सावधान ! अतिवादको डढेलो फैलिन नपाओस्

सम्पादकीय

हरेक किसिमका अतिवाद खतरनाक हुने गर्छ । त्यसमाथि थप, धार्मिक अतिवादको डढेलो त झनै खतरनाक हुने गर्छ । सानो मित्थ्या सूचनाले मात्रै पनि त्यो अतिवादको आगोमा पेट्रोलको काम गरिदिने गर्छ । धार्मिक अतिवादले सत्यतथ्यको जाँचबुझ गरिबस्दैन । अन्धआस्था र बौलठ्ठीपूर्ण आवेगमा त्यसले आफू इतरका धार्मिक आस्था र विश्वासमाथि जाइलाग्छ । फलतः समाजमा विध्वंशको बबण्डर खडा गरेर त्यसले आपसी सद्भाव र भाइचाराको निर्मम हत्या गरिदिने गर्छ ।

अहिले मुलुकका विभिन्न हिस्साहरुमा अतिवादको डढेलालाई सल्काउने नियोजित प्रयत्नहरु हुन थालेका छन् । त्यसको पछिल्लो उदाहरण मलंगवाको घटना हो । 'हिन्दूहरुमाथि मुश्लिमको हमला' भनी जसरी घटनाक्रमलाई उत्तेजित रुप दिने र त्यसलाई मुश्लिम–हिन्दू समुदायबीचको साम्प्रदायिक दङ्गाको रुपमा मोड्ने कोशिश भइरहेको छ, त्यसबारे सबैजना गम्भीर हुनु जरुरी छ ।

पछिल्लो पटक सर्लाहीको सदमुकाम मलङ्गवामा भएको घटनाले त्यस्तै दङ्गा भड्काउने नियोजित कोशिश त भइरहेको होइन ? शंका गर्ने ठाउँ दिन्छ । गत भदौ २२ गते शुक्रबारका साँझ कृष्णाजन्माष्टमीको मूर्ति सेलाउन जाँदा मुश्लिम समुदायका घरको छतबाट ‘ढुङ्गा प्रहार गरिएको’ र ‘तातोपानी छ्यापिएको’ भन्दै ‘उग्र हिन्दूवादी’हरुको भीडले मुश्लिम बस्तीमा तोडफोड गरे । मुश्लिम समुदायका मानिसहरु पनि प्रतिकारमा उत्रिएपछि त्यसले साम्प्रदायिक दङ्गाको रुपमा लिने खतरा बढेको थियो । तर बेलैमा प्रशासनले हस्तक्षेप गरेपछि स्थिति नियन्त्रणभन्दा बाहिर जान पाएन । सोही बहानामा भोलिपल्ट शनिवारका दिन पनि दुई समुदायबीच नारा जुलुस प्रदर्शन र भौतिक सम्पत्तिमाथि नै आक्रमण हुन थालेपछि स्थिति झनै बिग्रेको थियो । प्रशासनले शनिवार बेलुकी ५ बजेदेखि भोलिपल्ट बिहान ८ बजेसम्म कर्फ्यू नै लगाउनु परेको थियो ।

यसअघि धरानमा पनि 'गोरुको मासु खाने' र 'नखाने'हरुबीच धार्मिक दङ्गा भड्काउने चलखेल चलेको थियो । धन्न, बेलैमा डाकिएको सर्वपक्षीय–सर्वदलीय बैठकले त्यसलाई सामान्यीकरण गरेर थप चर्कनबाट रोकेको थियो ।

मलङ्गवाका घटना हिन्दू र मुश्लिम सम्प्रदायबीच थियो भने धरानका घटना चाहिँ हिन्दूवादी तथा मङ्गोलसमुदायबीच घटित भएका घटना थिए ।

यी केही घटनाहरुले के देखाएको छ भने नेपालमा पनि धार्मिक वा जातीय दङ्गाहरु भड्काउने नियोजित प्रयत्नहरु भइरहेका छन् । अर्थात् अतिवादको डढेलो सल्काएर नेपालमा भीडन्त तथा अस्थीरताको स्थिति पैदा गराउने चलखेलहरु भइरहेका छन् । यस मेसोमा भारतका कट्टरवादी हिन्दूवादी संघसंस्थाहरुकै नक्कलमा नेपालमा खडा हिन्दूवादी संघसंस्थाहरुको भूमिका तथा ‘अधिकार’ खोज्ने नाममा वैधानिक र राजनीतिक उपायहरुको सट्टा अरुलाई चुनौती दिने र उक्साउने खालका गैर हिन्दूवादीहरुको क्रियाकलापले पनि त्यस किसिमको धार्मिक तथा जातीय दङ्गाका लागि अनुकूल भावभूमि पैदा गराइदिने काम भइरहेको छ । स्वभाविक रुपमा, यस्ता क्रियाकलापहरुलाई धार्मिक–साँस्कृतिक आधिपत्य विस्तार गरेर आफ्नो प्रभावक्षेत्र बढाउने नियतका साथ आएका विदेशी स्वार्थ र चासोहरुले हावा फुकिदिने र बल प्रदान गर्ने कोशिस त गरिरहेकै छ ।

अतिवादको डढेलो सल्काउन चाहनेहरुको संख्या र उपस्थिति समाजमा अहिलेसम्म कमजोर र न्यून छ, त्यसैले स्थिति नियन्त्रणभन्दा बाहिर गइसकेको छैन । तर यसमाथि बेलैमा अंकुश लगाउने उपायहरुको खोजी नगर्ने हो भने कुनैपनि बेला स्थितिले गलत मोड लिन सक्ने सम्भावना पनि उत्तिकै छ । त्यसैले, यो वा त्यो बहानामा नेपालमा धार्मिक तथा जातीय अतिवादको डढेलो सल्काउन खोजिएको बेला जिम्मेवार व्यक्ति, दल, समूह तथा नेताहरुको भूमिका त्यसलाई उत्तेजित तुल्याउनेतिर होइन, त्यसलाई सामान्यीकरण गर्ने र रोक्नेतिर हुनुपर्छ भन्ने ख्याल गरिनु पनि उत्तिकै जरुरी छ । यतिखेर उनीहरुको भूमिका द्वन्द्वलाई निरुपण गर्नेतिर केन्द्रीत हुनु वान्छनीय देखिन्छ ।

वास्तवमा यतिखेरको सामाजिक–आर्थिक–राजनीतिक माहोल चरम निराशाजनक बन्दै गइरहेको छ । राजनीतिक अस्थीरताले मुलुकलाई पूरै गाँजेको छ । नीति–नैतिकता र सुशासन कुन चरीको नाम हो भन्ने अवस्था छ । भ्रष्टाचारमाथि अंकुशको कुरा हात्तीको देखाउने दाँत बनेको छ । चरम महंगीले आम मानिसको ढाड सेकेको छ । अभूतपूर्व बेरोजगारीको अवस्था छ । मुठ्ठीभरका लागि मात्रै मुलुकको अवस्था ‘स्वर्ग’ छ, बाँकी जनताका लागि ‘नरकतुल्य’ बन्दै गइरहेको छ । वास्तवमै भन्ने हो अहिले राजनीतिक दल तथा सामाजिक व्यवस्थाप्रति जनताको आस्था विश्वास र भरोसा पूरै टुट्न लागेको अवस्था छ । अहिलेको चरम निराशाजनक सामाजिक–राजनीतिक–आर्थिक दुरावस्थाका कारण जनतामा असन्तोष चुलिएको छ । अहिलेको स्थितिमा पानी धमिल्याएर माछा मार्ने दाउ खोज्नेहरुको कुनै कमी छैन । अहिलेको अवस्था अतिवादको डढेलो सल्काउन चाहनेहरुका लागि मलिलो भावभूमि जस्तै बन्ने खतरालाई भुल्नु हुँदैन । नेपालमा रचनात्मक कामहरु गर्नभन्दा ध्वंशात्मक कामहरु गर्न खासै मिहिनेत र प्रयत्न गरिबस्नै नपर्ने, मानिसका मनमस्तिष्कभित्र गुम्सिएर रहेका चरम निराशाहरु विस्फोट हुन कुनै जायज कारण विद्यमान भइबस्नै नपर्ने कुराको दु:खद दृष्टान्तहरुका रुपमा विगतमा हृतिक रोशन काण्ड तथा इराकमा १२ जना नेपालीहरुको हत्या हुँदा यहाँ फैलिएको अराजकता र दङ्गाफसादहरु हामी सामु छन् । अहिलेको अवस्थामा पैदा हुने कुनै पनि किसिमको गडबडी वा सानो निहुँ पनि जनताका ‘चरम निराशा’लाई विस्फोट गराउने माध्यम बन्न सक्छ भन्ने कुराको पनि हेक्का राखिनु अति जरुरी छ भन्ने हामीलाई लाग्छ । साम्प्रदायिक सदभाव र पारस्परिक सम्मानका पक्षमा बहुसंख्यक जनता रहेको अहिलेको अवस्थामा राजनीतिक दल, प्रशासन तथा समाजका अगुवाहरु जिम्मेवार बन्न सकेमा स्थिति बिग्रने दिशातिर जाने छैन भन्ने कुराका दृष्टान्तका रुपमा हामीसामु धरान र मंगलवाका घटनाहरु छन् ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।