तिम्रो पुरै जीवन खेर 'गो !

(सन् १८८२ को कुरा हो । स्वास्थ्य लाभको निम्ति मार्क्स अल्जियर्समा थिए । उनले त्यहाँबाट आफ्नी छोरी लौरालाई एउटा चिट्ठी लेखे । चिट्ठीमा उनले तलको अरवी दन्त्य कथा उल्लेख गरेका छन् । )

'एउटा माझी उर्लंदो नदीमा नाउ खियाउन तम्तयार भएर बसेको छ र ग्राहकको प्रतीक्षामा छ । एक जना दार्शनिक आइपुग्छन् र नदीको पारीपट्टि जान चाहन्छन् । नाउमा चढ्छन् । उनीहरु बीचको तलको संवाद :

दार्शनिक : तिमीलाई दर्शनबारे अलि अलि ज्ञान छ ?

माझी : छैन ।

दार्शनिक : उसो भा' तिम्रो आधा जीवन खेर ग'छ ।

अनि फेरि दार्शनिक : तिमीलाई हिसाबकिताब आउँछ ?

माझी : अँह आउँदैन ।

दार्शनिक : उसो भा' आधाभन्दा बढ्ता जीवन यसै खेर ग'छ ।

 

दार्शनिकले यति भन्न के भ्या'का 'थे भयानक आँधी आयो र नाउलाई लपेट्यो । दार्शनिक र माझी दुवै पानीमा हुत्तिए । त्यसपछि :

चिच्याउदै माझी : तिमीलाई पौडी खेल्न आउँछ ?

दार्शनिक : अहँ आउँदैन ।

माझी : उसो भा' तिम्रो पुरै जीवन खेर 'गो ।'

हुन त मार्क्सले दार्शनिकहरुलाई पहिला नै जगतको व्याख्याले मात्रै पुग्दैन परिवर्तन गर्न पनि लाग भनेर सुझाव दिएका थिए । अर्थ के पनि हो भने व्यवहार कुशलता गुड्डरी हाक्नु भन्दा ठूलो हो । माल पाएर मात्र हुँदैन चाल पनि पाउनु पर्दछ ।

कथाको संदेश घतलाग्दो र आज पनि उत्तिकै सान्दर्भिक छ । लाग्छ, हाम्रै वरिपरिको कथा हो ।

प्रस्तोता : टंक कार्की