नेपाली राजनीतिको अनुभव

२००७ सालको क्रान्तिपछि नेपाल प्रजातान्त्रिक शासन प्रणालीमा प्रवेश गरेको हो । त्यस क्रान्तिपछिको संक्रमण काल ८ वर्षको रह्यो । यो ८ वर्षमा ९ वटा अनिर्वाचित सरकारले शासन सञ्चालन गरे । २०१५ सालमा पहिलो आम निर्वाचन भयो, नेपाली कांग्रेसले आम निर्वाचनमा संसदको १०९ सिटमा ७४ सिट अर्थात करिब ६८ प्रतिशतको बहुमतले सरकार बनायो  । यो सरकारले जम्माजम्मी करिब १ वर्ष ७ महिना सरकार सञ्चालन गर्यो । राजा महेन्द्रले सैनिक कु गरेपछि अर्को   करिब २९ वर्ष एकदलीय शासन प्रणालीको राज भयो । यो अवधिमा १६ सरकारले राज्य सञ्चालन गरे । २०४६ सालमा संवैधानिक राजतन्त्र सहित बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भयो । त्यसपछि अर्को करिब ११ वर्ष (२०४८ जेठ १२ देखि  २०५९ असोज १८सम्म) १० वटा सरकार बने ।

यसबीचमा ४ वटा घटना घटे ।

१. नेकपा (एमाले(एमाले)का नेता मदन भण्डारीको 'रहस्यमय निधन' भयो ।  नेपाली कांग्रेसको 'त्रय नेतृत्व' प्रणाली भत्कियो र गणेश मान सिंह श्रेष्ठ र कृष्ण प्रसाद भट्टराई पाखा लगाइए । २०४८ सालको आम निर्वाचनमा स्पष्ट बहुमत ल्याएको नेपाली कांग्रेसको सरकार आन्तरिक कलहले बिचैमा २०५१मा मध्यावधि निर्वाचनमा जानु पर्‍यो र निर्वाचन पछि नेकपा (एमाले)को अल्पतको सरकार, पहिलो वामपन्थि सरकार बन्यो ।  ९ महिना बित्न न पाउँदै त्यो सरकार पनि ढल्यो । त्यस पछि 'मिलिजुली सरकार'को अभ्यास सुरु भयो ।

२. २०४६ सालको जन आन्दोलनले स्थापित गरेको प्रणाली ५ वर्ष पनि बित्न न पाउँदै मावोवादी सशस्त्र द्वन्दको लपेटामा मुलुक फस्यो ।

३. एमाले र कांग्रेस पार्टीमा विभाजन आयो ।

४.  राजा वीरेन्द्रको वंशनास भयो । यहीबीचमा, २०५९ मा,  राजा ज्ञानेन्द्रले   सत्ता हत्याए र  स्थापित प्रणालीको अन्त्य गरे । उनले करिब ३ वर्ष ७ महिना राज गरे (२०५९ साल असोज १८ गतेदेखि २०६३ साल बैशाख ११ गतेसम्म ) । 

२०६२/०६३ को क्रान्तिपछि मुलुकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना स्थापना भयो । त्यस यता ( २०६३ साल बैशाख ११ गते देखि हालसम्म) करिब २० वर्षमा १४ वटा सरकार भने । यि कुनैको पनि संसदमा पुर्ण बहुमत थिएन र सबै नै मिलिजुली सरकारको स्वरुपमा थिए ।

२०६४ मा संविधान सभाको निर्वाचन भयो त्यसमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन त सकेन तर मावोवादी सबैभन्दा ठूलो शक्ति बनेर उदायो । त्यस संविधान सभाले संविधान बनाउन सकेन । दोश्रो संविधान सभाको निर्वाचन भयो । त्यसमा पनि कुनै दलको स्पष्ट वहुमत आउन सकेन । संविधान बन्यो । आम निवाचन भए र कसैको बहुमत आएन ।

राजनीतिक अस्थिरता हाम्रो इतिहासकै चरित्र बनेको छ । प्रणालीगत परिवर्तनपछि पनि राजनीतिक स्थिरता आउन सकेन । २००७ सालको क्रान्तिपछि मुलुकमा जन निर्वाचित सरकार बन्न नै अर्को ८ वर्ष कुर्नुपर्‍यो  । दुई तिहाई बहुमत ल्याएको २०१५ सालको नेपाली कांग्रेसको सरकार पनि बीचैमा अपदस्त गरियो ।राजाको एकछत्र नेतृत्वमा  बनेका सरकार पनि ५ वर्ष टिक्न सकेनन् । मिलिजुली सरकार पनि ५ वर्ष टिक्न सकेका छैनन् ।

यो सब किन भइरहेको छ ?! के यो हाम्रो नियति हो या हाम्रो राष्ट्रीय विवेक थिग्री नसकेको परिणाम हो ?! हामी आधुनिक कालमा लोकतन्त्रका कनिष्ट अभ्यासकर्ता हौं । बहुदलीय लोकतान्त्रिक गणतन्त्रमा आम स्वीकृति हुनु निश्चय नै प्रगतिशील कदम हो । तथापि सत्ताको अभ्यास गरी रहँदा हामीले पुरानो सामन्ती सत्ताको धङधङी पनि संगै लिएर आयौं । हामीबाट राज्य र पार्टीमा 'बल चक्रम् हि निश्रय धर्म चक्रम् प्रवर्तते ।' (सत्ताको चक्र न्यायको चक्रमा टिकेको हुन्छ) भन्ने स्थापित गर्न न सकिएकै हो । यस कमजोरीलाई टेकेर बाहिरी शक्ति आफ्ना स्वार्थसिद्धिमा लागेको यथार्थ पनि कसैबाट छिपेको छैन । जनता हैरान छन् र आक्रोस र कुण्ठा पोखिरहेका छन् । मुलुकले ठक्कर खानु खाइसकेको छ र अब हामीमा बुद्धि र विवेक पलाउनु पर्दछ ।  हामी सच्चिनु पर्दछ ।