क्युबा जीवित रहनेछ: एक डायरी

​​​​​​​पाकी विल्यान्ड (१९४४-२०२६) का लागि, जसले आफ्नो सम्पूर्ण वयस्क जीवन अमेरिकी साम्राज्यवादको क्रूरता विरुद्ध लडेर बिताइन्।

राष्ट्रपिताको नाममा राखिएको जोसे मार्ती विमानस्थलबाट प्रस्थान गर्ने बिहान, मैले त्यहाँका सबैसँग अङ्गालो मारें: मलाई चेक-इन गराउने महिला, मेरो राहदानीमा छाप लगाउने पुरुष र ग्राउन्ड स्टाफहरू। अघिल्लो दिन नै मैले मेरा सबै साथीहरूलाई कसिलो गरी अङ्गालो मारिसकेको थिएँ, र मेरा आँसुहरू गालाबाट बग्नका लागि सङ्घर्ष गरिरहेका थिए। मलाई यस्तो महसुस भइरहेको थियो कि यी अङ्गालोहरूका माध्यमबाट, म डोनाल्ड ट्रम्पको पागलपनका कारण क्युबा, क्युबाली जनता र क्युबाली क्रान्ति, यी सबैमाथि आउन सक्ने सम्भावित संकटप्रतिको मेरो त्रासलाई कसैगरी व्यक्त गर्न चाहन्थें।

यो संसार के भइरहेको छ? मानौं अरबौं मानिसहरू अमेरिका र इजरायलद्वारा लादिएका अत्याचारका मूकदर्शक बनेका छन्: प्यालेस्टिनी जनताको नरसंहार, भेनेजुएलाका राष्ट्रपतिको अपहरण, विना कारण इरानमाथिको प्रहार, र पक्कै पनि, क्युबाको घाँटी निमोठ्ने प्रयास। ट्रम्पको मूर्खताले अझ धारिलो बनेको अमेरिकी सरकारको यो पतनोन्मुख क्रूरता अप्रत्याशित र खतरनाक छ। अब के हुन्छ भनेर कसैले पनि सटिक रूपमा भन्न सक्दैन। ट्रम्प इरानमा फसेको जस्तो देखिन्छ  जहाँ उनले इरानीहरूको त्यो राजनीतिक विवेकको अनुमान लगाउन सकेनन्, जसले अहिले युद्धविराम गर्न अस्वीकार गरिदिए। किनकि अहिले युद्धविराम गर्नुको अर्थ अमेरिका र इजरायललाई पुन: हतियार जम्मा गर्ने र एक हप्तापछि अझ भीषण रूपमा उनीहरूका सहरहरू ध्वस्त पार्ने मौका दिनु मात्र हुन्थ्यो। ट्रम्पले युक्रेनको युद्ध वा प्यालेस्टिनीहरू विरुद्धको नरसंहारलाई रोक्न सकेको देखिँदैन। ट्रम्पका सहयोगी इजरायलले पुनः लेबनानसम्म युद्ध विस्तार गरेको छ, जसले अरब जगतका सडकहरूलाई आन्दोलित तुल्याउने खतरा बढाएको छ, जहाँ आफ्ना लाचार सरकारहरूप्रति पहिले नै असन्तोष व्याप्त छ। के अब उनले छिट्टै विजय प्राप्त हुनेछ भन्ने सोचेर क्युबामाथि प्रहार गर्नेछन्?

क्युबामाथि ट्रम्पले लगाएको क्रूर 'तेल नाकाबन्दी' को प्रभाव वर्णन गर्न मलाई गाह्रो भइरहेको छ। सन् २०२५ को डिसेम्बरको सुरुदेखि नै क्युबामा प्रशोधित तेलको कुनै खेप पुगेको छैन। यसको अर्थ आधुनिक जीवनको हरेक पाटो पूर्ण रूपमा अस्तव्यस्त भएको छ। हवानाका सडकहरू सुनसान छन् किनभने कार र बसहरू चलाउन पर्याप्त इन्धन नै छैन। क्रान्तिकारी क्युबाका मन्दिर मानिने विद्यालय र अस्पतालहरू आधारभूत सेवाहरू कायम राख्न सङ्घर्ष गरिरहेका छन्। किसानहरूलाई सहरसम्म खाद्यान्न ल्याउन धौ-धौ परिरहेको छ, र औषधिहरू उपलब्ध भए पनि निकै महँगा छन्। कल्पना गर्नुहोस्, तपाईं एक बिरामी हुनुहुन्छ जसको न्युरोसर्जरी (मस्तिष्कको शल्यक्रिया) गर्नुपर्नेछ, तर बिजुलीको उतारचढाव र लोडसेडिङका बीच डाक्टरहरू तपाईंको मस्तिष्कमा उपकरण हाल्ने जोखिम मोल्न किमार्थ तयार छैनन्। हवानामा बिताएको समयमा मैले सुनेको ट्रम्पको तेल नाकाबन्दीको खतराको यो सबैभन्दा भयावह उदाहरण थियो। जब म मालेकोन (तटीय सडक) मा टहलिरहेको थिएँ, मैले केही घोडागाडीहरू गुडिरहेको देखें। यस्तो लाग्छ मानौं ती याङ्कीहरू क्युबाली क्रान्तिलाई सजाय दिन चाहन्छन् र एक करोड क्युबाली नागरिकलाई 'फलामे युग' तिर धकेल्न खोज्दैछन्।

इन्टरनेशनल पिपुल्स एसेम्बली (International Peoples Assembly) को ऐक्यबद्धता टोलीको सदस्यको रूपमा क्युबा आएको हुँ। यो आन्दोलन-देखि-आन्दोलन बीचको अन्तर्राष्ट्रियतावादलाई पुन: स्थापित गर्ने प्रयास गरिरहेको विश्वभरका सयौं संगठनहरूको एउटा साझा मञ्च हो। हाम्रो टोलीको नेतृत्व जोआओ पेड्रो स्टेडिल (ब्राजिलियन भूमिहीन श्रमिक आन्दोलनका राष्ट्रिय निर्देशक) ले गरेका थिए। यस टोलीमा फ्रेड म्मेम्बे (जाम्बियाको सोसलिस्ट पार्टीका अध्यक्ष तथा यस वर्षको राष्ट्रपति पदका विपक्षी उम्मेदवार), ब्रायन बेकर (अमेरिकाको 'पार्टी फर सोसलिज्म एण्ड लिबरेसन' का एक नेता), मानलो डे लोस सान्तोस ('द पिपुल्स फोरम' का निर्देशक), जुलियानो ग्रानाटो (इटालीको 'पोटरे अल पोपोलो' का एक नेता) का साथै म्यानुएल बर्तोल्डी र लाउरा कापोटे (ALBA मुभमेन्ट्सका संयोजकहरू) सहभागी थिए।

हामीले ल्याटिन अमेरिकन स्कूल अफ मेडिसिन, इन्स्टिच्युट अफ न्यूरोलोजी, मार्टिन लुथर किंग सेन्टर र कासा डे लास अमेरिका जस्ता धेरै ठाउँहरूको भ्रमण गर्यौं। हामीले क्युवाको कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र क्युबाका राष्ट्रपति, साथै अनगिन्ती सर्वसाधारण क्युवालीहरूसँग भेटघाट गर्यौं। भेनेजुएलाको सार्वभौमसत्ता रक्षा गर्दा ज्यान गुमाएका ३२ जना क्युवालीहरूलाई श्रद्धाञ्जली अर्पण गर्न हामी हभानाको मुख्य समाधिस्थलमा गयौं र त्यहाँका मानिसहरूको दैनिक जनजीवन बुझ्न हवाना सहरका गल्लीहरूमा घुम्यौं।

एक कुराकानीका क्रममा, एकजना साथीले मलाई सोधे– विगत तीस वर्षमा अनगिन्ती पटक भ्रमण गरेको यो क्युबा यसपालि कस्तो लाग्यो? मैले भनें, "मैले यहाँको अवस्था कठिन पाएँ, तर यहाँका मानिसहरू अदम्य देखिन्छन्।" मेरा साथीको जवाफ स्पष्ट थियो: देशमा यो व्याप्त भावना थियो कि क्युवालीहरू आफ्नो भविष्यको अधिकार रक्षा गर्न र सन् १९५८ (क्रान्ति हुनुभन्दा अघिल्लो वर्ष) को स्थितिमा नफर्कन अन्तिमसम्म लड्नेछन्।

क्रान्तिका प्रारम्भिक वर्षहरूमा, फिडेल क्यास्ट्रोले यो स्पष्ट पारेका थिए कि जनताका तत्कालका आवश्यकता र समस्याहरू समाधान गर्नु नै मुख्य प्राथमिकता हो। यसको अर्थ क्युवाली क्रान्तिले भोक र गरिबी, निरक्षरता र खराब स्वास्थ्यको अन्त्य गर्नुका साथै आवास र सांस्कृतिक क्षेत्रहरू उपलब्ध गराउनमा जोड दिएको थियो। झण्डै सत्तरी वर्ष लामो नाकाबन्दी र अहिलेको नयाँ तेल नाकाबन्दीका कारण जीवनस्तरमा आएको गिरावट देख्दा हृदय विदीर्ण हुन्छ। प्रत्येक क्युवालीले मर्यादित जीवन बिताउन पाउनुपर्छ भन्ने प्राथमिकता अझै कायम छ। क्युबाका राष्ट्रपति मिगुएल डियाज कानेल, जो अत्यन्तै विनम्र व्यक्ति हुन्, उनको सन्देश पनि यही थियो: "हामी प्रतिरोध गर्नेछौं," उनले भने, "तर हामी क्रान्तिले प्राप्त गरेका उपलब्धिहरू र हाम्रा जनताको कल्याणमा दिइएको जोडलाई खेर जान दिने छैनौं।"

'कासा डे लास अमेरिका' मा मेरा मित्र तथा पूर्व संस्कृति मन्त्री एबेल प्रिएतोसँग एउटा हल्लिने कुर्सी (Rocking chair) मा सँगै बस्नु मेरा लागि ऊर्जादायी रह्यो। सधैं झैं, मेरा सहयात्री मार्क्सवादी-लेनिनवादी (!) एबेलले मलाई एकातिर ठूलो स्वरले हँसाएर भने अर्कोतिर उत्तिकै दुखी पनि बनाए। उनका टिप्पणीहरू ट्रम्पको मूल्याङ्कन (जहाँ 'पागलपन' शब्द सबैभन्दा बढी प्रयोग गरिएको थियो) देखि क्युवाली यथार्थको जीवन्ततासम्म फैलिएका थिए (विशेष गरी जनवरी ३ मा भेनेजुएलामा अमेरिकी सेनाद्वारा मारिएका क्युवालीहरूको अवशेषमा श्रद्धाञ्जली दिन मुसलधारे वर्षामा उभिएको त्यो विशाल जनसागर)। उनको ठट्टा र स्पष्टता बीचको सन्तुलन, र यो तीव्र गतिमा बदलिँदो परिस्थितिलाई नियन्त्रण गर्ने उनको साहित्यिक सुझबुझले मलाई सान्त्वना दियो।

मैले एबेलको त्यो विचारलाई स्वीकार गरेँ कि सायद अमेरिका यसको वर्तमान स्वरूपमा एउटा विशाल गल्ती हो । ट्रम्पको अहंकार त केवल त्यो चरम आदर्शवादको प्रतिविम्ब मात्र हो, जसमा अमेरिकी प्रशासनले आफूलाई अरूभन्दा जान्ने-बुझ्ने ठान्दछ। उनीहरूलाई लाग्छ कि प्यालेस्टिनी,  भेनेजुएलाली, इरानी र क्युवालीहरूका लागि के गरिनुपर्छ भन्ने कुरा उनीहरूलाई नै राम्रोसँग थाहा छ। "लोकतन्त्र" को नाममा, यी 'अँध्यारोमा पारिएका राष्ट्र'का मानिसहरूको लोकतान्त्रिक र अस्तित्वको अधिकारलाई सर्वशक्तिमान अमेरिकी राष्ट्रपतिले पूर्ण रूपमा हडपेका छन्। यो एक कुरुप तर यथार्थपरक दृश्य हो–  यस्तो यथार्थ जसले संसारभरका संवेदनशील मानिसहरूलाई एउटा सुन्दर भविष्य कोर्ने उनीहरूको आफ्नै इच्छाबाट टाढा धकेलिदिन्छ। अमेरिका र इजरायलद्वारा इरानमा मारिएकामध्ये एक तिहाइ बालबालिका छन्, र प्यालेस्टाइनका ती बालबालिकाहरू, जसको नामलाई हामी सम्मान गर्छौं, उनीहरू कहिल्यै वयस्क हुन पाउने छैनन्।

**

मेरो अन्तिम दिनमा, मैले एउटा पार्कमा क्युवाली स्कुले केटाकेटीहरूको समूह खेलिरहेको देखें। उनीहरू स्कुलको पोसाकमा सजिएका थिए र उनीहरूको घाँटीमा क्रान्तिकारी स्कार्फ (Scarf) हरू थिए। उनीहरू हाँसो र गफगाफमा रमाइरहेका थिए। सडकको अर्को छेउबाट मैले उनीहरूलाई एउटा खेल खेलिरहेको देखें, जहाँ दुईजना हँसिला शिक्षकहरूले उनीहरूको रेखदेख गरिरहेका थिए। भुइँमा केही कोनहरू राखिएका थिए र ती नानीहरूले त्यसको बीचबाट घुम्दै जानुपर्ने थियो। ती बालबालिकाहरू करिब पाँच वा छ वर्षका होलान् । केटा र केटीहरू खुसीको एउटा छुट्टै संसारमा खेलिरहेका थिए। मैले उनीहरूलाई मनमनै अङ्गालो मारें।

सधैं सुरक्षित रहनु नानीहरू। सधैं। मेरो तर्फबाट हरेक दिन क्युबालाई अङ्गालो मारिदिनू।
Source: Globetroter

 

विजय प्रशाद

विजय प्रशाद एक भारतीय इतिहासकार, सम्पादक तथा पत्रकार हुन्। उनी ग्लोबट्रटर (Globetrotter) मा लेखन फेलो तथा प्रमुख संवाददाता हुन्। उनी लेफ्टवर्ड बुक्स (LeftWord Books) का सम्पादक तथा ट्राइकोन्टिनेन्टल: सामाजिक अनुसन्धान संस्थान (Tricontinental: Institute for Social Research) का निर्देशक पनि हुन्। उनले द डार्कर नेशन्स र द पुअरर नेशन्स सहित २० भन्दा बढी पुस्तक लेखेका छन्। उनका पछिल्ला कृतिहरूमा अन क्युबा: ७० वर्षको क्रान्ति र संघर्षमाथि चिन्तन (नोम चोम्स्कीसँग संयुक्त रूपमा), स्ट्रगल मेक्स अस ह्युमन: समाजवादका आन्दोलनहरूबाट सिकाइ, तथा (फेरि नोम चोम्स्कीसँगै) द विथड्रअल: इराक, लिबिया, अफगानिस्तान र अमेरिकी शक्तिको नाजुकता समावेश छन्। चेल्वा र प्रशादको संयुक्त पुस्तक हाउ द इन्टरनेशनल मोनेटरी फन्ड इज सफोकेटिङ अफ्रिका यसै वर्ष इन्कानी बुक्स (Inkani Books) बाट प्रकाशन हुने छ।