समितिले उपरोक्त प्रतिवेदनमा दुईवटा कुराहरूलाई ध्यान दिन सचेत गर्‍यो — एउटा, मालेमाका सिद्धान्तहरूको विरुद्ध जाने कुराहरू स्वीकार्य हुनुहुन्न । शान्ति सम्झौताको प्रस्ताव मालेमाको सिद्धान्तहरूको विरुद्ध भएकोले ती अस्वीकार्य छन्; र अर्को, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मान्यताअनुसार जेलभित्रबाट कसैले पनि नेतृत्व गर्न नसक्ने भएकोले त्यो प्रस्तावको औचित्यता छैन ।

दक्षिणपन्थी अवसरवादी आत्मसमर्पणवादी कार्यदिशाका विरुद्धको सङ्घर्षलाई उच्चधरातलमा उठाएर जनयुद्धलाई मजबूत पार्न जोड दिँदै प्रतिवेदनमा भनिएको छ:

Pay attention to the two-line struggle, develop it to strengthen the People's War, which is the main thing and which is and will be determinate. It is necessary to go deeply into the background, the process, and the present situation to determine the level of struggle in the whole Party.

पेकपाको केन्द्रीय समितिले शान्ति सम्झौताको सम्बन्धमा आफ्नो स्थिति प्रस्टरूपले राखेपछि त्यसभित्र उपरोक्त प्रश्नमा चुलिएको विवादलाई नजिकबाट नियालिरहेका क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको समिति र त्यससित सम्वद्ध पार्टी तथा सङ्गठनहरू प्रत्यक्षरूपमा नै उक्त विवादमा सहभागी भए जुन विल्कूल स्वाभाविक छ । तिनीहरूले यस सम्बन्धमा आफूहरूलाई शान्ति सम्झौताको विपक्षमा र जनयुद्धको निरन्तरताको पक्षमा दृढतापूर्वक उभ्याएर पेकपाको केन्द्रीय समितिलाई साथ दिए । जस्तो कि त्यतिबेला पेकपाभित्र देखिएको विवादको सम्बन्धमा अन्तर्राष्ट्रियतावादी आन्दोलनको समितिले भन्यो:

पेकपाभित्र हाल चलिरहेको मतभेद सम्झौता उपयुक्त हुन्छ कि हुन्न भन्ने एउटा प्राज्ञिक विवाद मात्र होइन । यो पेरू र विश्व परिस्थितिको मूल्याङ्कनको, पार्टीको जनयुद्धलाई कायम राख्ने र अघि बढाउने क्षमताको, कहीँ घुमेर कहीँ मोडिएर क्रान्ति अघि बढ्ने र विजयी हुने प्रव्रिmया जस्ता आधारभूत प्रश्नहरूको मूल्याङ्कनको प्रश्न हो ।

०००

कमरेड गोञ्जालोले गिरफ्तारीको १२ दिनपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई सम्बोधन गर्ने क्रममा उहाँसहित केन्द्रीय नेतृत्वको ठूलो हिस्सा गिरफ्तार भएको घटनालाई जनयुद्धको “एउटा ठूलो पराजय” नभएर “बाटोको एउटा घुम्ती” बताउनुभएको थियो ।

०००

कमरेड गोञ्जालोले गिरफ्तारीको १२ दिनपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई सम्बोधन गर्ने क्रममा उहाँसहित केन्द्रीय नेतृत्वको ठूलो हिस्सा गिरफ्तार भएको घटनालाई जनयुद्धको “एउटा ठूलो पराजय” नभएर “बाटोको एउटा घुम्ती” बताउनुभएको थियो । क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको समितिले २८ मार्च १९९५ को ‘पेरूमा फहराइरहेको हाम्रो रातो झण्डाको रक्षाको निम्ति गोलबन्द होऔं !’ आह्वानमा “यो बाटोको एउटा घुम्ती हुनुका बावजूद जनयुद्ध जारी रह्यो” भनेको छ । यसले दिन खोजेको सन्देश अध्यक्ष गोञ्जालोसहित केन्द्रीय नेतृत्वको ठूलो हिस्सा गिरफ्तार भएपछि पेरू र विश्वपरिस्थिति जनयुद्धलाई कायम राख्न र विजयी बनाउन अनुकूल छ, पेकपाको तत्कालीन केन्द्रीय समिति जनयुद्धलाई निरन्तरता दिँदै विजयी बनाउन सक्षम छ, मुख्यालय र केन्द्रीय नेतृत्वको गिरफ्तारीले त्यसमा कुनै फरक पार्दैन भन्ने हुन्छ । क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको समितिका सदस्य पार्टीहरूले पनि यही विचार राख्दथे । त्यस सम्बन्धमा इरानको कम्युनिस्टहरूको सङ्घको नेतृत्वदायी समिति (अगाडि युआइसिएस मात्र भनिने) ले प्रकट गरेका विचारहरू विशेषरूपले उल्लेखनीय छ । युआइसिएसको अनुसार क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको समितिको आग्रह र दिशाबोधमा त्यसले ‘विद्रोह गर्नु अधिकार हो’ लेख तयार गर्‍यो, जुन जित्नको लागि सारा संसारको १९९५/२१ मा प्रकाशित भएको छ । जसको दिशाबोधमा यो लेख तयार गरियो, त्यसले पेकपा भित्रको उपरोक्त विवादमा त्यसकै सारतत्त्वलाई समाउने कुरा निश्चित छ । यस लेखले उपरोक्त विवादमा पेकपाको केन्द्रीय समिति र क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको समितिको विचारलाई अघि बढाएको छ ।

त्यसै गरेर, शान्ति सम्झौताका प्रस्तावकहरूले पनि आफ्नो प्रस्तावको औचित्यता सिद्ध गर्न कैयन तथ्य, तर्क र विचारहरू अघि सारेका छन् । ‘असुमिर’ तथा ‘आधारभूत दस्तावेजको निम्ति रूपरेखा’ मा ती कुराहरू देख्न सकिन्छ । यी दस्तावेजहरूको साङ्गोपाङ्गो अध्ययनबाट के प्रस्ट हुन्छ भने तिनीहरूको जनयुद्धलाई निरन्तरता दिन सकिँदैन, सरकारसित शान्ति सम्झौता गरेर जनयुद्धका उपलब्धिहरूलाई जोगाउनुपर्छ भन्ने विचार मुख्यरूपले तीनवटा कुराहरूमाथि आधारित छ — पहिलो, अन्तराष्ट्रिय परिस्थिति । शान्ति सम्झौताका प्रस्तावकहरूका अनुसार क्रान्तिको निम्ति अन्तर्राष्ट्रिय परिस्थितिको अनुकूलता “मुख्य नभए पनि आवश्यक” कुरा हो जुन अहिले “विद्यमान छैन” । तिनीहरू के मान्दछन् भने अहिले विश्व सर्वहारा क्रान्तिमा उतारको अवस्था छ र यस्तो अवस्थामा सर्वहारावर्गले सत्ता कब्जा गर्न सक्दैन । यस्तो अवस्थामा समस्या समाधानको निम्ति सङ्घर्ष र सङ्गठनका, मुख्य गरेर सैन्य सवालहरू बारे नयाँ रूपबाट सोच्न आवश्यक हुन्छ । त्यसोगरेर नै हामीले विश्व सर्वहारा क्रान्तिको भावी तरङ्ग (wave) लाई समाउन सक्दछौं । त्यसैले, त्यसले भनेको छ “क्रान्तिको एउटा चरणको अन्त्य भएको छ, विश्व सर्वहारा क्रान्तिको भावि उभारको निम्ति सङ्घर्ष गरौं !”

दोस्रो, राष्ट्रिय परिस्थिति । यस सम्बन्धमा तिनीहरू देशमा नोकरशाही पूँजीवादी सत्ताको मजबुतिकरण भएको निश्कर्षमा पुगे । त्यस्तो अवस्थामा जनयुद्धलाई निरन्तरता दिनु सम्भव हुन्न भन्ने तिनीहरुको भनाइरह्यो । तिनीहरू जनयुद्ध शुरुभएपछिको दशकमा देशमा नोकरशाही पूँजीवादी सत्ताले अमेरिकी साम्राज्यवादको सहयोगमा विभिन्न उपायहरू अपनाएर आफ्नो मजबुतिकरण (consolidation) गर्‍यो । त्यसले गर्दा जनयुद्धलाई निरन्तरता दिएर केन्द्रीय सत्ता कब्जा गर्न सम्भव छैन, पेरूभियाली क्रान्तिको भावि उभारको निम्ति सङ्घर्ष गर्नुपर्छ र शान्ति सम्झौता त्यो सङ्घर्षको पहिलो पाइलो हो भन्ने कुरा तिनीहरू मान्दछन् । देशमा नोकरशाही पूँजीवादको अवस्थाको सम्बन्धमा ‘असुमिर’ लेख्छ:

नोकरशाही पूँजीवादको समग्र अवधि एउटा विशेष दिशातर्फ बढिरहेको छ । राजनीतिक सत्ताको सङ्केन्द्रणको प्रक्रियालाई अघि बढाउन, नेतृत्व गर्न र त्यसलाई प्रभावकारी रूपले लागु गर्नको लागि एउटा दीर्घकालीन योजना र दीर्घकालीन सरकार आवश्यक छ । त्यसकारण नोकरशाही पूँजीवाद यस दिशामा अघि बढिसकेको छ ।

‘असुमिर’ले “मुख्यालय र केन्द्रीय नेतृत्व गिरफ्तार भएकोले साम्राज्यवादले हस्तक्षेप गर्न आवश्यक ठानेन” भनेको छ । यो भनाइको अर्थ मुख्यालय र केन्द्रीय नेतृत्व गिरफ्तार गरेर साम्राज्यवादले जनयुद्ध दवाइसक्यो, यदि मुख्य नेतृत्वलाई गिरफ्तार गर्न नसकेको भए त्यसले सैन्य हस्तक्षेप गरेर जनयुद्ध दवाउने बारे सोच्ने थियो भन्ने हुन्छ ।

तेस्रो, क्रान्तिको नेतृत्व । ‘असुमिर’ ले मुख्यालय र केन्द्रीय नेतृत्व गिरफ्तार भएकोले जनयुद्ध विजयी हुन सक्दैन, यसको उपलब्धिहरूको रक्षा मात्र हुन सक्दछ भनेको छ । यसले जनयुद्धको विजयको निम्ति अपरिहार्य छवटा तत्त्वहरूमध्ये “सर्वहारा नेतृत्वलाई प्रधान (principal)” बताएको छ । त्यसको यो तर्क रहेको छ कि “नेतृत्वले उचित र सही राजनीतिक कार्यदिशा कायम राख्छ जो जनयुद्धको विकास गर्न, यसलाई सही दिशा दिन र वर्गको नेतृत्व गर्न सक्षम हुन्छ ।”–जित्नको लागि सारा संसार १९९५/२१, पृ. ६१, ६३

२. पेरूको जनयुद्धको अवशान तथा कमरेड गोञ्जालोको हत्यासित दुई कार्यदिशाहरूको सम्बन्ध

उपरोक्त कार्यदिशाहरूलाई पेरूमा जनयुद्धको अवसान एवं कमरेड गोञ्जालोको हालै मात्र बन्दी अवस्थामा भएको शहादतसित जोडेर हेर्नुपर्छ भन्ने मेरो विचार छ । शान्ति सम्झौताको कार्यदिशाले आफूलाई स्थापित गर्न सकेन जसले गर्दा त्यो कामकाजी हुनसकेन । त्यसैले जनयुद्धको अवशान एवं कमरेड गोञ्जालोको राजनीतिक हत्याको परिणामसँग शान्ति सम्झौताको कार्यदिशालाई जोडेर हेर्न मिल्दैन भन्ने म ठान्दछु । किनकि जुन कुरो स्थापित हुन र कामकाजी हुन सकेन त्यसको जनयुद्धको अवसान एवं कमरेड गोञ्जालो हत्या–परिणामसित कुन प्रकारको सम्बन्ध रह्यो भनेर छलफल गर्नुको कुनै अर्थ रहन्न । त्यसैले यसबारे मैले कुनै चर्चा गर्दिनँ ।

०००

पेकपाको केन्द्रीय समिति र क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको समितिले भने जस्तो त्यतिबेला पेरूमा जनयुद्धलाई निरन्तरता दिएर सत्ता कब्जा गर्न सकिन्थ्यो भन्ने विश्लेषण वस्तुवादी हुन्थ्यो भने पेरूमा कम्युनिस्ट पार्टी र जनयुद्धको यस रूपमा अवशान हुँदैन थियो ।

०००

पेरूमा जनयुद्धको अवशान एवं कमरेड गोञ्जालोको शहादतसित पेकपाको केन्द्रीय समितिको जनयुद्धलाई निरन्तरता दिएर सत्ता कब्जा गर्ने कार्यदिशा र त्यसका पक्षमा दृढतापूर्वक उभिएका क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको समिति र त्यससित सम्बद्ध पार्टी तथा सङ्गठनहरूसित प्रत्यक्ष सम्बन्ध हुन्छ । यदि पेकपाको केन्द्रीय समिति र क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको समितिले भने जस्तो त्यतिबेला पेरूमा जनयुद्धलाई निरन्तरता दिएर सत्ता कब्जा गर्न सकिन्थ्यो भन्ने विश्लेषण वस्तुवादी हुन्थ्यो भने पेरूमा कम्युनिस्ट पार्टी र जनयुद्धको यस रूपमा अवशान हुँदैन थियो । कमरेड गोञ्जालो फासिष्ट सरकारको हातमा परिसक्नुभएको अवस्थामा पेकपा र क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको समिति एवं त्यससित सम्बद्ध पार्टी तथा सङ्गठनहरू, जसले पेरूमा जनयुद्धलाई अगाडि बढाएर सत्ता कब्जा गर्न वस्तुगत तथा पार्टीको आत्मगत अवस्था अनुकूल रहेको दावी गरेका थिए, ले उहाँको जीवन बचाउन सक्नुपर्थ्यो भनेर भन्नु निश्चयै पनि सही हुँदैन । तर पनि २९ वर्षको लामो समय पाउँदा पनि उहाँको जीवन बचाउन, जनसेनालाई सशक्त पार्न, संयुक्त मोर्चाको विस्तार गर्न तथा जनयुद्धलाई सत्ता कब्जा गर्ने हदमा अघि बढाउन नसकेपनि त्यसलाई कायम राख्न, त्यसका उपलब्धिहरूलाई बढीभन्दा बढी जोगाउन नसकेको वास्तविकतालाई प्रतिक्रियावादीहरूको दमनका कारणले मात्र भनेर उम्कन मिल्दैन । यस परिणामको लागि मुख्यरूपले पेकपाको केन्द्रीय समिति, क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको समिति र त्यससित सम्बद्ध पार्टी तथा सङ्गठनहरूको त्यतिबेलाको पेरूको वस्तुगत अवस्था एवं पार्टीको आत्मगत अवस्थाको अतिशयोक्तिपूर्ण, अवस्तुवादी र आत्मगत विश्लेषण जिम्मेवार छ । कमरेड गोञ्जालोको गिरफ्तारीपछि पार्टीभित्र सही वैचारिक तथा राजनीतिक कार्यदिशा कायम राख्ने र परिस्थितिमा आएको बदलाव अनुसार त्यसलाई बदल्ने, जनयुद्धलाई अघि बढाउने र सर्वहारावर्गलाई नेतृत्व दिन सक्ने क्षमताको नेतृत्व थिएन । दलाल एवं नोकरशाही सत्ताले अमेरिकी साम्राज्यवादको सहयोगमा आफ्नो मजबुतीकरण गरिसकेको अवस्थामा क्रान्तिको दीर्घकालीन र टेढोमेढो बाटोको एउटा मोडको रूपमा पछिहटाइको राजनीतिक कार्यदिशा अवलम्बन गर्नु पर्दथ्यो, पेकपाको केन्द्रीय समितिको पेरूको तत्कालीन परिस्थितिको आत्मगत विश्लेषण र त्यसमाथि आधारित गलत निर्णयले गर्दा त्यहाँको क्रान्ति दशकौं–दशकसम्म उठ्न नसक्ने गरेर पछारियो ।

पेरूको जनयुद्धको यस विघटनको लागि आन्तरिकरूपमा पेकपाको तत्कालीन केन्द्रीय नेतृत्व जिम्मेवार छ भने वाह्यरूपमा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको समिति जिम्मेवार छ । क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको समिति जो स्वयं क्रान्तिकारी कम्युनिस्ट पार्टी, अमेरिका र त्यसका अध्यक्ष बब अभाकियनको छायाँ समिति थियो, को गलत सुझाव, सल्लाहले कमरेड गोञ्जालोको जीवन बचाउने र पेरूको १२ वर्षको जनयुद्धका उपलब्धिहरू बढीभन्दा बढी जोगाउने सम्भावनाहरूको घाँटी निमोठ्यो । क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको समितिले आन्दोलनको सम्बन्धमा अरू मुलुकहरूका कम्युनिस्ट पार्टीहरूलाई दिने सुझाव, सल्लाहहरू सधैंजसो अवस्तुवादी, आत्मगत परिणामतः गलत हुने गरेका छन् । त्यसले गर्दा सम्बन्धित मुलुकहरूका नयाँ जनवादी र समाजवादी आन्दोलनहरूले अपूरणीय क्षति बेहोर्नुपर्ने गरेको छ । त्यस सम्बन्धमा पेरू मुख्य छ । नेपाल पनि त्यसको अर्को उदाहरण हो ।

त्यसो भए के त्यतिबेला शान्ति सम्झौताका पक्षधरहरूले अघिसारेको प्रस्ताव अनुसार पार्टी अघि बढेको भए पेरूको क्रान्तिले यो अपुरणीय क्षति व्यहोर्नुपर्ने थिएन ? यस प्रश्नको जवाफ थियो वा थिएनमा दिन सकिन्न । ‘असुमिर’ र ‘आधाभूत दस्तावेजको निम्ति रूपरेखा’ को अध्ययनबाट के कुरा प्रस्ट हुन्छ भने तिनीहरूमा थुप्रै वैचारिक–राजनीतिक अस्पस्टताहरू छन् र ती शान्ति–वार्ताको आधारभूत दस्तावेज मानिन सक्दैनन् । तिनीहरू पेकपाले अवलम्बन गर्दै आएका कतिपय गैर–मार्क्सवादी–लेनिनवादी मान्यताहरूमाथि आधारित छन् जुन मान्यताहरूले त्यस जटिल घडीबाट पेकपालाई मुक्त गरेर क्रान्तिलाई अनवरत प्रक्रियामा अघि बढाउन सक्दैन थियो । उक्त सामग्रीहरूको मुख्यालय र केन्द्रीय नेतृत्वको गिरफ्तारीपछिको अवस्थामा जनयुद्धलाई निरन्तरता दिएर केन्द्रीय सत्ता कब्जा गर्न पार्टी सक्षम छैन भन्ने भनाइसित मेरो पूर्ण सहमति छ । म के ठान्दछु भने शान्ति–वार्ताको प्रस्ताव स्वयं केन्द्रीय समितिबाट अघि बढाइएको र क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको समिति र त्यससित सम्बद्ध पार्टी तथा सङ्गठनहरू त्यसमा सकारात्मक भएको भए मार्क्सवादी–लेनिनवादी ढाँचाभित्रको शान्ति सम्झौताको प्रस्ताव आउन सक्थ्यो जसबाट शान्ति–वार्ता वास्तवमै क्रान्तिको टेढोमेढो र दीर्घकालीन बाटोको एउटा मोड सिद्ध हुन सक्थ्यो र त्यो मोड पार गरेर क्रान्ति अघि बढ्ने थियो ।

अन्त्यमा, पुनः एकपटक एक्काइसौं शताब्दीका महान् क्रान्तिकारी शहीद कमरेड गोञ्जालोलाई मेरो भावपूर्ण श्रद्धाञ्जलि । 

(२०७८ असोज २० तदनुसार ६ अक्टोबर २०२१)

पेरुमा छापामार युद्ध सञ्चालन गरेर विश्वमै हलचल पैदा गराइदिएका साइनिङ पाथका नेता गोञ्जालो आजकै दिन अर्थात् सेप्टेम्बर १२ मा पक्राउ परेका थिए । हिजोका दिन अर्थात् सेप्टेम्बर ११ मा उनको जेलमा निधन भएको थियो । यस सन्दर्भमा इतिहासका चर्चित पात्र गोन्जालोको गिरफ्तारीलगत्तै उनी तथा उनले नेतृत्व गरेका पार्टी साइनिङ पाथको वस्तुस्थितिबारे जानकारी प्रदान गर्ने यो आलेख हामीले प्रकाशित गरेका छौं । यो आलेख 'अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कमरेड अबिमायल गुजमान (गोञ्जालो) को योगदान र हाम्रो दायित्व' शीर्षकमा मार्क्सवादी मञ्चद्वारा २०७८ असोज २३ मा बुटवलमा आयोजित विचारगोष्ठीमा प्रस्तुत कार्यपत्र हो

Main Photo:www.meer.com