अमेरिका–इरान तनाव उत्कर्षमा; तेहरानका लागि ‘समय घर्किँदै गएको’ ट्रम्पको चेतावनी
स्ट्यान्ली जोनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक “विशाल नौसैनिक बेडा” (Armada) इरानतर्फ प्रस्थान गरिरहेको र आफ्नो “मिसन पूरा गर्न” तयार रहेको बताएका छन्। उनले इस्लामिक गणतन्त्र इरानलाई आफ्नो आणविक कार्यक्रमका बारेमा सम्झौता गर्नका लागि समय घर्किँदै गएको चेतावनी समेत दिएका छन्। यसको जवाफमा तेहरानले आक्रमण गरिएमा “अकल्पनीय” ढङ्गले प्रत्याक्रमण गर्ने बताएको छ।
बुधबार (जनवरी २८, २०२६) मा एक सोशल मिडिया पोस्ट लेख्दै ट्रम्पले भनेका छन्, “एउटा विशाल आर्माडा इरानतर्फ बढिरहेको छ। यो ठूलो शक्ति, उत्साह र उद्देश्यका साथ द्रुत गतिमा अघि बढिरहेको छ। यो भेनेजुएलामा पठाइएको भन्दा पनि ठूलो नौसैनिक बेडा हो, जसको नेतृत्व विशाल विमानवाहक युद्धपोत ‘अब्राहम लिंकन’ ले गरिरहेको छ।”
ट्रम्पले थप लेखेका छन्, “भेनेजुएलाको मामलामा जस्तै, यो बेडा आवश्यक परेको खण्डमा गति र आक्रामकताका साथ आफ्नो लक्ष्य द्रुत रूपमा पूरा गर्न तत्पर, इच्छुक र सक्षम छ। आशा छ इरान छिट्टै ‘वार्ताको टेबुल’ मा आउनेछ र एक निष्पक्ष तथा न्यायोचित सम्झौता गर्नेछ । आणविक हतियार विहिन – जुन सबै पक्षका लागि हितकर हुनेछ।”
यसअघि जनवरी ३ मा, अमेरिकी सेनाले भेनेजुएलाको राजधानी कराकसमा रात्रिकालीन समयमा सैनिक हस्तक्षेप गर्दै छापा त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गरी अमेरिका पुर्याएको थियो। मादुरो हाल लागुऔषध आतंकवाद (narco-terrorism) को आरोपमा अमेरिकी जेलमा छन्। जनवरी २ मा, इरानमा जारी सरकार विरोधी प्रदर्शनका बीच ट्रम्पले इरानले प्रदर्शनकारीहरूको हत्या गरेमा अमेरिका जवाफी कारबाहीका लागि “तयार” (locked and loaded) रहेको बताएका थिए। उनले इरानी प्रदर्शनकारीहरूलाई “आफ्ना संस्थाहरू कब्जा गर्न” आग्रह गर्दै “सहयोग आउँदैछ” भन्ने आश्वासन समेत दिएका थिए।
इरानले भने ओरालो लाग्दै गरेको रियाल (इरानी मुद्रा) का कारण तेहरानका व्यापारीहरूबाट सुरु भएको उक्त प्रदर्शनलाई “आन्तरिक आतंकवाद” र “दङ्गाकारी” हरूले कब्जा गरेको दाबी गरेको छ, जसलाई विदेशी गुप्तचर संस्थाहरूले सहयोग गरिरहेका छन्। इजरायलको बाह्य गुप्तचर निकाय ‘मोसाद’ ले एक सोशल मिडिया पोस्टमार्फत आफ्ना एजेन्टहरू इरानको “मैदानमा” रहेको दाबी गरेको थियो। इरानी अधिकारीहरूले प्रदर्शनकारीहरूमाथि कडा दमन गरेका छन्, जसमा पश्चिमा मानवअधिकारवादी संस्थाहरूका अनुसार हजारौँ प्रदर्शनकारी मारिएका छन्। तेहरानले भने हिंसामा परी १०० भन्दा बढी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ।
बुधबार (जनवरी २८, २०२६) मा ट्रम्पले अगाडि भनेका छन्, "समय घर्किँदै छ; यो वास्तवमै निकै महत्त्वपूर्ण घडी हो! मैले इरानलाई पहिले नै भनेको थिएँ, सम्झौता गर! उनीहरूले गरेनन् र 'अपरेशन मिडनाइट ह्यामर' (Operation Midnight Hammer) भयो, जसले इरानमा ठूलो विनाश निम्त्यायो।" उनले जुन २२, २०२५ मा इरानका आणविक केन्द्रहरूमाथि भएको अमेरिकी हमलालाई संकेत गर्दै उक्त कुरा बताएका हुन्।
जुन महिनाको त्यो युद्ध जुन १३ मा इरानमाथि इजरायलले गरेको हवाई हमलाबाट सुरु भएको थियो। अमेरिकाले जुन २२, २०२५ मा एक पटक भीषण आक्रमण गर्यो र त्यसपछि जुन २४ मा इजरायल र इरानबीचको युद्धविरामलाई समर्थन गर्यो। युद्धविराममा सहमत हुनुअघि इरानले कतारस्थित अमेरिकी सैन्य अखडालाई मिसाइलद्वारा निशाना बनाएको थियो। त्यतिबेला ट्रम्पले आफ्नो आक्रमणले 'इरानको आणविक कार्यक्रमलाई ध्वस्त' पारेको दाबी गरेका थिए। तर फेरि बुधबार (जनवरी २८, २०२६) उनले इरानीहरूलाई आणविक सम्झौता गर्न वा सैन्य कारबाहीको सामना गर्न चेतावनी दिएका छन्।
ट्रम्पले भने, "अबको आक्रमण धेरै भयावह हुनेछ! त्यस्तो अवस्था फेरि आउन नदेऊ।"
ट्रम्पको यस धम्कीको प्रतिक्रिया स्वरूप संयुक्त राष्ट्र संघका लागि इरानी नियोगले आफ्नो रक्षा आफैँ गर्ने बताएको छ। "पछिल्लो पटक अमेरिकाले अफगानिस्तान र इराक युद्धमा अन्धाधुन्ध होमिएर ७ ट्रिलियन डलरभन्दा बढी खर्च गर्यो र ७,००० भन्दा बढी अमेरिकीहरूको ज्यान गुमायो," सामाजिक सञ्जालमा पोस्ट गरिएको एक विज्ञप्तिमा भनिएको छ। "इरान आपसी सम्मान र हितमा आधारित संवादका लागि सधैँ तयार छ । तर यदि हामीलाई बाध्य पारियो भने, हामी आफ्नो रक्षा गर्नेछौँ र अकल्पनीय ढङ्गले जवाफ दिनेछौँ।"
Source: https://www.thehindu.com
नियम होइन, बल: अमेरिकी शक्ति, मुनरो सिद्धान्त, र नयाँ विश्व राजनीतिका रेखाहरू
सिरियामा कुर्दको पराजय
चीनका द्वारा क्युबालाई नयाँ चरणको सहायता स्वीकृत
सिरियाली कुर्द विद्रोहको अस्ताउँदो सूर्य
चीनद्वारा क्युबालाई ३०,००० टन चामल सहयोग
राष्ट्रपति मदुरोको रक्षा गर्ने एक जीवित क्युबाली लडाकूको गवाही
क्युबा र भेनेजुएलाबीचको सहकार्य: अमेरिकाको युद्ध–निशाना
प्रतिक्रिया