परम्परागत संस्कृति र मृत्युसंस्कार

 “धिया त्वहम् तावदचारु नाचरम् ।

जनस्तु यद् बेद स तद् वदिष्यति ।

मैले आफ्नो बुद्धिविवेकले भ्याएसम्म नराम्रो गरेको छैन । मानिसहरु त आफुले जे जानेकाछन् त्यही भन्छन् ।”

—महाकवि माघ

सम्भवतः व्यवहारमा धेरै बौद्धिक व्यक्तिहरुलाई लाग्ने यस्तै हो । मैले जे गरेको छु ठिक गरेको छु । जनसाधारणहरु त आफूलाई जे लाग्छ त्यही भन्छन् । “कुछ तो लोग कहेँगे । लोगोँका काम है कहना !”

हालैको कुरा हो । प्रधानमन्त्री पुष्पकमल दहालकी श्रीमती सीता दहालको असामयिक मृत्यु भयो । नेपालीहरुसँग कमलो मनमुटुको अभाव थिएन । सवैले शोक मनाए । मृत शरीरमाथि फुलमाला चढाएर झुक्दै पुष्पगुच्छा तथा पुष्पमाला चढाउनेहरुको ताँती लाग्यो । श्रद्धान्जलि कार्यक्रमपछि मृत शरीरलाई परम्परागत पारामा आर्यघाट लगियो । परम्परागत पारामै चिता सजाइयो । चितामा मृत शरीर राखियो । रामनामी ओढाइयो । दागबत्ती दिइयो । सलामी पनि दिइयो क्यार । शवदाह सकिएर चिता प्रक्षालनसम्मका परम्परा प्रयोगमा आएका देखिए । त्यसपछि कमरेड प्रचण्डको ‘क्रमभङ्ग’ले ठाउँ लियो । परम्परागत औध्र्वदेहिक क्रिया गरिएन । केही दिनपछि श्रद्धार्पण सभा गरियो । यसो गर्नुको कतिले आलोचना गरे । कतिले समर्थन गरे । आलोचना गर्नेहरुले भने, “परम्परा नमान्नु नै थियो त मृतशरीरमाथि फूलमाला र नमन किन ? नदीकिनारका घाटमा लानु किन ? परम्परागत विधिमै चिता बनाएर जलाउनु किन ? विद्युत शवदाह गृह पनि त थियो । चिता परम्परा मान्नु नै थियो भने किरियाचाहिँ किन नगरेको ?”

यस्तो घटना र आलोचना नेपालमा यो नै पहिलो भने थिएन । यसअघि पनि कतिपय कम्युनिष्ट नामका दलका नेताहरुले आफ्ना बाआमाका किरिया नगरेका घटनाकथाहरु जनस्मरणमा छन् । त्यसो त नेपालीकाङ्ग्रेसका महिमाशाली नेता विश्वेश्वर प्रसाद कोइरालाले पनि बाआमाका किरिया नगर्नुभएको थियो । ६२–६३को परिवर्तनपछि बाआमाको किरिया नगर्नेमध्ये कतिपय नेता कृश्चियन धर्म सम्प्रदायका खास कार्यक्रमहरुमा सम्मिलित हुन पटक पटक विदेश चाहारिआएको अवस्था हो । तिनले पनि औपचारिक रुपमै धर्मान्तरण घोषणा गरेको अवस्था भने होइन । कुनै नेताले आफूलाई द्वन्द्वात्मक भौतिकबादी घोषित गर्दै परम्परागत धर्मसंस्कृति नमान्ने घोषणा गरेको अवस्था पनि होइन । जनसङ्ंख्या फारम भर्दा ती नेताले आफ्नो धर्म के लेखेका छन् त्यो सार्वजनिक गरेको अवस्था पनि होइन । यस्ता कुहिरीमण्डल अवस्थामा सत्तासीन नेता उपनेताका नानाथरीका क्रियाकलापले आम जनतामा खुल्दुली मच्चिनु कुनै अनौठो कुरा भएन ।

हाल प्रयोगमा आएको हिन्दु शब्द नेपालका सन्दर्भमा मलाई उपयुक्त लाग्दैन । वैदिक सनातन धर्म संस्कृतिका अनुसार वेद स्मृति तन्त्र सवै मिलाएर ४८संस्कारको व्यवस्था गरिएको भए पनि हामीकहाँ चलन चल्तीमा १६ संस्कार चर्चामा रहेको छ । व्यवहारमा न्वारान, पास्नी, बर्तुन, विहा ४ वटा संस्कार बाँकी रहेको र जनस्तरमा मृत्यु संस्कारलाई १६ संस्कार अन्तर्गत नलिए पनि बढी नै महत्व दिने गरेको अवस्था नै सामान्यतः आजका सनातनीहरुको अवस्था हो ।

 

उपभोक्तावादी आधुनिकहरुबीच हिजोआज न्वारान त्यति चर्चामा छैन । पास्नी हुनेखाने परिवारको रउस बनेको छ । खानपानमा खर्च मात्र हुँदैन, पास्नीमा उपहार पनि आाउँछ । बर्तुन पनि त्यस्तैहो, कतिले गर्छन् कतिले गर्दैनन् । विहा अहिले वहुरङ्गी बाटोमा छ ।

यसमा पनि उपभोक्तावादी आधुनिकहरुबीच हिजोआज न्वारान त्यति चर्चामा छैन । पास्नी हुनेखाने परिवारको रउस बनेको छ । खानपानमा खर्च मात्र हुँदैन, पास्नीमा उपहार पनि आाउँछ । बर्तुन पनि त्यस्तै हो, कतिले गर्छन् कतिले गर्दैनन् । विहा अहिले वहुरङ्गी बाटोमा छ । आफूलाई वामपन्थी ठान्ने युवायुवतिहरु प्रगतिशील विहा गर्छन् । यो सरल, मितव्ययी र अझै आदर्शकै तहमा छ । खर्चिलो बनेको छैन । युरोप अमेरिकामा गुँड लाएर फुल पार्नु अघि डलरको तुजुकमा महँगो र प्रदर्शनपरक विहा गर्नेहरु र मुलुककै भ्रष्ट हाकिम, राजनेता तथा तस्कर व्यापारीहरु बम्बइछाप सिनेमाको अनुकरण गर्दै विभिन्न नामका ६।७ वटा महँगो तामझाम सहितका उन्मुक्त नाच गान र उफ्रानयुक्त मदमादक विवाह समारोह आयोजना गर्छन् । निम्नमध्यम वर्गमा खुम्चेका मनस्थितिका साथ परम्परागत रुपमा विहाको काम चलाउनेहरु पनि समाजमा आक्कलझुक्कल देखिन्छन् । कतिको रहर त कतिको वाध्यता हुन सक्छ, तिनमा पनि लौरो टेकेरै किन नहोस् मदमादकताका सांस्कृतिक अतिक्रमण भने सकी नसकी छिरेकै हुन्छ । छोटकरीमा भन्नुपर्दा विहामा सांस्कृतिक अतिक्रमणको घुइँचो राम्रै पसेको छ । परम्परागत धर्मसंस्कृतिका दृष्टिले हेर्दा हिजोआज पुरेतपण्डितहरु गाइजात्राका गाई देखिन थालेका छन् ।

विभिन्न दलका साना ठुला नेताहरु आफ्ना समर्थक आमन्त्रकहरुका विवाहादि समारोहहरुमा आफ्ना लामा छोटा पुच्छर घिसार्र्दै सम्मानित सहभागिता जनाउन पुगेका देखिन्छन् । तामझाममा सहर्ष सामेल भएका देखिन्छन् । उदेकलाग्दो सांस्कृतिक अतिक्रमणप्रति किन्चित् पनि चिन्तित भएका भने देखिँदैनन्, सुनिँदैनन् । सत्ता र सम्पत्तिका लागि राजनीति गर्ने नेताहरुलाई धर्मसंस्कृतिका सन्दर्भमा गम्भीर हुन फुर्सतै हुँदैन शायद ।

अव पुन: एक पटक मृत्युपछिका संस्कारको कुरा गरौँ । वैदिक सनातनीहरु यसलाई अन्त्येष्टि भन्छन् । अन्त्य इष्टि । इष्टिको शब्दार्थ यज्ञ हो । कर्मकाण्डीय भाषामा अन्त्येष्टिको तात्पर्य षोडश संस्कार मध्येको अन्तिम संस्कार यज्ञ हो ।

अन्त्येष्टि मरणोत्तर संस्कार हो । सम्बन्धित क्षेत्रका विद्वान्हरुका अनुसार मृत शरीरलाई सम्मान साथ चिताग्निमा समर्पित गरेर पन्चमहाभूतमा मिलाइदिनु र यसै क्रममा परिवार एवम् आफन्तजनहरुको शोकलाई संस्कार आयोजनको व्यवस्थासँग जोड,मोड गरेर विभिन्न दृष्टान्त एवम् उदाहरणहरुद्वारा जीवनदर्शन सम्झाउनु बुझाउनु र परिजनलाई चिन्तामुक्त भएर जीवनपथमा अघि बढ्न प्रेरित गर्नु अन्त्येष्टि संस्कारको परम्परागत उद्देश्य हो । यसका अङ्गभूत परम्परागत क्रियाकर्म विधिहरु पनि छन् ।

 

सवैभन्दा सम्वेदनशील घडीमा सम्पन्न गरिनु पर्ने संस्कार अन्येष्टिलाई लिएर अहिले समाजका विभिन्न वृत्तमा विभिन्न कुरा उठेकाछन् । यिनमा नव सनातनीहरु छन् । सनातन धर्ममा विश्वास गर्न नरुचाएका र अरु कुनै धर्म पनि नअपनाएकाहरु छन् । धार्मिक अन्धविश्वासबाट बाहिर निस्केर वैज्ञानिक आधारमा सांस्कृतिक आदर्श निर्धारण गर्न चाहनेहरु पनि छन् ।

यसै त न्वारान, पास्नी, बर्तुन, विहा सवै संस्कारहरुमा आयातित विकृति विसङ्गतिहरु र परम्परागत बोझिला कर्मकाण्डबाट मुक्त भएर समयको गतिमा अघि बढ्न सर्वसम्मत संशोधन परिवर्तनको आवश्यकता टडकारो देखिएको छ । त्यसमा पनि सवैभन्दा सम्वेदनशील घडीमा सम्पन्न गरिनु पर्ने संस्कार अन्येष्टिलाई लिएर अहिले समाजका विभिन्न वृत्तमा विभिन्न कुरा उठेकाछन् । यिनमा नव सनातनीहरु छन् । सनातन धर्ममा विश्वास गर्न नरुचाएका र अरु कुनै धर्म पनि नअपनाएकाहरु छन् । धार्मिक अन्धविश्वासबाट बाहिर निस्केर वैज्ञानिक आधारमा सांस्कृतिक आदर्श निर्धारण गर्न चाहनेहरु पनि छन् । तीमध्ये धेरैले आफन्तको मृत्युपछि नदीतीरमा लगेर परम्परागत किसिमबाटै शवदाह गरेका र औद्र्धदैहिक क्रिया नगरेका घटनाहरु पनि छन् । १३ दिनलाई ७ दिन वा ३ दिनमा ल्याएर छोटकरी क्रिया गरेका घटना पनि छन् । क्रिया नगरेर श्रद्धान्जलि सभा मात्र गरेका घटना पनि छन् । जसले जे गरेका छन् उचित लागेरै गरेका होलान् । उचित नलाग्नेले जमेर आलोचना गरेका पनि छन् । मृत्युसंस्कार सम्बन्धमा समयानुकूल अपनाउनुपर्ने बाटो कुन हो त ? सुझाव दिनेतर्पm कसैले समय खर्चेको देखिँदैन । सरोकारवालाहरुलाई सत्तासीन कसैले छलफलका लागि बोलाएको पनि सुनिदैन । सवै हेर्दा सुन्दा सनातनीहरुका संस्कृतिका क्षेत्रमा र विशेषतः मृत्युसंस्कारका क्षेत्रमा व्यापक छलफलको खाँचो भने हिजो भन्दा पनि आज बढी टडकारो देखिएको छ ।

मुत्यु सम्वेदनशील घटना हो । कसैको पनि मृत्युमा उनका परिजन र आफन्तहरु गम्भीर शोकका अवस्थामा हुन्छन् । यस्तो वेला मत, मतान्तर, विमति र विवाद कसैलाई जाती लाग्दैन । त्यति वेला विवाद नहोस् भन्ने शोचेर यस्ता विषयमा सरोकारवालाहरुले आपसमा व्यापक छलफल गरेर प्रतिवद्धताकै रुपमा सर्वसम्मत विधि विकल्प निर्धारण गर्नु र त्यसका आधारमा समयमै आफआफ्नो अनुकूल उपयुक्त बाटो तय गर्नु राम्रो हुन्छ भन्ने धे्रैको सोच रहेको पाइन्छ । कसैले सार्थक पहल गरेको भने पाइँदैन ।

संस्कृतिलाई दोस्रो प्रकृति पनि भनिन्छ । संस्कृति परम्परागत बनिसकेको आदत हो । बानी हो । संस्कृति निश्चित व्यक्ति र समाजको पहिचान पनि हो । विलक्षणता र विशिष्ठता पनि हो । विचार र बौद्धिकताको प्रतिमान भन्दा पनि अवस्थाविशेषमा संस्कृति भावनाप्रवण मनःसन्तोषणको माध्यम पनि हो । सामान्य अवस्थामा संस्कृति भद्र आचरण एवम् चाडबाड,उल्लास उमङ्गको सहज परम्परागत माध्यम पनि हो । नयाँ सोच विचार र विज्ञान पक्षधरताका आधारमा संस्कृतिमा अपर्भmट आमूल परिवर्तन गर्न खोज्दा सामाजिक वैयक्तिक मानव मनमा एउटा खालीपनको अनुभूति हुनु पनि स्वाभाविक हुन्छ । कतिलाई परिवर्तन अस्वाभाविक र अपाच्य लाग्न पनि सक्छ । सांस्कृतिक आचरण भन्ने कुरा कसैलाई चित्त नबुझाई बोकाइदिने भारीजस्तो पनि हुनु भएन । अग्रागत जमानामा पिछडिएका सांस्कृतिक आचरणका बोझहरु बोकिरहनुपर्छ भन्ने पनि छैन । धर्मर्सस्कृतिका सवालमा एक दुई जना नेताले भन्दा समय सापेक्ष रुपमा सम्बन्धित समुदायले आपसमा व्यापक छलफल गरेर निक्र्यौलमा पुग्नु सार्थक प्रयत्न सावित हुन सक्छ ।

के ठीक के बेठीक ? छलफल त हुनैपर्‍यो नि । व्यापक छलफल हुनुपर्‍यो । मृत्युसंस्कार गर्ने भए कति गर्ने ? कसरी गर्ने ? नगर्ने भए के नगर्ने ? कसरी नगर्ने ? समुदायमा एकरुपताका लागि निष्कर्षमा पुग्न बहस थाल्ने कि ?