देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

तस्विर: देउवाको फेसबुक पेज

नेपालको राजनीतिमा ६ दशकभन्दा लामो समय सक्रिय  नेपाली कांग्रेसका पूर्वसभापति एवं पाँच पटकका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक जीवन यतिबेला अत्यन्तै कठिन र दुखान्त मोडमा आइपुगेको छ। सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर फौजदारी अभियोगमा देउवा र उनकी पत्नी, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै मुलुकको राजनीतिमा नयाँ खालको तरङ्ग पैदा भएको छ।

सम्पत्ति शुद्धीकरण विभागको सिफारिस र पत्रका आधारमा न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले मंगलबार देउवा दम्पतीलाई पक्राउ गर्न अनुमति दिएको हो। पक्राउ पुर्जी जारी हुनुका साथै विभागले देउवा परिवारको नाममा रहेका सम्पूर्ण चल-अचल सम्पत्ति समेत रोक्का गरिसकेको छ। हाल उनीहरू नेपालमा नरहेकाले सरकारले उनीहरूलाई 'फरार' सूचीमा राखेर अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत 'रेड नोटिस' जारी गरी स्वदेश फर्काउने तयारी थालेको छ।

देउवा दम्पती निर्वाचन अगावै विदेश प्रस्थान गरेका थिए। १३ फागुनमा शेरबहादुर देउवा आफ्ना स्वकीय सचिव भानु देउवासहित सिंगापुरतर्फ लागेका थिए भने उनकी पत्नी आरजु राणा दिल्ली हुँदै सिंगापुर पुगेकी थिइन्। हाल उनीहरू सिंगापुरबाट हङकङ पुगेको जानकारी बाहिर आएको छ । तर उनीहरूको ठ्याक्कै अवस्थिति सार्वजनिक गरिएको छैन।

आफू विरुद्ध पक्राउ पुर्जी जारी भएपछि शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले आफू स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र अझै उपचार नसकिएको प्रस्टीकरण दिएका छन्। देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका बारेमा भ्रामक प्रचार गरिएको दाबी गर्दै सार्वजनिक पदमा रहँदा कानुनबमोजिम सम्पत्ति विवरण बुझाएको उल्लेख गरेका छन् ।

आफ्नो लामो फेसबुक पोस्टमा देउवाले आफ्नो सिंगो जीवन लोकतन्त्र, विधिको शासन र पारदर्शिताका लागि संघर्षमा बितेको र आफ्नो जीवन 'खुला पुस्तक' जस्तै रहेको बताएका छन् । आफू गृहमन्त्री हुँदा २०४८ मा अख्तियार ऐन र प्रधानमन्त्री हुँदा २०५९ मा भ्रष्टाचार निवारण ऐन ल्याएको स्मरण गराउँदै उनले समयक्रममा सत्यता बाहिर आउने विश्वास व्यक्त गरेका छन् ।

लामो समय सत्ताको केन्द्रमा रहेका शक्तिशाली नेता देउवामाथि लागेको यो गम्भीर आरोपले नेपालको सुशासन र भ्रष्टाचार विरोधी अभियानमा नयाँ मोड ल्याएको छ। एकातिर सरकारले कानुनी कारबाहीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने प्रयास गरिरहेको छ भने अर्कोतिर देउवाले यसलाई अतिरञ्जनाको रूपमा व्याख्या गरेका छन् । जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको निर्वाचनले नेपाली राजनीतिमा परम्परागत दलहरुलाई विस्थापित गर्दै युवा बाहुल्य नयाँ शक्तिहरुलाई सत्तामा स्थापित गरिदिएको छ । बालेन शाहको नेतृत्वमा गठित सरकारले २०४६ साल यताका सत्तासीनहरुको सम्पत्ति छानविनको घोषणा गरिसकेको छ । यस पृष्ठभूमिमा शुरु भएको यो प्रकरणले आगामी दिनमा कुन कुन नेताहरु छानविनमा तानिने हुन् र त्यसले नेपालको राजनीति एवं न्याय प्रणालीमा कस्तो प्रभाव पार्छ भन्ने कुरा चासोको विषय बनेको छ।