साम्राज्यवादको बदलिँदो रूप: अमेरिकी आक्रामकता, वामपन्थी राज्यहरू र विश्व शक्ति–सन्तुलन
राष्ट्रिय स्वाधीनता, प्राकृतिक सम्पदा र वैचारिक द्वन्द्व: भेनेजुएलामाथिको अमेरिकी आक्रमणबाट विश्वका साना राज्यहरूका लागि पाठ
अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणलाई ‘एग्रेसन’ वा ‘मिलिटरी एक्सन’ जे भनेर नामाकरण गरियोस्, हामी सबैले सहमत हुनुपर्ने एउटा आधारभूत तथ्य के हो भने भेनेजुएलामा हाल घटेको घटना कुनै नयाँ वा अपूर्व घटना होइन। इतिहासलाई फर्केर हेर्ने हो भने, यस्ता प्रकारका हस्तक्षेप र आक्रमणहरू निरन्तर हुँदै आएका छन्। यस अर्थमा, भेनेजुएलामा भएको यो घटना पनि त्यही ऐतिहासिक शृङ्खलाभित्रको एउटा बिन्दु मात्र हो– एउटा निरन्तर प्रक्रियाको अर्को कडी हो।
तर यसका बाबजुद पनि, आजको २१औँ शताब्दीमा आइपुग्दा, यस्ता घटनाहरूको स्वरूप र सन्दर्भमा कतिपय नयाँ मोडहरू देखिन थालेका छन् भन्ने कुरा अस्वीकार गर्न सकिँदैन। ती मोडहरूको विस्तृत र गहिरो विश्लेषण गर्नु आवश्यक छ ।
अहिलेसम्मको मेरो बुझाइअनुसार, अमेरिकाले भेनेजुएलामाथि गरेको यो सैन्य हस्तक्षेपबाट हामीले आम रूपमा ग्रहण गर्नुपर्ने कुरा के हो भने, यस घटनामा साम्राज्यवादको परम्परागत र सामान्य चरित्र त स्पष्ट रूपमै उपस्थित छ। तर यससँगै, यो विशिष्ट घटनाले केही थप महत्त्वपूर्ण पक्षहरू पनि उजागर गरेको छ।
पहिलो कुरा, वर्तमान अवस्थालाई हेर्दा– चाहे अमेरिका भनौँ वा अमेरिका बाहेकका अन्य कुनै शक्तिशाली राज्यहरू– विश्व व्यवस्थामा प्रभाव राख्ने प्रतिनिधि शक्तिहरू मूलतः साम्राज्यवादी र पूँजीवादी संरचनाभित्रै सीमित देखिन्छन्। यस अर्थमा अमेरिका पनि यही प्रवृत्तिको प्रतिनिधि शक्तिका रूपमा उभिएको छ। सतहमा हेर्दा साम्राज्यवादको स्पष्ट नेतृत्व संरचना देखिन नसके पनि, व्यवहारिक रूपमा यसको नेतृत्व अमेरिका नै गरिरहेको अनुभूति हुन्छ। हामीले सैद्धान्तिक रूपमा परिकल्पना गरेको साम्राज्यवादको प्रतिनिधित्व वर्तमान सन्दर्भमा मुख्यतः अमेरिकामार्फत प्रकट भइरहेको जस्तो देखिन्छ।
निश्चय नै, यी शक्तिहरूको बीचमा आपसी द्वन्द्वहरू पनि विकसित हुँदै आएका छन्, जुन ऐतिहासिक र संरचनागत रूपमा स्वाभाविक नै हुन्। ती द्वन्द्वहरू समयक्रमसँगै विभिन्न रूपहरूमा प्रकट हुँदै आएका छन्। तर यति हुँदाहुँदै पनि, आजको अवस्थामा विश्व राजनीतिक–आर्थिक संरचनामा सबैभन्दा बढी देखिने, सबैभन्दा बढी दृश्यात्मक (visible) शक्ति अमेरिका नै हो भन्ने तथ्यलाई अस्वीकार गर्न कठिन छ। यही कारणले गर्दा अमेरिकालाई समकालीन साम्राज्यवादको एउटा प्रतीकका रूपमा बुझ्न सकिन्छ।
साम्राज्यवादी–पूँजीवादी शक्तिहरू आर्थिक रूपमा निरन्तर एउटा प्रकारको युद्ध सञ्चालन गरिरहेका छन्। तर वैचारिक तहमा भने तिनको प्रमुख शत्रु आज पनि मार्क्सवाद वा समग्र बामपन्थी चिन्तन नै रहेको देखिन्छ।
यस सन्दर्भमा सबैभन्दा पहिला ध्यान दिनुपर्ने कुरा के हो भने, यी साम्राज्यवादी–पूँजीवादी शक्तिहरू आर्थिक रूपमा निरन्तर एउटा प्रकारको युद्ध सञ्चालन गरिरहेका छन्। तर वैचारिक तहमा भने तिनको प्रमुख शत्रु आज पनि मार्क्सवाद वा समग्र बामपन्थी चिन्तन नै रहेको देखिन्छ। त्यसैले यहाँ विशेष रूपमा अमेरिकाकै सन्दर्भमा कुरा गर्दा–चाहे त्यसलाई साम्राज्यवाद भनियोस् वा पूँजीवाद–स्पष्ट रूपमा उसले विश्वको कुनै पनि भूभागमा बामपन्थी, मार्क्सवादी वा समाजवादी शक्तिहरूको अस्तित्वलाई सहज रूपमा स्वीकार गर्न चाहँदैन भन्ने देखिन्छ ।
यही कारणले गर्दा भेनेजुएला मात्र होइन, भेनेजुएलाजस्ता अनेक देशहरूमाथि अमेरिकाले आफ्नो हैसियत र क्षमताअनुसार विभिन्न रूपका आक्रमणहरू गर्दै आएको देखिन्छ। यी आक्रमणहरू कतै वैचारिक रूपमा, कतै सैन्य हस्तक्षेपका रूपमा, त कतै आर्थिक नाकाबन्दी र दबाबमार्फत प्रकट हुन्छन्। पछिल्लो समय भेनेजुएलामाथि भएको आक्रमण पनि यही दीर्घकालीन प्रक्रियाको निरन्तरता हो। मूलतः बामपन्थी विचारधाराबाट निर्देशित कुनै पनि राज्यलाई उसले सहज रूपमा स्वीकार गर्ने प्रवृत्ति देखिँदैन।
सम्भव भएको भए, उसले चीनलाई समेत यस प्रक्रियाबाट अलग राख्ने थिएन भन्ने अनुमान गर्न सकिन्छ। तर वर्तमान अवस्थामा चीनमाथि प्रत्यक्ष सैन्य आक्रमण गर्ने हैसियत अमेरिका स्वयंसँग छैन भन्ने तथ्य उसलाई राम्ररी अवगत छ। त्यसैले उसले प्रत्यक्ष आक्रमणको सट्टा अन्य रणनीतिहरू अपनाइरहेको देखिन्छ। ऐतिहासिक रूपमा बामपन्थी विचारधाराबाट निर्देशित राज्यहरूको सन्दर्भ हेर्ने हो भने– क्युबा, उत्तर कोरिया लगायतका उदाहरणहरूमा–अमेरिकाले कतै पनि त्यस्ता शक्तिहरूलाई सहज रूपमा छोडेको देखिँदैन।
अमेरिका तथा अन्य साम्राज्यवादी शक्तिहरूले बामपन्थी शक्तिहरूको अस्तित्वलाई कुनै पनि अवस्थामा स्वीकार गर्ने प्रवृत्ति देखाएका छैनन्। सकेसम्म ती शक्तिहरूलाई दमन गर्ने, र दमन सम्भव नभएमा सम्झौताका आवरणमा समेटेजस्तो देखाउने तर अन्ततः वैचारिक शत्रुता कायम राख्ने प्रवृत्ति अहिले चरम अवस्थामा पुगेको जस्तो देखिन्छ।
अघिल्ला वर्षहरूमा यहाँ पनि बामपन्थी शक्तिहरूको प्रभाव केही हदसम्म सशक्त बन्दै जाँदा, त्यसको प्रभावस्वरूप हामीमाथि पनि विभिन्न माध्यमबाट गहिरो निगरानी र दबाब कायम गरिएको थियो। यही सन्दर्भमा अहिले देखिँदै आएको मुख्य द्वन्द्व मूलतः वैचारिक प्रकृतिको हो भन्ने कुरा स्पष्ट हुँदै गएको छ, र यो वैचारिक द्वन्द्व हाल झनै उच्च तहमा पुगेको अनुभूति हुन्छ। अमेरिका तथा अन्य साम्राज्यवादी शक्तिहरूले बामपन्थी शक्तिहरूको अस्तित्वलाई कुनै पनि अवस्थामा स्वीकार गर्ने प्रवृत्ति देखाएका छैनन्। सकेसम्म ती शक्तिहरूलाई दमन गर्ने, र दमन सम्भव नभएमा सम्झौताका आवरणमा समेटेजस्तो देखाउने तर अन्ततः वैचारिक शत्रुता कायम राख्ने प्रवृत्ति अहिले चरम अवस्थामा पुगेको जस्तो देखिन्छ।
भविष्यमा भेनेजुएलाजस्तै परिस्थिति कुनै पनि देशमा उत्पन्न भयो भने, त्यस्ता शक्तिहरूले यही रणनीति पुनः अपनाउनेछन् भन्ने बुझाइ गलत हुँदैन। यस्तो अवस्था नेपालमा पनि आउन सक्छ, वा नेपाल बाहेक अन्य देशहरूमा पनि देखिन सक्छ। यस्ता संकेतहरू विगत र वर्तमान दुवै सन्दर्भमा देखिएका छन्। अहिले हामी भेनेजुएलाजस्तो चरम अवस्थामा पुगेका छैनौँ, र सम्भवतः यही कारणले त्यस्तो प्रत्यक्ष हस्तक्षेपको अवस्था अहिलेसम्म उत्पन्न भएको छैन। तर भविष्यमा त्यस्तो अवस्था सिर्जना भयो भने, त्यसप्रति हामी अत्यन्त सचेत र चनाखो रहनु अपरिहार्य हुन्छ। यो चेतावनी नेपालका लागि मात्र होइन, विश्वका सबै देशहरूका लागि समान रूपमा लागू हुन्छ।
भविष्यमा भेनेजुएलाजस्तै परिस्थिति कुनै पनि देशमा उत्पन्न भयो भने, त्यस्ता शक्तिहरूले यही रणनीति पुनः अपनाउनेछन् भन्ने बुझाइ गलत हुँदैन। यस्तो अवस्था नेपालमा पनि आउन सक्छ, वा नेपाल बाहेक अन्य देशहरूमा पनि देखिन सक्छ।
दोस्रो महत्त्वपूर्ण कुरा के हो भने, बामपन्थी शक्तिहरू त स्वभावतः साम्राज्यवादी शक्तिहरूका वैचारिक शत्रु हुन् नै। तर त्यसबाहेक, पूँजीवादी व्यवस्था अंगालेका देशहरू पनि यदि अमेरिकासँग केही हदसम्म असहमति प्रकट गर्छन् भने, उनीहरू पनि त्यसको निशानाबाट सुरक्षित रहँदैनन्। यो यथार्थ विभिन्न उदाहरणहरूबाट स्पष्ट भइसकेको छ। अमेरिकाले समाजवादी देशहरूलाई मात्र होइन, पूँजीवादी भनेर चिनिने राष्ट्रहरूलाई समेत आफ्नो प्रभुत्वविरुद्ध उभिन खोजेमा सहन गरेको देखिँदैन।
यस सन्दर्भमा उसको मूल चाहना स्पष्ट देखिन्छ–सबै देशहरू उसकै नेतृत्व र निर्देशनमा चलून्, उसकै नीतिहरूको समर्थन गरून्, र सधैँ उसकै पछि लागिरहून्। यही प्रभुत्ववादी आकांक्षा हाल युरोपेली मुलुकहरूसँगको सम्बन्धमा पनि प्रकट हुन थालेको छ। युरोपमा आज स्पष्ट रूपमा बामपन्थी भनेर चिनिने सरकारहरू कम देखिए तापनि, त्यहाँका देशहरूमाथि पनि दबाब, धम्की र नियन्त्रणका प्रयासहरू बढ्दै गएको देखिन्छ। यसले साम्राज्यवादी शक्ति संरचनाको वास्तविक चरित्रलाई अझ उजागर गरेको छ।
मूलतः समस्या के देखिन्छ भने, कुनै पनि विषयमा उसँग सहमत नहुने बित्तिकै अमेरिकाले आक्रामकता प्रदर्शन गर्न थाल्छ। पुँजीवादी पृष्ठभूमि र वैचारिक समानता रहेका भए पनि, सबै देशहरूले असहमतिको अवस्थामा यस्तो आक्रामक सम्बन्ध कायम गर्दैनन्। तर अमेरिकाले देखाउने प्रतिक्रिया भने फरक प्रकृतिको देखिन्छ।
युरोपसँगको सम्बन्धमा अमेरिकाको व्यवहार विशेष रूपमा ख्याल गर्नुपर्ने खालको छ। मूलतः समस्या के देखिन्छ भने, कुनै पनि विषयमा उसँग सहमत नहुने बित्तिकै अमेरिकाले आक्रामकता प्रदर्शन गर्न थाल्छ। पुँजीवादी पृष्ठभूमि र वैचारिक समानता रहेका भए पनि, सबै देशहरूले असहमतिको अवस्थामा यस्तो आक्रामक सम्बन्ध कायम गर्दैनन्। तर अमेरिकाले देखाउने प्रतिक्रिया भने फरक प्रकृतिको देखिन्छ। मैले बुझेअनुसार, अमेरिकाका लागि असहमति स्वयं असह्य विषय हो। उसँग असहमत हुनु उसले स्वीकार गर्न नसक्ने अवस्थाजस्तै देखिन्छ।
तेस्रो महत्वपूर्ण पक्ष के हो भने, अमेरिकाको आक्रामकता केवल वैचारिक तहमा सीमित छैन। निश्चय नै, उसले बामपन्थी विचारधारामा आधारित वा आफूहरूसँग असहमत रहने शक्तिहरूलाई वैचारिक रूपमा लक्षित गर्दै आएको छ। तर यो प्रवृत्ति पछिल्लो समय मात्र होइन, विगतदेखि नै देखिँदै आएको हो, र अहिले आएर अझ स्पष्ट रूपमा सतहमा प्रकट भएको छ। वर्तमान अवस्थामा अमेरिकाको ध्यान आर्थिक पक्षतर्फ पनि तीव्र रूपमा केन्द्रित भएको देखिन्छ, विशेषतः जहाँ प्राकृतिक स्रोत–साधन प्रशस्त मात्रामा उपलब्ध छन्, त्यस्ता भूभागहरू उसका प्राथमिक लक्ष्य बन्दै गएका छन्।
भेनेजुएलामाथि गरिएको पछिल्लो आक्रमणलाई हेर्दा, यसमा दुईवटा प्रमुख कारणहरू स्पष्ट रूपमा देखिन्छन्। पहिलो, भेनेजुएला बामपन्थी विचारधाराबाट निर्देशित राज्य भएकाले त्यसप्रति अमेरिकाको वैचारिक शत्रुता पहिलेदेखि नै विद्यमान थियो। दोस्रो, त्यहाँ रहेका विशाल प्राकृतिक सम्पदाप्रति अमेरिकाको लोभ पनि उक्त आक्रमणको एक महत्वपूर्ण कारण बनेको देखिन्छ।
वास्तवमा अमेरिकाको ध्यान ग्रीनल्याण्डमा रहेको प्राकृतिक सम्पदातर्फ केन्द्रित छ, र सुरक्षा भन्ने कुरा केवल त्यसलाई वैध ठहर्याउने माध्यमका रूपमा प्रयोग गरिएको देखिन्छ।
यही प्रवृत्तिको निरन्तरता ग्रीनल्याण्डको सन्दर्भमा पनि देख्न सकिन्छ। ग्रीनल्याण्डमा न त बामपन्थी शक्तिहरू छन्, न साम्यवादी, न त मार्क्सवादी नै। त्यसैले त्यहाँ सुरक्षा सम्बन्धी चिन्ता देखाउनु अमेरिकाको वास्तविक उद्देश्य नभई एउटा बहाना मात्र हो भन्ने प्रष्ट छ। चिनियाँ र रुसी पक्षले समेत स्पष्ट रूपमा यो कुरा उठाइसकेका छन् कि ग्रीनल्याण्डमा चिनियाँ हस्तक्षेपको कुनै आधार छैन। वास्तवमा अमेरिकाको ध्यान त्यहाँ रहेको प्राकृतिक सम्पदातर्फ केन्द्रित छ, र सुरक्षा भन्ने कुरा केवल त्यसलाई वैध ठहर्याउने माध्यमका रूपमा प्रयोग गरिएको देखिन्छ।
यस कारण, अमेरिकाले कुनै पनि देशमा बहुमूल्य प्राकृतिक सम्पदाको सम्भावना देख्ने बित्तिकै त्यसलाई उपेक्षा गर्दैन। आफ्नो घोषित नैतिकता, मूल्य–मान्यता र सिद्धान्तहरूभन्दा पर गएर पनि उसले आक्रामक व्यवहार प्रदर्शन गर्न सक्छ। व्यवहारमा हेर्दा, यस्ता मूल्यहरू प्रायः रणनीतिक स्वार्थको अधीनमा पर्छन्।
यो प्रवृत्ति भविष्यमा हाम्रो देशमा पनि लागू हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन। हाम्रो देशमा पनि उल्लेखनीय प्राकृतिक स्रोत–साधनको सम्भावना रहेको तथ्य प्रस्टै देखिन्छ। यदि कुनै समय यस्ता स्रोतहरू रणनीतिक रूपमा महत्वपूर्ण ठहरिए भने, देश बामपन्थी वैचारिक प्रभावमा नरहेकै अवस्थामा पनि केवल सम्पदामाथिको पहुँचका लागि बाह्य हस्तक्षेपको जोखिम उत्पन्न हुन सक्ने सम्भावना म देख्दछु ।
प्रगतिशील रुपान्तरण आन्दोलनले ‘भेनेजुएलामाथिको अमेरिकी आक्रमण र राष्ट्रिय स्वाधीनताको सवाल’ शीर्षकमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यक्त विचारको सम्पादित उतार ।
क्रान्तिकारी व्यवहारमा मार्क्स
एकाधिकारपछिको साम्राज्यवाद: भेनेजुएला, वैश्विक दक्षिण र पुँजीको नयाँ भू–राजन…
सात तारा: गोर्खा राज्य विस्तारको राजकीय समापन बाँकी छ
आधुनिक गुरुकुलको आवश्यकता
भेनेजुएलाको व्यथा: अमेरिकी दादागिरीको कथा !
इरानको उथलपुथललाई बुझाउने ६ बुँदा
आठ वर्षे अध्ययन बिदा
प्रतिक्रिया