खाडी क्षेत्र: मध्यपूर्व कि पश्चिम एशिया ?

यतिखेर खाडी क्षेत्रमा भयानक युद्ध चलिरहेको छ । इजरायल–अमेरिकाले इरानमाथि गरेको आक्रमणले समग्र खाडी क्षेत्र यतिखेर विश्वको ध्यानाकर्षणको केन्द्रबिन्दू बनेको छ । संसारभरिकै सञ्चारमाध्यमहरुले यसबारे समाचार–लेख–विश्लेषणहरु पस्किइरहेका छन् । त्यसबाट नेपाली सञ्चार माध्यमहरु पनि अछुतो छैन ।

विश्व नक्सामा एशियाको पश्चिमी हिस्सामा पर्छ– खाडी क्षेत्र । तर अङ्ग्रेजी भाषामा त्यसलाई मिडिल इस्ट (Middle East)  भन्ने गरिन्छ । त्यसको शाब्दिक अनुवाद हुन्छ– मध्य पूर्व । त्यही आधारमा कतिपयले खाडी क्षेत्रका देशहरुलाई मध्यपूर्व भनेर बोल्ने लेख्ने गरेको देखिन्छ ।

तर दक्षिण एशियामा पर्ने नेपालका लागि खाडी क्षेत्र पक्कै पनि मध्यपूर्व हैन । वास्तवमा, यो त हाम्रो लागि पश्चिम एशिया हो ।

किन भनियो ‘मध्यपूर्व’ ?

'मध्यपूर्व' शब्द पूर्ण रूपमा युरोपेली केन्द्रित (Eurocentric) दृष्टिकोणबाट बनेको हो। इतिहासलाई फर्केर हेर्दा खाडी क्षेत्रलाई जनाउन यो शब्द १९ औं शताब्दीमा ब्रिटिस इन्डिया अफिसले प्रयोगमा ल्याएको थियो। बेलायतबाट हेर्दा टाढाको पूर्व (चीन, जापान) लाई 'सुदूर पूर्व' (Far East) र नजिकको पूर्व (ओटोमन साम्राज्य) लाई 'निकट पूर्व' (Near East) भनिन्थ्यो। यी दुईको बीचमा पर्ने क्षेत्र (विशेष गरी पर्सियन खाडी वरपर) लाई 'Middle East' भन्न थालियो। त्यसैको शाब्दिक अनुवाद गर्दै नेपालीमा मध्यपूर्व भनिन थालियो ।

बेलायतीहरुले सिर्जना गरेको यो मध्यपूर्व शब्दलाई  सन् १९०२ मा अमेरिकी नौसेना अधिकृत अल्फ्रेड थेयर महानले चर्चित बनाए । त्यसपछि यो पदावली विश्वव्यापी सैन्य र राजनीतिक शब्दावलीमा स्थापित भयो। दोस्रो विश्वयुद्धपछि पश्चिमी सञ्चारमाध्यमको दबदबाका कारण हामीले पनि यसलाई विना प्रश्न स्वीकार गर्यौं र खाडी क्षेत्र तथा त्यस वरपरका राष्ट्रहरुलाई एकमुष्ठमा जनाउन मध्यपूर्व भन्न थालियो । वास्तवमा यो साम्राज्यवादले हामीमाथि थोपरेको एक प्रकारको भाषिक उपनिवेशवादको उपज हो । गोरा छालाले गरेका हरेक कामलाई अन्धानुकरण गर्ने सोचले हामीलाई नजानिँदो ढङ्गले त्यसको शिकार बनाउँदै आयो ।

दक्षिण एशियाका लागि 'पूर्व' कि 'पश्चिम'?

हाम्रो भौगोलिक अवस्थितिका आधारमा खाडी क्षेत्रलाई 'मध्यपूर्व' भन्नु दिशात्मक रूपमा गलत हुन्छ । भौगोलिक रुपमा नेपाल वा दक्षिण एशियाबाट हेर्दा साउदी अरब, कतार वा इरान जस्ता देशहरू हाम्रो पश्चिम तिर पर्दछन्।यस अर्थमा पनि खाडी क्षेत्र हाम्रा लागि मध्यपूर्व हैन, पश्चिम एशिया हो । यो भौगोलिक यथार्थलाई वेवास्ता गरेर  हामीले काठमाडौंबाट पश्चिमतिर रहेका देशहरूलाई 'मध्यपूर्व' भनरह्यौ भने हामीले जानीनजानी लन्डनलाई विश्वको केन्द्रविन्दु मानिरहेका हुन्छौँ।

मध्यपूर्व कि पश्चिम एशिया?

अन्तर्राष्ट्रिय सम्बन्ध र भूगोलका क्षेत्रमा अहिले शब्दावली परिवर्तन गर्ने बहस चलिरहेको छ। खासगरी, औपनिवेशिककालीन समयमा प्रचलित बनाइएका तर वर्तमानमा भौगोलिक यथार्थतासँग मेल नखाने त्यस्ता शब्दहरुलाई परिवर्तन गरिने क्रम चलेको छ ।

यस अर्थमा युरोपेली औपनिवेशिकहरुले स्थापित गरेको मध्यपूर्व शब्द अझै पनि कुटनीति र केही मिडियाहरुमा मिडिल इस्ट भनेर प्रचलित छ । तर त्यसको सट्टा पश्चिम एशिया भनेर भनिनुपर्छ भन्ने र सोहीअनुसार लेख्ने प्रचलन पनि शुरु भएको निक्कै भइसकेको छ । वास्तवमा खाडी क्षेत्रका देशहरुलाई सही अर्थमा जनाउनका लागि पश्चिम एशिया शब्द नै भौगोलिक र वैज्ञानिक रुपमा बढी सटीक हुन्छ । यसले युरोपलाई केन्द्रविन्दूमा राख्ने उपनिवेशकालीन सोचलाई बोक्दैन ।

त्यसबाहेक अहिले कतिपयले समष्टिमा क्षेत्रगत रुपमा बुझाउने MENA (Middle East and North Africa) शब्द पनि प्रयोग गर्ने गर्छन् । यस शब्दले चाहिँ त्यस क्षेत्र र वरपरका साँस्कृतिक र भौगोलिक दुवै पक्षलाई समेट्छ भन्ने तर्क दिइने गरिन्छ ।  

निचोडमा भन्दा, खाडी क्षेत्रलाई बुझाउनका लागि मध्य पूर्व हैन, 'पश्चिम एशिया' (West Asia) शब्द नै सबैभन्दा सही र वस्तुपरक छ। यसले कुनै साम्राज्यवादी इतिहासलाई बोक्दैन र भौगोलिक रूपमा ती देशहरू एशिया महादेशको पश्चिमी भागमै रहेको यथार्थलाई प्रतिनिधित्व पनि गर्छ । संयुक्त राष्ट्र संघ र कतिपय प्राज्ञिक संस्थाहरूले अचेल 'पश्चिम एशिया' शब्दलाई नै प्राथमिकता दिन थालेका छन् र सोहीअनुसार लेख्न पनि थालेका छन् ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।