किताब जलाइएको प्रकरणले तात्तिएको कुटनीति

प्रतीकात्मक तस्विर ।

मोरङको मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तक जलाइएको घटनाले काठमाडौँदेखि बेइजिङसम्म ठूलो खलबली मच्चाएको छ। यो घटना एउटा कलेजभित्रको सामान्य विषय मात्र नभई नेपालको परराष्ट्र सम्बन्ध र छिमेकी चीनको प्रतिष्ठासँग जोडिएर निकै गम्भीर बनेको देखिन्छ। विशेष गरी नेपालमा अमेरिकी र अन्य वैदेशिक गतिविधि बढिरहेको चर्चा भइरहँदा, चीनले यो घटनालाई आफ्नो मानमर्दनका रूपमा लिएको छ।

चीनको राष्ट्रपति सी जीन पिङद्वारा लिखित 'द गभर्नेन्स अफ चाइना' जस्तो महत्त्वपूर्ण पुस्तक जलाइएपछि चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै कडा विरोध जनाएको छ। पोखरा विमानस्थलको विवाद, ५जी ठेक्का र तिब्बती धर्मगुरुहरूको गतिविधिलाई लिएर चीन पहिलेदेखि नै सशंकित थियो। यस्तो बेला आफ्ना सर्वोच्च नेताको पुस्तक जलाइएको भिडियो सार्वजनिक हुनुले चीनलाई थप आक्रोशित बनाएको छ।

कलेज प्रशासनले भने 'किरा लागेका र काम नलाग्ने' भएकाले पुस्तक जलाइएको दाबी गरेको छ। तर भिडियोमा कतिपय पुस्तकहरू नयाँ देखिएकाले कलेजको तर्कमा शंका गर्ने ठाउँ प्रशस्त छ। एमालेका शीर्ष नेताहरू आवद्ध रहेको कलेजमा यति धेरै संख्यामा पुस्तक कसरी पुगे र किन जलाइए भन्ने कुरा रहस्यमय छ।

अहिले सरकारका लागि यो घटना ठूलो टाउको दुखाइ बनेको छ। गृह मन्त्रालयले छानबिनको आदेश दिएको छ । छिमेकी मुलुकका राष्ट्र प्रमुखको अपमान हुने यस्ता गतिविधिले नेपालको कूटनीतिक छविमा नकारात्मक असर पार्न सक्ने देखिएको छ। त्यसैले, यो विषयलाई सामान्य लापरबाही मात्र नभनी सत्यतथ्य बाहिर ल्याउनु र चीनको चित्त बुझाउनु सरकारका लागि अहिलेको मुख्य चुनौती बन्ने देखिन्छ ।