बादशाहको भोज

दिल्लीका बहादुर शाहले एकपटक महाकवि गालिबलाई दरबारमा भोजको निम्तो दिएको थियो ।

सामन्ती समाजमा असल मानिस धनी हुन सक्दैन । गालिब असल मानिस थिए । गरीब थिए । उच्चस्तरका कविता लेख्थे । घरमा पेटभरि खाने व्यवस्था थिएन । कपडा पुराना र फाटेका थिए । साथीहरुले भने, “बादशाहकहाँ जाँदैछौ, यस्ता कपडाले त काम चल्दैन । दरबारमा मान्छेको औकात हेर्ने चलन हुन्छ । गरीबका घरमा त जस्तो छ, त्यस्तै कपडाले जाँदा हुन्छ । दरबारमा जान त तोकेको पोशाक लगाएको हुनुपर्छ । हामी भाडाका कपडा लिइदिन्छौं ।”

“भाडाको कपडा ?! अहँ हुन्न ! म जो छु त्यही छु । कपडाले के गर्छ ? जुन कपडा भए पनि म गालिब गालिब नै हुँ ।” गालिबले भने ।

“छोड यी सिद्धान्तका कुरा । त्यस्ता ठाउँमा सिद्धान्तले काम चल्दैन । तिमीलाई यस्ता कपडामा त्यहाँ पालेले बाहिरी ढोकाबाटै छिर्न दिँदैन । भिखारीजस्ता देखिन्छौं । ‘धत् भाग् !’ भन्दै झपारेर फर्काइदिन्छ ।” साथीहरुले भने ।

गालिबले मानेनन् । उनले भने– “लुगालाई निम्ता गरेको हो र ? मलाई निम्ता गरेको ! म जान्छु ।”

गालिब दरबार गए । ढोकामा बन्दुकधारीले कड्केर भन्यो– “एः तँ कता जाँदैछस् हँ ? हट् ।”

गालिबले विनम्र भएर भने– “म महाकवि गालिब हुँ । तपाईंले मेरो नाम सुन्नुभएकै होला, हैन र ? म सम्राटको साथी हुँ, भोजको निम्ता छ ।”

“अँ त सम्राटको साथी होलास् जस्तै छस् ! यहाँ जुन पनि पागल आउँछन्, आफूलाई सम्राटको साथी हुँ नै भन्छन् । तँ खुरुक्क फर्केर बाटो लाग्छस् कि सोझ्याऊँ 

बन्दूक ?” बन्दूकधारी गज्र्यो ।

“के भन्नु भा तपाईंले ? तपाईं साँच्चै मलाई चिन्नुहुन्न र?” गालिबले अरु नम्र हुँदै भने । बन्दूकधारीले भन्यो– “तँ को होस्, त्यो त तेरा कपडाले बताइरा’छन् । थोत्रा जुत्ताले बताइरा’छन् । कहिल्यै ऐनामा आफ्नो अनुहार हे¥याछस् ?”

गालिबसँग अब बोल्ने कुरा रहेन । उनी दुःखी हुँदै फर्के । साथीहरुसित भने– “तपाईंहरुले भन्नुभएको ठीकै रहेछ । त्यहाँ मान्छेको होइन, कपडाको इज्जत हुँदोरहेछ । ल ल्याइदिनोस् भाडाका कपडा । म जान चाहिँ जान्छु ।”

साथीहरुले पोशाक जुटाइदिए । पोशाक पहिरेर गालिब पुनः दरबार गए । गेटमा बन्दूधारीले तनक्क तन्केर सलाम ग¥यो । अनुहारतिर हेरे, बन्दूकधारी त्यही नै थियो । “क्या गजब ।” गालिब मनमनै मुस्कुराए । भित्र बादशाहले भन्यो– “म कति बेलादेखि तपाईंकै प्रतीक्षामा छु ।” गालिब हाँसे । केही बोलेनन् ।

भोज शुरु भयो । विभिन्न खाद्य परिकारका थालीहरु आए । गालिब र बादशाह आमनेसामने बसेका थिए । गालिबले खाद्य पदार्थ लिएर भने– “ए कोट ल खा, ए पगरी ल खा !”

“तपाईंको खाना खाने तरीका त अनौठो छ त ! यो कस्तो तरिका हो ? तपाईं वास्तवमा के गर्दै हुनुहन्छ ?” बादशाहले अचम्म मान्दै सोध्यो ।

गालिबले भने– “जब म आएँ, पालेले मलाई ढोकाबाटै झपारेर फर्काइदियो, जब यी पोशाकहरु आए, यिनीहरुले सलाम पाएँ । यो भोज पनि यिनीहरुले नै ज्यूनारá गर्नुप¥यो नि, हैन र ?”

महाकवि गालिबको स्वाभिमान देखेर बहादुर शाहको अनुहार भर्खरै अमिलोले माझेको तामाजस्तै रातो भयो । 

Photo: www.newsnetnow.com

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।