कल्पनाबाट ब्रह्माण्डसम्म: आइन्स्टाइनको विचारले विज्ञानमा गरेको रूपान्तरण
समय र स्थानको विद्रोही: अल्बर्ट आइन्स्टाइन र आधुनिक ब्रह्माण्डबोधको जन्म

कसैले पनि सोचेका थिएनन् विद्यालयका शिक्षकहरूले 'अल्छी' र 'सुस्त दिमाग' भएको ठानेका बालक पछि गएर 'जीनियस' शब्दको पर्यायवाची बन्ला भनेर! अनि कसैले पनि कल्पना समेत गरेका थिएनन्– एउटा सामान्य क्लर्कको जागिर खाने २६ वर्षको युवकले आफ्नो फुर्सदको समयमा, केवल कल्पनाको शक्तिले न्युटन जस्ता महान् वैज्ञानिकले प्रतिपादन गरेका ब्रह्माण्डका ती नियमहरूलाई बदलिदिनेछ भनेर । तर त्यो अकल्पनीय कामलाई सम्पन्न गरिदिए– एक व्यक्तिले । कुनै बेला अल्छी र सुस्त दिमाग भएका ठानिएका तिनै व्यक्ति आज पनि बुद्धिमत्ताको सबैभन्दा ठुलो प्रतीक मानिन्छ। ती व्यक्ति हुन्– अल्बर्ट आइन्स्टाइन।
यो कथा केवल एक वैज्ञानिकको मात्र होइन, बरु यो कथा हो एउटा सपना देख्ने व्यक्तिको, एक विद्रोहीको र यस्तो मानिसको जसको मस्तिष्कमा पलाएका विचारहरूले समय र स्थानका सीमाहरूलाई नै तोडिदिए। यस कथामा हामी केवल E = mc2 को सूत्रलाई मात्र बुझ्ने छैनौँ, बरु हामी ती व्यक्तिको हृदय र मस्तिष्कको गहिराइमा उत्रनेछौँ जसले हामीलाई 'कल्पना ज्ञानभन्दा बढी महत्त्वपूर्ण छ।' भन्ने कुरा सिकाए । यस कथामा हामी कसरी उनले समय सबैका लागि एकनासले चल्दैन भन्ने रहस्य खोले र कसरी गुरुत्वाकर्षणलाई एउटा शक्ति मात्र नभई 'स्पेस-टाइम' को तन्नामा आएको एउटा मोडका रूपमा व्याख्या गरे भन्नेबारेमा पनि जान्नेछौँ । आइन्स्टाइनको यो जीवनकथाले हाम्रो मस्तिष्कलाई तरंगित पार्नेछ र ब्रह्माण्डलाई हेर्ने एउटा नयाँ दृष्टिकोण प्रदान गर्नेछ।
प्रश्न सोध्न कहिल्यै नथाक्ने त्यो बालक
अल्बर्ट आइन्स्टाइनको नाम सुन्दा हाम्रो मानसपटलमा एक अत्यन्त बुद्धिमान् र गम्भीर वैज्ञानिकको छवि आउँछ। तर हरेक महान् कथाजस्तै उनको कथाको सुरुवात पनि निकै साधारण र केही हदसम्म अनौठो थियो। सन् १८७९ मार्च १४ का दिन जर्मनीको उल्म सहरको एउटा यहुदी परिवारमा एक बालकको जन्म भयो, जसको नाम अल्बर्ट राखियो। तर यो बालक अन्य सामान्य बालबालिका जस्तो थिएन। उनले धेरै समयसम्म बोल्न सिकेनन्। भनिन्छ कि उनी करिब चार वर्षको उमेरसम्म राम्ररी बोल्न सक्दैनथे र जब बोल्न सुरु गरे, तब हरेक वाक्य बोल्नुअघि मनमनै दोहोऱ्याउने गर्थे। उनका आमाबुबालाई आफ्नो छोरामा कुनै मानसिक कमी त छैन भन्ने चिन्ता लाग्न थालेको थियो।

उनी उत्तरहरू कण्ठ गर्नुको साटो 'यस्तो किन हुन्छ?' भनेर सोध्न रुचाउँथे। उनको यही प्रश्न सोध्ने बानीले शिक्षकहरू प्रायः हैरान हुन्थे।
विद्यालयमा पनि उनको मन फिटिक्कै पढाइमा लाग्दैनथ्यो। उनलाई विद्यालयको घोकाउने पद्धति र कठोर अनुशासन एउटा जेलजस्तै लाग्थ्यो। उनी उत्तरहरू कण्ठ गर्नुको साटो 'यस्तो किन हुन्छ?' भनेर सोध्न रुचाउँथे। उनको यही प्रश्न सोध्ने बानीले शिक्षकहरू प्रायः हैरान हुन्थे। भनिन्छ, उनका एक शिक्षकले त यहाँसम्म भनेका थिए कि, "आइन्स्टाइन, तिमी जिन्दगीमा केही पनि गर्न सक्ने छैनौ।"
हाम्रो शिक्षा प्रणालीले प्रायः भीडभन्दा फरक सोच्ने, जो प्रश्न गर्ने र जो बनेका पुराना बाटाहरूमा हिँड्न नचाहने बालबालिकालाई कमजोर ठान्छ । आइन्स्टाइन त्यस्तै बालक थिए। उनको मस्तिष्क किताबी ज्ञानका लागि होइन, ब्रह्माण्डका रहस्यहरू सुल्झाउनका लागि बनेको थियो।
उनको जीवनमा कौतुहलताको पहिलो झिल्को तब बल्यो, जब उनी मात्र पाँच वर्षका थिए। उनका पिताले उनलाई एउटा चुम्बकीय दिशासूचक यन्त्र (कम्पास) देखाए। आइन्स्टाइन एउटा अदृश्य शक्तिले त्यो सियोलाई सधैँ उत्तर दिशातिरै घुमाइरहेको देखेर अचम्भित बने । त्यो क्षण उनलाई कुनै रहस्योद्घाटन जस्तै महसुस भयो र यसले उनको मनमा विज्ञानप्रति जीवनभर रहने जिज्ञासा जगाइदियो। उनले यो संसार बाहिरबाट जति सरल देखिन्छ, त्यति छैन; यसको पछाडि केही निश्चित नियमहरूले काम गरिरहेका छन् भन्ने बुझे कि । उनी तिनै नियमहरू जान्न चाहन्थे।
उनलाई प्रभावित पार्ने अर्को विषय थियो– गणित। जब उनका काकाले उनलाई ज्यामितिको एउटा पुस्तक दिए, उनी त्यसैमा मग्न भए। केही सिद्धान्त र तर्कका आधारमा कसरी अकाट्य सत्यसम्म पुग्न सकिन्छ भन्ने कुराले उनलाई आश्चर्यचकित बनायो। गणित उनका लागि एउटा खेल अनि ब्रह्माण्डका रहस्यहरू लेखिएका भाषा बन्यो। विद्यालयका अन्य विषयले दिक्क मान्ने आइन्स्टाइन गणित र भौतिकशास्त्रको संसारमा भने घण्टौँसम्म हराउँथे।
आइन्स्टाइन युवा हुँदै जाँदा उनको विद्रोही स्वभाव झन् प्रगाढ बन्दै गयो। उनलाई जर्मनीको सैन्यवादी र कठोर वातावरण पटक्कै मन परेन। त्यसैले १६ वर्षको उमेरमै उनले जर्मन नागरिकता त्यागेर स्विट्जरल्यान्ड प्रस्थान गरे। त्यहाँ उनले प्रसिद्ध ज्युरिख पोलिटेक्निकमा भर्ना लिए। तर त्यहाँ पनि उनी कुनै 'आदर्श विद्यार्थी' थिएनन्। उनी अक्सर कक्षा छोडेर आफ्ना मनपर्ने पुस्तकहरू पढ्थे वा कल्पनाको संसारमा भौतिकशास्त्रका उल्झनहरू सुल्झाउन व्यस्त रहन्थे। उनका प्राध्यापकहरू उनीसँग खासै खुसी थिएनन्। फलस्वरूप, सन् १९०० मा स्नातक तह पुरा गर्दा उनले कतै पनि शिक्षकको जागिर पाउन सकेनन्। जहाँ प्रयास गरे पनि उनले निराशा मात्र हात पारे। विडम्बना नै भन्नुपर्छ, जुन मानिस संसारलाई सिकाउनका लागि जन्मिएको थियो, उसैलाई कसैले सिकाउने एउटा सानो मौकासम्म दिइरहेका थिएनन्।
अन्ततः, आफ्ना एक साथीका पिताको सहयोगमा उनले बर्न सहरको एउटा 'पेटेन्ट अफिस' मा क्लर्कको सानो जागिर पाए। यो एक अर्थमा उनको प्रतिभाको अपमान जस्तै थियो, तर सायद नियतिलाई यही मन्जुर थियो। किनकि, यही गुमनाम र उराठ लाग्दो लाग्ने जागिरको दौरान इतिहासकै सबैभन्दा विशाल बौद्धिक विस्फोट हुनेवाला थियो।
सन् १९०५– एक क्लर्कको चमत्कारिक वर्ष, जब एकै वर्षमा विज्ञानको स्वरूप बदलियो
बर्नको एउटा पेटेन्ट अफिसमा क्लर्कको जागिर खाइरहेको आइन्स्टाइन बाहिरी संसारका लागि उनी एक साधारण कर्मचारी मात्र थिए, जो हरेक बिहान कार्यालय जान्थे र साँझ घर फर्किन्थे। तर, त्यस कार्यालयको चार पर्खालभित्र उनको दिमागमा एउटा यस्तो आँधी चलिरहेको थियो, जसले भौतिकशास्त्रको सम्पूर्ण जग नै हल्लाइदिनेवाला थियो। त्यो वर्ष थियो सन् १९०५ र आइन्स्टाइनको उमेर मात्र २६ वर्ष थियो। यस एकै वर्षमा, कुनै प्रयोगशाला र कुनै प्राध्यापकको सहयोग बिना, केवल आफ्नो कल्पना र गणितको बलमा उनले चारवटा यस्ता शोधपत्रहरू (Research Papers) लेखे, जसले विज्ञानको दिशा नै परिवर्तन गरिदिए। त्यसैले सन् १९०५ लाई विज्ञानको इतिहासमा 'एनस मिराबुलस' अर्थात् 'चमत्कारिक वर्ष' भनिन्छ।

ती चार क्रान्तिकारी विचारहरू के थिए त?
उनको पहिलो शोधपत्र 'फोटोइलेक्ट्रिक इफेक्ट' (Photoelectric Effect) मा आधारित थियो। यो त्यस समयका वैज्ञानिकहरूले सुल्झाउन नसकिरहेका पहेली थियो। कुनै धातुमा प्रकाश पर्दा त्यहाँबाट इलेक्ट्रोनहरू बाहिर निस्कन्थे, तर यस्तो किन भइरहेको छ भन्ने कुराको कुनै सन्तोषजनक जवाफ फेला परेको थिएन। त्यस बेलासम्म प्रकाशलाई केवल एउटा लहर वा तरंग मानिन्थ्यो, तर आइन्स्टाइनले एक अत्यन्तै साहसिक र क्रान्तिकारी विचार अघि सारे। उनले भने कि प्रकाश केवल एउटा तरंग मात्र होइन, बरु यो ऊर्जाका साना-साना प्याकेट वा बन्डलहरूबाट बनेको हुन्छ, जसलाई उनले 'क्वान्टा' भने । त्यसैलाई आज हामी 'फोटोन' का नामले चिन्छौँ। उनले स्पष्ट पारे कि जब यी फोटोनहरू धातुसँग ठोक्किन्छन्, तब उनीहरूले आफ्नो ऊर्जा इलेक्ट्रोनलाई दिन्छन् र इलेक्ट्रोन बाहिर निस्कन्छ। यो विचार यति धेरै क्रान्तिकारी थियो कि वर्षौँसम्म कसैले यसलाई स्वीकार गरेनन्, तर यही कामका लागि आइन्स्टाइनलाई १६ वर्षपछि सन् १९२१ मा भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरियो। यो 'क्वान्टम मेकानिक्स' को संसारमा चालिएको पहिलो र निकै महत्त्वपूर्ण कदम थियो।
आइन्स्टाइनले एक अत्यन्तै साहसिक र क्रान्तिकारी विचार अघि सारे। उनले भने कि प्रकाश केवल एउटा तरंग मात्र होइन, बरु यो ऊर्जाका साना-साना प्याकेट वा बन्डलहरूबाट बनेको हुन्छ, जसलाई उनले 'क्वान्टा' भने ।
उनको दोस्रो शोधपत्र 'ब्राउनियन मोशन' (Brownian Motion) का बारेमा थियो। यो पनि एक पुरानो पहेली थियो। वैज्ञानिकहरूले सूक्ष्मदर्शक यन्त्र (Microscope) मा पानीभित्र रहेका परागकण जस्ता साना वस्तुहरू आफैँ जथाभावी चलिरहेको देखेका थिए, मानौँ कसैले तिनीहरूलाई धक्का दिइरहेको होस्। यो किन भइरहेको छ भन्ने कुरा कसैलाई थाहा थिएन। आइन्स्टाइनले यसका लागि एक गणितीय व्याख्या प्रस्तुत गरे। उनले भने कि यी कणहरू हल्लिनुको कारण पानीका अदृश्य अणुहरू लगातार तिनीहरूसँग ठोक्किनु हो।
उनको यस शोधपत्रले मुख्यतया दुई कुरा प्रमाणित गऱ्यो– पहिलो, यसले अणु र परमाणु (Atoms) को अस्तित्वको ठोस र अकाट्य प्रमाण दियो, जसलाई त्यस समयका केही वैज्ञानिकहरूले मान्न तयार थिएनन्। र दोस्रो, यसले देखायो कि कसरी विशाल वस्तुहरूको व्यवहारलाई साना वस्तुहरूको साङ्ख्यिक व्यवहारबाट बुझ्न सकिन्छ।
'स्पेसल थ्योरी अफ रिलेटिभिटी' शोधपत्रमा आइन्स्टाइनले न्युटनद्वारा प्रतिपादित 'स्पेस' (अन्तरिक्ष) र 'टाइम' (समय) का शताब्दीयौँ पुराना धारणाहरूलाई नै चुनौती दिए। उनले भने कि स्पेस र टाइम निरपेक्ष छैनन्, अर्थात् तिनीहरू सबैका लागि एकैनासका हुँदैनन्।
उनको तेस्रो शोधपत्रले त आइन्स्टाइनलाई सधैँका लागि अमर नै बनाइदियो। यो थियो उनको 'स्पेसल थ्योरी अफ रिलेटिभिटी' (Special Theory of Relativity) अर्थात् 'सापेक्षताको विशेष सिद्धान्त'। यस शोधपत्रमा उनले न्युटनद्वारा प्रतिपादित 'स्पेस' (अन्तरिक्ष) र 'टाइम' (समय) का शताब्दीयौँ पुराना धारणाहरूलाई नै चुनौती दिए। उनले भने कि स्पेस र टाइम निरपेक्ष छैनन्, अर्थात् तिनीहरू सबैका लागि एकैनासका हुँदैनन्। तिनीहरू सापेक्ष हुन्छन्, जसको अर्थ हुन्छ– तिनीहरू हेर्ने व्यक्तिको गतिमा निर्भर गर्दछन्।
उनले दुईवटा अत्यन्त सरल तर गहिरा सिद्धान्तहरूमा टेकेर आफ्नो सम्पूर्ण विचारको महल खडा गरे। पहिलो– भौतिकशास्त्रका नियमहरू हरेक व्यक्तिका लागि एकैनासका हुन्छन्, जो एउटा समान गतिमा हिँडिरहेको हुन्छ। दोस्रो– ब्रहमाण्डमा प्रकाशको गति अन्तिम र स्थिर सत्य हो। यो गति हेर्ने व्यक्तिका लागि सधैँ एकैनासको रहन्छ, चाहे उनी आफैँ किन कति पनि तीव्र गतिमा नहिँडिरहेका हुन्।
त्यसपछि आयो उनको चौथो शोधपत्र, जुन वास्तवमा तेस्रो पत्रकै एउटा सानो परिणाम जस्तो थियो। यसै पत्रमा उनले विश्वकै सबैभन्दा प्रसिद्ध समीकरण दिए: E = mc2। यो छोटो समीकरण देख्नमा जति सरल छ, यसको अर्थ त्यति नै गहिरो र विनाशकारी पनि छ। यसले के बतायो भने ऊर्जा (E) र द्रव्यमान वा पिण्ड (m) दुई अलग-अलग कुरा होइनन्, बरु ती एउटै वस्तुका दुई भिन्न रूप हुन् र तिनलाई एक-अर्कामा बदल्न सकिन्छ। अनि किनकि c (प्रकाशको गति) को वर्ग एक विशाल सङ्ख्या हो, यसको अर्थ थियो– थोरै मात्र पिण्डलाई पनि विशाल मात्राको ऊर्जामा रूपान्तरण गर्न सकिन्छ। यही एउटा समीकरणले अगाडि बढेर परमाणु ऊर्जा र परमाणु बम दुवैको मार्ग प्रशस्त गरिदियो।
आइन्स्टाइनले प्रकाशको प्रकृतिलाई बदलिदिए, परमाणुको अस्तित्व प्रमाणित गरिदिए, 'स्पेस' र 'टाइम' बारे हाम्रो बुझाइलाई नै नयाँ मोड दिए र ऊर्जा एवं पदार्थबीचको सम्बन्धलाई उजागर गरिदिए। यो मानव बौद्धिक इतिहासकै सायद सबैभन्दा ठुलो चमत्कार थियो।
आइन्स्टटाइनले प्रकाशको प्रकृतिलाई बदलिदिए, परमाणुको अस्तित्व प्रमाणित गरिदिए, 'स्पेस' र 'टाइम' बारे हाम्रो बुझाइलाई नै नयाँ मोड दिए र ऊर्जा एवं पदार्थबीचको सम्बन्धलाई उजागर गरिदिए। यो मानव बौद्धिक इतिहासकै सायद सबैभन्दा ठुलो चमत्कार थियो। आइन्स्टाइनले संसारलाई देखाइदिए कि महान् आविष्कारहरू विशाल प्रयोगशालामा होइन, बरु एक मानिसको स्वतन्त्र र जिज्ञासु मस्तिष्कमा जन्मन्छन्। तर यो त सुरुवात मात्र थियो। उनको 'स्पेसल थ्योरी अफ रिलेटिभिटी' आफैँमा निक्कै क्रान्तिकारी थियो ।
समयको मायाजाल– जब आइन्स्टाइनले भने, "तपाईँको घडी मेरोभन्दा ढिलो चल्न सक्छ"
आइन्स्टाइनको 'स्पेसल थ्योरी अफ रिलेटिभिटी' सिद्धान्त बुझ्नका लागि हामीले पहिले आइन्स्टाइनभन्दा अघि संसारले समय र स्थानलाई कसरी हेर्थ्यो भन्ने यो जान्नुपर्छ । त्यस बेलाको सोचमा केवल एक व्यक्तिको राज थियो– सर आइज्याक न्युटन। न्युटनको मान्यता थियो कि समय एउटा नदीजस्तै हो, जो सम्पूर्ण ब्रह्माण्डमा एउटै गति र एउटै दिशामा बहन्छ। चाहे तपाईँ पृथ्वीमा हुनुहोस् वा अर्कै कुनै ग्रहमा, चाहे तपाईँ स्थिर हुनुहोस् वा गतिशील, तपाईँका लागि एक सेकेन्डको अर्थ जे हुन्छ, मेरा लागि पनि त्यही हुन्छ। समय निरपेक्ष वा 'एब्सोल्युट' थियो। त्यसैगरी स्थान पनि एउटा स्थिर र नबदलिने मञ्च थियो, जसमा ब्रह्माण्डका सबै नाटकहरू मञ्चन भइरहेका थिए।
तर आइन्स्टाइनले त्यसलाई खण्डन गर्दै भनिदिए– "होइन, त्यस्तो हुँदैन।" उनले समय र स्थान निरपेक्ष नभई सापेक्ष वा 'रिलेटिभ' हुने र ती एक-अर्कासँग एउटा अदृश्य धागोले जोडिएको कुरा बताए, जसलाई उनले 'स्पेस-टाइम' नाम दिए। आइन्स्टाइनको यो सम्पूर्ण सिद्धान्त दुईवटा सरल लाग्ने विचारमा आधारित थियो। पहिलो विचार– भौतिकशास्त्रका नियमहरू सिधा रेखामा समान गतिले हिँडिरहेको हरेक व्यक्तिका लागि एकैनासका हुन्छन्। यो त निकै सरल सुनिन्छ। यसको अर्थ हो, यदि तपाईँ एउटा नहल्लिई समान गतिमा गुडिरहेको रेलभित्र हुनुहुन्छ र एउटा बल उफार्नुहुन्छ भने, त्यो त्यसरी नै तल-माथि गर्छ जसरी जमिनमा उभिँदा गर्थ्यो। तपाईँ यो पत्ता लगाउनै सक्नुहुन्न कि तपाईँ गुडिरहनुभएको छ कि स्थिर हुनुहुन्छ।
तर उनको दोस्रो विचार भने वास्तविक क्रान्तिकारी थियो। उनले भने कि शून्यता (Vacuum) मा प्रकाशको गति सबैका लागि सधैँ एकैनासको रहन्छ। चाहे त्यो हेर्ने व्यक्ति आफैँ कति तीव्र गतिमा गुडिरहेको होस् वा प्रकाशको स्रोत नै किन नदौडियोस्। अब यो कुरा हाम्रो दैनिक अनुभव र बुझाइभन्दा ठिक उल्टो छ। कल्पना गर्नुहोस्, तपाईँ १०० किमि प्रतिघण्टाको रफ्तारमा गुडिरहेको रेलमा बस्नुभएको छ। यदि तपाईँले त्यही दिशामा २० किमि प्रतिघण्टाको रफ्तारले एउटा बल फ्याँक्नुभयो भने, जमिनमा उभिएको व्यक्तिका लागि त्यो बलको गति १०० + २० = १२० किमि प्रतिघण्टा हुनेछ। यो त सामान्य गणित भयो। तर आइन्स्टाइनले भने कि यदि तपाईँले बलको साटो एउटा टर्च बाल्नुभयो भने, त्यो टर्चबाट निस्कने प्रकाशको गति तपाईँका लागि जति हुन्छ, जमिनमा उभिनेका लागि पनि त्यति नै हुन्छ र विपरीत दिशाबाट आधा प्रकाशको गतिमा आइरहेको रकेटमा बस्ने व्यक्तिका लागि पनि त्यति नै हुन्छ।
यही पागलपन जस्तो लाग्ने कुराबाट जुन परिणामहरू निस्किए, त्यसले पूरै संसारलाई नै हल्लाइदियो।
यो कसरी सम्भव छ? यो त सुन्दैमा पागलपन जस्तो लाग्छ। तर, यही पागलपन जस्तो लाग्ने कुराबाट जुन परिणामहरू निस्किए, त्यसले पूरै संसारलाई नै हल्लाइदियो। यदि प्रकाशको गति हरेक व्यक्तिका लागि समान रहनुपर्छ भने, यसको अर्थ हुन्छ कि ब्रह्माण्डका अन्य केही आधारभूत कुराहरू अनिवार्य रूपमा बदलिएकै हुनुपर्छ– र ती कुराहरू थिए 'समय' र 'स्थान'। यहीँबाट 'टाइम डाइलेसन' (Time Dilation) अर्थात् समयको फैलावटको अवधारणा जन्मियो। आइन्स्टाइनले प्रमाणित गरे कि जो व्यक्ति जति तीव्र गतिमा हिँड्छ, उसका लागि समय त्यति नै ढिलो बित्छ। स्थिर बसेको व्यक्तिको तुलनामा गतिशील व्यक्तिको घडी सुस्त हुन्छ। हो, तपाईँले ठिक सुन्नुभयो– यदि तपाईँ कुनै अत्यन्तै तीव्र गतिको अन्तरिक्ष यानमा चढेर ब्रह्माण्डको सयर गर्न निस्कनुभयो र केही वर्षपछि फर्कनुभयो भने, तपाईँले पाउनुहुनेछ कि पृथ्वीमा तपाईँको अनुपस्थितिमा धेरै दशकहरू बितिसकेका छन्। तपाईँका साथीभाइ र परिवार तपाईँभन्दा धेरै वृद्ध भइसकेका हुनेछन्। तपाईँ वास्तवमै भविष्यमा पुग्नुभएको हुनेछ। यो कुनै विज्ञान कथा (Science Fiction) होइन, बरु एउटा प्रमाणित वैज्ञानिक तथ्य हो। आज हाम्रा जीपीएस (GPS) उपग्रहहरूले पनि समयको यही फैलावटको प्रभावलाई ध्यानमा राखेर काम गर्नुपर्छ, अन्यथा तिनीहरूले गलत स्थान बताउन थाल्नेछन्।
यसैगरी 'लेन्थ कन्ट्र्याक्सन' (Length Contraction) अर्थात् लम्बाइ खुम्चिने विचार पनि अगाडि आयो। यस अनुसार, कुनै वस्तु जति तीव्र गतिमा दौडिन्छ, स्थिर बसेको व्यक्तिको तुलनामा त्यो वस्तु आफ्नो गतिको दिशामा त्यति नै छोटो वा खुम्चिएको देखिन्छ। यदि एउटा तीव्र गतिको कार तपाईँको अगाडिबाट गुज्रियो भने, त्यो तपाईँलाई आफ्नो सामान्य लम्बाइभन्दा केही छोटो देखिनेछ। यद्यपि, यी सबै प्रभावहरू हामीले आफ्नो दैनिक जीवनमा महसुस गर्न सक्दैनौँ, किनकि हामी प्रकाशको गतिको तुलनामा अत्यन्तै सुस्त गतिमा हिँड्छौँ। यी प्रभावहरू तब मात्र स्पष्ट देखिन्छन्, जब तपाईँ प्रकाशको गतिको नजिक पुग्नुहुन्छ। सापेक्षताको विशेष सिद्धान्तले हामीलाई सिकायो कि हाम्रो सीमित अनुभव नै अन्तिम सत्य होइन र संसार हामीले देखे जस्तो मात्र छैन। यसले हामीलाई एउटा गहिरो दार्शनिक पाठ दियो– सत्य सधैँ सापेक्ष हुन्छ र यो हेर्ने व्यक्तिको दृष्टिकोणमा निर्भर गर्दछ। यसले हाम्रो त्यो अहंकारलाई पनि तोडिदियो कि हामी कुनै स्थिर र निरपेक्ष ब्रह्माण्डको केन्द्रमा छौँ। बरु यसले देखायो कि हामी सबै 'स्पेस-टाइम' को यस महासागरमा तैरिरहेका साना-साना डुङ्गाहरू हौँ र हरेक डुङ्गाको आफ्नै समय र आफ्नै स्थान छ।
तर आइन्स्टाइनको कथा यतिमै सकिएको थिएन। सापेक्षताको यही विशेष सिद्धान्तको गर्भबाट उनको त्यो सबैभन्दा प्रसिद्ध समीकरण जन्मनेवाला थियो, जसले ऊर्जा र पदार्थको सम्बन्धलाई सधैँका लागि परिभाषित गरिदिनेछ। त्यो समीकरण के थियो त ?
संसार बनाउने र मेटाउने शक्ति दिने समीकरण E = mc2
आइन्स्टाइनको सापेक्षताको विशेष सिद्धान्तले हामीलाई समय र स्थानका बारेमा नयाँ दृष्टिकोण त दियो नै, तर यही सिद्धान्तभित्र अर्को एउटा अत्यन्तै महत्त्वपूर्ण रहस्य लुकेको थियो। सन् १९०५ को त्यही चमत्कारिक वर्षमा सापेक्षताको मुख्य शोधपत्र लेखेको केही महिनापछि आइन्स्टाइनले मात्र तीन पानाको एउटा सानो शोधपत्र लेखे। ती तीन पानामा उनले संसारलाई त्यो समीकरण दिए, जुन सायद विज्ञानको इतिहासकै सबैभन्दा प्रसिद्ध र शक्तिशाली समीकरण हो–E = mc2। यो केवल एउटा सूत्र मात्र होइन, बरु एउटा यस्तो मन्त्र हो जसले ब्रह्माण्डको एउटा प्रमुख रहस्यबाट पर्दा हटायो र साथै मानव जातिको हातमा यो संसारलाई बनाउने र मेटाउने दुवै साँचो थमाइदियो।
यहाँ E को अर्थ हो 'इनर्जी' अर्थात् ऊर्जा, m को अर्थ हो 'मास' अर्थात् द्रव्यमान वा पिण्ड, र c को अर्थ हो प्रकाशको गति– जुन आफैँमा एक अत्यन्तै विशाल सङ्ख्या हो। यो समीकरणले भन्छ– ऊर्जा, पिण्ड र प्रकाशको गतिको वर्गको गुणनफल बराबर हुन्छ। सरल शब्दमा भन्दा, यो समीकरणले द्रव्यमान र ऊर्जा दुई फरक कुरा होइनन् भन्ने कुरा स्पष्ट पार्छ। ती त एउटै सिक्काका दुई पाटा हुन्। हरेक वस्तु जसमा पिण्ड छ– चाहे त्यो यो कलम होस्, यो कुर्सी होस्, वा तपाईँ र म नै किन नहोऔं– हामीभित्र ऊर्जाको एउटा विशाल भण्डार लुकेको छ। यसको अर्थ ऊर्जालाई पिण्डमा र पिण्डलाई ऊर्जामा बदल्न सकिन्छ। यो विचार आफैँमा एक विशाल क्रान्ति थियो।
न्युटनको समयदेखि नै वैज्ञानिकहरू के मान्थे भने द्रव्यमान (पिण्ड) र ऊर्जा दुई पूर्णतः भिन्न र संरक्षित कुराहरू हुन्। अर्थात्, तपाईँ न त पिण्ड सिर्जना गर्न वा नष्ट गर्न सक्नुहुन्छ, न त ऊर्जा नै। तर आइन्स्टाइनले आएर यस स्थापित मान्यतालाई चुनौती दिँदै भनिदिए कि तपाईँ पिण्डलाई ऊर्जामा बदल्न सक्नुहुन्छ, र जब तपाईँ त्यसो गर्नुहुन्छ, तब त्यसबाट निस्कने ऊर्जाको मात्रा अकल्पनीय हुन्छ। किनकि समीकरणमा c2 छ, जहाँ c अर्थात् प्रकाशको गति करिब ३ लाख किलोमिटर प्रतिसेकेन्ड हुन्छ, त्यसको वर्ग एउटा खगोलीय रूपमा विशाल सङ्ख्या बन्न पुग्छ। यसको अर्थ यो हो कि यदि तपाईँले एउटा सानो केराउको गेडा जति पिण्डलाई पनि पूर्ण रूपमा ऊर्जामा बदल्न सक्नुभयो भने, त्यसबाट यति धेरै ऊर्जा निस्कनेछ जसले एउटा पूरा सहरलाई उज्यालो पार्न सक्छ वा क्षणभरमै खरानी बनाइदिन सक्छ।
यही सिद्धान्तमा परमाणु बमले पनि काम गर्छ। हिरोसिमामा खसालिएको बममा मात्र केही ग्राम पिण्ड ऊर्जामा बदलिएको थियो, जसले एउटा जीवन्त सहरलाई चिहानमा परिणत गरिदियो। आइन्स्टाइन आफैँले कहिल्यै प्रत्यक्ष रूपमा परमाणु बम बनाउने कार्यमा भाग लिएनन् र भनिन्छ– आफ्नो यस खोजको यस्तो विनाशकारी प्रयोग देखेर उनी जीवनभर दुखी रहे।
यही त्यो आधारभूत सिद्धान्त हो जसमा हाम्रा सबै परमाणु ऊर्जा केन्द्रहरू (Nuclear Power Plants) आधारित छन्। त्यहाँ युरेनियम जस्ता भारी तत्वका परमाणुहरूलाई विखण्डन गरिन्छ र त्यस प्रक्रियामा केही पिण्ड ऊर्जामा परिणत हुन्छ, जसबाट हामी बिजुली निकाल्छौँ। तर दुखद पक्ष के छ भने, यही सिद्धान्तमा परमाणु बमले पनि काम गर्छ। हिरोसिमामा खसालिएको बममा मात्र केही ग्राम पिण्ड ऊर्जामा बदलिएको थियो, जसले एउटा जीवन्त सहरलाई चिहानमा परिणत गरिदियो। आइन्स्टाइन आफैँले कहिल्यै प्रत्यक्ष रूपमा परमाणु बम बनाउने कार्यमा भाग लिएनन् र भनिन्छ– आफ्नो यस खोजको यस्तो विनाशकारी प्रयोग देखेर उनी जीवनभर दुखी रहे।
द्रव्यमान-ऊर्जा समानताको यो सिद्धान्तले हामीलाई सूर्यको प्रकाश पछाडिको रहस्य पनि बुझाउँछ। सूर्यले हामीलाई यति धेरै ताप र प्रकाश कसरी दिन सक्छ? यसको कारण यो हो कि सूर्यको केन्द्रमा हरेक सेकेन्ड लाखौँ टन हाइड्रोजन हिलियममा बदलिरहेको छ। यस प्रक्रियामा जुन पिण्ड घट्छ, त्यही घटेको अंश ऊर्जामा परिणत हुन्छ र हामीसम्म ताप र प्रकाशका रूपमा आइपुग्छ। एक अर्थमा भन्नुपर्दा, हामी सबै आइन्स्टाइनको यही समीकरणका कारण जीवित छौँ।
तर आइन्स्टाइन यतिमै रोकिएनन्। सापेक्षताको विशेष सिद्धान्त केवल समान गतिमा चल्ने वस्तुहरूमा मात्र लागू हुन्थ्यो, जबकि वास्तविक संसारमा वस्तुहरूले आफ्नो गति परिवर्तन गर्छन्, तिनीहरूमा प्रवेग (Acceleration) हुन्छ। त्यहाँ एउटा यस्तो विशाल शक्ति थियो जसलाई विशेष सापेक्षताले बुझाउन सकिरहेको थिएन– त्यो शक्ति थियो गुरुत्वाकर्षण। अब आइन्स्टाइन आफ्नो जीवनको सबैभन्दा मुख्य र कठिन लक्ष्यमा निस्कनेवाला थिए– न्युटनको गुरुत्वाकर्षण सिद्धान्तलाई चुनौती दिन। त्यो अभियान के थियो र त्यसले कसरी 'स्पेस-टाइम' को हाम्रो बुझाइलाई नै मोडिदियो ?
जब आइन्स्टाइनले भने, "न्युटन गलत थिए"
साथीहरू, सन् १९०५ को त्यो चमत्कारिक वर्षपछि अल्बर्ट आइन्स्टाइन अब कुनै गुमनाम क्लर्क रहेनन्। विज्ञानको जगतमा उनको एउटा छुट्टै पहिचान बनिसकेको थियो र उनलाई विश्वविद्यालयहरूबाट प्राध्यापकका लागि प्रस्तावहरू आउन थालेका थिए। तर आइन्स्टाइन आफ्नो सफलतामा मख्ख परेर बस्ने व्यक्ति थिएनन्। उनको दिमागमा एउटा गम्भीर पहेली घुमिरहेको थियो, जुन उनको सापेक्षताको विशेष सिद्धान्तको एउटा अपूर्ण कडी जस्तो थियो– गुरुत्वाकर्षण।
न्युटनले यो बताउन सकेका थिएनन् कि यो बल वास्तवमा के हो र यसले कसरी काम गर्छ? कसरी अर्बौँ किलोमिटर टाढा रहेको सूर्यले पृथ्वीलाई आफूतिर तान्न आदेश दिन्छ, त्यो पनि तुरुन्तै?
सापेक्षताको विशेष सिद्धान्तले स्पेस र टाइम सापेक्ष छन् भन्ने त बतायो, तर त्यो केवल समान गतिमा हिँड्ने वस्तुहरूका लागि मात्र सीमित थियो। यसले प्रवेग र गुरुत्वाकर्षणलाई व्याख्या गर्न सकिरहेको थिएन। त्यस समय गुरुत्वाकर्षणको क्षेत्रमा सर आइज्याक न्युटनकै वर्चस्व थियो। न्युटनले करिब २५० वर्षअघि बताएका थिए कि गुरुत्वाकर्षण एउटा रहस्यमय बल (Force) हो जसले ब्रह्माण्डका कुनै पनि दुई वस्तुलाई एक-अर्कातिर तान्छ। जुन वस्तुको पिण्ड जति धेरै हुन्छ, त्यसको आकर्षण त्यति नै बढी हुन्छ। न्युटनको यो सिद्धान्त निकै सफल थियो; यसले स्याउ किन भुइँमा झर्छ र चन्द्रमाले किन पृथ्वीको चक्कर लगाउँछ भन्ने कुराको स्पष्ट जवाफ दिन्थ्यो। तर यसमा केही समस्याहरू थिए। न्युटनले यो बताउन सकेका थिएनन् कि यो बल वास्तवमा के हो र यसले कसरी काम गर्छ? कसरी अर्बौँ किलोमिटर टाढा रहेको सूर्यले पृथ्वीलाई आफूतिर तान्न आदेश दिन्छ, त्यो पनि तुरुन्तै?
न्युटनले भनेको यो 'एक्सन एट ए डिस्टेन्स' (टाढैबाट हुने प्रभाव) को कुरा आइन्स्टाइनलाई निकै खट्किइरहेको थियो। उनलाई लाग्थ्यो कि प्रकृतिले यसरी काम गर्दैन। सन् १९०७ मा, जब उनी अझै पेटेन्ट अफिसमै कार्यरत थिए, उनको दिमागमा एउटा यस्तो विचार आयो जसलाई उनले आफ्नो जीवनकै 'सबैभन्दा सुखद विचार' भनेका छन्। उनी आफ्नो कुर्सीमै बसिरहेका बेला सोच्दै थिए– यदि कुनै मानिस घरको छतबाट तल खसिरहेको छ भने, उसलाई आफ्नो तौल महसुस हुनेछैन। त्यो खसाइको अवस्थामा उसले आफूलाई भारविहीन अनुभव गर्नेछ। ठिक यही अनुभूति एउटा अन्तरिक्ष यात्रीलाई पनि हुन्छ, जो गुरुत्वाकर्षणभन्दा टाढा अन्तरिक्षमा तैरिरहेको हुन्छ।
यहीँबाट आइन्स्टाइनलाई एउटा क्रान्तिकारी जुक्ति फुऱ्यो– गुरुत्वाकर्षण र प्रवेग (Acceleration) वास्तवमा एउटै कुरा हुन् वा एउटै सिक्काका दुई पाटा हुन्। यसलाई 'तुल्यताको सिद्धान्त' (Principle of Equivalence) भनिन्छ। यस एउटै विचारले आइन्स्टाइनलाई गुरुत्वाकर्षणलाई एउटा 'बल' का रूपमा हेर्नबाट रोकिदियो। त्यसपछिका आठ वर्ष, जुन उनको जीवनकै सबैभन्दा कठिन र गहन समय थियो, उनले यही एउटा विचारलाई पूर्ण गणितीय सिद्धान्तमा ढाल्न खर्चिए। अन्ततः सन् १९१५ मा उनले संसारसामु आफ्नो त्यो महान् कृति प्रस्तुत गरे, जसलाई 'जेनेरल थ्योरी अफ रिलेटिभिटी' (सापेक्षताको सामान्य सिद्धान्त) भनिन्छ। यो केवल एक वैज्ञानिक सिद्धान्त मात्र होइन, बरु यो मानव कल्पनाको सबैभन्दा उच्च उडानहरूमध्ये एक हो। यसले गुरुत्वाकर्षण सम्बन्धी हाम्रो सम्पूर्ण बुझाइलाई नै कायापलट गरिदियो।

आइन्स्टाइनका अनुसार ब्रह्माण्डमा ठिक यही प्रक्रिया दोहोरिन्छ। सूर्य र पृथ्वी जस्ता भारी पिण्डहरूले आफ्नो द्रव्यमानले गर्दा आफ्नो वरिपरिको स्पेस-टाइमको तन्नालाई झुकाइदिन्छन् वा बङ्ग्याइदिन्छन्। पृथ्वी जस्ता ग्रहहरूले सूर्यको चक्कर यसकारण लगाउँदैनन् कि सूर्यले उनीहरूलाई तानिरहेको छ, बरु यसकारण लगाउँछन् किनकि उनीहरू सूर्यद्वारा झुकाइएको त्यो बक्र स्पेस-टाइममा एउटा सिधा रेखामा हिँड्ने प्रयास गरिरहेका छन्।
आइन्स्टाइनले घोषणा गरे– गुरुत्वाकर्षण कुनै बल होइन। त्यसोभए यो के हो त? उनले भने कि गुरुत्वाकर्षण त 'स्पेस-टाइम' को बुई बुनोटमा पैदा हुने एउटा झुकाव वा बक्रता (Curvature) हो। यो सुन्दा निकै अनौठो लाग्न सक्छ, त्यसैले यसलाई एउटा प्रसिद्ध उदाहरणबाट बुझौँ। कल्पना गर्नुहोस्, तपाईँले एउटा विशाल 'ट्र्याम्पोलिन' (उफ्रिने जाली) लाई चारैतिरबाट कसिएर बाँध्नुभएको छ। यो ट्र्याम्पोलिन नै हाम्रो 'स्पेस-टाइम' हो। अब तपाईँले त्यसको बीचमा एउटा भारी 'बोलिङ बल' राखिदिनुभयो भने के हुन्छ? त्यो बलले आफ्नो तौलका कारण ट्र्याम्पोलिनको सतहलाई तलतिर झुकाइदिन्छ र एउटा खाल्डो बनाउँछ। अब यदि तपाईँले एउटा सानो गुच्चा त्यस ट्र्याम्पोलिनमा गुडाउनुभयो भने, त्यो सिधा रेखामा जाँदैन, बरु त्यो बोलिङ बलले बनाएको खाल्डोको वरिपरि झुकाव पछ्याउँदै घुम्न थाल्छ। हेर्दा यस्तो लाग्छ कि बोलिङ बलले त्यो गुच्चालाई आफूतिर तानिरहेको छ। तर वास्तवमा त्यहाँ कुनै अदृश्य खिचाव छैन; गुच्चा त केवल स्पेस-टाइमको त्यो झुकेको बाटोमा हिँडिरहेको मात्र हो।
आइन्स्टाइनका अनुसार ब्रह्माण्डमा ठिक यही प्रक्रिया दोहोरिन्छ। सूर्य र पृथ्वी जस्ता भारी पिण्डहरूले आफ्नो द्रव्यमानले गर्दा आफ्नो वरिपरिको स्पेस-टाइमको तन्नालाई झुकाइदिन्छन् वा बङ्ग्याइदिन्छन्। पृथ्वी जस्ता ग्रहहरूले सूर्यको चक्कर यसकारण लगाउँदैनन् कि सूर्यले उनीहरूलाई तानिरहेको छ, बरु यसकारण लगाउँछन् किनकि उनीहरू सूर्यद्वारा झुकाइएको त्यो बक्र स्पेस-टाइममा एउटा सिधा रेखामा हिँड्ने प्रयास गरिरहेका छन्। गुरुत्वाकर्षण भनेको केवल यसै झुकेको स्पेस-टाइमको ज्यामिति हो। यो यति सुन्दर, मौलिक र क्रान्तिकारी विचार थियो कि यसले न्युटनको २५० वर्ष पुरानो साम्राज्यलाई एकै झट्कामा ढालिदियो।
यो सिद्धान्त केवल एउटा सुन्दर विचार मात्र थिएन, यसले केही यस्ता भविष्यवाणीहरू पनि गरेको थियो जसलाई परीक्षण गर्न सकिन्थ्यो। यसले भन्यो कि ग्रहहरू मात्र होइन, प्रकाश पनि गुरुत्वाकर्षणका कारण बाङ्गिन्छ। अर्थात्, यदि कुनै विशाल ताराको नजिकबाट प्रकाश गुज्रियो भने, त्यस ताराको गुरुत्वाकर्षणले गर्दा प्रकाशले आफ्नो बाटो बदल्नेछ। त्यस समयका लागि यो एउटा अविश्वसनीय दाबी थियो। के प्रकाश पनि मोडिन सक्छ? के आइन्स्टाइनको यो पागलपन जस्तो लाग्ने विचार सत्य साबित होला? पूरै संसारको नजर अब एउटा आउन लागेको सूर्यग्रहणमा टिकेको थियो, जसले न्युटन सही थिए कि इतिहासमा एउटा नयाँ बादशाहको आगमन भइसकेको छ भन्ने फैसला गर्नेवाला थियो।
एउटा सूर्यग्रहण, जसले इतिहास रच्यो !
आइन्स्टाइनले आफ्नो सापेक्षताको सामान्य सिद्धान्त संसारसामु त राखेका थिए, तर सन् १९१५ को त्यो समय निकै उथलपुथलपूर्ण थियो। पहिलो विश्वयुद्ध चलिरहेको थियो र पूरै संसार घृणा र हिंसाको आगोमा जलिरहेको थियो। यस्तो माहोलमा एक जर्मन यहुदी वैज्ञानिकका यी क्रान्तिकारी विचारहरूमा कसले ध्यान दिने? धेरैजसो वैज्ञानिकहरू कि त युद्धमा व्यस्त थिए वा आइन्स्टाइनको यो जटिल गणितलाई बुझ्न सकिरहेका थिएनन्। उनको सिद्धान्त कयौँ वर्षसम्म केही सीमित भौतिकशास्त्रीहरूबीच मात्र चर्चाको विषय बनिरह्यो। त्यो एउटा यस्तो अनमोल हीरा जस्तै थियो जो हिलोमा दबिएको थियो र जसलाई चिन्ने कोही थिएन। तर, त्यही हिलोमा दबिएको त्यो हीरालाई चिन्ने आँखा एउटा ब्रिटिस खगोलशास्त्री सर आर्थर एडिङ्टनको थियो।
एडिङ्टन त्यस समयका अत्यन्तै प्रख्यात र सम्मानित वैज्ञानिक थिए। सबैभन्दा मुख्य कुरा त, उनी आइन्स्टाइनको 'जनरल रिलेटिभिटी' को जटिल गणितलाई बुझ्न सक्ने विश्वका औँलामा गन्न सकिने व्यक्तिहरूमध्ये एक थिए। उनी आइन्स्टाइनको कामबाट निकै प्रभावित भए, तर उनी यो पनि जान्दथे कि कुनै पनि वैज्ञानिक सिद्धान्तलाई प्रयोगद्वारा पुष्टि नगरेसम्म पूर्ण रूपमा स्वीकार गर्न सकिँदैन। आइन्स्टाइनको सिद्धान्तले एउटा यस्तो भविष्यवाणी गरेको थियो जसलाई परीक्षण गर्न सम्भव थियो– त्यो थियो, गुरुत्वाकर्षणले प्रकाशलाई पनि मोडिदिन सक्छ भन्ने दाबी। आइन्स्टाइनले गणितीय गणना मार्फत बताएका थिए कि यदि कुनै टाढाको ताराबाट आउँदै गरेको प्रकाश सूर्यको एकदमै नजिक भएर गुज्रिन्छ भने, सूर्यको शक्तिशाली गुरुत्वाकर्षणले त्यस प्रकाशको किरणलाई केही हदसम्म बङ्ग्याइदिनेछ। यसकारण, हामीलाई त्यो तारा आफ्नो वास्तविक स्थानभन्दा केही हटेको ठाउँमा देखिनेछ।
उनको सिद्धान्त कयौँ वर्षसम्म केही सीमित भौतिकशास्त्रीहरूबीच मात्र चर्चाको विषय बनिरह्यो। त्यो एउटा यस्तो अनमोल हीरा जस्तै थियो जो हिलोमा दबिएको थियो र जसलाई चिन्ने कोही थिएन। तर, त्यही हिलोमा दबिएको त्यो हीरालाई चिन्ने आँखा एउटा ब्रिटिस खगोलशास्त्री सर आर्थर एडिङ्टनको थियो।
तर समस्या के थियो भने, दिउँसोको समयमा सूर्यको प्रखर प्रकाशका कारण हामी त्यसको आसपासका ताराहरू देख्न सक्दैनौँ। तिनलाई देख्ने एउटै मात्र उपाय थियो– पूर्ण सूर्यग्रहण। जब चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढक्छ, तब केही मिनेटका लागि दिउँसै अँध्यारो हुन्छ र आकाशमा सूर्यका वरपरका ताराहरू स्पष्ट देखिन थाल्छन्। एडिङ्टन र अन्य वैज्ञानिकहरूले हिसाब निकाले कि सन् १९१९ मे २९ का दिन एउटा यस्तै पूर्ण सूर्यग्रहण लाग्दैछ, जुन दक्षिण आन्ध्र महासागरका केही हिस्साहरूबाट प्रष्ट देखिनेछ। अब एडिङ्टनको सामु एउटा महान् लक्ष्य थियो– उनले संसारलाई यो देखाउनु थियो कि विज्ञान युद्ध र राष्ट्रिय सीमाहरूभन्दा धेरै माथि छ। एक ब्रिटिस वैज्ञानिक, एक जर्मन वैज्ञानिकको सिद्धान्त प्रमाणित गर्न कम्मर कसेर लाग्दै थिए, जबकि उनीहरूका देशहरू भर्खरै एउटा भयानक युद्ध लडेर शान्त भएका थिए।
एडिङ्टनले दुईवटा टोली बनाए। एउटा टोली ब्राजिलको सोब्राल सहर गयो भने, उनी आफैँले नेतृत्व गरिरहेका अर्को टोली अफ्रिका नजिकैको प्रिन्सिपे टापुतर्फ लाग्यो। यो अभियान सहज थिएन। उनीहरूले गह्रौँ टेलिस्कोप र फोटोग्राफिक प्लेटहरू जहाजमा हालेर हजारौँ माइल टाढा लैजानुपर्ने थियो। मौसमको पनि कुनै भरोसा थिएन; यदि ग्रहणको दिन आकाशमा बादल लाग्यो भने सबै मिहिनेत खेर जाने निश्चित थियो। अन्ततः सन् १९१९ मे २९ को त्यो ऐतिहासिक दिन आइपुग्यो। एडिङ्टन रहेको प्रिन्सिपे टापुमा बिहानैदेखि मौसम खराब थियो र ठुलो वर्षा भइरहेको थियो। एडिङ्टन र उनको टोली निराश बने। तर, कुनै चमत्कार भएझैँ ग्रहण सुरु हुनु केही समयअघि मात्र बादल फाट्न थाल्यो र सूर्य देखियो। उनीहरूसँग मात्र केही मिनेट समय थियो, उनीहरूले हतार-हतार तस्बिरहरू खिच्न सुरु गरे।
भोलिपल्ट संसारभरका अखबारहरूमा मुख्य समाचार बन्यो– "विज्ञानमा क्रान्ति, न्युटनका विचारहरू गलत साबित, एउटा नयाँ सिद्धान्तले ब्रह्माण्डलाई बुझायो।"
महिनौँको मिहिनेतपछि जब ती फोटोग्राफिक प्लेटहरूको विश्लेषण गरियो र तिनलाई त्यही स्थानको रात्रिकालीन तस्बिरहरूसँग तुलना गरियो, तब नतिजा आइन्स्टाइनले वर्षौँअघि आफ्नो कुर्सीमा बसेर केवल गणितको बलमा गरेको भविष्यवाणीसँग दुरुस्तै मिल्यो। ताराहरूको स्थिति साँच्चै बदलिएको थियो र त्यो ठिक त्यति नै बदलिएको थियो जति जनरल रिलेटिभिटीले भनेको थियो। यो एउटा ऐतिहासिक क्षण थियो। लन्डनको रोयल सोसाइटीको विशेष बैठकमा जब एडिङ्टनले यी नतिजाहरू घोषणा गरे, पूरै विश्वमा हलचल मच्चियो। भोलिपल्ट संसारभरका अखबारहरूमा मुख्य समाचार बन्यो– "विज्ञानमा क्रान्ति, न्युटनका विचारहरू गलत साबित, एउटा नयाँ सिद्धान्तले ब्रह्माण्डलाई बुझायो।"
अल्बर्ट आइन्स्टाइन रातारात एक साधारण क्लर्क र प्राध्यापकबाट विश्वव्यापी 'सेलिब्रिटी' बने। उनको नाम र अनुहार संसारको कुना-कुनामा पुग्यो। उनी विज्ञानका सबैभन्दा ठुला नायक बने– यो कुराको प्रतीक बने कि मानिसको मस्तिष्क यति शक्तिशाली छ कि उसले केवल आफ्नो कल्पनाले ब्रह्माण्डका गहिरा रहस्यहरू पनि सुल्झाउन सक्छ। यो जित केवल आइन्स्टाइनको मात्र थिएन, यो जित विज्ञानको थियो, तर्कको थियो र मानिसको त्यो अदम्य जिज्ञासाको थियो जसले सधैँ 'किन' र 'कसरी' भनी सोधिरहन्छ।
आइन्स्टाइन प्रख्यातिको शिखरमा चढिरहेकै बेला विज्ञानको संसारमा अर्को एउटा अनौठो क्रान्तिले जन्म लिँदै थियो। एउटा यस्तो क्रान्ति, जसलाई स्वयम् आइन्स्टाइनले पनि सहजै स्वीकार गर्न सकिरहेका थिएनन्। यही नयाँ विचारलाई लिएर उनको विज्ञानका अन्य दिग्गजहरूसँग इतिहासकै सबैभन्दा ठुलो वैचारिक द्वन्द्व हुनेवाला थियो। त्यो नयाँ क्रान्ति के थियो?
जब आइन्स्टाइनले आफ्नै क्रान्तिलाई चुनौती दिए !
जनरल रिलेटिभिटीको सफलताले आइन्स्टाइनलाई विज्ञानको चम्किलो तारा बनाइदिएको थियो। उनले ब्रह्माण्डका नियमहरू, ग्रह, तारा र आकाशगङ्गाका रहस्यहरू बुझाइसकेका थिए। तर जब वैज्ञानिकहरूले अत्यन्तै साना वस्तुहरूको संसार अर्थात् परमाणु र इलेक्ट्रोनहरूको जगतमा चियाउन थाले, तब उनीहरूले केही अत्यन्तै अनौठा र चकित पार्ने नतिजाहरू भेट्न थाले। यस्तो लाग्थ्यो कि यो सूक्ष्म संसारका नियमहरू हाम्रो विशाल संसारका नियमहरूभन्दा पूर्णतः भिन्न छन्। यहीँबाट भौतिकशास्त्रको एउटा नयाँ र क्रान्तिकारी शाखाको जन्म भयो, जसलाई हामी 'क्वान्टम मेकानिक्स' भन्छौँ। विडम्बना त के थियो भने, यो क्रान्तिको सुरुवात गर्नेहरूमा स्वयम् आइन्स्टाइन पनि सामेल थिए।
सन् १९०५ को आफ्नो शोधपत्रमा उनले प्रकाश ऊर्जाका साना प्याकेटहरू अर्थात् 'क्वान्टा' बाट बनेको हुन्छ भनेका थिए। त्यही विचार नै यो नयाँ क्रान्तिको बीउ थियो। तर, क्वान्टम मेकानिक्स विकसित हुँदै जाँदा यो यस्तो बाटोतर्फ मोडियो, जुन आइन्स्टाइनलाई कत्ति पनि मन परेन। निल्स बोर, वर्नर हाइजेनबर्ग र अर्भिन श्रोडिन्जर जस्ता नयाँ पुस्ताका भौतिकशास्त्रीहरूले यो सूक्ष्म संसारमा केही पनि निश्चित हुँदैन भन्ने तथ्य अघि सारे। त्यहाँ सबै कुरा केवल सम्भाव्यता र अनिश्चिततामा आधारित हुन्छन्। जस्तै, तपाईँले कहिल्यै पनि किटान गरेर भन्न सक्नुहुन्न कि एउटा इलेक्ट्रोन यो क्षणमा कहाँ छ; तपाईँ केवल यति मात्र भन्न सक्नुहुन्छ कि त्यसको यहाँ वा वहाँ हुने सम्भाव्यता कति छ। हाइजेनबर्गले त आफ्नो प्रसिद्ध 'अनिश्चितताको सिद्धान्त' नै प्रतिपादन गरे, जसमा उनले भने– तपाईँले एउटै समयमा कुनै कणको स्थिति र उसको गति दुवैलाई पूर्ण सटीकताका साथ जान्न सक्नुहुन्न। यदि एउटालाई जान्ने कोसिस गर्नुभयो भने अर्को अनिश्चित भइदिन्छ।
क्वान्टम मेकानिक्सका समर्थकहरू भनिरहेका थिए कि यो अनिश्चितता हाम्रो अज्ञानताका कारण होइन, बरु यो ब्रह्माण्डकै एउटा मौलिक गुण हो; प्रकृतिको स्वभाव नै सम्भाव्य छ। यो आइन्स्टाइनका लागि एउटा ठुलो वैचारिक धक्का थियो।
यी कुराहरू आइन्स्टाइनको विश्वदृष्टिकोणको विरुद्धमा थिए। आइन्स्टाइनको दृढ विश्वास थियो कि ब्रह्माण्ड केही निश्चित र तर्कसङ्गत नियमहरूमा चल्छ। उनका लागि यो संसार एउटा घडीजस्तै थियो, जसलाई ठिकसँग बुझ्न सकेमा भविष्यमा के हुन्छ भन्ने कुरा पहिले नै बताउन सकिन्छ। उनका निम्ति सम्भाव्यता र अनिश्चितताको अर्थ हाम्रो ज्ञान अझै अपुरो हुनु मात्र थियो। तर क्वान्टम मेकानिक्सका समर्थकहरू भनिरहेका थिए कि यो अनिश्चितता हाम्रो अज्ञानताका कारण होइन, बरु यो ब्रह्माण्डकै एउटा मौलिक गुण हो; प्रकृतिको स्वभाव नै सम्भाव्य छ। यो आइन्स्टाइनका लागि एउटा ठुलो वैचारिक धक्का थियो। जसले स्वयम् विज्ञानमा यति विशाल क्रान्ति ल्याएका थिए, उनी नै अब एउटा नयाँ क्रान्तिको विरुद्धमा उभिएका थिए।
उनले यस नयाँ सिद्धान्तमाथि कयौँ तिखा प्रहार गरे। उनले क्वान्टम मेकानिक्स अपुरो रहेको दाबी गरे र यही प्रसङ्गमा उनले आफ्नो त्यो विश्वप्रसिद्ध वाक्य बोले, जसले यस सिद्धान्तप्रतिको उनको दृष्टिकोणलाई पूर्ण रूपमा व्यक्त गर्दछ– "म यो मान्न तयार छैन कि ईश्वरले ब्रह्माण्डसँग पासा खेल्छन्।" उनको आशय थियो कि हरेक घटनाको पछाडि एउटा निश्चित कारण हुन्छ, केही पनि संयोगले मात्र हुँदैन र ब्रह्माण्डमा कुनै अनियमितता छैन। आइन्स्टाइन र क्वान्टम मेकानिक्सका प्रमुख प्रवर्तक निल्स बोरबीच वर्षौँसम्म लामो र गर्मागर्मी बहस चल्यो। यी बहसहरू इतिहासकै सबैभन्दा प्रखर बौद्धिक द्वन्द्व मानिन्छन्। आइन्स्टाइनले क्वान्टम मेकानिक्समा कुनै कमजोरी वा विरोधाभास फेला पार्नका लागि एकपछि अर्को 'विचार प्रयोग' (Thought Experiment) हरू तयार गर्थे। तर हरेक पटक निल्स बोर र उनका साथीहरूले निकै चलाखीपूर्वक आइन्स्टाइनको त्यो प्रयोग पनि क्वान्टम मेकानिक्सकै नियम अनुसार रहेको प्रमाणित गरिदिन्थे।

"म यो मान्न तयार छैन कि ईश्वरले ब्रह्माण्डसँग पासा खेल्छन्।" आइन्स्टाइनको आशय थियो कि हरेक घटनाको पछाडि एउटा निश्चित कारण हुन्छ, केही पनि संयोगले मात्र हुँदैन र ब्रह्माण्डमा कुनै अनियमितता छैन। आइन्स्टाइन र क्वान्टम मेकानिक्सका प्रमुख प्रवर्तक निल्स बोरबीच वर्षौँसम्म लामो र गर्मागर्मी बहस चल्यो।
उनको सबैभन्दा चर्चित विचार प्रयोग 'ईपीआर प्याराडक्स' (EPR Paradox) थियो। यसमा उनले देखाए कि क्वान्टम मेकानिक्स अनुसार दुईवटा कणहरू जो कुनै समय सँगै थिए, ती अर्बौँ माइल टाढा भए पनि एक-अर्कासँग रहस्यमयी तरिकाले जोडिएका हुन सक्छन्। यदि तपाईँ एउटा कणमा केही गर्नुहुन्छ भने, अर्कोमा त्यसको असर तुरुन्तै पर्छ, त्यो पनि प्रकाशको गतिभन्दा छिटो। आइन्स्टाइनले यसलाई 'स्पुकी एक्सन एट ए डिस्टेन्स' अर्थात् 'टाढाबाट हुने एउटा डरलाग्दो क्रिया' भने। उनलाई लाग्यो कि यो त उनको कुनै पनि कुरा प्रकाशको गतिभन्दा छिटो चल्न सक्दैन भनिएको सापेक्षताको नियमको उल्लङ्घन हो। तर दशकौँपछि जब वैज्ञानिकहरूले वास्तवमै यो प्रयोग गरेर हेरे, तब पत्ता लाग्यो कि आइन्स्टाइन गलत थिए र क्वान्टम मेकानिक्स सही थियो। यही 'एन्टाङ्गलमेन्ट' (Entanglement) आज क्वान्टम कम्प्युटिङको आधार बनेको छ।
आइन्स्टाइनले आफ्नो जीवनको अन्तिम ३० वर्ष एउटा यस्तो 'युनिफाइड फिल्ड थ्योरी' (एकीकृत क्षेत्र सिद्धान्त) को खोजीमा बिताए, जसले सापेक्षता र क्वान्टम मेकानिक्स दुवैलाई एउटै छानामुनि ल्याउन सकोस् र यो सम्भाव्यताको खेललाई समाप्त पारोस्। तर उनी यसमा सफल हुन सकेनन्। यो खोजी आज पनि भौतिकशास्त्रको सबैभन्दा ठुलो पहेलीका रूपमा जीवितै छ। यो कथाले हामीलाई सिकाउँछ कि कुनै पनि प्रतिभा अचुक हुँदैन; कहिलेकाहीँ महान् क्रान्तिकारीहरू पनि रूढिवादी बन्न पुग्छन्। आइन्स्टाइनको यो असफलताले उनको गरिमा घटाउँदैन, बरु उनलाई झन् मानवीय बनाउँछ। यसले देखाउँछ कि विज्ञान कसरी अगाडि बढ्छ– पुरानो पुस्ताका विचारलाई नयाँ पुस्ताले चुनौती दिन्छ र यही टकरावबाट ज्ञानको नयाँ क्षितिज खुल्छ।
जब आइन्स्टाइन विज्ञानका यी उल्झनहरूमा रुमल्लिइरहेका थिए, ठिक त्यही बेला युरोपमा एउटा यस्तो आँधी उठिरहेको थियो जसले उनको निजी जीवनलाई सधैँका लागि बदलिदिनेवाला थियो। एउटा यस्तो आँधी, जसले उनलाई वैज्ञानिकबाट एक शरणार्थी र एक अभियानकर्मी (Activist) बनाइदियो। यही परिस्थितिले उनलाई आफ्नो जीवनकै सबैभन्दा कठिन निर्णय लिन बाध्य पाऱ्यो।
सन् १९३३ मा जब हिटलर जर्मनीको चान्सलर बन्यो, त्यसबेला आइन्स्टाइन अमेरिकामा थिए। उनले त्यहीँबाट एउटा कठोर निर्णय लिए– अब उनी कहिल्यै आफ्नो मातृभूमि फर्कने छैनन्।
एकातिर आइन्स्टाइन क्वान्टम मेकानिक्सका जटिल पहेलीहरूसँग जुधिरहेका थिए भने अर्कोतिर उनको संसार र उनको युरोप एउटा अत्यन्तै भयावह मोडतर्फ धकेलिँदै थियो। जर्मनीमा एडोल्फ हिटलर र नाजी पार्टीको उदय भइरहेको थियो। घृणा र हिंसाको जरो झन्-झन् गहिरिँदै गइरहेको थियो र उनीहरूको निसानामा यहुदी समुदाय थियो। आइन्स्टाइन आफैँ पनि एक यहुदी थिए। यद्यपि उनी कुनै कट्टर धार्मिक नियमहरू मान्दैनथे, तर आफ्नो यहुदी विरासत र पहिचानप्रति उनलाई गर्व थियो। सन् १९३३ मा जब हिटलर जर्मनीको चान्सलर बन्यो, त्यसबेला आइन्स्टाइन अमेरिकामा थिए। उनले त्यहीँबाट एउटा कठोर निर्णय लिए– अब उनी कहिल्यै आफ्नो मातृभूमि फर्कने छैनन्।
नाजीहरूले उनको घरमा छापा मारे, उनको सम्पत्ति जफत गरे र उनका पुस्तकहरूलाई सार्वजनिक रूपमा जलाए। उनलाई जर्मनीको शत्रु घोषित गरियो। यसरी आइन्स्टाइन अब एक शरणार्थी बनेका थिए। उनले अमेरिकाको प्रिन्सटनस्थित 'इन्स्टिच्युट फर एड्भान्स्ड स्टडी' मा एउटा पद पाए र त्यहीँ बस्ने निधो गरे। तर उनको हृदय सधैँ विश्वमा घटिरहेका घटनाक्रमलाई लिएर चिन्तित रहन्थ्यो। उनी जन्मजात एक शान्तिवादी थिए; युद्ध र कुनै पनि प्रकारको हिंसाबाट उनलाई घृणा लाग्थ्यो। उनले सधैँ अन्तर्राष्ट्रिय सहयोग र शान्तिको वकालत गरे, तर अब उनी एउटा यस्तो विशाल धर्मसङ्कटमा फस्नेवाला थिए जहाँ उनका शान्तिवादी सिद्धान्तहरूको सबैभन्दा कठिन परीक्षा हुनेवाला थियो।
नाजी जर्मनीबाट भागेर अमेरिका आएका वैज्ञानिकहरू यो सुनेर भयभीत भए। उनीहरूलाई थाहा थियो कि यदि नाजीहरूले यस खोजको प्रयोग गरेर परमाणु बम बनाए भने उनीहरूले पूरै संसारलाई आफ्नो दास बनाउनेछन्। अमेरिकी सरकारलाई यस खतराको बारेमा चेतावनी दिनु आवश्यक थियो, तर ती शरणार्थी वैज्ञानिकहरूको कुरा कसले सुन्थ्यो र?
सन् १९३८ मा जर्मनीका दुई वैज्ञानिकहरूले एउटा खतरनाक खोज गरे। उनीहरूले युरेनियमको परमाणुलाई विखण्डन गर्न सफलता पाएका थिए– जसलाई 'न्यूक्लियर फिसन' भनिन्छ। जब उनीहरूले यसको हिसाब निकाले, तब पत्ता लाग्यो कि यस प्रक्रियामा द्रव्यमान-ऊर्जा समानताको सिद्धान्त (E = mc2) अनुसार ऊर्जाको एउटा विशाल मात्रा निस्किरहेको थियो। विज्ञानको जगतमा यो खबर डढेलोझैँ फैलियो। नाजी जर्मनीबाट भागेर अमेरिका आएका वैज्ञानिकहरू यो सुनेर भयभीत भए। उनीहरूलाई थाहा थियो कि यदि नाजीहरूले यस खोजको प्रयोग गरेर परमाणु बम बनाए भने उनीहरूले पूरै संसारलाई आफ्नो दास बनाउनेछन्। अमेरिकी सरकारलाई यस खतराको बारेमा चेतावनी दिनु आवश्यक थियो, तर ती शरणार्थी वैज्ञानिकहरूको कुरा कसले सुन्थ्यो र? उनीहरूलाई एउटा यस्तो व्यक्तित्वको खाँचो थियो जसको आवाज पूरै संसारले सुनोस् र जसको नाम नै काफी होस्। त्यो नाम थियो– अल्बर्ट आइन्स्टाइन।
उनका साथी वैज्ञानिक लियो सिलार्ड आइन्स्टाइनकहाँ पुगे र उनलाई सम्पूर्ण परिस्थितिको गम्भीरता बुझाए। उनले आइन्स्टाइनलाई अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रूजवेल्टलाई एउटा चिठी लेख्न र यो खतराको बारेमा जानकारी दिँदै नाजीहरूभन्दा पहिले अमेरिकाले आफ्नो परमाणु कार्यक्रम सुरु गर्नुपर्ने आग्रह गर्न राजी गराए। सोच्नुहोस् त, आइन्स्टाइनको मनमा त्यसबेला कस्तो आँधी चलेको होला! जुन मानिस जीवनभर शान्तिको दूत बनेर उभियो, आज उसैलाई विश्वको सबैभन्दा विनाशकारी हतियार बनाउन पहल गर्न भनिँदै थियो। यो उनका सबै आदर्शहरूको विरुद्धमा थियो। तर अर्कोतिर नाजी जर्मनीले विश्व कब्जा गर्ने डर थियो, जुन त्योभन्दा पनि ठुलो खराबी थियो। यो एउटा चरम नैतिक दुविधा थियो– एउटा ठुलो विनाश रोक्न अर्को सानो खराबीको बाटो रोज्नुपर्ने बाध्यता।
जुन मानिस जीवनभर शान्तिको दूत बनेर उभियो, आज उसैलाई विश्वको सबैभन्दा विनाशकारी हतियार बनाउन पहल गर्न भनिँदै थियो। यो उनका सबै आदर्शहरूको विरुद्धमा थियो। तर अर्कोतिर नाजी जर्मनीले विश्व कब्जा गर्ने डर थियो, जुन त्योभन्दा पनि ठुलो खराबी थियो।
निकै सोचविचार पछि आइन्स्टाइन सहमत भए र उनले त्यो ऐतिहासिक चिठीमा हस्ताक्षर गरे। उनले लेखेका थिए– "यस प्रकारको एउटा मात्र बम यदि कुनै बन्दरगाहमा डुङ्गामार्फत लगेर विस्फोट गराइयो भने, त्यसले पूरै बन्दरगाह र त्यसको आसपासको केही इलाकालाई समेत ध्वस्त पार्न सक्छ।" त्यो एउटा चिठीले इतिहासको धारा नै बदलिदियो। राष्ट्रपति रूजवेल्टले त्यस चेतावनीलाई गम्भीरतापूर्वक लिए र 'म्यानह्याटन प्रोजेक्ट' को सुरुवात गरे, जसअन्तर्गत अमेरिकाले पहिलो परमाणु बम बनायो। यद्यपि, आइन्स्टाइनको त्यस प्रोजेक्टमा प्रत्यक्ष रूपमा कुनै संलग्नता थिएन। उनको शान्तिवादी पृष्ठभूमि र विचारधाराका कारण एफबीआई (FBI) ले उनलाई सुरक्षाको दृष्टिले जोखिमपूर्ण मान्दै त्यस प्रोजेक्टबाट टाढै राखेको थियो।
जब अगस्ट १९४५ मा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसायो र लाखौँ निर्दोष मानिसहरू एकै पलमा मारिए, तब आइन्स्टाइन यो खबर सुनेर भित्रैदेखि टुटे। उनी मर्माहत भए। उनलाई आफ्नो त्यो चिठीप्रति जीवनभर पछुतो रहिरह्यो। पछि उनले भनेका थिए– "मैले मेरो जिन्दगीमा एउटा अत्यन्तै ठुलो गल्ती गरेँ, जब मैले राष्ट्रपति रूजवेल्टलाई लेखिएको त्यो चिठीमा हस्ताक्षर गरेँ।" उनले यो पनि स्वीकारे कि यदि उनलाई जर्मनीले परमाणु बम बनाउन सफल हुँदैन भन्ने थाहा भएको भए, उनले त्यो चिठीमा कहिल्यै हस्ताक्षर गर्ने थिएनन्। यस घटनापछि आइन्स्टाइन आफ्नो जीवनको अन्तिम दशकमा परमाणु हतियारको उन्मूलन र विश्व शान्तिका सबैभन्दा प्रखर प्रवक्ताहरूमध्ये एक बने।
जब अगस्ट १९४५ मा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसायो र लाखौँ निर्दोष मानिसहरू एकै पलमा मारिए, तब आइन्स्टाइन यो खबर सुनेर भित्रैदेखि टुटे। उनी मर्माहत भए। उनलाई आफ्नो त्यो चिठीप्रति जीवनभर पछुतो रहिरह्यो।
यो कथाले हामीलाई ज्ञान र त्यसको जिम्मेवारीका बारेमा एउटा अत्यन्तै महत्त्वपूर्ण पाठ सिकाउँछ। यसले हामीलाई के बोध गराउँछ भने, कुनै पनि वैज्ञानिक खोज आफैँमा असल वा खराब हुँदैनन्; बरु तिनको प्रयोग कसरी गरिन्छ भन्ने कुरा एउटा गहन नैतिक जिम्मेवारी हो। तर आइन्स्टाइन केवल एक वैज्ञानिक र शान्तिवादी मात्र थिएनन्, उनी एक गहिरो मानवतावादी पनि थिए।
वैज्ञानिकभन्दा माथि एक मानव– जब आइन्स्टाइनले जातिवाद र अन्यायका विरुद्ध आवाज उठाए
हामी धेरैजसो अल्बर्ट आइन्स्टाइनलाई केवल उनको वैज्ञानिक उपलब्धिका चस्माबाट मात्र हेर्ने गर्छौँ। हामी उनको 'सापेक्षताको सिद्धान्त' र 'द्रव्यमान-ऊर्जा समानता' को चर्चा गर्छौँ, तर हामी त्यो वैज्ञानिकभित्र लुकेको एउटा कोमल मानिसलाई भने प्रायः बिर्सन्छौँ। आइन्स्टाइन केवल एक विलक्षण प्रतिभा मात्र थिएनन्, उनी एक अत्यन्तै संवेदनशील र साहसी मानिस पनि थिए, जसको हृदय सम्पूर्ण मानव जातिका लागि धड्कन्थ्यो। यस अध्यायमा हामी ती आइन्स्टाइनसँग भेट्नेछौँ जो वैज्ञानिकभन्दा बढी एक दार्शनिक र मानवतावादी थिए।
जब उनी सन् १९३३ मा अमेरिका आएर बसोबास गर्न थाले, तब त्यहाँको समाजमा व्याप्त जातिवाद (Racism) देख्दा उनी निकै दुखी र अचम्मित भए। त्यस समय अमेरिकामा अफ्रिकी-अमेरिकी मानिसहरूमाथि अत्यन्तै दुर्व्यवहार गरिन्थ्यो।
आइन्स्टाइनले नाजी जर्मनीमा यहुदी भएकै कारण आफ्नो मातृभूमि छोड्नुपरेको थियो। उनले विभेद र घृणाको विषलाई निकै नजिकबाट अनुभूत गरेका थिए। त्यसैले, जब उनी सन् १९३३ मा अमेरिका आएर बसोबास गर्न थाले, तब त्यहाँको समाजमा व्याप्त जातिवाद (Racism) देख्दा उनी निकै दुखी र अचम्मित भए। त्यस समय अमेरिकामा अफ्रिकी-अमेरिकी मानिसहरूमाथि अत्यन्तै दुर्व्यवहार गरिन्थ्यो। उनीहरूलाई दोस्रो दर्जाको नागरिक सम्झिइन्थ्यो र उनीहरूका लागि विद्यालयदेखि भोजनालयसम्म सबै कुरा अलग र विभेदपूर्ण थिए।
यो दृश्य देख्दा आइन्स्टाइनलाई आफ्नो जर्मनीको पीडादायी स्मृतिले सताउन थाल्यो। उनलाई महसुस भयो कि यो अन्याय ठिक त्यस्तै हो, जस्तो उनका आफ्नै समुदायका मानिसहरूले भोगिरहेका थिए। तर आइन्स्टाइन चुपचाप सहने मानिस थिएनन्। जहाँ धेरैजसो श्वेत अमेरिकीहरू यो विषयमा मौन बस्थे वा यसलाई बेवास्ता गर्थे, त्यहाँ आइन्स्टाइनले भने यस अन्यायका विरुद्ध खुल्ला रूपमा आवाज उठाए। उनले जातिवादलाई 'श्वेत मानिसहरूको एउटा रोग' को संज्ञा दिए। उनले यसलाई अमेरिकाको सबैभन्दा ठुलो नैतिक सङ्कट बताए। उनी केवल भाषण मात्र दिँदैनथे, बरु आफ्ना कर्मद्वारा एउटा उदाहरण पनि प्रस्तुत गर्थे। उनी प्रिन्सटनमा आफ्ना अश्वेत छिमेकीहरूसँग प्रगाढ मित्रता राख्थे, अश्वेत विद्यार्थीहरूको शिक्षाका लागि आफ्नै खल्तीबाट आर्थिक सहयोग गर्थे र नागरिक अधिकारका आन्दोलनहरूलाई निर्धक्क भई समर्थन गर्थे।
आइन्स्टाइनले जातिवादलाई 'श्वेत मानिसहरूको एउटा रोग' को संज्ञा दिए। उनले यसलाई अमेरिकाको सबैभन्दा ठूलो नैतिक सङ्कट बताए।
एक पटक जब प्रसिद्ध अफ्रिकी-अमेरिकी गायिका म्यारियन एण्डरसनलाई प्रिन्सटनको एउटा होटलले केवल उनको छालाको रङ्ग अश्वेत भएकै कारण कोठा दिन अस्वीकार गर्यो, तब आइन्स्टाइनले उनलाई सम्मानका साथ आफ्नो घरमा बस्ने निम्तो दिए। त्यस समयको सामाजिक परिवेशमा यो एउटा अत्यन्तै साहसिक र अर्थपूर्ण कदम थियो। उनी देखाउन चाहन्थे कि मानवताको नाता शरीरको रङ्गभन्दा धेरै माथि र पवित्र हुन्छ। उनी यो पनि जान्दथे कि एक विश्वप्रसिद्ध व्यक्तित्व हुनुको नाताले उनको आवाजमा ठुलो वजन छ, र उनले त्यो आवाजको प्रयोग सधैँ कमजोर र उत्पीडितहरूको पक्षमा गरिरहे।
आइन्स्टाइनको मानवतावाद केवल जातिवादको विरोधमा मात्र सीमित थिएन; उनी संकीर्ण राष्ट्रवादका पनि प्रखर आलोचक थिए। पहिलो विश्वयुद्धको विभीषिका देखिसकेपछि उनलाई के विश्वास भयो भने, जबसम्म यो संसार अलग-अलग देशहरूमा विभाजित रहन्छ र हरेक राष्ट्रले केवल आफ्नो स्वार्थ मात्र हेर्छ, तबसम्म युद्धको सिलसिला कहिल्यै रोकिने छैन। उनी एउटा 'विश्व सरकार' को अवधारणाका कट्टर समर्थक थिए। उनको सपना थियो– एक दिन संसारका सबै देशहरू मिलेर एउटा साझा वैश्विक संसद् बनाऊन्, जहाँ विवादहरू युद्धबाट होइन, बरु संवाद र समझदारीबाट सुल्झाइऊन्। परमाणु युगमा राष्ट्रवाद एउटा खतरनाक र आत्मघाती विचार हो भन्ने कुरामा उनी प्रष्ट थिए। उनको यो सपना आज पनि अधुरै रहे तापनि यसले उनको कतिसम्म दूरदर्शी सोच थियो भन्ने कुरा प्रमाणित गर्छ।
उनी एउटा 'विश्व सरकार' को अवधारणाका कट्टर समर्थक थिए। उनको सपना थियो– एक दिन संसारका सबै देशहरू मिलेर एउटा साझा वैश्विक संसद् बनाऊन्, जहाँ विवादहरू युद्धबाट होइन, बरु संवाद र समझदारीबाट सुल्झाइऊन्।
धर्मका बारेमा पनि उनका विचारहरू निकै गहिरा र अद्वितीय थिए। उनी कुनै पनि संगठित धर्म वा व्यक्तिको प्रार्थना सुन्ने र मानिसको जीवनमा हस्तक्षेप गर्ने 'व्यक्तिगत ईश्वर' मा विश्वास गर्दैनथे। तर, उनी नास्तिक पनि थिएनन्। उनी दार्शनिक स्पिनोजा जस्तै एक प्रकारका 'प्यान्थिस्ट' (सर्वेश्वरवादी) थिए। उनको मान्यता थियो कि ईश्वर यस ब्रह्माण्डको व्यवस्था, यसका नियमहरू र यसको तार्किक सुन्दरतामा प्रकट हुन्छन्। जब उनी प्रकृतिका नियमहरूको अद्भुत एकता देख्थे, तब उनले एउटा गहिरो श्रद्धाको अनुभूति गर्थे, जसलाई उनी 'कस्मिक रिलिजियस फिलिङ' (ब्रह्माण्डीय धार्मिक अनुभूति) भन्थे। उनका लागि विज्ञानको सबैभन्दा महान् उद्देश्य नै यस ब्रह्माण्डको भव्यता र यसका पछाडि लुकेको त्यो महान् बुद्धिलाई बुझ्नु थियो, जसलाई उनी ईश्वरको संज्ञा दिन्थे।
आइन्स्टाइनले हामीलाई एक सच्चा बुद्धिजीवी केवल आफ्ना किताब र प्रयोगशालाहरूमा मात्र सीमित रहनु हुँदैन, उसले आफ्नो समाज र सम्पूर्ण मानवताप्रतिको जिम्मेवारीलाई बुझ्नुपर्छ भन्ने कुरा सिकाउँछन् । उनले हामीलाई ज्ञानले हामीलाई केवल शक्ति मात्र दिँदैन, बरु करुणा र अन्यायका विरुद्ध बोल्ने साहस पनि दिन्छ भन्ने पनि सिकाउँछन् । उनको जीवन उनकै त्यो प्रसिद्ध मान्यताको उदाहरण थियो कि हामी 'प्रेमबाट प्रेरित र ज्ञानबाट निर्देशित' हुनुपर्छ।
एउटा अधुरो खोजी र एक अमर विरासत
अल्बर्ट आइन्स्टाइनले आफ्नो जीवनका अन्तिम तीन दशक प्रिन्सटनमा बिताए, जुन एक किसिमले एक्लोपन र एउटा महान् बौद्धिक सङ्घर्षको कथा हो। एकातिर उनी विश्वकै एक प्रतिष्ठित हस्ती र प्रसिद्ध व्यक्तित्व बनिसकेका थिए भने अर्कोतिर भौतिकशास्त्रको संसारमा उनी बिस्तारै एक्लिँदै गइरहेका थिए। नयाँ पुस्ताका धेरैजसो वैज्ञानिकहरू क्वान्टम मेकानिक्सको नयाँ र अनौठो संसारतर्फ अघि बढिरहेका थिए, जबकि आइन्स्टाइन भने अझै पनि आफ्नो त्यो सपनाको पछि दौडिरहेका थिए, जुन उनलाई भौतिकशास्त्रको अन्तिम लक्ष्य जस्तो लाग्थ्यो। त्यो सपना थियो– 'युनिफाइड फिल्ड थ्योरी' अर्थात् एकीकृत क्षेत्र सिद्धान्त।
नयाँ पुस्ताका धेरैजसो वैज्ञानिकहरू क्वान्टम मेकानिक्सको नयाँ र अनौठो संसारतर्फ अघि बढिरहेका थिए, जबकि आइन्स्टाइन भने अझै पनि आफ्नो त्यो सपनाको पछि दौडिरहेका थिए, जुन उनलाई भौतिकशास्त्रको अन्तिम लक्ष्य जस्तो लाग्थ्यो।
आइन्स्टाइनको दृढ विश्वास थियो कि प्रकृतिलाई सरल र सुन्दर नियमहरू मन पर्छ। उनलाई लाग्थ्यो कि ब्रह्माण्डका सबै शक्तिहरू– जस्तै गुरुत्वाकर्षण र विद्युत्-चुम्बकीय शक्ति– वास्तवमा एउटै प्रमुख र मौलिक शक्तिका भिन्न भिन्न रूपहरू हुन्। उनी आफ्नो जीवनको अन्त्यसम्म एउटा यस्तो 'मास्टर इक्वेशन' वा मूल समीकरणको खोजीमा रहे, जसले एउटा परमाणुदेखि विशाल आकाशगङ्गासम्म ब्रह्माण्डका हरेक कुरालाई व्याख्या गर्न सकोस्। उनी एक किसिमले 'ईश्वरको मस्तिष्क' को अध्ययन गर्न चाहन्थे। यो उनको जीवनको सबैभन्दा गहिरो र महत्त्वपूर्ण सपना थियो। तर, उनी यस खोजीमा सफल हुन सकेनन्। भौतिकशास्त्रको संसार उनले कल्पना गरेभन्दा धेरै गुणा जटिल र रहस्यमयी निस्कियो। आज पनि विश्वभरका वैज्ञानिकहरू यही सपनाको पछि लागिरहेका छन्, जसलाई अहिले 'थ्योरी अफ एभ्रिथिङ' (सबै कुराको सिद्धान्त) भनिन्छ। तर यो पहेली आज पनि सुल्झिन बाँकी नै छ।
आइन्स्टाइन एक किसिमले 'ईश्वरको मस्तिष्क' को अध्ययन गर्न चाहन्थे। यो उनको जीवनको सबैभन्दा गहिरो र महत्त्वपूर्ण सपना थियो। तर, उनी यस खोजीमा सफल हुन सकेनन्। भौतिकशास्त्रको संसार उनले कल्पना गरेभन्दा धेरै गुणा जटिल र रहस्यमयी निस्कियो।
आइन्स्टाइनको यो अधुरो खोजीले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउँछ। यसले देखाउँछ कि सबैभन्दा महान् प्रतिभाशाली व्यक्तिले पनि सबै कुरा जान्न सक्दैन। यसले विज्ञानको प्रकृतिका बारेमा बताउँछ कि यो एउटा कहिल्यै नसकिने यात्रा हो, जहाँ हरेक उत्तरले आफूसँगै १० वटा नयाँ प्रश्नहरू लिएर आउँछ। यसले हामीलाई बौद्धिक विनम्रता सिकाउँछ। सन् १९५५ अप्रिल १८ का दिन ७६ वर्षको उमेरमा अल्बर्ट आइन्स्टाइनले यस संसारबाट बिदा लिए। उनी आफ्नो जीवनको अन्तिम क्षणसम्म काम गरिरहेका थिए। उनको ओछ्यान नजिकै ती कागजहरू राखिएका थिए, जसमा उनी एकीकृत क्षेत्र सिद्धान्तका समीकरणहरू सुल्झाउने प्रयास गरिरहेका थिए। उनले इच्छा व्यक्त गरेका थिए कि उनको मृत्युपछि कुनै भव्य अन्त्येष्टि नगरियोस् र उनको मस्तिष्कमाथि धेरै अनुसन्धान पनि नगरियोस्, ताकि उनलाई एउटा 'पूजनीय वस्तु' नबनाइयोस्। उनी चाहन्थे कि मानिसहरूले उनको शरीरलाई होइन, उनका विचारहरूलाई सम्झिऊन्।
आइन्स्टाइनले छाडेको विरासत
आइन्स्टाइनको विरासत केवल उनका सिद्धान्त वा समीकरणहरू मात्र होइनन्; यो त त्योभन्दा धेरै विशाल छ। वैज्ञानिक रूपमा उनले स्थान (Space), समय (Time), गुरुत्वाकर्षण, ऊर्जा र पदार्थका बारेमा हाम्रो बुझाइलाई सधैँका लागि बदलिदिए। उनका खोजहरू बिना आजको आधुनिक प्रविधि– चाहे त्यो जीपीएस होस्, लेजर होस् वा परमाणु ऊर्जा– केही पनि सम्भव हुने थिएन। सांस्कृतिक रूपमा उनी 'जीनियस' को पर्याय बने। उनी यस कुराको प्रतीक बने कि मानिसको कल्पनाले कति उच्च उडान भर्न सक्छ। तर सायद उनको सबैभन्दा महान् विरासत दार्शनिक छ। आइन्स्टाइनले हामीलाई सोच्न सिकाए। उनले सिकाए कि कुनै पनि स्थापित सत्ता वा मान्यतामा आँखा चिम्लेर विश्वास गर्नु हुँदैन, चाहे त्यो न्युटन जस्तो महान् वैज्ञानिककै किन नहोस्।
उनले हामीलाई प्रश्न सोध्ने साहस र आफ्नो कल्पना शक्ति प्रयोग गर्ने प्रेरणा दिए। उनको एउटा प्रसिद्ध भनाइ छ– "सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको प्रश्न सोध्न कहिल्यै बन्द नगर्नु हो। जिज्ञासाको आफ्नै अस्तित्वको कारण हुन्छ।" र यही नै आइन्स्टाइनको हामी सबैका लागि अन्तिम सन्देश हो। आफ्नो जिज्ञासालाई कहिल्यै मर्न नदिनुहोस्। एउटा बालकले जस्तै संसारलाई देखेर अचम्मित हुन कहिल्यै नछोड्नुहोस्। यस ब्रह्माण्डका रहस्यहरूका बारेमा प्रश्न सोधिरहनुहोस् र आफ्नो कल्पनालाई स्वतन्त्र रूपमा उड्न दिनुहोस्। किनकि के थाहा, अर्को महान् विचार वा क्रान्तिकारी जुक्ति तपाईँकै मस्तिष्कमा पर्खिरहेको छ कि!
स्रोत: आइन्स्टाइनको जीवनी, अडियोबुक स्कुल
अनुवाद/सम्पादन: हर्कबहादुर प्रधान
आत्ममन्थन र परीक्षणको विकट मोडमा उभिएको नेपाली वामपन्थ !
मार्क्सवादले अझै संसार बदल्न सक्छ
मार्क्सवादी चिन्तनको आधारशिला ‘कम्युनिष्ट मेनिफेस्टो’
क्यामिलो टोरेस: पादरीदेखि छापामारसम्मको यात्रा
साम्राज्यवाद, लागूपदार्थ र सामाजिक नियन्त्रण
युद्धको छायामा इरान–अमेरिका टकराव
‘मरणोन्मुख’ पुँजीवाद किन र कसरी बाँचिरहेको छ ?
प्रतिक्रिया