अर्धमुदित नयन र डुब्न लागेको घाम

(यस कथाका निमित्त म दुई व्यक्तिप्रति साह्रै आभारी छु। अमेरिकन कवि कार्ल सापिरो तथा जर्मन भिक्षु लामा अनागरिक गोविन्, जसका दुई एकदमै भिन्न दृष्टिकोण र दर्शनले मलाई प्रभावित पारेका छन् र जो यो कथाका पङ्क्तिहरूमा प्रस्टसँग देखा पर्छन्। यो कथा, तसर्थ ती दुई व्यक्तिलाई समर्पित छ– लेखक।)

ओ गाइड, तिमी बुझ्दैनौ, बुझ्नै सक्तैनौ, पहिलोपटक तिम्रो धरतीमा टेक्न पाउँदा हामी पश्चिमालाई कस्तो आनन्द मिल्छ ! चार भन्ज्याङभित्र डकोटा पस्नासाथै यो हरियो उपत्यका, यसका तरेली परेका खेत र यसका माटोले पोतेका घर राता, पहेंला, सेता; यसको हावामा माटो र हिमालको गन्ध; यसको वातावरणमा युग–युगान्तरको शान्ति... तिमी यसैमा जन्म्यौ, यसकारण नीला पहाडले हात फिंजाएर गरेको यो अङ्कमाल तिमीलाई बन्धनजस्तो लाग्छ होला तर हामी जो मैदानमा बस्छौं, जो समुद्रको छेउमा बस्छौं, जसको दृष्टिक्षितिजमा बिलाएर जान्छ– जमिनको होस् अथवा पानीको । हामी जान्दछौं, पहाडको छातीले तिम्रो दृष्टि कसरी प्यारसाथ सदा टाँसिरहन्छ । दृष्टि बिलाउनमा आफू बिलाएको हीनता तिमीले कहिल्यै भोग्नुपरेको छैन । हामी सदा विशालतामा चिप्लिरहेर होला, मेरो साथी ! तिम्रो यो घेरा प्रिय लाग्छ ! अनि तिमीले एक कुरा विचार गरेका छौ ? कसरी एयरपोर्टमा नै बुद्धको अर्धमुदित नयनले तिमीलाई स्वागत गरेको अनुभव हुन्छ ! कसरी एक शान्ति, एक प्रत्यावर्तन, एक वास मिलेको अनुभव हुन्छ । तिमीहरूले सदा पश्चिमलाई दिन नै जान्यौ– धर्म दियौ, पुराण दियौ, काँसका मूर्ति दियौ, हस्तिहाडका गहना दियौ, ताडपत्र दियौ, ताम्रपत्र दियौ, सभ्यता दियौ, ज्ञान दियौ, गलामा चमेलीको माला दियौ, तिमीले सदासदा दिइ नै रह्यौ र तिमी जान्दैनौ लिनु केलाई भन्छन्, तिमी जान्दैनौ स्वामित्व केलाई भन्छन्, तिमी जान्दैनौ उपभोग केलाई भन्छन् ! मेरो साथी, तिम्रो इतिहास म जान्दछु, तिम्रो देशमा आउनुअगि कैयन् वर्ष मैले मेरा पुस्तकालयहरूमा तिम्रा अमूल्य ग्रन्थहरूका पानापाना पल्टाएको छु ।

तिमीहरूले सदा पश्चिमलाई दिन नै जान्यौ– धर्म दियौ, पुराण दियौ, काँसका मूर्ति दियौ, हस्तिहाडका गहना दियौ, ताडपत्र दियौ, ताम्रपत्र दियौ, सभ्यता दियौ, ज्ञान दियौ, गलामा चमेलीको माला दियौ, तिमीले सदासदा दिइ नै रह्यौ र तिमी जान्दैनौ लिनु केलाई भन्छन्, तिमी जान्दैनौ स्वामित्व केलाई भन्छन्, तिमी जान्दैनौ उपभोग केलाई भन्छन्!

तिमी त मलाई आधुनिक गल्ली, सडकमा डोर्‍याउने एक गाइड न हौ, म तिमीलाई तिम्रा प्राचीन सडकमा डोर्‍याउन सक्छु । म प्रस्ट देख्छु, यो उपत्यका जलमग्न भएको र त्यहाँ, जहाँ अहिले स्वयम्भूनाथ छन्, त्यहाँ एक कमल फुलेको, म प्रत्यक्ष देख्छु, चोभारमा मञ्जुश्रीले खड्ग हानेको, म प्रत्यक्ष देख्छु, पीत वस्त्र लगाएका भिक्षुभिक्षुणीले काष्ठमण्डपका कुनाकाप्चामा भिक्षा लिने र धर्म प्रचार गर्ने गरेको ।

आह ! कपाल ताछेका यी भिक्षुका आँखा हेर ! यसमा तिम्रो दृष्टि अड्दैन । उनको यस दृष्टिलाई ‘सम्यक् दृष्टि’ भन्छन् । जान्दछौ, सम्यक् दृष्टिको अर्थ ? यसको अर्थ हो स्वच्छ र निर्लिप्त दृष्टि; यस्तो दृष्टि, जसले वस्तुहरूलाई तिनको यथार्थ रूपमा देख्छ... एक पेग अरू लेऊ, त्यसपछि डिनरमा जाउँला... !

तिमी जो मन्दिरजस्तो घरमा बस्छौ, त्यस घरको रूप, सौन्दर्य र त्यसको वशीकरण तिमीलाई अनुभव हुँदैन । तिमीलाई यो काठका मूर्तिमा, यी विभिन्न बुट्टाहरूमा, यी विभिन्न शैलीहरूमा के एक कलाकारको हातमा रहेको छिनोको सङ्गीत बगेको अनुभव हुँदैन ?

भन त, अतीतको धूलोमा पुरिएका ती हृष्टपुष्ट, सुन्दर, तरूण कलाकारहरू कसरी दिनभर खेतमा काम गर्दा हुन् । र बिहान–बेलुकी आफ्ना इष्टदेवको सुन्दर रूप रच्ता हुन् । काठको मूर्ति ताछिरहेका बेला उसकी गोरी, पुड्की, डल्ली स्वास्नीले पिठ्यूँमा बच्चा बोकेर एक हातले अन्तीबाट रक्सी खन्याउँदा जो फिंज खोल्चामा उम्री जम्थे– के तिनले त्यो कलाकारलाई झिंगटीझैं छाना राख्ने प्रेरणा दिएनन् होला ? आह ! तिम्रो देश निश्चय पनि महान् हो– यही हो त्यो देश, जहाँ विभिन्न संस्कृतिले वास पायो ।

आर्य, अनार्य, हिन्दू, बौद्ध सबै यहाँ पुगे, सबैले यहाँ पुनर्जन्म पाए । यो तिम्रो देशको माटोको असर हो, यो यहाँका विभिन्न जातको माटोको असर हो; मेरा साथी ! सबै यहाँ एकसाथ हुर्किन सके... आऊ, एक पेग अरू थपूँ, डिनरको बेला भएको छैन... !

सम्झ त, जाडो महिनामा बुइँगलमा बसेर आगोको मात्र उज्यालोमा जब धुवाँ हुस्सुजस्तै छानामुनि लटरम्म लागेको होस्, सुकुलमा बसेर अंशुवर्माले भृकुटीलाई भोट पठाउँदा साथमा गएका नेपाली सामानको एकएक विस्मृत व्यहोरा बाजेले नातिलाई सुनाइरहेको दृश्य!

तिम्रो म साह्रै आभारी छु, तिमीले मलाई नेपाली, नेवारी दुवै खाना खुवायौ । आह ! मोमो, सम्झ त, जाडो महिनामा बुइँगलमा बसेर आगोको मात्र उज्यालोमा जब धुवाँ हुस्सुजस्तै छानामुनि लटरम्म लागेको होस्, सुकुलमा बसेर अंशुवर्माले भृकुटीलाई भोट पठाउँदा साथमा गएका नेपाली सामानको एकएक विस्मृत व्यहोरा बाजेले नातिलाई सुनाइरहेको दृश्य ! बज्यैचाहिं बाँसको सोतेमा तमाखु खाइरहेकी, बाजेको स्मृतिलाई बीचबीचमा ताजा बनाइरहेकी र पित्तलको थालमा ताजा गरमगरम मोमोको खेप बुहारीले ओसारेको र ताजा मोमो मुखमा हाल्दा बाजेको स्वरमा तोतेपन आएको, नाति हाँसेको र बाजेले छिटो निल्न खोजेको र जिभ्रो डढेको र निर्धक्कसाथ फोहोर गाली गरेको– यी यस्ता दृश्य हन्, जो कुनै पुस्तकालयका पुराना ग्रन्थबाट पढ्न सकिँदैन । यिनको निम्ति आउनै पर्छ, काठमाडौं र भिज्नै पर्छ, यहाँको वातावरणमा– यसको निम्ति म तिम्रो साह्रै आभारी छु... आऊ तिम्रो महान् राष्ट्र र मेरो महान् राष्ट्रका नाममा फेरि चियर्स गरौं... ।

आह ! अर्को एक कुरा, जो किताबमा छैन, त्यो हो यहाँका मानिसहरूको अनुहारमा व्याप्त एक हाँसो । एक स्वागतपूर्ण हाँसो, एक यस्तो हाँसो मानौं, हामी पूर्वकार्यक्रम अनुसार भेट्तै छौं, मानौं यो भेट हाम्रो पहिलो होइन, मानौं दिनभर खेतमा काम गरेर आएको म त्यस ज्यापू अनुहारको जेठो पुत्र हुँ, मानौं मेरो श्रम सफल भएको छ र मेरो पिता मसँग तृप्त छ, मानौं मैले संसारको सबभन्दा राम्री आइमाईलाई स्वास्नी बनाई पछिपछि डोर्‍याएर ल्याएको छु र मेरी आमा द्वारमा स्वागतसाथ हाँसिरहिछ, मानौं बहिनीको लोग्नेसँग मेरो गहिरो दोस्ती छ र ज्वाइँजेठान दुवै रक्सीको सुरमा गीत गाउँदै ढुनमुनिँदै अँगालो मार्दै आइरहेछौं, मानौं म भन्न सक्तिनँ, जति बयान गरे पनि यसको पूर्ण बयान म गर्न सक्तिनँ– यो हाँसो ज्ञानपूर्ण छ, यो हाँसो आत्मीय छ, यो हाँसो स्थानीय छ ! एक पेग अरू, तिम्रो नेपाली हाँसो, मधुर हाँसोको निम्ति... अनि फेरि आँखा; यी आँखीझ्यालका आँखा, यी ढोकाको खापाका आँखा, यी स्तूपका आँखा, यी मानिसका आँखा, खुट्टा उचाली छिमेकको केटाले तिम्रो बारीमा आलुबखडाको बोट हेरेको जस्तो डाँडाको कापबाट हेर्ने यो हिमालका आँखा ।

जति बयान गरे पनि यसको पूर्ण बयान म गर्न सक्तिनँ– यो हाँसो ज्ञानपूर्ण छ, यो हाँसो आत्मीय छ, यो हाँसो स्थानीय छ! एक पेग अरू, तिम्रो नेपाली हाँसो, मधुर हाँसोको निम्ति...

यो आँखाहरूको देश हो, दृष्टि भएकाहरूको देश । भगवान् बुद्धका अर्धमुदित नयनले रक्षा गरेको देश हो । आज संसारका सम्पूर्ण इतिहासका ग्रन्थ नाश भए पनि तिम्रो आँखाले एक सभ्यता निर्माण गर्नेछ, एक सभ्यता साँचिरहनेछ । आँखा हेर्ने मेरो चाहना अझ तृप्त भएको छैन, भोलि जाऊँ एक एकान्त ठाउँमा, जहाँ एक स्तूप होस् र जहाँ होस् प्रस्ट नयन, जहाँ म सूर्यास्तको बेलाको शिथिल घाम बुद्धको आँखामा, आँखाको किनारामा प्रतिविम्बत भएको हेर्न चाहन्छु । मलाई एक यस्तो सुन्दर, श्रेष्ठ र पूर्ण आँखा देखाइदेऊ, जसको सम्झनाले मलाई मेरो यो यात्रा अमर बनाइदेआस्, आऊ, डिनर खान जाऊँ ।

आऊ अतिथि ! तिमीलाई म आज आँखा देखाइदिन्छु । यस डाँडालाई चोभार भन्छन् । तिमीहरू यहाँ मञ्जुश्रीको खड्गको दाग र वागमतीको निकास हेर्न आउँछौ । आज म तिमीलाई यो डाँडामा उकाल्छु, जहाँ कुनै अतिथि जान्छन्, जहाँ टुरिस्टको मोटर पुग्दैन, जहाँ अझै (तिम्रा शब्दमा) अतीतको संस्कृतिलाई समयको धूलोले छोप्न सकेको छैन । तिमीले कुल्चेको ढुङ्गा देख्छौ ? हेर, यसमा यस गाउँको एक बालकलाकारले चरा सिर्जेको छ, अर्को खुडकिलामा एक देवलको नक्सा छ ।

कलाकारले कुन धर्मको देवल हो, त्यो खोप्न बिर्सेछ । माथि गाउँको बीचमा एक मन्दिर छ आदिनाथको, जसको प्राङ्गणमा शिवालय छ, छन् बुद्ध भगवान् ‘ॐ मने पेमे हुँ’का कैयन् प्रेयर ह्विल । तिम्रो भनाइअनुसार यो नेपालीको सहनशीलता र सहअस्तित्वको जिउँदो नमुना हो । त्यहाँ केटाकेटीहरू मस्त भई देवताहरू, तिनका धर्महरू र तिनका दर्शनहरूको विभिन्नताको वास्ता नगरी खेल्छन् तर मेरो अतिथि, म त्यहाँ तिमीलाई लग्दिनँ ।

माथि गाउँको बीचमा एक मन्दिर छ आदिनाथको, जसको प्राङ्गणमा शिवालय छ, छन् बुद्ध भगवान् ‘ॐ मने पेमे हुँ’का कैयन् प्रेयर ह्विल। तिम्रो भनाइअनुसार यो नेपालीको सहनशीलता र सहअस्तित्वको जिउँदो नमुना हो

तिमीले यो सब प्रशस्त देखिसक्यौ, प्रशस्त बुझिसक्यौ, प्रशस्त प्रचार गरिसक्यौ । म आज तिमीलाई यस्तो एक घरमा लग्छु, जहाँ तिमी पाउनेछौ यथार्थको हाम्रो स्पन्दन । यी एक किसान परिवार हुन्, जसको एक–दुई रोपनी खेत यतैकतै होला, जहाँ यी काम गर्छन्, पसिना चुहाउँछन् र शहरमा अधियाँ तिर्न जान्छन् । यिनको बुइँगलमा धुवाँ लटरम्म लाग्दैन र यिनको चुलोमा तातोतातो, गरमगरम मोमो पाक्तैन ! यिनको जाडोमा अंशुवर्माकी भृकुटीको दाइजोको चर्चा हुँदैन । यिनका घरमा एक बालक छ र त्यो बालक कुनै अवतार होइन ।

एक गरिब ज्यापूको घरमा ‘पोलियो’ रोगले त्रसित भई जन्मेको बालकले निश्चय पनि धर्म प्रचार गर्न सक्तैन, निश्चय पनि सामाजिक क्रान्ति गर्न सक्तैन, निश्चय पनि यो पृथ्वीलाई केही देन दिन सक्तैन । ऊ त स्रष्टाको एक अनौठो सृष्टिको रूपमा यहाँ जन्म लिन पुगेको छ । फेरि अर्को कुरा, मेरो साथी ! ओहो, तिमीलाई पहाडले थकाएछ, थर्मसको फिल्टर पानी दिऊँ ? अँ, उसलाई त्यहाँ कुनै प्रतीकको रूपमा मैले तिमीलाई दर्शन गराउन लागेको पनि होइन । तिमी जो हिजो ब्लाक एन्ड ह्वाइटका तरङ्गमा बगेका थियौ र तिमीले जो हिजो मलाई अनुरोध गरेका थियौ आँखा हेर्न, एउटा यस्तो आँखा, जसले तिमीलाई आफ्नो नेपाल भ्रमण चिरकालसम्म सम्झाइरहोस् ।

म त्यस्तै आँखा देखाउन तिमीलाई त्यहाँ लगिरहेछु । बालकको सम्पूर्ण अङ्ग निष्क्रिय छ– ऊ बोल्न सक्तैन, हात चलाउन सक्तैन, खुट्टा चलाउन सक्तैन, थुक्न सक्तैन । उसका शरीरमा जीवित छन् सिर्फ दुई आँखा, जसका सहारामा ऊ बाँचिरहेछ । म भन्न सक्तिनँ, उसका ती नयनमा सम्यक् दृष्टि छ–छैन, म त्यसको परिभाषा पनि त बुझ्दिनँ तर उसको अनुहार निश्चय पनि भावनारहित छ; दृष्टि निर्लिप्त, सङ्कल्पशून्य र वाक्हीन, कर्मान्तरहित, आजीवरहित, व्यथारहित, समाधिरहित (सायद नचाहेर पनि मैले बौद्ध धर्मको आर्य अष्टाङ्गी मार्ग बोल्न पुगेछु, जो तिम्रो प्रभाव हो अथवा बालकको नै प्रदत्त गुण) । मेरो अतिथि ! तिमीले चाहेको आँखा यही हो ।

कति साधारण छन् यी कार्य! मेरो अतिथि, तिमीले हिजो भन्यौ, हामी पूर्वीयहरूले अहिले पनि पश्चिमाहरूलाई दान दियौं होइन? पानी दिऊँ? स्वाँस्वाँ भयो?

जीवनद्वारा, एक प्राणद्वारा अनेक शक्ति सञ्चालित भइरहेको हुन्छ । तिमी खुशी हुन्छौ, मुस्कुराउँछौ; वेदना हुन्छ, रुन्छौ; जाडो हुन्छ, न्यानो खोज्छौ; भोक लाग्छ, खाने व्यवस्था मिलाउँछौ; नजानेका कुराहरू सिक्न खोज्छौ, सिक्छौ; सफल हुन्छौ, असफल हुन्छौ; अनेक मीठा–तीता अनुभव हुन्छन्, ती अनुभवहरू मन मिल्ने साथी, समय र संवेदना हेरी तिमी व्यक्त गछौं । कति साधारण छन् यी कार्य ! मेरो अतिथि, तिमीले हिजो भन्यौ, हामी पूर्वीयहरूले अहिले पनि पश्चिमाहरूलाई दान दियौं होइन ? पानी दिऊँ ? स्वाँस्वाँ भयो ?

यो बालक यस्तो छ– न केही दिन सक्छ, न केही लिन सक्छ । यसको ठाउँमा तिमी एकछिन आफूलाई राखेर हेर त, तिमीले औंलालाई आदेश दिन चाह्यौ, औंला अस्वीकार गर्दछ; स्वरलाई आदेश दियौ, भाषा फुट्तैन, स्पर्श छैन; प्रत्येक नसा, प्रत्येक तन्तु, प्रत्येक हाड मस्तिष्कको आदेश मान्न असमर्थ छन् । तैपनि तिमी बाँचिरहेका छौ । जान्दछु, तिम्रो देशमा यो रोग नभएको होइन तर यो रोग भोग्न सक्ने र आँखा निर्लिप्त राख्न सक्ने सायद सम्यक् दृष्टि उमार्न सक्ने, भाषाहीन, कर्महीन, शक्तिहीन, सञ्चालनहीन, प्रतिक्रियाहीन भई बाँच्न सक्ने क्षमता एउटा पूर्वीयमा नै सम्भव छ । आऊ, नगिच आऊ ! मैले यसका आमाबाबुलाई झूटो बोलिदिएँ ‘तिमी डाक्टर हौ’ भनी । यिनका आँखामा हेर, तिमीप्रति एक श्रद्धा, एक आत्मीयता, एक सौजन्य, एक कृतज्ञता छ, मानौं तिम्रो यो आगमन एक पूर्वनिश्चित कार्यक्रम थियो; उनको अनुहारमा परेको चाउरीमा तिमीले बयान गरेको हाँसो छ, मानौं तिमी यिनका जेठा छोरा हौ र सात समुद्रपारिबाट तिमीले आफ्नो भाइका निम्ति मृत सञ्जीवनी ल्याएका छौ । ज्यापूनीको हाँसोमा मानौं तिम्री विश्व सुन्दरी पत्नीको गर्भबाट पहिलो नाति जन्मेको खुशीयाली छ, छैन त ? मलाई थाहा छ, यो हाँसो तिमी हुन्जेल यिनका अनुहारमा रहनेछ ।

एक दिन यसकी बहिनीले हप्काइ पाई, आफ्नी आमाबाट। त्यस बखत यसका आँखामा एक ज्योति झल्क्यो– म भन्न सक्तिनँ, त्यो ज्योतिमा कुन युगको कुन दर्शन थियो

म जान्दछु, तिम्रो पिठ्युँले यिनको हाँसो देख्न पाउनेछैन । तिमी गएपछि यी डुब्नेछिन्, उही अन्धकारमा । यो बालककी एउटी बहिनी छ, जसका सम्पूर्ण अङ्ग चल्छन् र यो बालक आफ्नी बहिनीले बामे सरेको, जे पायो उही टिपेको, मुखमा हालेको, जाँड घोप्ट्याएको, मकल पोखेको हेरिरहन्छ । अनि उसका आँखामा प्रतिविम्बित हुन्छन्, एक निमेषलाई त्यसै गरी केही गर्ने आकाङ्क्षा, सिर्फ एकछिनलाई अनि फेरि उही निर्लिप्तपन व्याप्त हुन्छ ।

एक दिन यसकी बहिनीले हप्काइ पाई, आफ्नी आमाबाट । त्यस बखत यसका आँखामा एक ज्योति झल्क्यो– म भन्न सक्तिनँ, त्यो ज्योतिमा कुन युगको कुन दर्शन थियो । तर मैले पाएँ, ऊ भन्न चाहिरहेथ्यो, आफ्नी आमालाई बताउन खोजिरहेथ्यो, एक भाषाहीन, सङ्केतहीन, स्वरहीन दृष्टिको माध्यमबाट– आमा, तिमी के जान, लोट्नुमा के मजा छ ! हरियो दूबोमा घुँडा घिस्रिएको, छाला खुइलिएको, रगत आएको, एक–दुई थोपा रगत घाँसमा लिपिएको, एक–दुई घाँसका त्यान्द्रा घुँडामा पेसिएको, एक दर्द, एक रुदन, एक सहाराको माग; यी यस्ता वस्तु हुन्, यो पीडा एक यस्तो अनुभव हो, जो मीठो छ ।

सिंगानले आफ्नो घाउ धुनु, थुक लाउनु, बिझेको काँडा झिकेर फाल्नु, गडेको काँचको टुक्राबाट पाकिसकेको घाउ फोड्नु, केही दिन ओछ्यानमा वास बस्नु, घ्याम्पोमा चढेर भित्ताको तस्वीर झिक्न खोज्दा किला फुस्किनु, तस्वीर खस्नु, ऐना चम्म भई फुट्नु, ऐना फुटेको अनौठो स्वर, आफ्नो हातबाट फुटेकोमा भयको लहर, यी यस्ता वस्तु हुन्– आह, आगोले पोल्छ भन्ने आफ्नै अनुभव, सिस्नुले फोका उठ्छ भन्ने आफ्नै अनुभव, जाँडले ढुनमुनाउँछ भन्ने आफ्नै अनुभव, कतै लोटियोस्, कतै घाउ होस्, कतै भाँचियोस्, केही भत्कोस्, केही फुटोस्, कोही मरोस्, रुन सकियोस्; कोही हाँसोस्, हाँसो फर्काउन सकियोस्; कसैले गिज्याओस्, हिर्काउन सकियोस्; कसैले लुटोस्, उसलाई लुट्न सकियोस्; यी यस्ता वस्तु हुन् आमा, जसको आधारमा तिम्रो छोरो हुर्किने थियो । यी यस्ता वस्तु हुन्, जो भएनन् भने... मेरी बहिनी, जो प्रत्येक नयाँ शब्द सिक्छे, त्यसमा मानिसको हजारौं वर्षको भाषाको तपस्या छ, एक इतिहास, एक परम्परा, एक संस्कृति छ; उसले बोल्न सक्नुमा नै त भविष्यले जन्म लिन्छ– मजस्तोबाट होइन, जो ओठ चलाउन सक्तिनँ । मेरो शरीरमा, मेरो शक्तिमा, मेरो सङ्केतमा त इतिहास र मानव विकासको एक अटुट क्रम समाप्त हुन्छ ।

एक लामो परिश्रम, एक लामो प्रयास, एक शृङ्खला, एक अनन्त भविष्य चटक्क चुँडिन्छ, समाप्त हुन्छ । म... यही हुन् ती आँखा अतिथि, जो तिमीलाई हेरेर पनि केही सँगाल्न सक्तैनन्, यही हुन् ती दृष्टि, जो आफूलाई व्यक्त गर्न सक्तैनन्, यही हुन् ती सौन्दर्य, जो पूर्ण छन् र अब जसको अरू कुनै अभिव्यक्ति छैन । यिनै आँखा हुन्, जो पहाडले घेरिएका छन्, यिनै आँखाका परेली हुन्, जो खेतका तरेली हुन्, जसमा वर्षामा धान र हिउँदमा गहुँ पाक्छ, यिनै आँखा हुन्, जो तिमीलाई स्वागत गर्छन्, यिनै आँखा हुन्, जो निर्माण गर्छन् र यही हो त्यो आँखा, जसमा टिमटिम गरिरहेको प्राणको अन्त हेर ! बुद्धका नयनका किनारामा डुब्न लागेको घाम प्रतिविम्बित भएको दृश्यभन्दा कम सौन्दर्यशाली यो हुँदैन !

‘गौथलीको गुँड’बाट साभार