मध्यपूर्वमा महायुद्ध चर्किने खतरा

इरानद्वारा हर्मुज स्ट्रेट बन्द गर्ने चेतावनी, लेबनानमा इजरायलद्वारा स्थल आक्रमणको तयारी

आक्रमण गरेको केही दिनमै इरानको सत्ता ढल्ने अमेरिकी–इजरायल सपना यतिखेर धूलीसात हुँदै गएको छ । एकपछि अर्को गर्दै इरानका उपल्ला नेताहरुको बर्बर हत्या हुँदा पनि इरानको प्रतिरोध झनै कडा हुँदै गएको छ । इरानले विश्व अर्थतन्त्रमै गम्भीर प्रभाव पर्ने गरी हर्मुज स्ट्रेटलाई आंशिक बन्द गरिदएपछि तिल्मिलाएको ट्रम्प प्रशासनले इरानको पूर्वाधारहरु तहसनहस पार्ने धम्की दिएको छ । इरानले पनि त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिइसकेको छ । फलत: यतिखेर मध्यपूर्वको तनावले अहिले भयानक रूप लिएको छ।

इरान र इजरायलबीचको प्रत्यक्ष सैन्य भिडन्त र अमेरिकाको बढ्दो संलग्नताले विश्व अर्थतन्त्र र क्षेत्रीय सुरक्षामा गम्भीर संकट पैदा गरेको छ। पछिल्ला ४८ घण्टाका घटनाक्रमले यो क्षेत्र पूर्ण स्तरको युद्धतर्फ धकेलिएको संकेत गरेका छन्।

हर्मुज स्ट्रेट र ऊर्जा युद्धको धम्की

अमेरिकाले आफ्ना पावर प्लान्ट (विद्युत केन्द्र) हरूमा आक्रमण गरेमा रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द गरिदिने चेतावनी इरानले दिएको छ। अहिले इरानले आफू विरुद्धको आक्रमणमा सहभागी नभएका देशहरुलाई नियन्त्रित रुपमा उक्त क्षेत्रमा पारवहनको छुट प्रदान गरिरहेको छ । विश्वको झन्डै २०% कच्चा तेल आपूर्ति हुने यो मार्ग पूर्ण रुपमा बन्द भएमा विश्व बजारमा इन्धनको मूल्य अकल्पनीय रूपमा बढ्ने निश्चित छ। इरानी संसदका सभामुख मोहम्मद बगेर कालिबाफका अनुसार, "इरानको पूर्वाधारमा क्षति पुर्याइयो भने मध्य पूर्वका क्षेत्रीय ऊर्जा र पानीका पूर्वाधारहरूमा पनि जवाफी आक्रमण गरिनेछ।"

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको अल्टिमेटम दिँदै नखोलेमा इरानका ठूला पावर प्लान्टहरू ध्वस्त पारिदिने चेतावनी दिएपछि यो स्थिति आएको हो।

लेबनानमा इजरायली स्थल सेना प्रवेशको संकेत

दक्षिण लेबनानमा इजरायली सेनाले रणनीतिक महत्त्वको कासिमियाह पुल (Qasimiyah Bridge) ध्वस्त पारेको छ। लेबनानी राष्ट्रपति जोसेफ आउनले यसलाई ‘स्थलसेना परिचालनको पूर्वसन्ध्या’ को रूपमा व्याख्या गरेका छन्। लिटानी नदीमाथिका पुलहरू भत्काउनुको अर्थ दक्षिण लेबनानलाई बाँकी देशबाट अलग्याएर सैन्य परिचालन सहज बनाउनु हो। इजरायलले हिजबुल्लाहको सैन्य आपूर्ति रोक्न यो कदम चालेको दाबी गरे पनि यसले लेबनानसँगको युद्धलाई नयाँ उचाइमा पुर्‍याएको छ।

इरानी मिसाइल आक्रमण र नेतान्याहूको 'प्रतिज्ञा'

इरानले इजरायलका दक्षिणी सहरहरू अराद (Arad) र डिमोना (Dimona) लाई लक्षित गरी गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा १८० भन्दा बढी मानिस घाइते भएका छन्। विशेष गरी इजरायलको गोप्य आणविक अनुसन्धान केन्द्र नजिकै भएका यी आक्रमणपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई "धुलिसात पार्ने" प्रतिज्ञा गरेका छन्। इजरायली र अमेरिकी प्रतिरक्षा प्रणालीले धेरै मिसाइलहरू खसालेका छन् तर केही मिसाइलहरूले जमिनमा क्षति पुर्‍याएको छ । इजरायलले यतिखेर त्यहाँभित्र भएको क्षति र विध्वंशको फोटो भिडियोहरु कुनै पनि माध्यमबाट प्रसार गर्न कडा प्रतिबन्ध लगाएको छ । कुनै बेला अभेद्य ठानिएको इजरायलको 'आइरन डोम' र अत्याधुनिक उच्च अमेरिकी प्रविधिको भनिएको 'एरो' तथा ‘थाड’ प्रणाली इरानको ड्रोन र मिसाइलहरुसामु निरन्तर असफल बन्दै गइरहेकोले इजरायल तथा अमेरिकामाथि कडा चुनौती थपिएको छ।

 इराकमा पनि युद्धको बाछिटा

इराकको राजधानी बग्दादमा रहेको इरान समर्थित पपुलर मोबिलाइजेसन फोर्सेस (PMF) को मुख्यालयमा हवाई आक्रमण भएको छ। बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अमेरिकी कुटनैतिक र रणनीतिक केन्द्रमा ड्रोन आक्रमण भएपछि त्यसको बदलामा यो कारबाही गरिएको बुझिएको छ। यसले युद्ध अब इरान र इजरायलमा मात्र सीमित नरही प्रोक्सी समूहहरूमार्फत इराक र सिरियासम्म फैलिएको संकेत गर्छ ।

अस्तित्वको लडाइँ

इजरायलको अगुवाइमा अमेरिकाको प्रत्यक्ष सहभागितामा इरानविरुद्ध चालिएको यो लडाइँ यतिखेर इरानको लागि 'अस्तित्वको लडाइँ' जस्तो देखिएको छ। उता अमेरिकाका लागि पनि यो लडाइँ सोचेभन्दा दुरुह र सम्भवत: इतिहासकै सबैभन्दा ठूलो पाठ सिकाउने लडाइँ बन्ने देखिएको छ ।

लडाइको क्रममा डिमोना (इजरायल) र नतान्ज (इरान) जस्ता आणविक केन्द्रहरू नजिक भइरहेका दोहोरो हवाइ तथा मिसाइल आक्रमणहरुले 'आणविक विपत्ति' को जोखिम बढाएको छ।

लडाइँ बढ्दै जाँदा हर्मुज स्ट्रेट पूर्ण रुपमा बन्द हुने दिशातिर घटनाक्रम अगाडि बढेको छ । यो स्थिति आउनु भनेको विश्वव्यापी आर्थिक मन्दीलाई निम्तो दिनु हो।

सबैभन्दा भयानक कुरा के हो भने संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय निकायहरू यो द्वन्द्व रोक्न असक्षम देखिएका छन् । अन्तर्राष्ट्रिय नियम कानूनहरुलाई खुलेआम पन्छाउँदै अमेरिकाले एउटा सार्वभौम राष्ट्र इरानमाथि गरेको यो आक्रमणले विश्व व्यवस्थामा भयानक उथलपुथल ल्याउन सक्ने सम्भावना पनि बढेको छ । इरानको प्रतिरोध यही अनुसार रहिरह्यो भने कालान्तरमा अमेरिकाको सबैभन्दा ठूलो शक्तिको स्रोत पेट्रोडलरको वर्तमान अवस्थामा मै हेरफेर आउन सक्ने, पेट्रोडलरको इपिसेन्टर खाडी क्षेत्रबाट अमेरिकी प्रभाव–प्रभुत्व स्वात्तै घटेर जाने तथा अमेरिकालाई पिठ्युँमा बोक्ने खाडी क्षेत्रका शासकहरुविरुद्ध जनविद्रोह शुरु हुन सक्ने सम्भावनालाई पनि इन्कार गर्न सकिन्न । कदाचित अमेरिकाले आफ्नो प्रभुत्व रक्षाको लागि इरानमा स्थल सेना परिचालन गर्ने निर्णय पनि गर्न सक्ने अवस्था आउन सक्छ । त्यो भनेको अमेरिकाको लागि भियतनामभन्दा पनि चुनौतीपूर्ण र कठिन हुने पक्का छ ।

तत्कालको लागि सबैभन्दा महत्त्व पूर्ण प्रश्न भनेको– के अमेरिकाले ४८ घण्टाको अल्टिमेटमपछि इरानका पावर प्लान्टमा हमला गर्ला? वा कुटनीतिक माध्यमबाट हर्मुज स्ट्रेट खुलाउने प्रयास सफल होला? भन्ने नै हो । यसै कुराले युद्धको आगामी स्वरुपलाई निर्धारित गर्ने देखिन्छ ।

तस्विर: ब्लुमवर्ग