कम्युनिष्ट न कुनै गोत्र हो न त वामपन्थी कुनै जात: सत्ताको जोडघटाउ कि वैचारिक पुनर्गठन?

नेपाली राजनीतिको आकाशमा अचेल एउटा रक्षात्मक भाष्य निर्माण गरिँदैछ–  "निर्वाचनमा कम्युनिष्टहरू हारे, अब अस्तित्व जोगाउन सबै 'कम्युनिष्ट' हरू एक हुनुपर्छ ।" यो तर्कले कम्युनिष्ट आन्दोलनलाई विचारको प्रवाह होइन, बरु एउटा 'धार्मिक सम्प्रदाय' वा 'जातीय समूह' जस्तो चित्रण गर्छ, जहाँ संख्या घटेपछि अस्तित्व संकटमा पर्छ । तर, मार्क्सवादी लेनिनवादी दर्शनले भन्छ–  कम्युनिष्ट आन्दोलन संख्याको जोडघटाउ होइन, यो त एउटा विशिष्ट वर्ग दृष्टिकोण र क्रान्तिकारी चरित्र हो ।

मार्क्सवादी दर्शन र वैज्ञानिक समाजवादी दृष्टिकोणबाट हेर्ने हो भने कम्युनिष्ट वा वामपन्थी हुनु भनेको कुनै जन्मजात पहिचान होइन, बरु यो त एउटा विशिष्ट राजनीतिक चरित्र, दर्शन, संस्कृति र विश्वदृष्टिकोण हो । नेपाली राजनीतिमा नामका अगाडि 'कम्युनिष्ट' झुण्ड्याउने तर व्यवहारमा घोर पुँजीवादी र यथास्थितिवादी चरित्र प्रदर्शन गर्ने शक्तिहरूको पराजयलाई नै समग्र कम्युनिष्ट आन्दोलनको पराजय मान्नु ऐतिहासिक भूल हुनेछ ।

वास्तवमा, कम्युनिष्ट हुनु भनेको कुनै पुर्ख्यौली 'गोत्र' होइन, जो जन्मिएकै भरमा वा कुनै पार्टीको सदस्यता लिएकै भरमा जुनीभर सुरक्षित रहन्छ । न त वामपन्थी हुनु कुनै अपरिवर्तनीय 'जात' नै हो ।

विश्व कम्युनिष्ट आन्दोलनका तीता पाठहरू

कम्युनिष्ट हुनु कुनै जड पहिचान होइन भन्ने कुरा विश्व इतिहासका दुई ठूला घटनाबाट बुझ्न सकिन्छ । सोभियत संघको पतन हुनुअघि त्यहाँको कम्युनिष्ट पार्टी (CPSU) सँग करोडौँ सदस्य र विशाल संरचना थियो । तर, जब पार्टीभित्र 'कुलीनवर्ग' (Elite Class) को उदय भयो र नेताहरूले सर्वहारा वर्गको हित छोडेर नोकरशाही पुँजीवाद र विलासिताको बाटो समाते, तब त्यो विशाल संगठन एक झट्कामा ढल्यो । त्यहाँका नेताहरूले आफूलाई 'कम्युनिष्ट' भन्न त छाडेका थिएनन्, तर उनीहरूको चरित्र पुँजीवादी भइसकेको थियो ।

त्यस्तै, युरोपमा 'युरो-कम्युनिज्म' ले संसदीय व्यवस्थाको बाटोबाटै समाजवाद ल्याउने भ्रम पालेर क्रान्तिकारी सिद्धान्तहरूलाई तिलाञ्जली दियो । बिस्तारै उनीहरू बुर्जुवा पार्टीहरू जस्तै देखिए र अन्ततः इतिहासको पानामा सीमित भए । यी उदाहरणले के पुष्टि गर्छन् भने–  जब कम्युनिष्टहरूले आफ्नो 'वर्ग पक्षधरता' 'दर्शन' छाड्छन्, उनीहरू केवल एउटा नामधारी 'गोत्र' मा परिणत हुन्छन्, जसलाई इतिहासले किनारा लगाइदिन्छ ।

नेपाली राजनीति: २०७५ को एकता र भ्रष्टता

नेपालमा पनि ठ्याक्कै त्यही प्रवृत्ति दोहोरिएको छ । २०७५ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता 'रसायन' मिलेर भएको थिएन, बरु 'गणित' मिलाएर सत्ता कब्जा गर्न गरिएको थियो । त्यहाँ न त कुनै ठोस वैचारिक दस्तावेज थियो, न त कार्यकर्ताको मन मिलाइएको थियो । त्यो केवल दुई शक्तिशाली नेताहरू बीचको शक्ति सन्तुलनको खेल थियो । जब कुर्सीको तानातान सुरु भयो, उनीहरू एकअर्कालाई 'प्रतिगमनकारी' 'गद्दार' भन्दै अलग भए ।

आज 'कम्युनिष्ट' भनिने नेताहरूको उठबस ठूला व्यापारिक घराना, ठेकेदार र बिचौलियासँग छ । जुन वर्ग र समूहको हितको लागि कम्युनिष्टहरु लड्नु पर्ने हो अनि जुन वर्गको साथ समर्थनमा नेपालमा कम्युनिष्ट आन्दोलनको उठान भएको थियो, त्यो वर्गसँग अहिलेका ‘कम्युनिष्ट’हरुले ’नातासम्बन्ध’  तोडिसकेका छन् । त्यो वर्गसँग उनीहरु पूरै विच्छेदित भइसकेका छन् । जब कुनै कम्युनिष्ट नामधारी नेताले पुँजीपतिहरूसँग साँठगाँठ गर्छ र विलासी जीवनशैली अपनाउँछ, तब उसले आफ्नो राजनीतिक चरित्र गुमाइसकेको हुन्छ । यस्तो अवस्थामा उसले आफूलाई कम्युनिष्ट भन्नु केवल चुनाव जित्ने ‘ब्रान्ड नेम’ प्रयोग गर्नु मात्र हो ।

३. वामपन्थी र कम्युनिष्ट: चरित्र कि पहिचान?

साधारण अर्थमा 'वामपन्थी' त्यो शक्ति हो, जसले समाजको यथास्थितिलाई बदलेर अग्रगामी दिशामा लैजाने साहस गर्छ । जडता र यथास्थितिको विपक्षमा उभिने, बहुजनको हितको पक्षमा आवाज बुलन्द गर्ने शक्ति हो– वामपन्थी । अर्कोतिर, कम्युनिष्ट हुनु झन् विशिष्ट कुरा हो । यसका लागि द्वन्द्वात्मक भौतिकवादी दर्शन, वर्ग सङ्घर्षमा आधारित अर्थनीति र स्पष्ट समाजवादी क्रान्तिको कार्यदिशा अनिवार्य हुन्छ ।

तर, नेपालमा यी चरित्र नबोकेका तर स्वघोषित रूपमा वामपन्थी र कम्युनिष्ट नामधारीहरू विगविगी छ । वामपन्थी र कम्यनिष्कट आवरणमा नेपाली राजनीतिमा हालीमुहाली चलाइरहेका उनीहरुको हारलाई नै समग्र कम्युनिष्ट-वामपन्थीहरूको पराजय भन्न सकिन्न । पुँजीवादी राज्य र व्यवस्था अन्तर्गतको निर्वाचनको बाटोबाटै समाजवादी क्रान्ति गर्ने नारा दिई पुँजीवादी दर्शन, संस्कृति र अर्थनीति बोकेका पार्टीहरूले आफूलाई वामपन्थी घोषणा गरेकै आधारमा उनीहरू वामपन्थी हुँदैनन् । हिजो उनीहरूको उद्गम कम्युनिष्ट पार्टीबाट भएकाले 'गोत्र' वा 'जात' जस्तै उनीहरू त्यही नामका हुनुपर्छ भन्ने अवधारणा नै गलत छ ।

पुनर्सङ्गठन र क्रान्तिको नयाँ कार्यक्रम

नामधारी वामपन्थी-कम्युनिष्टहरूको प्राविधिक एकताले मात्रै यो राजनीति जोगिन सक्दैन । साँचो अर्थमा कम्युनिष्ट आन्दोलन जोगाउने हो भने ‘जसरी पनि मिल्ने’ होइन, बरु ‘विचारका आधारमा पुनर्गठित हुने’ बाटो रोज्नुपर्छ:

पुँजीवाद विरुद्धको संघर्ष: केवल नारामा होइन, पुँजीवादी अर्थनीतिका कारणले श्रमजीवी वर्ग एवं भुईंतहका जनताको दैनिकीमा भएका अप्ठ्याराहरुलाई सम्वोधन गर्ने तथा तमाम शोषणमुखी नीतिहरुविरुद्ध जनसङ्घर्ष उठाउने ।

सांस्कृतिक क्रान्ति: वामपन्थी-कम्युनिष्ट अभियन्ताहरुलाई पुँजीवादी उपभोक्तावाद र भ्रष्टाचारबाट अलग गराएर श्रम र नैतिकतासँग जोड्ने ।

स्पष्ट कार्यदिशा: संसदीय गोलचक्करमा नफसी जनताका आधारभूत समस्या (महँगी, बेरोजगारी, गरिबी, विभेद, शोषण, अन्याय र अत्याचार) सँग जोडिने क्रान्तिकारी कार्यक्रम ।

कम्युनिष्ट हुनु कुनै विरासतमा पाइएको 'थर' वा 'गोत्र' होइन । यो त एउटा निरन्तरको वैचारिक सङ्घर्ष र वर्गीय निष्ठा हो । नेपालमा अहिले देखिएको कथित कम्युनिष्टहरूको हार वास्तवमा विचारको हार होइन, बरु विचार त्यागेका 'नामधारी' हरूको हार हो ।

तसर्थ, अस्तित्व जोगाउनका लागि विचारहीन एकताको माला जप्नुभन्दा, दर्शन, संस्कृति र स्पष्ट कार्यक्रमसहितको वैचारिक पुनर्गठन नै आजको एकमात्र विकल्प हो । केवल नामले कोही कम्युनिष्ट हुँदैन, उसको वर्गीय पक्षधरता र व्यवहारले मात्र उसलाई कम्युनिष्टको कोटीमा उभ्याउँछ । चुनावी परिणामलाई आधार बनाएर कम्युनिष्ट आन्दोलनलाई हेर्ने नभई वर्तमान राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिको वस्तुनिष्ठ विश्लेषण गरी वर्ग पक्षधरता, वर्ग सङ्घर्ष र साम्यवादको लक्ष्य सहितको समाजवादी क्रान्तिको स्पष्ट कार्यदिशा बोक्ने पार्टी निर्माणको लागि जुट्नुपर्ने अहिलेको आवश्यकता हो ।