जीवनको वास्तविक यथार्थ र जनताका सपनाहरु
कविता
सुट, टाई र टोपीमा सजिएका नेता वा मन्त्रीहरुका
युरोप, अमेरिका, चाइना वा भारत भ्रमणका
बिजिनेश वा एक्ज्युकिटिभ क्लासका सिटहरुमा
सन्तुष्टी सहित मुस्कुराएका अनुहारका फोटाहरु
तिनका आउरेपाउरेले वा तिनीहरुसँगै कुम जोडेर
तिनीहरुसँगैको सीटमा बस्न पाएको कुनै कर्मचारीले
सामाजिक सञ्जालमा पोष्ट्याएका फोटाहरु र
तिनका खाँटी कार्यकर्ता र चाकरीबाजहरुले
लेखेका कमेन्टहरु र्हेर्दै गर्दा
बाढी पहिरोले विस्थापित विकट भेकका कलिला आमाहरु
कम्मरसम्मको पानीमा डुब्दै वा पहिरोको लेदोबाट बच्दै
आफ्ना साना नानीहरुलाई जोगाउदै र उम्कदै
भत्कदै गरेको सडकको कुनै छेउसम्म आइपुग्दा नपुग्दै
कुनै असभ्य पत्रकारले बीचैमा रोकेर सोधेको प्रश्न-
"यतिखेर तपाईंलाई कस्तो महशुस भइरहेको छ…"
प्रकोप पीडित महिलाको बच्चा बोकेर गलेको हात
र देशका वृद्ध लालची नेताहरुको बोझ,
कम्मर मुनिबाट बगिरहेको फोहोर पानीको सिकसिक
र तिनै नेताहरुले गर्ने गरेको भाषणको दिगमिग,
प्रकोप पीडित महिलाको दिशाहीन गन्तव्य
र तिनै नेताहरुले चलाइरहेको सरकार र राजनैतिक दलहरु
अर्थात्
गृह वा प्रधानमन्त्री वा राष्ट्रपतिको हेलिकप्टर निरीक्षण
बाढी वा पहिरोग्रस्त इलाकामा गरिने
स्वागत र गलाभरीको माला
विदेशी दाताको दान र ऋणले चलेको देश
अनि भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको
असंवेदनशील र निकम्मा व्यावसायिक सरकारी संयन्त्र
र सिद्धान्त, विचार र दिशाविहीन सरकार
फेरी पनि कतै नेपथ्यमा बलिरहेको
आशाको दियोलाई जोगाउन खोजिरहेको
कुनै गुट वा पार्टीमा नरहेको कविको
कतै कसैले चर्चा नगरेको कुनै शक्तिशाली कविताबीच
सम्बन्ध खोजिरहेको कुनै विदेशी शोधकर्ता र
तिनै शोधकर्ताको अनुवाद छापेर विद्वतवृत्तिमा रमाइरहेका
कुनै प्राज्ञ वा सौन्दर्य चिन्तक
वा, चलनचल्तिका कुनै सञ्चार माध्यमले
परालको खुट्टामा टेकाएर उभ्याइदिएका
कुनै अर्थ-राजनैतिक विश्लेषकको
चिन्ता, चिन्तन र सम्मान वा पुरस्कारहरुबीच
नेताहरुले गर्ने देश विकासका फोस्रा प्रतिवद्धता
जीवनको वास्तविक यथार्थ र जनताका सपनाहरुबीच
कुनै तालमेल भेटिन्छ कि, खोजिरहेछु
इमान र नैतिकताका कुनै आदर्श पक्ष
कतै बाँकी छन् कि, त्यो पनि नियालिरहेछु।
***
२०८० साउन २९
प्रतिक्रिया