स्ट्रेट अफ हर्मुजमा साम्राज्यको अवनति; इरान युद्ध अमेरिकाको आफ्नै 'स्वेज संकट'

मार्क ट्वेनले सन् १८७४ को आफ्नो उपन्यास 'द गिल्डेड एज' (The Gilded Age) को पहिलो अध्यायमा भूतकाल र वर्तमानको सम्बन्धबारे एउटा घतलाग्दो टिप्पणी गरेका छन्: "इतिहासले आफूलाई कहिल्यै दोहोर्‍याउँदैन, तर वर्तमान प्रायः प्राचीन दन्त्यकथाहरूका फुटेका टुक्राहरूबाट बनेको जस्तो देखिन्छ।"

इरानमा हालै भएको अमेरिकी हस्तक्षेपको सम्भावित परिणाम बुझ्न सबैभन्दा उपयोगी ‘प्राचीन दन्त्यकथा’ मध्ये एक सन् १९५६ को स्वेज संकट (Suez Crisis) हो, जसको वर्णन मैले मेरो नयाँ पुस्तक 'कोल्ड वार अन फाइभ कन्टिनेन्ट्स' (Cold War on Five Continents) मा गरेको छु। जुलाई १९५६ मा इजिप्टका नेता गमाल अब्देल नासिरले स्वेज नहरको राष्ट्रियकरण गरेपछि, छ वटा विमानवाहक जहाजहरूसहितको संयुक्त बेलायती-फ्रान्सेली सेनाले इजिप्टको वायुसेनालाई ध्वस्त पारिदिएको थियो भने इजरायली सेनाले सिनाई प्रायद्वीपको बालुवामा इजिप्टका ट्याङ्कहरूलाई चकनाचुर पारेका थिए। युद्ध सुरु भएको एक हप्ताभित्रै नासिरले आफ्ना रणनीतिक शक्तिहरू गुमाएका थिए र त्यो विशाल साम्राज्यवादी शक्ति (जगरनट) को अगाडि इजिप्ट असहाय जस्तै देखिएको थियो।

तर जबसम्म एङ्ग्लो-फ्रान्सेली सेना स्वेज नहरको उत्तरी किनारमा ओर्लियो, नासिरले नहरको उत्तरी प्रवेशद्वारमा ढुङ्गा भरिएका दर्जनौँ पुराना जहाजहरू डुबाएर एउटा भू-राजनीतिक चाल चलिसकेका थिए। यसो गरेर उनले पर्सियन खाडीका तेलखानीहरूसँग युरोपको सम्पर्क विच्छेद गरिदिए। बेलायती सेना स्वेजबाट पराजित भएर फर्किँदासम्म संयुक्त राष्ट्रसंघले बेलायतमाथि प्रतिबन्ध लगाइसकेको थियो, उसको मुद्रा पतनको सङ्घारमा थियो, साम्राज्यवादी शक्तिको आभा समाप्त भइसकेको थियो र उसको विश्वव्यापी साम्राज्य विलुप्त हुने दिशामा अघि बढिरहेको थियो।

अहिलेको अवस्थामा आफ्नो घट्दो साम्राज्यवादी महिमा फिर्ता पाउनका लागि मरणासन्न साम्राज्यले गर्ने हतास सैन्य हस्तक्षेपलाई इतिहासकारहरू "माइक्रो-मिलिटारिज्म" (micro-militarism) भन्ने गर्छन्। विशाल युरेसियाली भूभागमा वासिङ्टनको प्रभाव घट्दै गएको परिप्रेक्ष्यमा, इरानमाथि हालैको अमेरिकी सैन्य आक्रमण ठ्याक्कै त्यस्तै "माइक्रो-मिलिटारिज्म" को अमेरिकी संस्करण जस्तो देखिन थालेको छ।

हुन त इतिहासले आफूलाई हुबहु कहिल्यै दोहोर्‍याउँदैन, तर अहिलको अवस्थामा इरानमा भइरहेको अमेरिकी हस्तक्षेप वास्तवमै अमेरिकाको 'स्वेज संकट' हो कि भनेर सोच्नु सान्दर्भिक देखिन्छ। र यदि तेहरानमा सत्ता परिवर्तन गर्ने वासिङ्टनको प्रयास कुनै किसिमले "सफल" भइहाले पनि, त्यसको परिणाम स्वरूप एउटा स्थिर नयाँ सरकार बन्नेछ र त्यसले आफ्ना जनताको सेवा गर्नेछ भनेर क्षणभङ्गुरका लागि पनि नसोचे हुन्छ ।

सत्ता परिवर्तनको ७० वर्ष

इरानमा सत्ता परिवर्तन (Regime Change) बाट निस्कन सक्ने सम्भावित परिणामहरू बुझ्नका लागि इतिहासका पानाहरूतिर फर्कौं। विगत ७० वर्षमा वासिङ्टनले पाँचवटै महाद्वीपमा पटक-पटक सत्ता परिवर्तनको प्रयास गरेको छ– सुरुमा शीतयुद्धको ४४ वर्षको दौरान सीआईएको गोप्य कारबाहीमार्फत र त्यो विश्वव्यापी द्वन्द्व समाप्त भएपछिका दशकहरूमा परम्परागत सैन्य कारबाहीमार्फत। यद्यपि माध्यमहरू परिवर्तन भएका छन्, तर परिणामहरू भने दुखद रूपमा उस्तै छन्– प्रभावित समाजहरूलाई दशकौंसम्म भयानक सामाजिक द्वन्द्व र निरन्तर राजनीतिक अस्थिरतामा धकेल्ने। यो ढाँचा शीतयुद्धका बेला सीआईएले गरेका केही प्रख्यात गोप्य हस्तक्षेपहरूमा देख्न सकिन्छ।

सन् १९५३ मा इरानको नयाँ संसदले आफ्नो उदीयमान लोकतन्त्रको लागि सामाजिक सेवा कोष जुटाउन त्यहाँको बेलायती साम्राज्यवादी तेल सम्झौता (Oil Concession) लाई राष्ट्रियकरण गर्ने निर्णय गर्‍यो। यसको प्रतिक्रियामा, सीआईए र एमआई६ (CIA-MI6) को संयुक्त कू (Coup) ले सुधारवादी प्रधानमन्त्रीलाई अपदस्थ गर्‍यो र लामो समयदेखि पदच्युत पूर्व शाहका छोरालाई सत्तामा बसायो। इरानी जनताका लागि दुर्भाग्यवश, उनी एक अत्यन्तै अयोग्य नेता साबित भए जसले आफ्नो देशको तेलको सम्पत्तिलाई चरम गरिबीमा परिणत गरिदिए– जसले गर्दा सन् १९७९ को इरानी इस्लामिक क्रान्तिको बीउ रोपियो।

सन् १९५४ सम्ममा ग्वाटेमालाले एउटा ऐतिहासिक भूमिसुधार कार्यक्रम लागू गरिरहेको थियो । उसले त्यहाँका बहुसंख्यक माया आदिवासी जनसंख्यालाई पूर्ण नागरिकताको अधिकार प्रदान गर्दै थियो। दुर्भाग्यवश, सीआईए-प्रायोजित आक्रमणले एक क्रूर सैन्य तानाशाही स्थापना गर्‍यो । त्यसले देशलाई ३० वर्षको गृहयुद्धमा धकेल्यो र केवल ५० लाखको जनसंख्यामा २ लाख मानिसहरूको ज्यान लियो।

त्यसैगरी, सन् १९६० मा कङ्गो शताब्दीयौंको क्रूर बेल्जियम औपनिवेशिक शासनबाट मुक्त भई एक चामत्किरक नेता प्याट्रिस लुमुम्बालाई निर्वाचित गरेर उदायो। तर सीआईएले चाँडै नै उनलाई सत्ताबाट हटायो र उनको ठाउँमा जोसेफ मोबुटुलाई राख्यो। ती सैन्य तानाशाहको ३० वर्षको लुटतन्त्र (Kleptocracy) ले निम्तयाएको हिंसाले दोस्रो कङ्गो युद्ध (१९९८-२००३) मा ५० लाखभन्दा बढी मानिसको मृत्यु भयो र यसको असर आजसम्म पनि जारी छ।

हालैका दशकहरूमा, परम्परागत सैन्य कारबाहीमार्फत सत्ता परिवर्तन गर्ने वासिङ्टनका प्रयासहरूबाट पनि यस्तै निराशाजनक परिणामहरू आएका छन्। सेप्टेम्बर २००१ को आतंकवादी हमलापछि, अमेरिकी सेनाले अफगानिस्तानमा तालिबान शासनलाई उखालेर फाल्यो। त्यसपछिका २० वर्षहरूमा वासिङ्टनले २.३ ट्रिलियन डलर (हो, त्यो 'ट्रिलियन' कुनै टाइपिंग गल्ती होइन!) खर्च गर्‍यो– तर त्यो राष्ट्र निर्माणको असफल प्रयास सावित भयो। अगस्ट २०२१ मा पुनरुत्थान भएको तालिबानले राजधानी काबुल कब्जा गरेपछि त्यो सबै खर्च र प्रयास बालुवामा पानी भयो र देशलाई पुन: कठोर पितृसत्ता र चरम अभावको मिश्रणमा धकेलिदियो।

सन् २००३ मा, वासिङ्टनले नभएका आणविक हतियारहरूको खोजीमा इराकमाथि आक्रमण गर्‍यो र १५ वर्षे युद्धको दलदलमा फस्यो। यसले १० लाख मानिसको नरसंहार निम्त्यायो र एउटा यस्तो निरंकुश सरकार छोडेर गयो, जुन इरानको एउटा 'क्लाइन्ट स्टेट' (आश्रित राज्य) भन्दा बढी केही हुन सकेन। त्यस्तै सन् २०११ मा, अमेरिकाले नाटो (NATO) को हवाई अभियानको नेतृत्व गर्दै लिबियामा कर्नेल मुअम्मर गद्दाफीको कट्टरपन्थी शासनलाई पल्टायो । त्यसले सात वर्ष लामो गृहयुद्ध निम्त्यायो र अन्ततः त्यो देशलाई दुईवटा परस्पर विरोधी असफल राज्यहरूमा विभाजित गरिदियो।

जब वासिङ्टनका सत्ता परिवर्तनका प्रयासहरू असफल हुन्छन् (जसरी सन् १९६१ मा क्युबामा र गत वर्ष भेनेजुएलामा भएका थिए), त्यो असफलताले प्रायः निरंकुश शासनहरूलाई अझ बढी मजबुत बनाउँछ। उनीहरूको गुप्तचर प्रहरीमाथिको नियन्त्रण अझ कडा हुन्छ र देशको अर्थतन्त्रमा उनीहरूको कब्जा झन् कसिन्छ।

तपाईंलाई लाग्न सक्छ, यस्ता अमेरिकी हस्तक्षेपहरूले किन सधैं यति निराशाजनक नतिजाहरू मात्र निकाल्छन्? अस्थिर राजनीतिक परिवर्तनका बीच नाजुक सामाजिक स्थिरता कायम गर्न संघर्ष गरिरहेका समाजहरूका लागि बाह्य हस्तक्षेप (चाहे त्यो गोप्य होस् वा खुला) एउटा पुरानो पकेट घडीलाई हथौडाले हिर्काउनु र फेरि त्यसका सबै गियर र स्प्रिङहरूलाई जबरजस्ती पुरानै ठाउँमा कोच्न खोज्नु जस्तै हो।

इरान युद्धको भू-राजनीतिक परिणामहरू

इरानमा वासिङ्टनको पछिल्लो हस्तक्षेपका भू-राजनीतिक असरहरूलाई नियाल्ने हो भने, राष्ट्रपति डोनाल्ड ट्रम्पको यो "इच्छाको युद्ध" (War of choice) कसरी वासिङ्टनको आफ्नै स्वेज संकट बन्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ।

सन् १९५६ मा इजिप्टले स्वेज नहर बन्द गरेर सैन्य पराजयको मुखबाट कूटनीतिक विजय खोसे जसरी नै इरानले अहिले हर्मुज जलडमरू (जहाँबाट विश्वको २०% कच्चा तेल र प्राकृतिक ग्यास ओसारपसार हुन्छ) मा पाँचवटा मालवाहक जहाजहरू र पर्सियन खाडीको दक्षिणी किनारमा रहेका पेट्रोलियम रिफाइनरीहरूमा आफ्ना 'शाहेद' ड्रोनहरू प्रहार गरेर मध्यपूर्वको अर्को महत्त्वपूर्ण घाँटी (Choke point) थुनिदिएको छ।

इरानको ड्रोन आक्रमणले पर्सियन खाडीबाट हुने ९०% भन्दा बढी ट्याङ्करहरूको प्रस्थानलाई रोकिदिएको छ र विश्वको २०% तरल प्राकृतिक ग्यास (LNG) उत्पादन गर्ने कतारका विशाल रिफाइनरीहरू बन्द गरिदिएको छ । यसले गर्दा विश्वका धेरै भागमा प्राकृतिक ग्यासको मूल्य ५०% ले र एसियामा ९१% ले आकाशिएको छ। अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर पुग्ने तरखरमा छ भने तेलको मूल्य निकट भविष्यमा प्रति ब्यारेल १५० डलर पुग्ने देखिन्छ। यसबाहेक, प्राकृतिक ग्यासलाई मलमा रूपान्तरण गरिने हुनाले, पर्सियन खाडी विश्वको झण्डै आधा कृषि पोषक तत्वहरूको स्रोत हो। इजिप्ट जस्ता बजारहरूमा युरिया मलको मूल्य ३७% ले बढेको छ, जसले उत्तरी गोलार्धमा वसन्त ऋतुको खेती र दक्षिणी गोलार्धमा खाद्य सुरक्षा दुवैलाई संकटमा पारेको छ।

पर्सियन खाडीमा पेट्रोलियम उत्पादन, अन्तर्राष्ट्रिय ढुवानी र पूँजी लगानीको असाधारण केन्द्रिकरणले हर्मुज जलडमरूलाई तेल र प्राकृतिक ग्यासको प्रवाहका लागि मात्र नभई सम्पूर्ण विश्व अर्थतन्त्रको पूँजी परिचालनका लागि समेत एउटा मुख्य अवरोधक बिन्दु (Choke point) बनाएको छ। आधारभूत तथ्यबाट सुरु गर्ने हो भने, पर्सियन खाडीमा विश्वको प्रमाणित तेल भण्डारको लगभग ५०% हिस्सा छ, जुन अनुमानित ८५९ अर्ब ब्यारेल हो– वा वर्तमान मूल्यमा झण्डै ८६ ट्रिलियन डलर।

यस क्षेत्रको पूर्वाधारमा पूँजी केन्द्रिकरणको मापन बुझ्नका लागि, खाडी सहयोग परिषद् (GCC) का राष्ट्रिय तेल कम्पनीहरूले सन् २०२५ मा मात्रै आफ्ना उत्पादन सुविधाहरूमा १२५ अर्ब डलर लगानी गरेका थिए र निकट भविष्यमा पनि सोही दरमा लगानी जारी राख्ने योजना छ। मुख्यतया पर्सियन खाडीमा सेवा दिने ७,५०० जहाजहरूको विश्वव्यापी तेल ट्याङ्कर बेडाहरूलाई सञ्चालनमा राख्न, एउटै ठूलो "स्वेजम्याक्स" (Suezmax) ट्याङ्करका लागि झण्डै १०० मिलियन डलर खर्च हुन्छ । तीमध्ये लगभग ९०० वटा ट्याङ्करहरू सामान्यतया समुद्रमा हुन्छन्, जसको कुल मूल्य ९० अर्ब डलर हुन्छ (कठोर समुद्री अवस्थामा स्टिलको क्षयका कारण यी जहाजहरू बारम्बार फेरिरहनुपर्छ)। यसबाहेक, दुबईमा विश्वकै सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल छ । उक्त विमानस्थल वार्षिक ४,५०,००० उडानहरू हुने विश्वव्यापी सञ्जालको केन्द्र हो– र यो अहिले इरानी ड्रोन आक्रमणका कारण बन्द भएको छ।

ह्वाइट हाउसले हालैका अमेरिकी हवाई आक्रमणका बारेमा मिडियामा जतिसुकै प्रचार गरे पनि, युद्धको पहिलो हप्तामा इरान (जुन पश्चिमी युरोपको दुई-तिहाइ आकारको छ) विरुद्ध गरिएका ३,००० अमेरिकी-इजरायली बमबारीहरू दोस्रो विश्वयुद्धका क्रममा युरोपमा गरिएका १४,००,००० बमबारी उडानहरूको तुलनामा फिक्का देखिन्छन्। यी संख्याहरू बीचको ठूलो भिन्नताले रणनीतिक दृष्टिकोणबाट इरानमाथिको वर्तमान अमेरिकी हवाई आक्रमण 'हात्तीलाई सानो बन्दुक (बी.बी. गन) ले हाने जस्तो' देखिन्छ। यसबाहेक, अमेरिकासँग करिब ४,००० इन्टरसेप्टर मिसाइलहरूको सीमित भण्डार छ, जसको प्रति मिसाइल लागत १२ मिलियन डलरसम्म पर्छ र यिनलाई ठूलो संख्यामा छिटो उत्पादन गर्न सकिँदैन। यसको विपरीत, इरानसँग करिब ८०,००० 'शाहेद' ड्रोनहरूको लगभग असीमित आपूर्ति छ, जसमध्ये १०,००० वटा त उसले प्रति महिना मात्र २०,००० डलर प्रति गोटाको लागतमा उत्पादन गर्न सक्छ। वास्तवमा, यदि यो युद्ध केही हप्ताभन्दा बढी लम्बियो भने समय वासिङ्टनको पक्षमा हुने छैन।

वास्तवमा, हालैको एउटा अन्तर्वार्तामा, इरानको सुस्त र कम उचाइमा उड्ने शाहेद ड्रोनहरूको विशाल बेडाहरूले चाँडै नै अमेरिकाको परिष्कृत इन्टरसेप्टर मिसाइलहरूको मौज्दात सिध्याउन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा पेन्टागनका नेता जनरल ड्यान केनले अचम्मलाग्दो गरी पन्छिँदै भने, "म संख्याका बारेमा कुरा गर्न चाहन्न।"

कसको सेना मैदानमा?

आर्थिक र सैन्य दबाबले युद्ध छोटो बनाउन बाध्य पारिरहँदा, वासिङ्टनले इरानको करिब ४०% जनसंख्या ओगट्ने जातीय अल्पसंख्यकहरूलाई परिचालन गरेर आफ्नो सेनालाई किनारमा उतार्नबाट जोगिने प्रयास गरिरहेको छ। पेन्टागनलाई मौन तर पीडादायी रूपमा के थाहा छ भने, अमेरिकी स्थल सेनाले १० लाख बलियो 'बसिज' (Basij) मिलिसिया, ,५०,००० रिभोलुसनरी गार्ड्स (जो छापामार युद्धका लागि राम्रोसँग प्रशिक्षित छन्), र इरानको ३,५०,००० नियमित सेनाबाट भयानक प्रतिरोधको सामना गर्नुपर्नेछ।

उत्तरमा अजेरी (Azeris) हरू अनिच्छुक र दक्षिण-पूर्वमा राजधानीबाट टाढा रहेका बलुच (Baloch) जनजातिहरू तेहरानमा आक्रमण गर्न असमर्थ भएपछि, वासिङ्टन विगत ५० वर्षदेखि जस्तै आफ्नो 'कुर्दिस कार्ड' खेल्न हतारिएको छ। सिरिया, टर्की, इराक र इरानको उच्च हिमाली सीमानामा छरिएर रहेका १० करोड जनसंख्या भएका कुर्दहरू आफ्नै राज्य नभएका मध्यपूर्वका सबैभन्दा ठूलो जातीय समूह हुन्। यसै कारण उनीहरू लामो समयदेखि साम्राज्यवादी 'ग्रेट गेम' (शक्ति सङ्घर्ष) को गोटी बन्न बाध्य भएका छन्, जसले उनीहरूलाई साम्राज्यवादी प्रभावमा आउने ठूला परिवर्तनहरूको एक संवेदनशील सूचक (Bellwether) बनाएको छ।

पछिल्लो युद्धको पहिलो हप्तामा राष्ट्रपति ट्रम्पले इराकको कुर्दिस्तान क्षेत्रका शीर्ष नेताहरूलाई व्यक्तिगत रूपमा फोन गरेर इरानमाथि आक्रमण गरेमा "व्यापक अमेरिकी हवाई सुरक्षा" दिने प्रस्ताव गरे पनि र कुर्दिस्तानको राजधानी एर्बिलमा अमेरिकाको सैन्य हवाई अड्डा भए तापनि, कुर्दहरू अहिलेसम्म अस्वाभाविक रूपमा सतर्क देखिइरहेका छन्।

वास्तवमा, वासिङ्टनले कुर्द लडाकुहरूलाई प्रयोग गर्ने र धोका दिने लामो इतिहास छ, जुन पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको समयदेखि सुरु भएको हो। किसिन्जरले कुर्दहरूसँगको विश्वासघातलाई कूटनीतिक कलाको रूपमा विकास गरेका थिए। सन् १९७५ मा सद्दाम हुसेन विरुद्धको इराकी कुर्द प्रतिरोधलाई दिइँदै आएको सीआईए सहायता बन्द गर्न आदेश दिएपछि किसिन्जरले एक सहयोगीसँग भनेका थिए: "उनीहरूलाई जे पनि आश्वासन देऊ, जे पाउँछन् त्यही देऊ, र यदि उनीहरूले यसलाई ठट्टाको रूपमा लिन सक्दैनन् भने उनीहरूको वास्तै नगर।"

जब इराकी सेनाले कुर्दिस्तानमा प्रवेश गरी सयौं असहाय कुर्दहरूको हत्या गर्‍यो, तब इराकी कुर्दिस्तानका वर्तमान प्रमुखका हजुरबुबा तथा पौराणिक नेता मुस्तफा बारजानीले किसिन्जरसँग अनुनय गर्दै भनेका थिए, "महामहिम, हाम्रो जनताप्रति संयुक्त राज्य अमेरिकाको नैतिक र राजनीतिक जिम्मेवारी छ।" किसिन्जरले त्यो हतास पुकारलाई जवाफ दिने शिष्टता समेत देखाएनन् र उल्टै कांग्रेसलाई भने: "गोप्य कारबाहीलाई परोपकारी काम (Missionary work) सँग दाँज्नु हुँदैन।"

गत जनवरीमा, ट्रम्प प्रशासनले अत्यन्तै गलत समयमा कुर्दहरूलाई फेरि एकपटक धोका दियो। वासिङ्टनले सिरियाली कुर्दहरूसँगको एक दशक लामो गठबन्धन तोड्दै उनीहरूलाई आफ्नो ८०% ओगटेको क्षेत्र त्याग्न बाध्य बनायो। दक्षिण-पूर्वी टर्कीमा कट्टरपन्थी कुर्दिश पीकेके (PKK) पार्टीले प्रधानमन्त्री रेसेप अर्दोआनसँग सम्झौता गरी हतियार बिसाउँदै छ। अर्कोतर्फ, इराकको कुर्दिस्तान क्षेत्रले तेहरानसँगको २०२३ को कूटनीतिक समझदारीलाई सम्मान गर्दै इरान-इराक सीमामा शान्ति कायम राख्न युद्धबाट टाढै रहने निर्णय गरेको छ। राष्ट्रपति ट्रम्पले इरानको करिब १०% जनसंख्या रहेका इरानी कुर्दहरूका कम्तीमा एक नेतालाई सशस्त्र विद्रोहका लागि प्रोत्साहन गर्न फोन गरेका छन्, तर अधिकांश इरानी कुर्दहरू सत्ता परिवर्तन भन्दा क्षेत्रीय स्वायत्ततामा बढी इच्छुक देखिएका छन्।

ट्रम्पले कुर्दहरूलाई आक्रमण गर्न र इरानी जनतालाई विद्रोह गर्न गरेका आह्वानहरू मौनतामा परिणत भइरहँदा, वासिङ्टनले यो युद्ध इरानको इस्लामिक शासनलाई झन् बलियो बनाएर मात्र टुङ्ग्याउने सम्भावना छ। यसले विश्वलाई देखाउनेछ कि अमेरिका अब केवल एक विघटनकारी शक्ति मात्र होइन, बरु एक कमजोर हुँदै गएको शक्ति हो जसको बिना पनि अन्य राष्ट्रहरू चल्न सक्छन्। विगत १०० वर्षभन्दा बढी समयदेखि इरानी जनताले वास्तविक लोकतन्त्र स्थापनाका लागि ६ पटक प्रयास गरिसकेका छन्। तर, अहिलेको अवस्था हेर्दा उनीहरूको सातौं प्रयास अमेरिकी नौसैनिक बेडाहरू अरब सागरबाट फर्किएको लामो समयपछि मात्र हुने देखिन्छ।

सूक्ष्म राजनीतिदेखि भू-राजनीतिसम्म

यदि हामी इरानको जातीय राजनीतिको यो सूक्ष्म (granular) दृश्यभन्दा माथि उठेर इरान युद्धको व्यापक भू-रणनीतिक दृष्टिकोणबाट हेर्छौँ भने, कुर्दिस्तानका पहाडहरूमा वासिङ्टनको घट्दो प्रभावले विशाल युरेसियाली भू-भागमा उसको फिक्का हुँदै गएको भू-राजनीतिक वर्चस्वलाई प्रतिबिम्बित गर्दछ। यो क्षेत्र विगत ५०० वर्षदेखि जस्तै आज पनि भू-राजनीतिक शक्तिको केन्द्रविन्दु बनेको छ।

विगत झण्डै ८० वर्षदेखि, संयुक्त राज्य अमेरिकाले पश्चिमी युरोपमा आफ्नो नाटो (NATO) गठबन्धन र जापानदेखि अस्ट्रेलियासम्मको प्रशान्त तटीय क्षेत्रमा रहेका चारवटा द्विपक्षीय रक्षा सम्झौतामार्फत युरेसियाका अक्षीय छेउहरूलाई नियन्त्रण गरेर आफ्नो विश्वव्यापी प्रभुत्व कायम राखेको छ। तर अहिले, जब वासिङ्टनले आफ्नो परराष्ट्र नीति पश्चिमी गोलार्द्धमा बढी केन्द्रित गर्दैछ, पोल्याण्डदेखि मध्यपूर्व हुँदै कोरियासम्म फैलिएको युरेसियाको विशाल चापमा अमेरिकी प्रभाव तीव्र रूपमा घट्दै गइरहेको छ। सर हाल्फोर्ड म्याकिन्डर र निकोलस स्प्याकम्यान जस्ता भू-राजनीतिविद्हरूले यस क्षेत्रलाई ‘रिमल्याण्ड’ (Rimland) वा ‘द्वन्द्वको क्षेत्र’ भन्ने गर्थे। स्प्याकम्यानले कुनै समय यसलाई संक्षिप्तमा यसरी व्याख्या गरेका थिए: "जसले रिमल्याण्डलाई नियन्त्रण गर्छ, उसले युरेसियामा शासन गर्छ; जसले युरेसियामा शासन गर्छ, उसले विश्वको भाग्य नियन्त्रण गर्छ।"

सन् २०१६ मा डोनाल्ड ट्रम्पको 'अमेरिका फस्ट' (America First) परराष्ट्र नीतिको उदय भएदेखि, सम्पूर्ण युरेसियाली रिमल्याण्डका प्रमुख र मध्यम शक्तिहरूले सक्रिय रूपमा अमेरिकी प्रभावबाट आफूलाई अलग गरिरहेका छन्। यसमा युरोप (पुनः शस्त्रीकरणमार्फत), रुस (युक्रेनमा पश्चिमलाई चुनौती दिएर), टर्की (वर्तमान युद्धमा तटस्थ रहेर), पाकिस्तान (चीनसँग गठबन्धन गरेर), भारत (वासिङ्टनको 'क्वाड' गठबन्धन तोडेर), र जापान (स्वायत्त रक्षा नीति बनाउन पुनः शस्त्रीकरण गरेर) सामेल छन्। यो जारी अलगाव इरान हस्तक्षेपमा समर्थनको अभावबाट प्रष्ट हुन्छ, जहाँ कुनै समयका नजिकका युरोपेली र एसियाली सहयोगीहरू समेत साथमा छैनन्। यो सन् १९९१ को खाडी युद्ध र २००२ को अफगानिस्तान कब्जामा सामेल भएका व्यापक गठबन्धनहरूको तुलनामा ठ्याक्कै विपरीत छ। ट्रम्पको इरानमाथिको "माइक्रो-मिलिटारिज्म" ले अन्जानमै तर स्पष्ट रूपमा अमेरिकी शक्तिको सीमा उजागर गरिदिएको छ। युरेसियाभरि वासिङ्टनको घट्दो प्रभावले निस्सन्देह एक नयाँ विश्व व्यवस्थाको उदयका लागि उत्प्रेरकको काम गर्नेछ, जुन सम्भवतः अमेरिकी विश्वव्यापी प्रभुत्वको पुरानो व्यवस्थाभन्दा धेरै अगाडि बढ्नेछ।

सर एन्थोनी इडेनलाई आज संयुक्त अधिराज्यमा स्वेजमा बेलायती साम्राज्य नष्ट गर्ने एक अयोग्य प्रधानमन्त्रीको रूपमा दुखका साथ सम्झिइए जसरी नै भविष्यका इतिहासकारहरूले डोनाल्ड ट्रम्पलाई मध्यपूर्वमा उनको माइक्रो-मिलिटरी दुस्साहस लगायतका कारणले अमेरिकी अन्तर्राष्ट्रिय प्रभावलाई गिराउने राष्ट्रपतिको रूपमा देख्न सक्छन्। साम्राज्यहरूको उदय र पतन भइरहँदा, यस्ता भू-राजनीतिले उनीहरूको भाग्य निर्धारण गर्न सधैं स्थिर कारकको भूमिका खेल्छ– जुन पाठ मैले आफ्नो पुस्तक 'कोल्ड वार अन फाइभ कन्टिनेन्ट्स' मा खुलाउने प्रयास गरेको छु।

यस्तो कठिन समयमा, जब घटनाहरू अन्योलपूर्ण र भ्रमित देखिन्छन्, मार्क ट्वेनका ‘प्राचीन दन्त्यकथाहरूका फुटेका टुक्राहरू’ ले हामीलाई बेलायत वा सोभियत संघको शक्ति र प्रभावको पतन जस्ता ऐतिहासिक समानताहरूको सम्झना गराउन सक्छन्। यसले हामीलाई यो बुझ्न मद्दत गर्दछ कि कसरी भूतकालले प्रायः वर्तमानसँग कानेखुसी गरिरहेको हुन्छ– जस्तो कि अहिले हर्मुज जलडमरूमध्यमा भइरहेको देखिन्छ।

स्रोत: काउन्टरकरेन्ट