निरंकुशतन्त्रमाथि आक्रमण गर !

अभिव्यक्तिका सारा खतरा उठाउँदै भन्दैछु, ढाल्नुपर्छ निरंकुशताका पर्खाल, ध्वस्त पार्नुपर्छ तानाशाही महल । नत्र निरंकुश तानाशाहले सखाप पार्नेछ, हाम्रो जीवनलाई, हाम्रो स्वतन्त्रतालाई । अतः फेरि भन्दैछु, उसले हामीलाई सखाप पार्नुभन्दा पहिल्यै आक्रमण गर अनि शाहीसत्तालाई जरैदेखि नष्ट गर ।

चुनावी नौटङ्कीपछि राजा ज्ञानेन्द्रबाट आफ्नो शाही ग्रायण्ड डिजाइनअनुसार अर्काे माघ १९ को घोषणा गरिँदैछ । फागुन ७ वा कुनै १९ गते हुने घोषणासँगै सातदल र नागरिक समाजलाई मास्ने धृष्टता गरिनेछ, नेता–कार्यकर्तालाई बेपत्ता पारिनेछ, मारिनेछ, कुकुरझंै । दल, संस्था, पत्रिका, गैसस प्रतिबन्धित हुनेछन्, राणाशासनमा जस्तै ।

अतः ‘मार्शल ल’ लागु गरी योभन्दा कठोर सैनिक शासन थोपर्नुअगावै तानाशाहहरुको वेर्साइय दरबार र बास्तीय किल्लाहरुमाथि हमला गर, अन्यथा उसले अन्तिम हमला गर्नेछ । उसले प्रतिक्रान्ति सफल पार्नुभन्दा अगाडि नै क्रान्ति गर्नु बुद्धिमत्ता हुनेछ ः यो आमूल परिवर्तनको संघारमा रहेका नेपालीका लागि फ्रान्सिसी राज्यक्रान्तिको दह्रो शिक्षा हो ।

फ्रान्सिसी क्रान्तिको पहिलो काम थियो, सडक संसद््लाई जनताको सर्वाेच्च अंगको रुपमा स्थापित गर्नु । आफैले बोलाएको ‘स्टेट्स जनरल’ (संसद््)को भवनमा राजा लुई सोह्रौंले ताला लगाएपछि टेनिस कोर्टमा भेला भए सांसदहरु । उनीहरुले स्टेट्स जनरललाई नै ‘नेसनल असेम्बली’मा फेरे, त्यसलाई जनताको प्रतिनिधिमूलक र विधायिकी अंगको रुपमा स्थापित गरे । निरंकुश शासनको अन्त्य र नयाँ संविधान बनाउने शपथ खाएपछि संविधानसभाको रुपमा क्रियाशील भयो, स्टेट्स जनरल ।

क्रान्तिको प्रथम सफलतासँगै राजाको पराजय तीब्र भयो, जब राजाले सांसदहरुमाथि दमन गर्न खोज्दा शाहीसेनाले नै आदेश मानेन । क्रान्तिमा तानाशाहसामु जहिले पनि नाजुक घडी तब आउँछ, जब उसकै सेनाले भीडमा स्वजनहरुमाथि गोली चलाउन इन्कार गर्छ । केही समयका लागि हार मान्दै लुईले विदेशी सेनामार्फत् स्वदेशीजनमाथि हमला गर्न लगाउने षड्यन्त्र गर्ने हदसम्मको मूख्र्याइँ गरे । एकातिर विदेशी सेनालाई पेरिसमा जम्मा गर्ने, अर्काेतिर सुधारको पक्षपाती प्रधानमन्त्री नेकरलाई अपदस्थ गर्ने कार्य गरेपछि जनता झनै आक्रोशित भए । राजाले खतरनाक दमनकारी योजना थोपर्न लागेको महसुस गरी क्रान्तिकारी नेता कामीय दैमूलैंले जनतालाई सावधान तुल्याउँदै आह्वान गरे, ‘शस्त्रास्त्रले लैस होऊ !’

अकाल, बेराजगारी, भोकमरीले ग्रस्त जनताले पेरिसका सडकमा उत्रेर विद्रोह गर्न थाले । शाहीसेनाले चलाएको गोली र हत्याले जनआक्रोशलाई झनै मलजल गरे । अन्ततः उनीहरुले पनि सेनाको आक्रमणविरुद्ध सशस्त्र प्रतिरोध गर्न थाले । सन् १७८९, जुलाई १३ को विहानै सैनिकलाई पेरिसमा खटाइएको हल्लासँगै विगुल बज्यो । त्यसपछि ढुंगा, तरवार, भाला, खुँडा र पिस्तोलका साथ सडकमा निस्केका पेरिसवासीले ठाउँ–ठाउँबाट सेनालाई पछि हट्न बाध्य पारे । उनीहरुले हतियार पसल र फौजी शस्त्रागारमाथि कब्जा जमाएर हजारौं बन्दुक लुटे ।

१४ जुलाईको विहानसम्ममा पेरिस क्रान्तिकारीहरुको हातमा आइसकेको थियो । त्यहीबेला बास्तीय किल्लामा हतियारको भण्डार रहेको खबर फैलियो । पेरिसभन्दा अलिकति पर रहेको यो किल्ला राजबन्दी राखिने गरिएकोले अचाक्ली बदनाम थियो । पहिले भोल्तेयर र मिराबोजस्ता नेतालाई कैद गरिएको सो किल्ला निरंकुशता र स्वछन्दताको प्रतीक बनिसकेको थियो । अतः क्रान्तिकारीहरुले त्यहाँ गएर प्रशासनसँग अस्त्र मागे । तर रक्षकहरुले गोली चलाई सयौंलाई हताहत पारेपछि उनीहरुले र्इंटको जवाफ पत्थरले दिए । उनीहरुले सबै रक्षकलाई मारे र किल्ला पूरै ध्वस्त पारे । सम्झनाका लागि किल्लाका पत्थरहरुसमेत घरघरमा लिएर गए ।

राजा लुईले आक्रमणको रिपोर्ट सुनिसकेपछि भने, ‘ओहो, यो त विद्रोह हो ।’ नजिकै उभिएका लिआंकूरले भने, ‘होइन सरकार, यो क्रान्ति हो !’ हो, त्यस्तो क्रान्ति, जसले राजतन्त्र नै नष्ट ग¥यो अनि राजा र रानीलाई समेत बलिबेदीमा चढायो ।

हो, यसरी १४ जुलाईदेखि सुरु भएको थियो क्रान्ति, निरंकुश र सामन्तहरुमाथि सीधै कारबाही गर्ने अभियान, थालिएको थियो तानाशाहीका गढ ढाल्ने आन्दोलन । र त गणतन्त्र फ्रान्सले आज पनि १४ जुलाईमै राष्ट्रिय दिवस मनाउँछ । हामीले पनि फ्रान्सको गणतान्त्रिक क्रान्तिबाट सिक्ने कि ?

राजेन्द्र महर्जन

वामबुद्धिजीवी एवं विश्लेषक