युद्ध अपराधको बाटोमा डोनाल्ड ट्रम्प

इरानका शीर्षस्थ नेतृत्वहरुको हत्या गरेपछि केही दिनमै युद्ध जितिने सपनाका साथ इरानमाथि आपराधिक युद्ध शुरु गरेका अमेरिका–इजरायलको लागि त्यो भयानक दुस्वप्नमा परिणत भएको छ । कल्पनातीत ढङ्गले इरानबाट लगातार प्रतिरोध र प्रत्याक्रमण भएपछि यतिखेर अमेरिकाको लागि यो युद्ध ‘निल्नु न ओकल्नु’ साबित भइरहेको छ । त्यसैले तिल्मिलाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानलाई ढुङ्गेयुगमा पुर्‍याइदिने, सम्पूर्ण सभ्यताको अन्त्य गरिदिने धम्की दिन थालेका छन् ।

अमेरिकी शर्तहरु मानेर इरानले युद्धको अन्त्य नगरे इरानका सम्पूर्ण पूर्वाधारहरु नष्ट  गरिदिने धम्की डोनाल्ड ट्रम्पले दिएका छन् । उनको भनाइको तात्पर्य अमेरिकाले इरानका सम्पूर्ण भौतिक पूर्वाधारहरु, रेल लाइन, पुलहरु, तेलखानी र अन्य संरचनाहरु वमवर्षा गरी ध्वस्त पारिदिनेछ । अमेरिकी साथ समर्थन पाएर पश्चिम एशिया (खाडी क्षेत्र) मा, विशेष गरेर गाजा क्षेत्र र प्यालेष्टाइनमा नरसंहारको ताण्डव मच्चाइरहेको इजरायलले त्यसबाट थप हौसिएर इरानका भौतिक पूर्वाधारहरु, अस्पताल, रेललाइन, विश्वविद्यालय, स्कुलहरुमा भयानक वमवर्षा गराइरहेको छ । कतिसम्म भने विश्व सम्पदाको सूचीमा रहेका इरानका महत्त्वपूर्ण रेललाइन तथा क्षेत्रहरु समेत उसको निशानामा परिरहेको छ ।

सबैभन्दा अचम्म र उदेकलाग्दो कुरा त के छ भने अमेरिका र इजरायलको यो बर्बर कृत्य, हज्जारौं वर्ष पुरानो सभ्यतालाई रातोरात अन्त्य गरिदिने डोनाल्ड ट्रम्पको बर्बर धम्कीलाई विश्वले चुपचाप सुनिरहेको छ, उसको कृत्यहरुलाई विना ठोस प्रतिरोध हेरिरहेको छ । राष्ट्रसंघीय चार्टर तथा अन्तरराष्ट्रिय कानूनहरुको स्थापित मूल्य–मान्यताहरु माथि बलात्कार गर्दै अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणलाई रोक्न तथा त्यसका विरुद्ध ठोस प्रभावकारी कदम चाल्न–आवाज उठाउन यतिखेर विश्व समुदाय असफल भएको छ । विश्वव्यवस्थालाई न्यायपूर्ण र समतामुलक ढङ्गले लागू गर्ने सपनाका साथ खडा गरिएको राष्ट्रसंघ यतिखेर कोमामा पुगेको छ, मृतप्राय: बनेको छ ।  एउटा सन्काह तानाशाह डोनाल्ड ट्रम्पको बौलठ्ठीपूर्ण सनकको ठोस प्रतिरोध–प्रतिवाद गर्न नसक्ने निरीह विश्व व्यवस्थाको कारण यतिखेर संसार भयानक खतरामा परेको छ ।

डोनाल्ड ट्रम्प तिनै अमेरिकी शासक हुन्, जो आफ्ना पूर्ववर्ती शासक जो वाइडेनको युद्ध–पक्षपोषण गर्ने नीतिको विरोध गर्दै अमेरिकी सत्तामा उदाएका हुन् । उनले वाइडेनलाई बारम्बार विश्वलाई तेस्रो विश्वयुद्धतिर धकेलिरहेको आरोप लगाउने गर्थे । आफू राष्ट्रपति भएको भए रुस–युक्रेन हुने नै थिएन भन्ने खालको डींग हाँक्ने गर्थे । आफूलाई विश्व शान्तिको मसीहाको रुपमा प्रस्तुत गर्दै नोबेल शान्ति पुरस्कारको असली दावेदारको रुपमा प्रस्तुत हुने गर्थे । तर तिनै ‘शान्तिका मसीहा’ ट्रम्पको बाल दुराचारले भरिएको ‘एप्स्टिन फाइल प्रकरण’ जब सार्वजनिक भएर छताछुल्ल भयो, र इजरायलीहरुद्वारा प्रायोजित एप्स्टिन प्रकरणमा नराम्ररी मुछिएका कारण इजरायलले जे भन्छ, त्यही गर्न र मान्न ट्रम्प बाध्य छन् भन्ने खालको चर्चाहरु चल्न थाल्यो, घटनाक्रमले त्यसलाई सही सिद्ध गरिदियो । एप्स्टिन प्रकरणमा चुर्लुम्म डुबेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसबाट विश्वको ध्यान मोड्न तथा ‘ग्रेटर इजरायल’को मकसद पूरा गर्नको लागि इरानमाथि युद्ध थोपरेको छ । त्यति मात्र हैन, युद्धको परिणाम आफू अनुकूल नआउने देखेपछि इरानलाई ढुङ्गे युगमा पुर्याइदिने आपराधिक र असभ्य भाषामा धम्की समेत दिन थालेका छन् ।

अमेरिकाको लागि यो युद्ध एप्स्टिनबाट विश्वको ध्यान अन्यत्र मोड्ने, संसारमा आफ्नो सैनिक सर्वोच्चता सिद्ध गरेर वैश्विक प्रभुत्व कायम गर्नुपर्ने लडाइँ हो, इजरायलको लागि आफ्नो ‘ग्रेटर इजरायल’को अवधारणाको सबैभन्दा ठूलो बाधक इरानलाई तोड्नु हो । तर इरानको लागि भने यो अस्तित्व रक्षाको प्रश्न हो । यो युद्धको नतिजाले इरानको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डतालाई त निर्धारण गर्छ नै, त्यसले अबको विश्व व्यवस्था नियम, कानून र मूल्य मान्यतामा आधारित रहन्छ कि रहँदैन भन्ने कुराको पनि परीक्षण हुनेछ । एउटा सन्काह, अस्थिर, आवेगी र अदुरदर्शी तानाशाही सोच भएका डोनाल्ड ट्रम्पको कारण अहिले जे जसरी इरानको सार्वभौमसत्ता मात्र हैन, समग्र वैश्विक कानुनी शासनको अवधारणामाथि नै अस्तित्व रक्षाको प्रश्न खडा भएको छ, त्यसको प्रतिरक्षामा बलियो आवाज उठ्न नसक्नु यतिखेरको सबैभन्दा ठूलो दु:खान्त भएको छ ।