अमेरिका-इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणले हर्मुज जलडमरू र तेल बजारमा निम्त्याएको संकट
विश्वको कुल तेल र ग्यास आपूर्तिको झण्डै २० देखि ३० प्रतिशत हिस्सा हर्मुज जलडमरू (Strait of Hormuz) भएर ओसारपसार हुने गर्दछ
प्रियंका शंकर र रोयटर्स
इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको प्रत्युत्तरमा तेहरानले पनि कडा रूपमा जवाफी हमला सुरु गरेको छ। यस क्रममा इरानले इजरायल, कतार, संयुक्त अरब इमिरेट्स (UAE), कुवेत, बहराइन, जोर्डन, साउदी अरब, इराक र ओमान लगायतका मध्यपूर्वी देशहरूमा रहेका उनीहरूका सैन्य तथा रणनीतिक आधार क्षेत्रहरूलाई निसाना बनाएको छ।
इरानी अधिकारीहरूले विश्वकै सबैभन्दा महत्त्वपूर्ण सामुद्रिक मार्गहरूमध्ये एक, 'हर्मुज जलडमरू' बन्द गरिदिने संकेत दिएपछि विश्लेषकहरूले विश्व बजारमा तेलको मूल्य अचाक्ली बढ्ने चेतावनी दिएका छन्।
शनिबार युरोपेली संघका एक अधिकारीले 'रोयटर्स' समाचार एजेन्सीलाई बताए अनुसार, उक्त जलक्षेत्र पार गर्ने जहाजहरूले इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स' (IRGC) बाट निरन्तर रेडियो सन्देशहरू (VHF Transmissions) प्राप्त गरिरहेका छन्। ती सन्देशहरूमा "अहिले हर्मुज जलडमरूबाट कुनै पनि जहाजलाई अघि बढ्न अनुमति छैन" भनिएको छ।
यद्यपि, इरानले आधिकारिक रूपमा यो मार्ग पूर्णतया बन्द भएको घोषणा भने गरिसकेको छैन। तर क्षेत्रमा बढ्दो तनाव र द्वन्द्वका कारण धेरै ट्याङ्कर मालिकहरूले तेल र ग्यासको ढुवानी आफैँ रोकेका छन्।
एक प्रमुख व्यापारिक केन्द्रका वरिष्ठ कार्यकारीले नाम नखुलाउने सर्तमा रोयटर्सलाई भने, "हाम्रा जहाजहरू अब केही दिनका लागि जहाँका त्यहीँ अडिनेछन्।" ग्रिस जस्ता मुलुकहरूले पनि आफ्ना जहाजहरूलाई यो जलमार्गबाट यात्रा नगर्न सल्लाह दिइसकेका छन्।
यो महत्त्वपूर्ण सामुद्रिक मार्गमा देखिने सानो अस्थिरताले पनि विश्वव्यापी आर्थिक सन्तुलनलाई डगमगाउन सक्छ।
आखिर के हो त हर्मुज जलडमरू? र यो बन्द हुँदा विश्वको तेल बजारमा कस्तो असर पर्ला?
हर्मुज जलडमरू (Strait of Hormuz) कहाँ अवस्थित छ?
हर्मुज जलडमरूको भौगोलिक अवस्थिति एकातिर ओमान र संयुक्त अरब इमिरेट्स (UAE) तथा अर्कोतिर इरानको बीचमा रहेको छ। यसले 'अरब/फारसको खाडी' (अथवा केवल खाडी) लाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने काम गर्छ।
यो जलमार्ग यसको सबैभन्दा साँघुरो बिन्दुमा मात्र ३३ किलोमिटर (२१ माइल) फराकिलो छ। अझ विशेष कुरा त के छ भने, दुवैतर्फका जहाज आवतजावत गर्ने मुख्य 'सिपिङ लेन' (Shipping Lane) त मात्र ३ किलोमिटर (२ माइल) चौडा छ, जसले गर्दा यो क्षेत्र सैन्य आक्रमणका दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण मानिन्छ।
यति साँघुरो भए तापनि, यो मार्गले विश्वका विशाल 'क्रुड क्यारियर' (तेल बोक्ने जहाज) हरूलाई मार्ग प्रशस्त गर्दछ। मध्यपूर्वका प्रमुख तेल र ग्यास निर्यातकर्ताहरू आफ्ना उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन यही मार्गमा निर्भर छन् भने, आयातकर्ता राष्ट्रहरू यसको निर्बाध सञ्चालनमा आश्रित छन्।
यस जलमार्गबाट कति तेल र ग्यास ओसारपसार हुन्छ?
अमेरिकी ऊर्जा सूचना प्रशासन (EIA) को तथ्याङ्क अनुसार, सन् २०२४ मा मात्रै दैनिक करिब २ करोड ब्यारेल तेल हर्मुज जलडमरू भएर ढुवानी भएको थियो, जसको वार्षिक विश्वव्यापी ऊर्जा व्यापार मूल्य झन्डै ५०० अर्ब डलर बराबर हुन्छ।
यस मार्गबाट पार हुने कच्चा तेल मुख्यतया इरान, इराक, कुवेत, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (UAE) बाट आउने गर्दछ।
तेलका अतिरिक्त, यो जलडमरूले तरल प्राकृतिक ग्यास (LNG) को व्यापारमा पनि निर्णायक भूमिका खेल्छ। EIA का अनुसार, सन् २०२४ मा विश्वव्यापी LNG ढुवानीको झन्डै पाँचौँ हिस्सा यही कोरिडोरबाट अघि बढेको थियो, जसमा कतारको हिस्सा सबैभन्दा ठूलो रहेको छ।
यो सबै ऊर्जा कहाँ जान्छ?
हर्मुज जलडमरूले तेल र ग्यासको निर्यात मात्र होइन, आयातलाई पनि व्यवस्थापन गर्छ। उदाहरणका लागि, कुवेत र संयुक्त अरब इमिरेट्स (UAE) ले खाडी बाहिरका क्षेत्रहरू, जस्तै अमेरिका र पश्चिम अफ्रिकाबाट आउने ऊर्जा आपूर्ति यही मार्ग भएर आयात गर्छन्।
अमेरिकी ऊर्जा सूचना प्रशासन (EIA) को सन् २०२४ को अनुमान अनुसार, यो जलमार्ग भएर जाने ८४ प्रतिशत कच्चा तेल र कन्डन्सेट (Condensate) सिधै एसियाली बजारहरूमा पुग्छ। ग्यास व्यापारमा पनि यस्तै तथ्याङ्क देखिन्छ; हर्मुज भएर जाने कुल LNG को ८३ प्रतिशत हिस्सा एसियाली गन्तव्यतर्फ नै लक्षित हुन्छ।
गत वर्ष यस जलमार्गबाट प्रवाहित कुल कच्चा तेल र कन्डन्सेटको ६९ प्रतिशत हिस्सा चीन, भारत, जापान र दक्षिण कोरियाले मात्र उपभोग गरेका थिए। यी देशका विशाल कलकारखाना, यातायात सञ्जाल र विद्युत् प्रणालीहरू खाडीको निर्बाध ऊर्जा आपूर्तिमा पूर्ण रूपमा निर्भर छन्। त्यसैले, तेलको मूल्यमा हुने सामान्य वृद्धिले पनि चीन, भारत र दक्षिण-पूर्वी एसियाली राष्ट्रहरूको अर्थतन्त्रमा सिधै धक्का पुर्याउने निश्चित छ।
जलडमरू बन्द हुँदा तेलको मूल्यमा कस्तो असर पर्ला?
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, यो जलमार्ग पूर्ण रूपमा बन्द गर्ने अन्तिम निर्णय इरानको 'सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्' ले गर्नुपर्छ र त्यसलाई सरकारले अनुमोदन गर्नुपर्छ।
विश्वकै सबैभन्दा ठूलो तेल र ग्यास भण्डार रहेको यस क्षेत्रमा बढ्दो तनावका कारण ऊर्जा व्यापारीहरू उच्च सतर्कतामा छन्। 'केप्लर' (Kpler) की वरिष्ठ कच्चा तेल विश्लेषक मुयु सुले अल जजीरालाई बताए अनुसार, शनिबार युद्ध सुरु भएदेखि नै यस जलमार्गबाट हुने जहाजको आवतजावतमा तीव्र गिरावट आएको छ।
उनले भनिन्, "तेहरानले हर्मुज बन्द हुन सक्ने चेतावनी दिएपछि जहाज मालिकहरूमा सुरक्षाको चिन्ता बढेको छ। फलस्वरूप, ओमानको खाडी र फारसको खाडीका दुवैतर्फ अलपत्र परेर रोकिने जहाजहरूको संख्या ह्वात्तै बढेको छ।"
ऊर्जा पूर्वाधारमाथिको खतरा र बढ्दो अनिश्चितता
केप्लर (Kpler) की विश्लेषक मुयुका अनुसार, "विश्वको समुद्री मार्गबाट ओसारपसार हुने कच्चा तेलको झण्डै ३० प्रतिशत हिस्सा हर्मुज जलडमरू भएर जान्छ, जसले गर्दा यो विश्व ऊर्जा बजारका लागि अत्यन्तै संवेदनशील छ। यसका अतिरिक्त, विश्वभरको झण्डै २० प्रतिशत जेट इन्धन र करिब १६ प्रतिशत पेट्रोल तथा नेफ्था (Naphtha) पनि यही मार्गबाट प्रवाहित हुन्छ।"
उनले थप स्पष्ट पार्दै भनिन्, "आइतबार मात्रै ओमानको तट नजिकै एउटा तेल ट्याङ्करमाथि आक्रमण भयो। यसले द्वन्द्व थप चर्किएको र आक्रमणको निसाना अब सैन्य अखडाबाट मोडिएर ऊर्जा सम्पत्तितर्फ सोझिएको प्रष्ट संकेत गर्छ।"
समुद्री तथ्याङ्कहरूका अनुसार, कच्चा तेल र तरल प्राकृतिक ग्यास (LNG) बोकेका कम्तीमा १५० वटा ट्याङ्करहरू अहिले हर्मुज जलडमरू बाहिर खाडीको खुला पानीमा लङ्गर हालेर रोकिएका छन्। 'मरिन ट्राफिक' (MarineTraffic) प्लेटफर्मको जहाज-ट्र्याकिङ तथ्याङ्कमा आधारित रोयटर्सको अनुमान अनुसार, यी ट्याङ्करहरू इराक, साउदी अरब र ग्यासको विशाल उत्पादक कतार जस्ता प्रमुख तेल उत्पादक राष्ट्रहरूका तटवर्ती खुला क्षेत्रमा थुप्रिएका छन्।
यसैबीच, बेलायती सामुद्रिक व्यापार सञ्चालन (UKMTO) ले आइतबार यस जलक्षेत्रमा "उल्लेख्य सैन्य गतिविधि" भइरहेको र ओमानको कुमजारबाट दुई नटिकल माइल उत्तरमा एउटा घटना भएको रिपोर्ट प्राप्त भएको जनाएको छ।
आर्थिक धक्का र विश्वव्यापी मन्दीको जोखिम
विश्लेषक मुयुका अनुसार अहिले ऊर्जा क्षेत्रका विस्तृत पूर्वाधारहरू नै खतरामा परेका छन्। यसले तेलको मूल्यमा हुने वृद्धि (Rally) लाई अझ तीव्र बनाउने र गत जुन महिनाको द्वन्द्वमा भन्दा लामो समयसम्म मूल्यलाई उच्च स्तरमै टिकाइराख्ने देखिन्छ।
इन्टरनेसनल क्राइसिस ग्रुपका इरान परियोजना निर्देशक अली वाएजले अल जजीरासँग कुरा गर्दै भने, "हर्मुज जलडमरू बन्द हुनुको अर्थ विश्व बजारमा किनबेच हुने झण्डै पाँचौँ हिस्सा तेल एकैरातमा गायब हुनु हो। यस्तोमा मूल्य मात्र बढ्दैन, बरु त्रासकै कारण मूल्यमा भयानक उछाल आउनेछ।"
उनले अगाडि थपे, "यसको धक्का ऊर्जा बजारमा मात्र सीमित रहने छैन; यसले वित्तीय अवस्थालाई कसिलो बनाउनेछ, मुद्रास्फीति (महँगी) बढाउनेछ र कमजोर अर्थतन्त्र भएका मुलुकहरूलाई केही हप्ताभित्रै आर्थिक मन्दीको खाडलतर्फ धकेल्नेछ।"
रोचक कुरा के छ भने, गत जुन महिनामा जब अमेरिका र इजरायलले इरानमा बमबारी गरेका थिए, त्यसबेला यस क्षेत्रको सामुद्रिक गतिविधिमा कुनै प्रत्यक्ष अवरोध पुगेको थिएन। तर अहिलेको परिस्थिति त्योभन्दा निकै फरक र गम्भीर देखिन्छ।
विश्व अर्थतन्त्रका लागि यसको अर्थ के हो?
हर्मुज जलडमरूबाट हुने ऊर्जा प्रवाहमा आउने कुनै पनि अवरोधले सिधै विश्व अर्थतन्त्रलाई प्रहार गर्नेछ, जसले इन्धनको मूल्य र कलकारखानाको उत्पादन लागत दुवै बढाउनेछ।
बेलायतस्थित 'कैपिटल इकोनोमिक्स' (Capital Economics) का जलवायु तथा वस्तु अर्थशास्त्री हमद हुसेनका अनुसार, तेलको मूल्यमा हुने निरन्तरको वृद्धिले विश्वव्यापी मुद्रास्फीति (महँगी) माथि थप दबाब सिर्जना गर्नेछ।
उनले भने, "यदि कच्चा तेलको मूल्य प्रति ब्यारेल $१०० पुग्यो र केही समयसम्म सोही स्तरमा रहिरह्यो भने, यसले विश्वव्यापी मुद्रास्फीतिमा ०.६ देखि ०.७ प्रतिशत सम्म वृद्धि गराउन सक्छ।" उनले तेलको मूल्य वृद्धिसँगै प्राकृतिक ग्यासको मूल्यमा पनि बढोत्तरी हुने उल्लेख गरे।
उनले थप सचेत गराउँदै भने, "यसले गर्दा प्रमुख केन्द्रीय बैंकहरूले लिइरहेका लचिलो मौद्रिक नीतिहरू (Monetary Easing) को गति सुस्त हुन सक्छ। विशेष गरी उदीयमान बजारहरू (Emerging Markets) मा, जहाँ नीति निर्माताहरू वस्तुको मूल्यमा हुने उतारचढावप्रति निकै संवेदनशील हुन्छन्, त्यहाँ यसको ठूलो प्रभाव पर्नेछ।"
आयतोल्लाह खामेनी: पश्चिमी प्रभुत्वविरुद्ध प्रतिरोधका प्रतीक
पाकिस्तान र अफगानिस्तानबीच भीषण युद्ध
मेक्सिकोका मोस्ट वान्टेड लागूऔषध तस्कर 'एल मेन्चो' मारिए
किम जोङ उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित
अमेरिकी नाकाबन्दीले क्युबाली जनतालाई कसरी आघात पुर्याइरहेको छ
'औपनिवेशिक समर्थन' गर्ने भाषण
क्युबालीहरुको लागि आत्मसमर्पण कुनै विकल्प होइन
प्रतिक्रिया