कुकुर र मानिसबीचको सम्बन्धबारे नयाँ तथ्य फेला पर्‍यो !

सबैभन्दा पुरानो कुकुरको डीएनएले १६,००० वर्षदेखिको मानव साथलाई संकेत गर्दछ

सबैभन्दा पुरानो कुकुरको डीएनएको खोजले उनीहरू झण्डै १६,००० वर्षदेखि मानिससँग घुलमिल हुँदै आएको सङ्केत गरेको छ । यो भनेको यसअघि सोचिएको भन्दा अझै ५,००० वर्ष अगाडि हो ।

हालै  सार्वजनिक गरिएको नयाँ अनुसन्धान रिपोर्टले कुकुर र मानिसबीचको सम्बन्धबारे यो नयाँ तथ्य फेला पारेको हो । ।

विश्वभरका मानिसहरूले कुकुरलाई घरमा पाल्दै आएका छन् ।तर  कुकुरहरू कहाँबाट मानिसको सम्पर्कमा आएका हुन् भन्ने बारेमा आश्चर्यजनक रूपमा कम जानकारी छ।

"यो एउटा रोचक रहस्य मात्र हो," बेलायतको फ्रान्सिस क्रिक इन्स्टिच्युटका स्विडेनी आनुवंशिक विज्ञ (जेनेटिसिस्ट) पोन्टस स्कोग्लुन्डले पत्रकारहरूलाई बताए।

उनका अनुसार कुकुरहरू सम्भवतः दुई प्रकारका खैरो ब्वाँसाहरूको मिश्रण हुन्। त कुकुरहरू ठ्याक्कै कहिले ब्वाँसाहरूबाट अलग भए भन्ने कुरा पत्ता लगाउन गाह्रो छ ।  किनभने तिनीहरूका प्राचीन हड्डीहरू छुट्याउन निकै कठिन हुन्छ।

त्यसैकारण 'नेचर' जर्नलमा प्रकाशित दुई नयाँ अध्ययनमा संलग्न वैज्ञानिकहरूले पुरातात्विक अवशेषहरूबाट 'जीनोम'को अनुक्रम (सिक्वेन्सिङ) तयार पारेका थिए । त्यसका आधारमा कुकुरहरुको बारेमा यो नयाँ रहस्य फेला परेको हो ।

पहिलो अध्ययनले देखाएअनुसार विश्वकै सबैभन्दा पुरानो कुकुरको डीएनए अहिलेको टर्कीमा पर्ने पिनारबासीस्थित खप्परको एक टुक्रामा फेला परेको थियो।

म्युनिखको लुडविग म्याक्सिमिलियन विश्वविद्यालयका अध्ययन सह-लेखक लरेन्ट फ्रान्जका अनुसार, सम्भवतः "केही महिनाको" उमेर रहेको उक्त पोथी कुकुरको छाउरो झण्डै १५,८०० वर्ष पहिले जीवित हुँदा सानो ब्वाँसो जस्तै देखिन्थ्यो। बुधबार भन्दा अगाडि, सबैभन्दा पुरानो ज्ञात कुकुरको डीएनए १०,९०० वर्ष पहिलेको थियो।

टोलीले दक्षिण-पश्चिम इङ्गल्याण्डमा फेला पारेको १४,३०० वर्ष पुरानो आनुवंशिक प्रमाणले पनि उक्त रेकर्ड तोडेको छ । त्यसले सुरुवाती समयका कुकुरहरू कसरी युरोपभर फैलिएका थिए भन्ने कुरालाई स्पष्ट पारेको छ।

फ्रान्जका अनुसार वैज्ञानिकहरूले अन्तिम हिमयुगको समयमा बस्ने मानिसहरूका बीचमा यी कुकुरहरूको ठ्याक्कै के भूमिका थियो भनेर प्रमाणित गर्न सकेनन्। "तर मलाई लाग्छ कि हामी यो अनुमान गर्न सक्छौं कि उनीहरूको कुनै न कुनै भूमिका पक्कै हुनुपर्छ किनभने उनीहरूलाई खुवाउन महँगो पर्थ्यो," उनले भने।

उनका अनुमानमा शायद कुकुरहरूलाई शिकार वा सुरक्षाका लागि प्रयोग गरिएको थियो होला । त्यसबेला यी कुकुरहरूलाई आजका घरपालुवा जनावरहरू जस्तै व्यवहार नगरिएको भए तापनि, त्यहाँ अझै पनि एक बलियो सम्बन्ध रहेको हुनसक्ने उनले बताए। कुकुर मानिसबीचको नजिकको सम्बन्धको अर्को सङ्केत पिनारबासीमा मानव चिहानहरू माथि कुकुरका छाउराहरू गाडिएको अवस्थामा फेला परेको घटनाबाट पनि मिल्छ ।

हराएको कडीको खोजी'

अर्को अध्ययनका लागि अनुसन्धानकर्ताहरूको एउटा ठूलो टोलीले युरोपभरका २१६ कुकुर र ब्वाँसोका अवशेषहरूको जीनोम तुलना गरे। यसले उनीहरूलाई महाद्वीपमा कुकुरहरू कसरी विकसित भए भन्ने कुराको अनुसन्धान गर्न सजिलो भयो ।

झण्डै १०,००० वर्ष पहिले सुरु भएको नियोलिथिक कृषि क्रान्तिको समयमा दक्षिण-पश्चिम एसियाबाट युरोपमा मानिसहरूको ठूलो बसाईं सराई भएको थियो।विभिन्न क्षेत्रका मानिसहरू भेट्ने र सन्तान जन्माउने क्रममा किसानहरूको यो ठूलो आगमनले मानव आनुवंशिक मिश्रण गरायो।

यद्यपि, यो आनुवंशिक मिश्रण कुकुरहरूको हकमा भने सोही समयमा नभएको पाएर अनुसन्धानकर्ताहरू छक्क परे।

यसबाट किसानहरू आउनु अघि युरोपमा बसोबास गरिरहेका शिकारी-सङ्कलनकर्ताहरूले पहिले नै कुकुरहरू पाल्न थालिसकेका थिए भन्ने संकेत मिल्छ।

"कुकुरहरू स्पष्ट रूपमा हाम्रा पुर्खाहरूका लागि महत्त्वपूर्ण थिए, किनकि पहिलो किसानहरू युरोपमा प्रवेश गर्दा उनीहरूले पहिलेका शिकारी-सङ्कलनकर्ताका कुकुरहरूलाई आफ्नो समूहमा अपनाएको देखिन्छ," अध्ययन सह-लेखक स्कोग्लुन्डले भने।यसले कुकुरहरू त्यो समय भन्दा धेरै अघि नै घरपालुवा बनाइएको हुनुपर्छ भन्ने सङ्केत गर्दछ। स्कोग्लुन्डका अनुसार अझै पनि "कुकुर र ब्वाँसाहरू बीच एउटा आनुवंशिक खाडल (जेनेटिक एबिस)" छ ।