पात काट्ने मौरी: प्रकृतिका कुशल इन्जिनियर र शिल्पकार

प्रकृतिको विशाल र विविधतापूर्ण संसारमा कतिपय जीवहरू यस्ता छन्, जसको कार्यशैलीले आधुनिक इन्जिनियरिङ र वास्तुकलालाई समेत माथ दिन्छ। तीमध्ये 'लिफ-कटर बी' (Leaf-cutter bee)  पनि एउटा हो । यो पात काट्ने मौरीले  आफ्नो गुँड निर्माणका लागि देखाउने सीप र जाँगर साँच्चै लोभलाग्दो छ। वैज्ञानिक जगतमा 'मेगाचिल' (Megachile) जातिका रूपमा चिनिने यी मौरीहरूले बोटबिरुवाका पातहरूमा निकै सफा र कलात्मक ढंगले गोलो वा अर्धगोलो प्वाल पार्ने गर्छन्। सामान्य मानिसले बगैंचामा यस्ता प्वाल देख्दा कुनै शत्रु कीराले बिरुवा सखाप पारेको ठानेर झुक्किन पनि सक्छ ।  तर वास्तविकतामा यो प्रकृतिको एउटा सुन्दर सिर्जनाको सुरुवाती चरण मात्र हो।

यी मौरीहरूको सबैभन्दा रोचक पक्ष यिनीहरूको सामाजिक संरचना हो। हामीले देख्दै आएका महमौरी वा अरिङ्गालहरू ठूलो समूहमा बस्छन् । त्यस्तो समूहमा एउटी रानीको नेतृत्वमा हजारौं कामदारहरू खटिएका हुन्छन्। तर, पात काट्ने मौरीहरू भने पूर्ण रूपमा 'एकल यात्री' हुन्। यहाँ कुनै रानी वा कामदारको विभाजन हुँदैन; बरु प्रत्येक पोथी मौरी आफैंमा आत्मनिर्भर हुन्छन्। उनीहरू आफैं ठाउँ खोज्छन्, आफ्नै लागि गुँड बनाउँछन् र आफ्ना सन्तानको लालनपालन पनि आफैं गर्छन्। एउटी आमा मौरीले काठका पुराना प्वाल, ढुंगाका चिरा वा सुकेका डाँठभित्र आफ्ना सन्तानका लागि सुरक्षित कोठाहरू निर्माण गर्छिन्।

यो मौरीले यसरी पात काट्नुको उद्देश्य थाहा नपाएर धेरैलाई आश्चर्य लाग्न सक्छ । कतिपयलाई त यो मौरीले  पात पो खान्छ कि भन्ने भ्रम पनि हुन सक्छ । तर वास्तविकता भने  त्यसो होइन। यी मौरीहरूले ती पातका टुक्राहरूलाई 'वालपेपर' वा 'इन्सुलेसन'का रूपमा प्रयोग गर्छन्। उनीहरूले पातका टुक्राहरूलाई निकै सावधानीपूर्वक गुँडभित्र तह–तह पारेर जोड्छन् । त्यसले गर्दा गुँडभित्रको वातावरण न्यानो, सफा र सुरक्षित रहन्छ। यो गुँडभित्र उनीहरूले परागकण र वनस्पतिको रस (Nectar) जम्मा गर्छन् र त्यसमाथि अण्डा पार्छन्। यसरी पातले बेरिएका ती साना कोठाहरूले बाहिरी शत्रु र प्रतिकूल मौसमबाट बच्चालाई सुरक्षा प्रदान गर्छन्।

कृषि उत्पादन र वातावरणीय सन्तुलनमा यी मौरीहरूको भूमिका महमौरीको भन्दा कम छैन । बरु कतिपय अवस्थामा त अझ प्रभावकारी मानिन्छ। विशेषगरी अल्फाल्फा, विभिन्न फलफूल र तरकारीको परागणमा यिनीहरू माहिर मानिन्छन्। यिनीहरूको शरीरको बनावट यस्तो हुन्छ कि फूलमा बस्दा प्रशस्त परागकणहरू टाँसिन्छन् र एक फूलबाट अर्कोमा सहजै स्थानान्तरण हुन्छन्। स्वभावका हिसाबले पनि यी मौरीहरू निकै शान्त र सज्जन मानिन्छन्। यिनीहरूले मानिसलाई हत्तपत्त डस्दैनन् । कुनै कारणवश डसिहाले पनि त्यो महमौरीको जस्तो पीडादायी र खतरनाक हुँदैन।

यसरी यो मौरीबाट बगैंचा वा खेतबारीमा पातहरू काटिएको देखिनु भनेको त्यहाँको पारिस्थितिक प्रणाली स्वस्थ छ भन्ने संकेत पनि हो। बिरुवाका पातमा भएका साना प्वालले विरुवाको स्वास्थ्यमा कुनै खासै असर पार्दैनन्, बरु बदलामा यी मौरीले गर्ने परागणले उत्पादनमा ठूलो सहयोग पुर्‍याइरहेको हुन्छ। त्यसैले प्रकृतिका यी स-साना शिल्पकारहरूलाई शत्रु ठानेर विषादी प्रयोग गर्नुको सट्टा उनीहरूको उपस्थितिलाई स्वीकार गर्नु र प्रोत्साहित नै बुद्धिमानी हुन्छ। विज्ञानका जिज्ञासुहरूका लागि यी मौरीको अध्ययनले जीव विकास र उनीहरूको अद्भुत अनुकूलन क्षमतालाई बुझ्न एउटा सुनौलो अवसर प्रदान गर्दछ।

 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।