अमेरिकी साम्राज्यको सम्भावित आक्रमणको प्रतिकार गर्न क्युबा तयार छ

क्युबा आफ्नो क्रान्तिको रक्षा गर्न पूर्ण रूपमा तयार छ। यो टापु राष्ट्रले 'साम्राज्य' (अमेरिका) बाट हुन सक्ने सम्भावित आक्रामकताको सामना गरिरहेको छ, र त्यहाँका जनता साम्राज्यवादी कार्यको प्रतिकार गर्न तयार छन्।

क्युबाका उप-परराष्ट्र मन्त्री कार्लोस फर्नान्डेज डे कोसियोले भनेका छन् : "क्युबा अमेरिकाको सम्भावित आक्रमण विरुद्ध आफ्नो रक्षा गर्न तयार छ।"

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै क्युबालाई नियन्त्रणमा लिने धम्की दिएका छन्। गत हप्ता राष्ट्रपति ट्रम्पले "कुनै न कुनै रूपमा क्युबा लिने" बारे बोलेका थिए। उनले  क्यारिबियन देश क्युबासँग आफूले "चाहेको जे पनि" गर्न सक्ने दाबी गर्नुभयो। क्युबा विरुद्धको तीव्र आर्थिक युद्धका पछाडि ट्रम्पका "तर्कहरू" मा क्युबाको रुस, चीन, इरान र प्यालेस्टाइन समर्थक सशस्त्र समूहहरूसँगको सम्बन्ध समावेश छ।

क्युबाले सधैं जोड दिँदै भन्दै आएको छ: " हवानाले आतंकवादलाई कहिल्यै समर्थन गर्दैन।"

गत जनवरीदेखि क्युबा विरुद्ध साम्राज्यको तीव्र आर्थिक युद्ध—इन्धन नाकाबन्दीले क्युबामा व्यापक आर्थिक संकट उत्पन्न गरेको छ, देशभर बिजुलीको अभाव सिर्जना गरेको छ र फलस्वरूप, अस्पतालका बिरामीहरू सहित सर्वसाधारणमा मानवीय कष्ट बढाएको छ। गत हप्ताको देशव्यापी  विद्युत् कटौती (ब्ल्याकआउट) ले करिब १ करोड १० लाख मानिसहरूलाई बिजुलीविहीन बनाएको थियो।

दुई देशबीचको तनाव कम गर्ने प्रयासस्वरूप क्युबाले अमेरिकासँग छलफल सुरु गरेको छ।

आइतबार, मार्च २२, २०२६ मा अमेरिकी सञ्चार माध्यम NBC को कार्यक्रम "Meet the Press" सँग कुरा गर्दै फर्नान्डेज डे कोसियोले भने: "क्युबा ऐतिहासिक रूपमा सैन्य आक्रामकता विरुद्ध समग्र राष्ट्रको रूपमा परिचालन हुन तयार रहँदै आएको छ।"

उप-परराष्ट्र मन्त्रीले भने: "यो (आक्रमण) सम्भावित छ भन्ने हामीलाई लाग्दैन, तर यदि हामीले तयारी गरेनौं भने त्यो हाम्रो मूर्खता हुनेछ।" उनले  थपे: "कुनै पनि किसिमको आक्रमणको कुनै पनि औचित्य हुने छैन।"

क्युबामा सत्ता परिवर्तनको सम्भावनाका बारेमा सोधिएको प्रश्नमा फर्नान्डेज डे कोसियोले त्यसलाई पूर्ण रूपमा खारेज गरे।

यसअघि अमेरिकी सञ्चार माध्यमका  आएका रिपोर्टहरूले जनाए अनुसार, क्युबाली राष्ट्रपति मिगुएल डियाज-कानेललाई सत्ताबाट बाहिरिने बाटोको बदलामा व्यापारिक प्रतिबन्धहरू खुकुलो पार्ने सम्झौतामा अमेरिकाले विचार गरिरहेको थियो।

फर्नान्डेज डे कोसियोले भने: "यो विकल्प सत्ता परिवर्तन अमेरिकासँगको छलफलमा 'निश्चित रूपमा' कार्यसूचीमा छैन।"

क्युबासँग वार्ता जारी रहे तापनि, सन् २०२६ मार्च १६ मा ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपतिले आफ्नो अपेक्षा व्यक्त गर्दै भने, "मलाई विश्वास छ म... क्युबालाई नियन्त्रणमा लिने सम्मान प्राप्त गर्नेछु। यो ठूलो सम्मान हो।" उनले  थपे: "कुनै न कुनै रूपमा क्युबा  आफ्नो नियन्त्रणमा लिने।" अमेरिकी राष्ट्रपतिले उक्त टापु राष्ट्रप्रति अमेरिकाले विभिन्न कदम चाल्न सक्ने बताए। "चाहे म यसलाई मुक्त गरूँ वा कब्जा गरूँ। साँचो कुरा जान्न चाहनुहुन्छ भने, मलाई लाग्छ म यससँग जे पनि गर्न सक्छु।" उनले  क्युबामाथि बारम्बार "पूर्ण तेल नाकाबन्दी" गर्ने धम्की दिएका छन्। अमेरिकी राष्ट्रपतिले चेतावनी दिए : "उक्त टापुलाई कच्चा तेल बेच्ने देशहरूले महसुलको सामना गर्नुपर्ने हुन सक्छ।"

न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार: अमेरिकी अधिकारीहरूले वार्तामा संकेत गरेका छन् कि क्युबाली राष्ट्रपति मिगुएल डियाज-कानेललाई हटाउनु द्विपक्षीय वार्ताको मुख्य उद्देश्य हुन सक्छ। यद्यपि, अमेरिकाले सार्वजनिक रूपमा यो मागको पुष्टि गरेको छैन।

क्युबाली राष्ट्रपति डियाज-कानेलले गत हप्ता भने: "अमेरिकासँगको कुनै पनि संवाद दुवै देशको राजनीतिक प्रणालीप्रति समानता र सम्मान मा आधारित हुनुपर्छ।" क्युबाली राष्ट्रपतिले सार्वभौमसत्ता र आत्म-निर्णयको अधिकारमा जोड दिए । उनले  थपे: "एक 'दुष्ट' नाकाबन्दीका कारण क्युबाले तीन महिनादेखि तेलको ढुवानी पाएको छैन, जसले उपचार आवश्यक पर्ने बालबालिका लगायत धेरैलाई असर गरेको छ।"

अधिकांश अमेरिकी नागरिक क्युबामा सैन्य बल प्रयोगको विरुद्धमा

मार्चमा सार्वजनिक भएको नयाँ 'युगभ' (YouGov) सर्वेक्षणले देखाउँछ: अमेरिकी नागरिकहरू क्युबामा सैन्य बल प्रयोग गर्ने कुराको कडा विरोधमा छन्। अधिकांश अमेरिकी नागरिकहरू क्युबामाथि आक्रमण गर्न (६१%) र क्युबाली सरकार ढाल्न (५७%) अमेरिकी सैन्य बल प्रयोग गर्ने कुराको विरोध गर्छन्।

सर्वेक्षण अनुसार, केवल १३% ले क्युबामाथिको आक्रमणलाई समर्थन गर्नेछन्, र १८% ले क्युबाली सरकार ढाल्न सैन्य बलको प्रयोगलाई समर्थन गर्नेछन्।

सर्वेक्षणले पत्ता लगाएको छ: क्युबामा तेल ढुवानीमा लगाइएको अमेरिकी प्रतिबन्ध र क्युबा विरुद्धको आर्थिक नाकाबन्दीलाई समर्थन गर्नेभन्दा असहमति जनाउने अमेरिकी नागरिकहरू बढी छन्।

अधिकांश अमेरिकी नागरिकहरू क्युबाप्रति अमेरिकाको व्यवहार निकै कठोर भएको बताउँछन्। नागरिकहरू भन्छन् कि आर्थिक प्रतिबन्धले सरकारलाई भन्दा त्यस देशका जनतालाई बढी हानि पुर्‍याउने सम्भावना हुन्छ।

सर्वेक्षण अनुसार, धेरैजसो अमेरिकी नागरिकहरू क्युबाली जनताप्रति सकारात्मक धारणा राख्छन्, र ठूलो बहुमत दुवै देशबीच कूटनीतिक सम्बन्ध हुनुपर्छ भन्नेमा सहमत छन्।

सर्वेक्षणले देखाएको छ: अधिकांश अमेरिकी नागरिकहरू क्युबामा सैन्य बलको प्रयोगको विरोध गर्छन्। धेरैजसो नागरिकहरू भन्छन् कि क्युबा अमेरिकाप्रति मैत्रीपूर्ण छैन, तर यसले कुनै गम्भीर खतरा भने पैदा गर्दैन।

लगभग आधा (४६%) अमेरिकी नागरिकहरूले अन्य देशहरूबाट क्युबामा हुने तेल ढुवानी रोक्ने वर्तमान अमेरिकी नीतिको कुनै न कुनै रूपमा विरोध गर्छन्। सर्वेक्षणले पत्ता लगाए अनुसार केवल एक चौथाइ (२८%) ले मात्र यसलाई समर्थन गर्छन्।

सर्वेक्षणका अनुसार, क्युबा विरुद्धको लामो समयदेखि जारी आर्थिक, वित्तीय र व्यापारिक नाकाबन्दीका बारेमा अमेरिकी नागरिकहरूको दृष्टिकोण उस्तै छ: ४०% ले यसको विरोध गर्छन् भने ३२% ले समर्थन गर्छन्। यो विरोध डेमोक्र्याट (६५% विरुद्ध १६%) र स्वतन्त्र मतदाताहरू (४१% विरुद्ध २१%) बीच बढी साझा देखिन्छ। यद्यपि, रिपब्लिकनहरूको बहुमत (६३%) ले नाकाबन्दीको समर्थन गर्छन् भने केवल १५% ले मात्र विरोध गर्छन्।

क्युबासँगको अमेरिकी कूटनीतिक सम्बन्धलाई सर्वेक्षणका सहभागीहरूले व्यापक समर्थन गरेका छन्। सर्वेक्षणले देखाएको छ: बहुसंख्यक (६१%) नागरिकहरू क्युबासँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम राख्ने पक्षमा छन् भने केवल १०% ले मात्र यसको विरोध गर्छन्। डेमोक्र्याट (६९%), स्वतन्त्र (५८%), र रिपब्लिकन (५७%) को ठूलो हिस्सा कूटनीतिक सम्बन्धको पक्षमा छ। रिपब्लिकनहरूको एक सानो अल्पमत (१६%) ले मात्र यसको विरोध गर्छन् भने डेमोक्र्याट (९%) र स्वतन्त्र (७%) बीचको विरोध दर अझ न्यून छ।

स्रोत: https://countercurrents.org