अमेरिकी सिनेमाको साँचोमा ढलिएको डोनाल्ड ट्रम्पको मानस
इरानको ध्वंसका लागि अमेरिका र इजरायलको सम्मिलित सैतानी शक्तिले जुन विनाउक्साहट, अनावश्यक र दुर्भावनापूर्ण युद्ध छेडेका छन्, त्यो इरान विरुद्ध मात्र नभई सम्पूर्ण मानवता विरुद्धको लडाइँ हो।
मैले धेरै इरानी सिनेमा हेरेको छु। अब्बास कियारोस्तामीमाथि त एउटा पूरा लेखमाला नै लेखेको छु। तर दारिउश मेहरजुई, मोहसेन मखमलबाफ, माजिद माजिदी, जफर पनाही, असगर फरहदी र बहमान घोबादीका कामहरू पनि हेरेको छु र यिनीहरूका बारेमा पनि समय–समयमा लेखेको छु। यथार्थवादी सिनेमामा कृत्रिमताको गुञ्जायस हुँदैन। विशेषगरी अब्बास कियारोस्तामीको मेटाफिक्सनवाला सिनेमामा, जसमा वास्तविक स्थानहरूमा, गैर–व्यावसायिक कलाकारहरूलाई लिएर छायाङ्कन गरिन्छ र फिल्मको लयले नै कथालाई अगाडि बढाइरहन्छ। कियारोस्तामीको प्रसिद्ध 'कोकेर–त्रयी' यसरी नै रचिएको थियो : 'व्हेयर इज द फ्रेन्ड्स होम', 'एन्ड लाइफ गोज अन', 'थ्रु द ओलिभ ट्रिज'। भारतका सत्यजित रायको 'अपु–त्रयी' जस्तै यी फिल्महरू विश्व–सिनेमाका धरोहर हुन्। यद्यपि दर्शकहरूमाझ सबैभन्दा लोकप्रिय माजिद माजिदीका 'चिल्ड्रेन अफ हेभन' र 'बरन' हुन्।
किनकि इरानी यथार्थवादी सिनेमामा फन्तासी, अतिनाटक र महाकाव्यात्मक आयम हुँदैन र एकरैखिक यथार्थको आग्रहले हामीलाई वास्तविक परिदृश्य र प्राकृतिक अभिनेताहरूका सामु पुर्याउँछ, यसबाट हामीले त्यहाँको जनजीवन र लोकजीवनका सजीव चित्रहरू पाउँछौँ। हामी उनीहरूको बुद्धिमत्ता, संवेदनशीलता र सरलताका कायल हुन्छौँ। हामी आफूलाई उनीहरूसँग जोड्न सक्छौँ, किनकि पूर्व–भूमण्डलीकृत भारतका गाउँ–बस्तीहरूको जस्तो दृश्य र त्यहाँ बस्ने मानिसहरूका जस्ता चिन्ता, रागात्मकता, सपना र संत्रासहरू दुरुस्तै हामीले यो इरानी सिनेमामा पाउँछौँ।
सांस्कृतिक रूपमा इरान हामीजस्तै कति समान छ भन्ने कुरा उनीहरूको सिनेमा हेरेर थाहा हुन्छ। इन्डो–इरानी र वेद–अवेस्ता सम्बन्ध तब मस्तिष्कमा गुञ्जिन थाल्छन्। इरान शब्दको उत्पत्ति नै आर्यनबाट भएको हो। अरबी–वहाबी संस्कृतिको तुलनामा यो फारसी–संस्कृति भारतको सधैँ नजिक रहेको छ। तेस्रो विश्वका देशहरूमा इरानी सिनेमाको जुन सम्मान र योगदान छ, त्यस्तो एसिया वा ल्याटिन अमेरिकाका अरू कुनै देशको छैन।
अमेरिकी सिनेमाको प्रतिनिधित्व गर्ने मार्टिन स्कोर्सीजीले एक पटक अब्बास कियारोस्तामीमाथि एउटा भाषण दिएका थिए र त्यसमा उनले परोक्ष रूपमा यो स्वीकार गरेका थिए कि अब्बासको काम उनको कृतित्व भन्दा कता हो कता ठूलो छ र उनले उनका मानवीय आशयहरूलाई छुन पनि सक्दैनन्। यो मार्टिन स्कोर्सीजीको मात्र नभई अमेरिकी सिनेमाको सीमा थियो, जुन हिंसा, ग्याङवार, रक्तपात, फन्तासी, उपभोक्तावाद र विज्ञान–कल्पना (साइन्स फिक्सन) ले भरिएको छ।
यो एउटा यस्तो सभ्यताको सिनेमा हो, जसको कुनै सुदीर्घ अतीत छैन र शताब्दीयौँदेखि परखिएका सांस्कृतिक मूल्यहरू छैनन्। जुन औपनिवेशिकताको काखबाट जन्मिएको विश्वको एक मात्र मुलुक हो। जुन पूँजीवाद र बजारवादको गढ हो। जुन विश्वलाई हतियार बेच्दछ र 'वार–प्रोफिटियरिङ' र पेट्रो–डलरको बलमा टिकेको छ। सत्य यो हो कि अमेरिकी सिनेमा इरानी सिनेमाको अगाडि 'पाषाण युग' को सिनेमा जस्तो प्रतीत हुन्छ। यस्तो कला, जुन आफ्नो बाल्यकालमा छ र अपरिपक्व छ। इरानी फिल्मकर्मीहरूको सघन र गम्भीर मानवीय चित्रणको सामु अमेरिकी सिनेमा बच्चाहरूको भिडियो गेम जस्तै लाग्दछ। यो कुरा म बीसौँ इरानी र अमेरिकी फिल्महरू हेरेपछि अधिकारपूर्वक भन्दछु।
डोनाल्ड ट्रम्पको मानस अमेरिकी सिनेमाको साँचोमा ढलिएको छ। उनी 'स्कारफेस' को अल–पचिनो जस्तै बोल्दछन्। विदेश नीतिलाई उनी 'रेजिङ बुल' को ज्याक लामोटाको शैलीमा मुक्काबाजीको बलमा चलाउन चाहन्छन्। भाषण दिँदा उनी कहिले ज्याक निकलसनको शैलीमा संवाद बोल्न थाल्छन्, उनलाई स्वयं थाहा हुँदैन। हिंसा, विध्वंस, प्रभुत्व र श्रेष्ठता–बोधको सस्तो भाषा बोल्ने यो मूर्ख नेता जब इरानलाई फेरि 'पाषाण युग' मा पुर्याउने धाक लगाउँछन्, तब आफ्नो भनाइका तमाम दुखद अभिप्रायका बाबजुद उनी हास्यास्पद लाग्दछन्।
ट्रम्पको हिजोको प्रलापपछि इरानका राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकी जनताको नाममा जुन खुला पत्र लेखेका छन्, त्यो तपाईंले पढ्नुपर्छ। त्यो पढेर आज अमेरिकीहरू स्वयंले यो स्वीकार गरिरहेका छन् कि एक राजनीतिज्ञ–सम्मत भाषा त पेजेश्कियानले बोलेका छन्। समय मिलेमा अली खामेनी साहबका अनेक पुराना भाषणहरूका भिडियोहरू पनि खोज्नुपर्छ, विशेष गरी सन् १९८९ को उनको त्यो आत्ममन्थन, जब भरी सभामा खामेनी साहब स्वयंलाई पदको योग्य नबताएर सर्वोच्च नेताको जिम्मेवारी स्वीकार्न हच्किएको देखिनुहुन्छ। तब तपाईंलाई ट्रम्प र यी नेताहरू बीचको शैक्षिक–अन्तर थाहा हुनेछ।
इरानको एउटा धेरै गौरवशाली र निरन्तर यात्रा रहेको छ र जब इस्लामको प्रसार लामो सभ्यताको इतिहास बोकेका इजिप्ट, मेसोपोटामिया र फारसमा भयो, तब जहाँ इजिप्ट र इराक अरबी संस्कृतिको रङ्गमा रङ्गिए, वहीं इरानले इस्लामका मूल्यहरूलाई अङ्गीकार गरे तापनि आफ्नो फारसी सभ्यतालाई यथावत राखेको छ। यसबाट यो एउटा जटिल र परिष्कृत समाजको रूपमा अगाडि आउँछ। अयातुल्लाहहरूको तमाम दमन–चक्रका बाबजुद इरान कुनै कट्टरपन्थी वा पिछडिएको मुलुक होइन। त्यहाँ ९० प्रतिशत साक्षरता दर छ। स्वास्थ्य सेवाहरूको व्यापक विस्तार छ। उसको कला, संस्कृति, कविता र दर्शन उच्च स्तरका छन्।
यस इरानको ध्वंसका लागि अमेरिका र इजरायलको सम्मिलित सैतानी शक्तिले जुन विनाउक्साहट, अनावश्यक र दुर्भावनापूर्ण युद्ध छेडेका छन्, त्यो इरान विरुद्ध मात्र नभई सम्पूर्ण मानवता विरुद्धको लडाइँ हो। यो युद्ध अपराध मात्र नभएर मानवता विरुद्धको अपराधको श्रेणीमा पर्दछ। सत्य त यो हो कि आज सम्पूर्ण सभ्य समाज नैतिक रूपमा इरानको पक्षमा उभिएको छ, देश–विदेशका ती केही कट्टर दक्षिणपन्थीहरू बाहेक जसले आफ्नो मानवताको मूल्यमा नै यो कुण्ठित विचार प्रक्रियालाई अङ्गीकार गरेका थिए।
यस युद्धमा तपाईंको पक्षधरता एक मानिसको रूपमा तपाईंको नैतिक–वैधताको परीक्षण हो। मलाई त यस सङ्घर्षमा म कोसँग उभिएको छु भन्ने कुरामा कत्ति पनि शङ्का छैन।
सपथ ग्रहण र धर्मनिरपेक्षता: प्रतीक, राजनीति र पहिचानको बहस
शब्द र संख्याको सङ्गम: गणित र साहित्यको अविभाज्य सम्बन्ध
आधारभूत तहमा आन्तरिक परीक्षा हटाउने निर्णय: अवसर, चुनौती र आवश्यक तयारी
के जनबलको तागतले तानाशाहहरूको प्रवृत्तिमा लगाम लगाउन सक्ला?
आजका 'क्विजलिङ' र 'मीर जाफर'हरू
के प्राविधिक शासनले नै सामाजिक खाडल मेटिन सक्छ?
(भारतमा) वामपन्थी आन्दोलनको असफलता
प्रतिक्रिया