कार्की आयोगको प्रतिवेदन: सार्वजनिक नभइकनै मिडियामा छताछुल्ल

तस्विर: प्रम कार्कीको फेसबुक पेज

अङ्ग्रेजी भाषामा एउटा वाक्य छ: ओपन सेक्रेट (Open Secret) । नेपालीमा यसलाई अनुवाद गर्ने हो भने– खुला रहस्य भन्दा फरक पर्दैन ।

ओपन सेक्रेट शब्दले प्राविधिक रूपमा वा आधिकारिक रूपमा त 'गोप्य' राखिएको तर वास्तवमा त्यो कुरा सबैलाई वा धेरैजसो मानिसहरूलाई पहिले नै थाहा भइसकेको भन्ने कुरालाई बुझाउँछ ।

यतिखेर कार्की आयोगको प्रतिवेदनको हविगत त्यस्तै भएको छ । सरकारले सार्वजनिक गरिनहाले पनि त्यो प्रतिवेदन मिडियामा छताछुल्ल भएको छ । जेनजी आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते भएका घटनाहरुका छानविन गर्न पूर्व न्यायाशीध गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको छानविन आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि औपचारिक रुपमा त्यसको सार्वजनिकीकरण भने भइसकेको छैन ।

त्यसो त कार्की आयोगको ९०० पेजभन्दा बढीको उक्त प्रतिवेदन आफैंमा सङ्गतिपूर्ण नरहेको भनी आलोचना भइरहेको छ । सरसर्ती हेर्दा त्यसले नसमेटेको र सिफारिश नगरेको सम्भवत: कुनै फाँट छैन । आयोगले राख्नुपर्ने न्यायिक तटस्थता पनि त्यसले राख्न नसकेको आरोप लागेको छ । आयोगका संयोजकत्व गरेका कार्की स्वयंले पनि आयोग बन्नुपूर्व सामाजिक सञ्जालहरुमा व्यक्त गरेका उत्तेजक भनाइहरुका कारण उनको प्रतिवेदन तटस्थ र वस्तुवादी बन्न नसक्ने आशंका गरिँदै आएको थियो । अहिले प्रतिवेदन अनौपचारिक रुपमा सार्वजनिक भइसकेपछि उनीमाथिको आशंकालाई थप बल पुगेको आरोप एकाथरिले लगाउन थालिसकेका छन् ।

आखिरमा के छ त उक्त प्रतिवेदनमा ? प्रतिवेदनको पूर्ण पाठ तलको पिडिएफमा राखिएको छ ।