बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) बमोजिम ३६ वर्षीय शाहलाई बहुमत प्राप्त दलको नेताका रूपमा नियुक्त गरी शपथ गराउनुभएको हो। नेपालको संसदीय इतिहासमा यो धारा प्रयोग भई प्रधानमन्त्री नियुक्त भएको र मधेशी समुदायका व्यक्ति प्रधानमन्त्री बनेको यो पहिलोपटक हो।

मन्त्रिपरिषद्को कार्यविभाजन

प्रधानमन्त्री बालेनको नेतृत्वमा गठित १५ सदस्यीय मन्त्रिपरिषद्‌मा ५ जना महिला मन्त्री रहेका छन्। प्रतिशतको हिसाबले उनको मन्त्रीमण्डलमा महिला प्रतिनिधित्व ३३.३३ प्रतिशत रहेको छ ।  रक्षा र उद्योग–वाणिज्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले राखेका छन् ।बालेनका मन्त्रिण्डलका मन्त्रीहरू यस प्रकार छन्:

स्वर्णिम वाग्ले: अर्थमन्त्री

शिशिर खनाल: परराष्ट्रमन्त्री

सुधन गुरुङ: गृहमन्त्री

सोविता गौतम: कानुनमन्त्री

विराजभक्त श्रेष्ठ: ऊर्जामन्त्री

विक्रम तिमिल्सिना: सञ्चारमन्त्री

निशा मेहता: स्वास्थ्य तथा जनसंख्या मन्त्री

सस्मित पोखरेल: शिक्षामन्त्री

प्रतिभा रावल: सामान्य प्रशासन मन्त्री

दीपक साह: श्रममन्त्री

खड्क (गणेश) पौडेल: पर्यटनमन्त्री

सीता वादी: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

शपथ समारोहका विशेष दृश्य

शपथ ग्रहण पूर्व १०८ जना बटुकहरु तथा १०८ जना बौद्ध भिक्षुहरुद्वारा स्वस्तिवाचन गरिएको थियो । त्यसैगरी, शंखनाद समेत गरिएको थियो । शीतल निवासमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी सहभागी थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने समारोहमा उपस्थित भएनन् भने शेरबहादुर देउवा वैदेशिक भ्रमणमा रहेका कारण सहभागी भएनन् ।

काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर राजनीतिमा होमिएका शाह झापा क्षेत्र नम्बर ५ बाट पहिलो पटक सांसद निर्वाचित भए लगत्तै प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् । कूल १६३३७७ मतदाता रहेको झापा क्षेत्र नम्बर ५ बाट उनले ६८३४८ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटम प्रतद्वन्द्वी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भने १८७३४ मत प्रापत गरेका थिए । यसरी शाहले ओलीलाई ४९६१४ मतको भारी मतान्तरले पराजित गर्दै सांसद बनेको पहिलो पटकमै मुलुकको कार्यकारी प्रमुख बन्न सफल भएका हुन् ।