फौलादी उम्मेदवार मातृका यादवका प्राथमिकता
मधेसी जनताको स्वशासन, जनजाति आदिवासी र खसको राजकीय पहिचान तथा महिला, दलित एवं मजदुर-किसानको समाजवादी अधिकारमा अगुवाई
गणतन्त्र नेपालको मधेश प्रदेश अन्तर्गत धनुषा जिल्ला पूर्वमा सिरहा र पश्चिम महोत्तरी तथा उत्तरमा सिन्धुली र दक्षिणमा छिमेकी मुलुक भारतसंग जोडिएको छ। चतुरभुज आकारमा विभाजित धनुषाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र चारवटा छन। त्यसमध्ये जिल्ला तथा प्रदेश सदरमुकाम जनकपुरधामको पूर्वोत्तरमा पर्दछ, संघीय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १। जहाँ नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हका उमेदवार छन, कमरेड मातृकाप्रसाद यादव।
उनै मातृका यादवको जीवनसंघर्ष, जनयुद्वसहित नेपाली क्रान्तिमा योगदान तथा आशन्न निर्वाचन मार्फत देश, मधेश र धनुषा निर्वाचन क्षेत्रका प्राथमिकता केन्द्रित यो सन्देश-सामग्री तयार गरिएको छ। रोचक त के भने उदयपुर जिल्लाको कटारीस्थित माध्यामिक तहमा अध्ययन गर्दै गर्दा जुझारु नेता मातृका यादव १० दिन प्रहरी हिराशतमा परेका रहेछन र उनले आफ्नो राजनीतिक यात्रा ओखलढुंगा हुँदै त्यही कटारी बजारबाट प्रारम्भ गरेका रहेछन।
जीवन संघर्ष: फर्केर हेर्दा मातृका यादव
माता मनटुट्देवी र पिता अयोधीको छोराका रुपमा सबैलागाउँ, धनुषास्थित विसं २०१५ मा मातृकाप्रसाद यादवको जन्म भयो। कल्याणपुर, सिराहा निवासी प्रमिलादेवीसंग २०३१ मा विवाह गरेका यादव परिवारका तीन छोरा र दुई छोरी छन।
सबैला गाउँको रामप्रसाद प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा प्रारम्भ गरेका मातृकाले नजिकै अर्को विद्यालयबाट निम्न-माध्यामिक शिक्षा आर्जन गरे। त्यसपछि उनी रोजगारी खोज्दै सोलुखुम्बू जिल्ला सदरमुकाम सल्लेरीसम्म पुगे। फेरि ओखलढुंगा झरेर यहाँ केही बर्ष विताए।
विगत सम्झँदै मातृका भन्छन- मधेशका सबै रोजगारी खोज्न भारततिर लाग्छन, म चाहिँ नेपालकै पहाडतिर लागेँ। सबैला गाउँमा कांग्रेसको प्रभाव थियो। परिवर्तनकारी भनेर म कांग्रेस समर्थक पनि रहेँ। त्यही सिलसिलामा ओखलढुंगा- कटारी गरिरहने नेपाली कांग्रेसका नेता गोपाल राईको प्रशिक्षणमा भाग पनि लिएँ। तर, कांग्रेस चाहिँ भइएन।
ओखलढुंगाबाट कमरेड मातृका उदयपुरको कटारी झरेर विभिन्न रोजगारीमा लागे। यहाँ उनको बसाई निक्कै बर्ष भयो। त्यही बसाईक्रममा कटारीकै माध्यामिक विद्यालय कक्षा ८ मा भर्ना भए। यहिँबाट उनले एसएलसी परीक्षा उत्तीर्ण गरे।
विसं २०३५ मा कटारीमा तत्कालीन नेकपा (चौम) ले निर्दलीय राजतन्त्रात्मक पञ्चायत विरुद्व पर्चा छर्यो। पर्चाको विषय पढ्दा मातृकाजीलाई उत्तम लाग्यो। कांग्रेसको भन्दा राजतन्त्र विरोधी लाईन स्वत: क्रान्तिकारी ठहरियो। मातृकाजीलगायत विद्यार्थीहरु राजतन्त्र विरोधी नारा घन्काउन थाले। प्रशासनले निगरानी सुरु गर्यो। दमनको प्रतिरोधमा मातृकाजीले विद्यालय हड्ताल आन्दोलन नेतृत्व लिए। प्रहरीले गिरफ्तार गरेर १० दिन हिराशतमा राख्यो।
कटारीको त्यो घटना नै मातृकाप्रसाद यादवको जीवनमा पहिलो राजनीतिक कार्वाही थियो।
हिराशतबाट छुट्कारापछि पर्चाको नेता खोज्ने काममा मातृकाजी केन्द्रित भए।
दिन बित्दै जाँदा त्यस पर्चाको नेता जयगोविन्द साह हुन, भन्ने सुत्र मिल्यो। मातृकाजी धनुषा आएर खोजविनमा लाग्दा कमरेड गोपाल मुखियासंग सम्पर्क स्थापित भयो। जो, धनुषा पार्टीका जिल्ला सेक्रेटरी रहेछन। उनै मुखिया मार्फत २०३५ मा कमरेड मातृकाप्रसाद यादव कम्युनिस्ट पार्टीको संगठित सदस्य बने।
महान जनयुद्वको पहल
उदयपुरको कटारीबाट एसएलसी पछि मातृकाजी सिरहा झरे र त्यहाँको क्याम्पसबाट शिक्षाशास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण गरी पार्टी काममा केन्द्रित भए। क्रमश: क्रान्तिकारी ध्येयप्रति समर्पणभाव बढ्दै जाँदा पूर्णकालीन पार्टी कार्यकर्ता बने।
विभिन्न कम्युनिस्ट घटक मिलेर २०४७ मा नेकपा (एकता केन्द्र) बन्यो। जसको क्षेत्रीय सदस्य थिए, कमरेड मातृका। सशस्त्र जनयुद्व लड्ने कि जनआन्दोलनको विकास गर्ने भन्नेवारे पार्टीमा बहश चल्दा मातृकाजी जनयुद्व पक्षमा खडा भए। तदनुसार २०५१ मा आयोजित नेकपा (माओवादी) को प्रथम राष्ट्रिय सम्मेलनबाट मातृकाजी पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए।
उपरोक्त पृष्ठभूमिमा, महान नेपाली जनयुद्वको एक केन्द्रीय पहलकर्ताको हैसियतमा कमरेड मातृकाप्रसाद यादवको ऐतिहासिक योगदान रह्यो।
२०५२ फागुन १ गते जनयुद्व पहलको दिन तपाइँ
कहाँ हुनुहुन्थ्यो, भनी प्रश्न गर्दा मातृकाजीको जवाफ रह्यो-
सप्तकोशी पूर्वमा पार्टीको जिम्मा थियो। त्यो दिन म सुनसरी जिल्लाको ईटहरीमा थिएँ। त्यसपछि क्रमश: मलाई कोशी पश्चिमको जिम्मा तोकियो।
कारागार मोर्चाको नेतृत्वमा
जनयुद्वकै बेला जेलमोर्चा सबै भन्दा जटिल, कठिन र प्रतिकुल मोर्चा हो, भनी कार्यकर्तालाई प्रशिक्षित गर्ने मातृका यादव निर्दलीय पञ्चायत कालमा तीन पटक गिरफ्तारी र कारागार चलान भए- २०३८, २०४२ र २०४६ सालमा। जनयुद्वका बेला २०५६ मा काठमाडौंबाट र २०६० मा भारतको राजधानी दिल्लीबाट गिरफ्तार भए।
उपचारका लागि दिल्ली पुगेका बेला मातृकाजी सुरेश आलेमगर र उपेन्द्र यादवसंग गिरफ्तारमा परेका थिए। गैरमाओवादी भनेर उपेन्द्रलाई केही दिनमा छोड्ने काम भयो। तर, मातृका र सुरेशलाई भारत सरकारले शाही नेपालको सत्तालाई सुपुर्दगी गर्यो।
ती दिनहरुको स्मरण गर्दै मातृकाजी भन्छन- दिल्लीबाट हामीलाई महाकाली नदीको गड्डाचौकीमा ल्याएर बुझायो। गड्डाचौकीबाट नेपालगञ्ज गर्दै काठमाडौं, शिवपुरी गणमा ल्याएर थुन्यो। शिवपुरीबाट फेरि जनकपुर पुर्यायो। त्यहाँबाट भरतपुर तालिम केन्द्र र फेरि काठमाडौंको रेञ्जरगणमा पुर्यायो।
रमाईलो मान्दै यादवजी भन्छन- शाहीसत्ता निक्कै डताएको थियो। अस्पताल लाँदा पनि हामीलाई हेलिकप्टरमै चढाएर लान्थ्यो। त्यसरी नै गड्डाचौकीबाट जहाँ जहाँ पुर्यायो, शानदार ढंगले हेलिकप्टर चढियो!
आफ्नो स्वास्थ्यस्थितितर्फ ध्यानाकर्षण गराउदै मातृकाजी बताउँछन- २०५६ को गितफ्तारीमा सशस्त्र प्रहरीले अचाक्ली यातना दिए। गणतन्त्रका निम्ति भोगेको त्यो पशुतुल्य यातनाको पीडासहित अझ संघर्षमा छु, यो गणतन्त्र आधारभूत वर्ग र जातिका जनताको गणतन्त्रमा बदल्नलाई; हजारौं सहिद, बेपत्तायोद्वा, घाइतेयोद्वाको सपना साकार पार्नलाई।
मधेसी पहिचानको भीषण संघर्ष
मातृकाजीको कटु अनुभूतिमा पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तारको जगमा बनेको पहाडिया अहंकारवादी सत्ता, काठमाडौंले मधेसीलाई नेपाली मान्दैनथ्यो। लगातार भारतबाट आयातीत् भगौडा भनेर उछितो काड्थ्यो। नेपाली शासकले भारतीय भन्ने, भारतीयले नेपाली भन्ने। मधेसीहरु राज्यविहीन पीडाबाट गुज्रन अभिशप्त थिए।
त्यस विरुद्व नेपालको राष्ट्रिय धारामा मधेसीलाई उठाउन मातृकाजीकै विशेष पहलमा व्यापक स्थानमा भित्ते लेखनद्वारा संघर्षको कार्वाही अघि बढाइयो। ठुलठुलो अक्षरमा लेखिएको थियो-
गर्व से कहु हम् मधेसी छी
विदेशी भगौडा नई
हम् धर्ती पुत्र छी।
२०५८ तिर हुनुपर्छ, काठमाडौं पुग्दा सर्वप्रथम उक्त नारा हामीले थापाथलीमा देखेका थियौं। जसले, मधेसी जनतालाई जुरुक्क उठाएको मात्र होइन एकलजातीय शासकहरुको अहंकारमा गतिलै घन पनि ठोकेको थियो।
गणतन्त्रयता प्रदेश नं २ को नाम मधेश राख्नमा पनि कमरेड मातृका यादवको भूमिका बिना सम्भव नै हुँदैनथ्यो।
जनयुद्वको वार्ताकार
तत्कालीन नेकपा (माओवादी) र राजाको सरकारवीच दोस्रो वार्ता टोलीमा मातृकाप्रसाद यादव एक सदस्य थिए। विद्रोही माओवादीका तर्फबाट बाबुराम भट्टराई, बादल, कृष्णवहादुर महरा, देव गुरुङ र मातृका यादव वार्ताकार थिए। जसले, आम जनसमुदायवीच सशक्त प्रशिक्षणद्वारा गणतन्त्र पक्षमा व्यापक जनाधार निर्माण गरेको थियो।
राजकीय जिम्मेदारी
कमरेड मातृका यादव मूलतः तीन पटक नेपाल सरकारको मन्त्रालय सम्हाल्ने राजकीय जिम्मेदारीमा पुगे- २०६३ मा वन, २०६५ मा भूमिसुधार र २०७४ मा उद्योग तथा वाणिज्य मन्त्रीका रुपमा। ती सबै कार्यकाल व्यतीत् गर्दा यादवजीले देश, जनता, वर्ग र समुदायलाई शीरमा राखेर योगदान गरेको तथ्य बिर्सनु ईमानदार राजनीतिकर्मीप्रति ज्यादति हुनेछ।
पहिचानसहित संघीय गणतन्त्र कार्यान्वयन प्रतिवद्वता र मतदाता समक्ष अपील
प्रस्तुत सामग्री तयारीमा सम्बादका दौरान मातृकाप्रसाद यादव निम्न खण्डमा दृढ अगुवाईको विशेष प्रतिवद्वता जाहेर गर्दछन्:
१. समग्र देशको सन्दर्भमा राष्ट्रिय स्वाधीनतासहित संघीय लोकतान्त्रिक गणतन्त्रको दृढ रक्षा, सामाजिक प्रकृति अनुकुल विकास र सशक्त कार्यान्वयन पहलबाट मधेसी जनताको स्वशासन अधिकार बहाल गराउने, जनजाति आदिवासीका किरात-लिम्बुवानदेखि नेवा-ताम्सालिङ, तमुवान, मगरात, थरुवान हुँदै खसानसम्मको राजकीय पहिचान स्थापना र महिला, दलितसहित मजदुर-किसानको समाजवाद निर्माणमा जोड्दार अगुवाई गर्नेछु।
२. पूर्वी नेपालको प्रदेश नाम कोशी खारेज र मधेश बराबर आन्तरिक राष्ट्रिय पहिचानमा आधारित पुन:नामाङ्कन आन्दोलन एक न्यायपूर्ण आन्दोलन हो। जुन, नेपाली क्रान्तिको अभिन्न अंग हो। हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीले कोशी खारेज आन्दोलनको स्वामित्व लिएर अघि बढ्नु पर्छ। म चाहिँ उच्च सम्मानसहित कोशी नाम खारेज आन्दोलनको स्वामित्व लिन्छु र सडक र सदनमा पहिचानसहित समाजवादी आन्दोलनको सवालमा दह्रो संघर्ष लड्ने वाचा गर्दछु।
३. अरु दल वा व्यक्तिले के गर्यो गरेन भन्दा पनि हिजोको माओवादी र आजको नेपाली कम्युनिस्ट पार्टी वा व्यक्तिगत तवरमा यो मातृका यादवले के गर्यो गरेन भनेर वस्तुनिष्ठ मूल्याङ्कन गरियोस्। राजनीतिक उमेदवार र गैरराजनीतिक उमेदवारवीच प्रष्ट रेखाङ्कन गरी मतदानको फैसला गरियोस्।
आजको पुस्ताले जान्नैपर्छ कि माफिया तस्करहरुले उहिले निर्दलीय पञ्चायतमा कर्मचारीलाई घुस ख्वाएर काम लिन्थे, बहुदलमा नेतालाई किनेर काम गराउन्थे भने गणतन्त्रमा आफै नेता, आफै सांसद, आफै मन्त्री बनेर देशद्रोही र जनद्रोही लुट मच्चाउदै छन। त्यस्तो गलत तत्वलाई दरकिनार गर्न जनतासंग गम्भीर अपील पनि गर्दछु।
माथिको प्रतिवद्वतामा तारा चिन्हका उमेदवारहरुलाई देशव्यापी निर्वाचित गर्दिनुस, मातृका यादव तपाइँको पहिचान र अधिकारका लागि जीवनमरणको संघर्ष लड्ने सार्वजानिक घोषणा गर्छ।
कमरेड मातृका यादवको निर्वाचन परिचालन सचिवालयद्वारा तयार संसदबाट पहल गर्ने नीतिगत प्राथमिकता
१. मधेशलाई सेवा आपूर्तिको मेरुदण्डमा विकास गर्ने। जस अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषिमा आधुनिकतासहित औद्योगीकरण, पूर्वाधारमा प्रदेशको स्पष्ट अधिकार अथवा स्वशासन अधिकार र जवाफदेहिता।
२. स्थानीय तह र प्रदेश समन्वित विकास प्रणाली तथा मधेश प्रदेश योजना बैंक स्थापना।
३. किसानहित र कृषि सुधार अन्तर्गत मलवीऊ वितरण पारदर्शिता कानून, कृषि मूल्य सुरक्षा र मुख्य बालीमा सार्वजानिक-सहकारी खरिद।
४. कृषि बीमा र विपत राहत सुधार अन्तर्गत दावी प्रक्रिया सरल र तुरुन्त भुक्तानी।
५. सिंचाई, पानी र जलजमाव अन्तर्गत जलजमाव- ड्रेनेजलाई राष्ट्रिय प्राथमिकता, तराईका जिल्लामा छुट्टै बजेट शीर्षक र मानक स्थापना। ग्राउण्ड वाटर/ बोरिङ नियमन+ दिगोपन अन्तर्गत पानी परिक्षण, रिचार्ज र रोकथाम।
६. युवा र रोजगारी अन्तर्गत स्थानीय युवालाई प्राथमिकता कानून: निजी क्षेत्रमा कर छुट। साना उद्यम/ स्टार्टअप ऋण ग्यारेन्टी स्किम, सहकारी/ बैंकसंग कानूनी व्यवस्था।
७. गुणस्तरीय शिक्षा, आइसिटी र जवाफदेहिता अन्तर्गत शिक्षक उपस्थिति, सिकाई उपलब्धी र सार्वजानिक रिपोर्ट कार्ड। डिजिटल स्कुल कार्यक्रमको कानूनी आधार- आइसिटी/ इन्टरनेट/ डिजिटल सामग्रीका लागि स्थायी बजेट व्यवस्था।
८. स्वास्थ्य- औषधि, प्राथमिक सेवा र बीमा अन्तर्गत स्वास्थ्य बीमा सुधार, अस्पताल/ औषधि दावी छिटो, स्थानीय तहमा। औषधि गुणस्तर/ मूल्य नियमन, सीमा र आपूर्ति सुनिश्चितता।
उपरोक्तलगायत निर्वाचन क्षेत्रीय विभिन्न दीर्घकालीन र तत्कालीन नीति तथा कार्यक्रम समाविष्ट छन। जसको पहल र कार्यान्वयनबाट एकीकृत आन्दोलन उठाउदै मधेशलाई धनी र सम्मानित बनाउदै नेपाल देशलाई नै धनी र सम्मानित तुल्याउने घोषित दृढता उमेदवार मातृका यादवको छ।
लेखकीय सिफारिस
जयगोविन्द साह र रामबृक्ष यादवद्वारा स्थापित कम्युनिस्ट आन्दोलन तथा रामराजाप्रसाद सिंहको गणतन्त्रवादी आन्दोलनमा सिञ्चित मधेसी समाजबाट उठेका मातृकाप्रसाद यादव संघीय प्रतिनिधिसभा निर्वाचन २०८२ मा एक फौलादी माने स्पातिलो र जुझारु उमेदवार हुन। पहिचानसहित समाजवादी लोकतन्त्रवारे पार्टी बुझाईमा जटिलता उत्पन्न भइरहेको विद्यमानतामा उहाँलाई सहयोग पुर्याउन हामी धनुषा १ आइपुग्यौं। जसबाट मुर्झाएको पहिचान आन्दोलनलाई नयाँ आधारमा पुनर्जागृत गर्न सकियोस्। जसका निमित्त मातृकाजीद्वारा उल्लेखित बचनवद्वता भएकै छ।
सप्तरीका देवनारायण यादवको सीमा रक्षा संघर्षवारे देशभक्त नेपालीहरु अवगत हुनैपर्छ। जब मधेश प्रदेश बन्न आयो, दक्षिण सीमानास्थित खासगरी मधेसी युवाहरुद्वारा राष्ट्रिय सीमा तथा भूमि रक्षार्थ तत्परताका विशेष समाचारहरु पर्याप्त छन। यसको अन्तर्य मधेसी पहिचानको राजकीय व्यवस्थापन नै हो। नेपालका पहाडी भूभागका नागरिकले के बुझ्नै पर्दछ भने मधेश नामको भूमि र यहाँस्थित निवासकर्ता मधेसी केवल नेपालमा मात्र छ, अरुतिर होइन। अत: दाउपेचमै सही, तर गणतन्त्र नेपालको प्रथम राष्ट्रपति श्री रामवरण यादव जन्माउने मधेसी जनताको सम्मानबाट मात्र नेपालमा नयाँ राष्ट्रिय एकीकरण र पहिचानसहित समाजवाद सम्भव हुनेछ।
अन्त्यमा, तारा चिन्हका फौलादी उमेदवार मातृकाजीलाई निर्वाचित गराउने जिम्मा वस्तुतः धनुषा १ का मतदाताको हो। हामीले त होस्टेमा हैंसे थप्नेसम्म हो। परन्तु, दोहर्याएर भन्नू पर्दा धनुषा १ निर्वाचन क्षेत्रबाट मातृकाजीको सफलतामा मात्र उत्पीडित वर्ग र समुदायले खुल्ला क्षितिज देख्न पाइने निश्चित छ। हेक्का रहोस, चार दशक बढी व्यतीत् क्रान्तिकारी राजनीतिक जीवनको आँखीझ्यालबाट हामी यो दावी र अपील गरिरहेका छौं।
गोपाल किराती
सबैलानगर, मधेश प्रदेश, नेपाल
एप्स्टीनको पृष्ठभूमिबारे विस्तृत अनुसन्धान नगर्नु हाम्रो लापरवाही थियो
चीनमा राजवंशको पतन
जेफ्री एप्सटीन र नोम चोम्स्की बीचका ईमेलहरूका सम्बन्धमा
रूपान्तरणका लागि “डीप स्टेट”को तगारो
गोपाल किरातीको अपील: तारा चिन्हमा मतदान गरौ!
अरुतिरको अनुभव: व्यक्तिपुजा राम्रो होइन
शक्तिशालीले जे गर्न सक्छ, त्यही गर्छ। कमजोरले जे सहनु पर्छ, त्यही सहन्छ: थ्यूसीडि…
प्रतिक्रिया