आधुनिक गुरुकुलको आवश्यकता
शिक्षामन्त्री वाक्क भएर चुनाव लड्न किन जानुभयो ? मेरा मित्र अनि मन्त्रीका सल्लाहकार अभिषेक घिमिरे बैराग्य भएर राजीनामा दिएर किन घर फर्कनुभयो ? यी तीन महिना सबै त्यागेर नीति निर्माणमा खटिनुभएको थियो । धेरै काम भएको पनि थियो । तयार पारिएका सबै खाकाहरू मन्त्रिपरिषद्बाट पारित हुन सकेनन् । कस्ले र किन अड्कायो ? कस्को के स्वार्थसँग नीति मेल खाएन ? प्रश्नै प्रश्न छन् । तर यसरी हुन्न । समाधान खोज्ने समय आएको छ । कलम चलाउनै पर्छ, आवाज उठाउनै पर्छ । शिक्षामा आजको सही आवश्यकता के हो त ? शिक्षा सबै विकासहरूको जननी नै हो । जग नै हो ।
शिक्षा अनुभव हो र अनुभव भावना हो, सुखको भावना हो, सफलताको भावना हो । समग्रमा, मानव र मेसिनबीचको भिन्नता छुट्याउने पनि त्यही भावना नै हो । प्रकृति, संस्कृति र प्रविधिबीचको सन्तुलनसहितको शिक्षा हुनुपर्ने थियो । प्रविधिले सबैलाई हाइज्याक गरिसक्यो । भावना मारिसक्यो । मानिसलाई मेसिन बनाइसक्यो । उसलाई फगत एक पैसा उत्पादन गर्ने मेसिन बनाइसक्यो, गनाइसक्यो ।
कोभिडपछि पहिलो प्रविधिको मारमा परेका संसारभरका विद्यार्थीहरूलाई जुमर र अल्फा जेनेरेसन भनिन्छ । उनीहरूलाई घरमा राखेर अभिभावकले केही पनि गर्न नसक्ने भइसके । मैले चारवटा स्कुलहरूमा लगभग एक वर्षको गहिरो अध्ययनमा पनि त्यस्तै नतिजा भेट्टाइसकें । हरेक बाबुआमा र घर लाचार छन् । आठ, नौ र दश कक्षामा पढ्ने धेरै विद्यार्थी सर्रर नेपाली र अंग्रेजीको एक अनुच्छेद पढ्न र आफ्नो भाव पोखेर एक अनुच्छेद लेख्न सक्दैनन् । दश बाह्र वर्ष स्कुल धाएर पनि त्यति पनि गर्न नसक्नुको समस्या कहाँ छ त ? त्यसको समाधान ज्ञान, सीप, काम र मनोरञ्जनको सन्तुलन मिलाएर चलाउने आधुनिक गुरुकुलमा मात्र छ भन्ने निष्कर्ष आइसकेको छ । त्यो आधुनिक गुरुकुल कस्तो होला ? कसरी बनाउने होला ? यो आलेख त्यस्तै मन्थनमा घुमेको छ ।
हरेक बाबुआमा र घर लाचार छन् । आठ, नौ र दश कक्षामा पढ्ने धेरै विद्यार्थी सर्रर नेपाली र अंग्रेजीको एक अनुच्छेद पढ्न र आफ्नो भाव पोखेर एक अनुच्छेद लेख्न सक्दैनन् । दश बाह्र वर्ष स्कुल धाएर पनि त्यति पनि गर्न नसक्नुको समस्या कहाँ छ त ?
मन मिल्ने र विचार मिल्ने विद्वान मित्रहरूसँगको संवाद निकै अब्बल स्तरको हुन्छ । केही दिनअघि त्यस्तै भयो । आई.जे. पायनियर स्कुलका प्राचार्य रामु पाण्डेले मेरो अघिल्लो लेख पढिसकेपछि फोन गर्नुभयो, “गुरु, लेख तीनचोटि पढिसकें है । अझै चित्त बुझेको छैन । अब शिक्षाले अर्कै मोड लिइसक्यो । हामी ढिलो भइसक्यौं । हामी पछि परिसक्यौं । समय र आवश्यकता अर्कैतिर दौडिसक्यो, हामी अर्कैतिर अल्झेर समय र जीवनहरू बर्बाद गरिरहेका छौं । घर र बाबुआमाले अब छोराछोरी हुर्काउन र बनाउन नसक्ने रहेछन्, आधुनिक गुरुकुलको आवश्यकता परिसक्यो । यसबारे केही लेखिहाल्नु त । तपाईंको कलम छिटो चल्छ ।” नयाँ सुझाव र खुराक आयो ।
त्यसै साँझ अष्ट्रेलियाको बन्दुक काण्डको समाचारले अझै मौन बनायो । मानिसमा मन्दबिष बनेर यो प्रबिधि, बिज्ञान र विचार किन फैलिरहेको छ ? यसले त जीवन अझ सहज र सरल बनाउनु पर्ने होइन र ? आफैमा प्रश्न तेर्सियो । घृणा र हिंसाको पाठ मौलाउँदैछ तर ज्ञान, विवेक र शान्तिको आकार दिनानुदिन खुम्चँदै छ, सुक्दैछ । किन ?
त्यसै दिन, लेखक तथा पत्रकार अच्युत कोइरालाको दिमाग घोच्ने पोष्ट पढें । सबै विचारहरु रन्थन्निए । ‘बिइङ्ग चार्र्ली फिल्म बनाएको एक छोरा निकले आफ्नै फिल्म निर्माता अनि निर्देशक बा आमाको छुराले रोपी रोपी हत्या गरेछ । ७८ बर्षिय बा रब र ७० बर्षिय आमा मिसेललाई त्यो लामो समय सम्म कुलतमा लागेको छोराले किन त्यसरी मार्यो होला ? आजको बाआमा, परिवार, समाज र स्कुुलहरुले कस्तो मानिसहरुको उत्पादन गरिरहेका छन् ? कस्तो बिऊ रोपिरहेका छन् ? के यो पद्धति र समयको बिचमा तादाम्यता छ त ? के स्कुल एकातिर, समाज अर्कैतिर, सरकार अर्कै धुनमा अनि नयाँ पुस्ता र व्यक्तिहरुको सोच र विचार अन्तैतिर भएको हो त ? प्रश्नै प्रश्न पृथ्वीको गर्भबाट लाभा निस्केजस्तो फुत्त निस्किए । आफैंलाई सोधें, म कसरी सन्तान हुर्काउँदैछु ? कस्तो विचार रोप्दैछु ? स्कुल, साथीसंगत र समग्र वातावरणबाट के सिक्दैछन् त ? मन मडारियो, विचार बटारियो र यो आलेख शुरु भयो ।
अब, नयाँ गुरुकुलको वा भनौं आधुनिक गुरुकुलको आवश्यकता खट्किसक्यो । ढिलो भैसक्यो । समय गइसक्यो ! सात आठ वर्ष माथिका बालबालिका घरमा बस्नुको नतिजा उल्टो निस्कँदैछ । बा आमा र घर केही गर्नै नसक्ने अनि स्कुल गरेजस्तो गरेर आलटाल गरिरहने र अगाडि बढिरहने । बिद्यार्थीको भित्री चुरो पुरै खोक्रो छ । हावर्ड बिश्वबिद्यालयमा पहिलो वर्षको कम्प्युटर साइन्सको पढाई सक्ने बित्तिकै आदित्य सुवेदीले किन सिलिकन भ्याल्लीमा आफ्नै एआई कम्पनीको शुरुवात गर्न हतारिनु पर्थ्यो होला र ? उनीसँग ४ घन्टाको छलफल पश्चात झन् अर्को प्रमाण के चाहियो र ? भने जस्तै भयो । आजको पुस्ता समयसँगै बग्न चाहन्छ । समयलाई समात्न चाहन्छ । तीस वर्षको धैर्यता उनीहरुसँग छैन आज तर त्यै काम ऊ तीन वर्षमा गर्न चाहन्छ । तर नेपालमा हाम्रो शिक्षा कता छ त ?
१. पुरानो गुरुकुल र आधुनिक गुरुकुल
कुनै समयमा दुवै छोराछोरीहरुलाई सात आठ वर्षको समयमा ब्रतबन्ध गरिदिएर गुरुकुल पठाइन्थ्यो । ज्ञान लिन अनि जीवन जिउन सिक्न । सात आठ वर्षदेखि पच्चिस वर्षको समय घरबाट निकै टाढा, साना ठूला गुरुका आश्रममा तिनको समय बित्थ्यो । ज्ञान लिन्थे, काम सिक्थे, ब्रम्हचार्य र त्यागको समय पुरा गर्थे र बा आमाको घर फर्किएर विवाह गर्थे र आफैं आफ्नो घर सम्हाल्थे । सन्तान जन्माउँथे, हुर्काउँथे र तिनलाई पनि आफुलाई जस्तै ब्रतबन्ध गरिदिएर गुरुकुल धपाउँथे । आफैसँग टाँसेर र चाटेर राख्दैनथे । यो प्रकृयामा विषयगत मायामोह भित्र पनि बस्तुगत जीवनप्रकृयाको सन्तुलित मिश्रण चल्थ्यो । अन्दाज गर्न सकिन्छ । कल्पना गर्न सकिन्छ । समग्र चराचर जगत्को सार त्यै थियो ।
माया मात्रले जीवन चल्दैन । चराले अझै बुझेको छ, जन्तुले जहिल्यै जानेको छ तर मानिसले बिर्सँदै गयो, बढी मोहमा फस्दैगयो र आजको हाल भयो । चराले एक निश्चित समयपछि छोडिदिन्छ, उड्न दिन्छ । जनावरले पनि त्यस्तै गर्छ । तर मानिसमा लोभ, आशक्ति वा भावनात्मक कमजोरी वा कुन कुराले उल्टो बाटोमा हिँडाउँदैछ ?
चराले पनि आफ्ना सन्तानलाई असाध्यै माया गर्छ अनि हरेक जीवजन्तुहरुले पनि त्यस्तै गर्छन् । मानिसले त झन् नगर्ने कुरै भएन । तर माया मात्रले जीवन चल्दैन । चराले अझै बुझेको छ, जन्तुले जहिल्यै जानेको छ तर मानिसले बिर्सँदै गयो, बढी मोहमा फस्दैगयो र आजको हाल भयो । चराले एक निश्चित समयपछि छोडिदिन्छ, उड्न दिन्छ । जनावरले पनि त्यस्तै गर्छ । तर मानिसमा लोभ, आशक्ति वा भावनात्मक कमजोरी वा कुन कुराले उल्टो बाटोमा हिँडाउँदैछ ? मानिस झन् भन्दा झन् आफ्ना सन्तानलाई सुख दिन तल्लिन छन् र च्यापेर राख्दा राख्दै धेरै जना कमजोर अनि झन् कमजोर बन्दै गएको पत्तै पाएका छैनौं । कहिले च्याप्ने र कहिले उड्न दिने ? कतै हामीले सन्तुलन गुमाउँदै त छैनौं ? आज कुनै काम छुनै नदिने तर अलिकति पछि देश नै छोडाएर धपाउन पछि नपर्ने !
२. धर्म र मूल्यमान्यताको स्खलन
धर्म कुनै व्यक्तिले लादेको चिज होइन । कुनै एक व्यक्तिले फैलाएको विचार पनि होइन । त्यो त केही बाठाहरुले संस्थागत गरेर फाइदा उठाउने धन्दा बनाएका छन् । धर्म भनेको हरेक व्यक्तिले आफ्नो अन्तरआत्माले धारण गर्ने चिज हो । ठाउँ, समाज, जातजाति अनुसार फरक हुनसक्छ तर यो फैलाउने र खुम्चाउने कुरा हैन । यो स्वतस्फुर्त हुनपर्छ । व्यक्ति, परिवार, समाज र देशको मुल्य, मान्यता, नियम विविध हुन सक्छ तर त्यो असल भाव र सोचको हुनपर्छ । कुसोच वाला राख्न पाँइदैन । संस्थागत गर्न पाईदैन । त्यसको नाममा ब्यापार वा राजनीति गर्न पाईदैन । धर्म आचरण हो । आदत हो । सोच हो । कर्म हो । संस्था हैन । धर्मले नै आफ्नो अर्थ गुमाउँदै गएको छ । संस्थागत र ब्यापार भएको छ ।
मेरा माइलाकाका चार बजे उठिसक्नुहुन्छ । स्नान गर्नुहुन्छ, घरको सरसफाइ भ्याउनुहुन्छ र चिया पकाएर चुस्कि लगाउँदै गाइको खोले उमाल्नुहुन्छ । प्रातकालिन प्रार्थना गर्नुहुन्छ, एकछिन पाठ गर्नुहुन्छ, योगा गरेर शरिर तन्काउनुहुन्छ, पुजा सकेर टिका र चन्दन लगाउनुहुन्छ । अझै उज्यालो भइसकेको हुँदैन । उज्यालो नभइ पसल खोलिसक्नुहुन्छ । यो मेरा काकाबाको नित्यकर्म हो । मेरा बाले पनि उस्तै तर अलि कम गर्नुभयो । मैले एक चौथाइ पनि गर्न सकेको छैन । मेरो सन्तानले देखेकै छैन, गरेकै छैन, गर्दैनन् ।
व्यक्तिगत, पारिवारिक, सामाजिक मुल्य मान्यता तथा संस्कारहरु ओरालो लाग्नु वा बाह्य अतिक्रमणमा परेर नासिदै जानु नै समस्याको जड भएको छ । हाम्रो शिक्षाले त्यो पुर्नस्थापना गर्ने आशा झिनो छ । सबै बिद्यालयहरु र त्यहाँका शिक्षकहरु जता हावा बग्यो त्यतै दौडिरहेका छन् । सरकारको नीति निर्माणमा चिन्तन त झन् टाढाको कुरा । अब के होला त ? यो भुका VUCA (Volatlie, Uncertain, Chllaanging, Adverse) संसारलाई तग्ने, थेग्ने बनाउन कस्तो शिक्षा चाहिएला ? आधुनिक गुरुकुल जस्मा प्रकृति, संस्कृति र प्रविधि बिचमा सन्तुलन कायम होस् । बनाउन सकियोस् । त्यसको लागि के गर्ने र कताबाट कसरी थाल्ने ? राज्यको नीतिनिर्माण गर्ने र पाठ्यक्रमको विकास गर्ने निकायहरुले अलिकति आँखा खोलेर सोचे र काम थाले हुने !
३. अभिभावकहरुको आफ्नै बाध्यता
आजका हरेक अभिभावकहरु आ–आफ्नै काममा अस्तब्यस्त छन् । हुने र सक्ने र ठूला स्कुलमा पढाउन सक्नेले पनि समय दिन र के गर्ने भनेर निष्चित योजनामा काम गर्न सक्दैनन् । दिनहुँ काम गरेर हातमुख जोड्नुपर्ने अभिभावकहरुको झन् आफ्नै बाध्यता हुँदैहुन्छ । घरमा हरेक व्यक्तिको हातमा कि मोबाइल छ कि ट्याब वा ल्यापटप हुन्छ । त्यसको सही सदुपयोग भन्दा पनि रमाइलो वा मात्र समय ब्यतित गर्ने साधनको रुपमा प्रयोग हुँदै आएको छ । ठूलाले जसो गर्छन्, सानाले त्यसैलाई पछ्याउँछन् नै । बालबालिकाहरु खानपिनमा भएभरको जंक खाएर पेटलाई डस्टबिन बनाइरहेकाछन् त चाहिने नचाहिने बिद्युतीय खुराक हेरेर दिमागलाई पनि डस्टबिन बनाइरहेका छन् । डस्टबिन त्यो भाँडोको नाम हो जस्मा नचाहिने कुराहरु बढी हालिन्छ । यसरी नचाहिने कुराहरुको बिऊ मलिलो माटोमा निरन्तर रोपेपछि के फल्ला ? सहजै अन्दाज गर्न सकिन्छ ।
ठूलाले जसो गर्छन्, सानाले त्यसैलाई पछ्याउँछन् नै । बालबालिकाहरु खानपिनमा भएभरको जंक खाएर पेटलाई डस्टबिन बनाइरहेकाछन् त चाहिने नचाहिने बिद्युतीय खुराक हेरेर दिमागलाई पनि डस्टबिन बनाइरहेका छन् ।
हरेक अभिभावकहरुको गुनासो उस्तै सुनिन्छ । भनेको नै मान्दैनन्, मोबाइल, ल्यापटप नदिए झन् रिसाएर खानै खान्नन्, घर छोडेर हिँड्लान् भन्ने पिर, फेरि कता खोज्न हिँड्नु ? सर, सम्झाईदिन पर्यो ! अब कसले र कसरी सम्झाउने होला ? हरेक घर र स्कुलको ब्यथा यै छ आज ।
४. दिमाग नियन्त्रण गर्न शरिर थकाउनु जरुरी
यो मानेमा शहर सबैभन्दा पीडित छ । आज हरेक गाउँ नै साना शहर बनिसकेका छन् । त्यसैले यो कहर गाउँमा पनि उस्तै छ । थोरै कम होला । यातायातका साधन बढि भए । जोखिम बढ्यो । हिड्न फिटिक्कै पर्दैन । स्कुलमा धेरै कुद्न दियो भने घुँडा पिल्साउलान् र गाली आउला भनेर शिक्षक र बिद्यालय अभिभावकसँग सधैँ त्रसित रहनुपर्ने । बिद्यालयमा पनि कोठामा थुनेर सुरक्षित राख्नुपर्ने बाध्यता अनि घरमा झन् अभिभावकले कतै निस्कन दिनै नसक्ने । निस्किए पनि जतै जोखिम नै जोखिम । जान दिए, आधा घन्टामा दश वर्षको मिहिनेत खोलामा पुग्ने डर ।
भावना नै मरेपनि मानिस कसरी मानिस रहिरहन्छ र ? मेसिन बनिसक्छ । बनिसक्यो । प्रकृतिबाट टाढा भैसक्यो । संस्कार र संस्कृती बिर्सिइसक्यो । प्रबिधिको मात्र दास बनिसक्यो । यसरी दास बन्नु भनेको ज्युँदो लास सरह नै हो ।
राज्य कमजोर हुनुको नतिजा जतै जोखिम देखिनु हो । नेदरल्याण्डमा जस्तो साइकलमा आजका बालबालिका दश किलोमिटर स्कुल आफैं जानसक्ने वातावरण हाम्रोमा पक्कै छैन । तब, बाआमाले झन् कोठामा कोचेर राख्नुपर्ने र राखिरहनुपर्ने बाध्यता । कसरी अल्झाउने त भन्दा तिनै भाँडाहरु दिने र भुलाउने । ति भाँडाहरुले भावना मारिसक्यो । भावना नै मरेपनि मानिस कसरी मानिस रहिरहन्छ र ? मेसिन बनिसक्छ । बनिसक्यो । प्रकृतिबाट टाढा भैसक्यो । संस्कार र संस्कृती बिर्सिइसक्यो । प्रबिधिको मात्र दास बनिसक्यो । यसरी दास बन्नु भनेको ज्युँदो लास सरह नै हो । हामी त्यतैको यात्रातिर लाग्दैछौं । बिस्तारै त्यतै बग्दैछौं ।
शरिर धेरै चल्नु भनेको मन कम चञ्चल हुनु हो । शरीर चल्न नपाएपछि मन कुद्न थाल्छ । मन चाहिँ म्याराथन दौडिदै गरेको हरेक बिद्यार्थी अहिले सानादेखि ठूला कक्षामा छन् । शिक्षकहरु पनि अर्को लाचार छन् । केही गरेजस्तो गर्नुपर्ने बाध्यना उनीहरुको पनि उस्तै छ । कतारमा दश वर्ष बसेर आएको एक सामान्य लेखपढ मानिसको जीवन भन्दा तल एक स्नातकोत्तर शिक्षकको जीवन देखिएपछि उसमा कसरी जाँगर र जोस पलाउँछ होला ? ‘मास्टर’ भनेर निच र हेय भावले हेरिएपछि अनि राज्यले पनि त्यस्तै सोच राखेपछि उनीहरुमा जीवन बदल्ने जोस कसरी आउला ?
न काम छ, न सीप छ, न मनोरन्जन छ, न संस्कार छ, न समाज छ, न प्रकृति छेउमा छ, न भावना छ, तब कसरी महामानवको उदय हुन्छ ? मानिसले मानिस जन्माउँछ र हुर्काउँछ तर मेसिनले उस्तै मेसिन नै जन्माउँछ र हुर्काउँछ । आज हरेक बाआमा नै मेसिन बनिसकेका छन् । बन्न लागेका छन् । तब सन्तान मानिस कसरी बन्ला ? त्यस्तो एक मानिसको खोजी गर्नुपर्ने भएको छ जसले मेसिन समाजलाई फेरि मानव समाजमा रुपाञ्तरण गरोस् । अनि त्यो समाजमा जन्मने हरेक बालबालिका मेसिन हैन मानिस जन्मुन्, हुर्कुन् र फेरि पनि मानिस नै बनुन् र जीवनभर मानिस नै रहुन् ।
५. गहिरो खोज, अनुसन्धान र चिन्तनको अभाव
हावर्ड बिश्वबिद्यालयले सन् १९३८देखि ७२४ जना बयस्क पुरुषहरु माथि एक अध्ययन शुरु गर्यो । त्यसलाई निरन्तर ८५ वर्षसम्म निरन्तरता दिइएको थियो । त्यति लामो सोधको नतिजा आयो कि मानिसको स्वस्थ र सुखी जीवन, पैसा र यशमा कम र राम्रो सम्बन्धमा बढि निहित हुन्छ भन्ने थियो ।
तिक्ष्ण दिमाग भएर मात्र सफलता मिल्दैन । आत्मविश्वास, आत्मअनुशासन, व्यक्तित्व अनि निरन्तर उद्देश्यमा समर्पणले बढि सफलता तर्फ धकेलेको निष्कर्ष निस्कियो ।
बेलायतमा सन् १९४६देखि त्यस्तै लामो खोज शुरु भयो । त्यसलाई ब्रिटिस बर्थ कोहर्ट भनिन्छ । त्यो अनुसन्धानमा १४,००० एउटै हप्तामा जन्मिएका बालबालिकाहरुमा गरिएको थियो । दोस्रो बिश्वयुद्ध पछि जन्मिएका ति बालबालिकाहरुको स्वास्थ्य, खुसी, सुख र सफलता कुन कुरामा बढि आश्रित हुन्छ ? भनेर जान्न गरिएको थियो । गर्भावस्थामा हँुदाको पौष्टिक खानेकुरा, ब्यायाम र आमाको सोच र भावनाको प्रकारमा धेरै कुरा निहित भएको पाइयो । थप, पहिलो ५ वर्षदेखि दश वर्ष सम्मको उमेर त्यो बालकले पाउने समग्र वातावरणको गुणस्तरमा मुख्य कुराहरु निर्भर रहेको भेट्टियो ।
टर्मन स्टडि अफ जिनस १९२१, भनेर अर्को निकै गहन अध्ययन भएको थियो । १५०० जना सबैभन्दा तिक्ष्ण दिमाग भएका बिद्यार्थीहरुमा त्यो अध्ययन गरिएको थियो । तिक्ष्ण दिमाग भएर मात्र सफलता मिल्दैन । आत्मविश्वास, आत्मअनुशासन, व्यक्तित्व अनि निरन्तर उद्देश्यमा समर्पणले बढि सफलता तर्फ धकेलेको निष्कर्ष निस्कियो ।
सन् १९७२ मा अर्को अध्ययन न्युजिल्याण्डमा १०३७ बालबालिकाहरुमा गरिएको थियो । डुनेडिन बहुप्रतिभा स्वास्थ्य र विकास नाम दिइएको त्यो अध्ययनमा आफ्नो मन र विचारलाई आफै नियन्त्रण गर्न सक्ने भावनात्मक चातुर्यता भएका बालबालिकाहरु प्राय सफलताको खु्ड्किलो छिटो उक्लिन सफल भएको भेटियो ।
नेपालमा यस्तो चिन्तन खै ? प्रत्येक दश वर्षमा गरिने जनगणना त गरेजस्तो गर्ने देशमा यस्ता गहन खोज, मात्र कल्पना भएको छ । सोच, विचार, गहन अध्ययन र खोज नगरी कसरी सही विकासको बिज रोप्न सकिन्छ र ? तथ्यांङ्क र पुर्वअध्ययन बेगर हावाको तालमा कुदेर के गतिलो बन्ला र ? सबैलाई बिना अध्ययन बिद्वान बन्नुछ अनि बिना धैर्यता धनी बनिहाल्नुछ । यो गलत संस्कारले पुर्याएको आजको ठाउँमा हो र अझै कता खाल्डोमा झार्ने हो हेर्नै बाँकी छ । अझै नसोच्ने त ? अझै नथाल्ने त ? तर एक्लै हैन, समुहमा । आधुनिक गुरुकुलको रुप र आकारमा । त्यहाँ ज्ञान, सीप र उद्यमशिलताको सही मिश्रण हुनसक्छ । त्यसमा देशको प्रशासनिक संरचना र राज्यको नीतिको पनि सहयोगी भुमिका हुनपर्छ । सभ्यता र विकास एक दिनमा बन्दैन । अब पनि नथाले कहिले थाल्ने ?
६. पुँजीबादी अर्थब्यबस्था र अभिभावकलाई थप चाप
धनको आकार हुन्न र इच्छाहरुको प्रकार हुन्न । जति धनले पनि पुग्दैन किनकी इच्छाहरु नयाँ नयाँ जन्मिरहन्छन् । मानिसको लोभ र मोह अनन्त हुन्छ अनि जे देख्यो त्यहि चाहिन्छ, जति मिल्यो, त्यो भन्दा बढि पाउन खोज्छ मानिस । तर समय सिमित हुन्छ । शरिरको र हरेक उर्जाको पनि सिमितता हुन्छ । मानिसको दिमागले सुचना प्रोसेस गर्ने गती साधारण छ । एउटा काम राम्रोसँग गर्न त्यसमा निकै समय घोत्लिनुपर्छ । मिहिनेत गर्नुपर्छ । तर एक मानिसले जीवनभर गर्न सक्ने क्षमता भने अथाह हुन्छ । यो अनिश्चितताको शिकार हरेक अभिभावकहरु बन्नुभएको छ । सीप, ज्ञान र समय सिमित छ, तर खर्च असाधारण रुपमा बढ्दो छ । बस्तु तथा सेवाहरु दिनानुदिन झन् भन्दा झन् महङ्गो बन्दै गइरहेका छन्। पुर्याउन सकस छ ।
बीस रुपयाँको चाउचाउदेखि लाख पर्ने मोबाइल सम्म अनि ५० पैसाको सिटामोलदेखि करोडौंको शिक्षा र स्वास्थ्य खर्च सम्ममा केही सीमित मानिसहरुको बर्चस्व छ । घुमाइफिराई पैसो त्यतै सोझिन्छ ।
थोरैलाई फालाफाल छ भने अधिकांशलाई हम्मेहम्मे छ । धनी झन् धनी बन्दैछन् भने मध्य र गरिबहरुको चल अचल तिनै पहिलो बर्गले अनेक तवरबाट जुस निकालेझैं तानिरहेका छन् । बीस रुपयाँको चाउचाउदेखि लाख पर्ने मोबाइल सम्म अनि ५० पैसाको सिटामोलदेखि करोडौंको शिक्षा र स्वास्थ्य खर्च सम्ममा केही सीमित मानिसहरुको बर्चस्व छ । घुमाइफिराई पैसो त्यतै सोझिन्छ । सबै बाटोहरु अन्तमा एउटै सन्दुकमा पुग्छन् । यसले अभिभावकहरुमा राप र ताप बढाएको छ । त्यसको असर बालबालिकाको शिक्षामा, मानसिक स्वास्थ्यमा अनि सफलतामा पनि पार्दैछ ।
शिक्षा र स्वास्थ्यमा आम्दानीको आधा भन्दा बढिको खपत बाध्यता भएपछि बचत स्वत न्युन हुन्छ । बचत शुन्य हुनु, थप लगानी शुन्य बन्नु हो । लगानी बेगर कसरी सम्पत्ती बढ्छ ? अनि मानिस मात्र चल्ने मेसिन बन्छ । आजका प्राय बाआमा मेसिन बनेका छन् । त्यसको असर बालबालिकाको शिक्षा र हुर्काइमा प्रत्यक्ष देख्न सकिन्छ ।
७. मौलिकता र सम्भाब्यताको खोजी नहुनु
नेपाल १२० भन्दा बढी ज्यूँदा भाषा र जातजातीहरुको बसोबास भएको हिमाल, पहाड र समतल तराई पनि भएको अपार सम्भावना बोकेको देश हो । हरेक जातीको आफ्नै भाषा, भेष, रहनसहन, चाडपर्व, खानाका परिकार, रितिरिवाज, चाडपर्व र संस्कारहरु छन् । यी सबैको जगेर्ना गर्दै नयाँपुस्तालाई पनि पढाउनु पर्ने थियो । नेपाल चिन्ने कोसिस वा नेपाल परिचय भनेर यी अनेक आयामहरुलाई कम्तिमा कक्षा ६ देखि पढाउनुपर्ने थियो । तर हामीले आफुभित्रको हिरा चिनेनौं अनि अर्काको अलि कडा कोइलामा झुक्किन पुगेका छौं । संसार घुम्दैछौं तर आफैंभित्र पस्न कहिल्यै सिकेनौं । यसको असर हाम्रा अभिभावकहरुमा देखिएको छ । सन्तानहरुमा पोखिएको छ । नेपालमा बस्न भन्दा बिदेश पस्न कम्मर कस्न हामी हतार गराउने र गर्ने बा आमा र सन्तान बनिसकेका छौं । हामीले मुलबाटो छोडिसकेका छौं ।
नेपाल चिन्ने कोसिस वा नेपाल परिचय भनेर यी अनेक आयामहरुलाई कम्तिमा कक्षा ६ देखि पढाउनुपर्ने थियो । तर हामीले आफुभित्रको हिरा चिनेनौं अनि अर्काको अलि कडा कोइलामा झुक्किन पुगेका छौं । संसार घुम्दैछौं तर आफैंभित्र पस्न कहिल्यै सिकेनौं ।
नेपालको इतिहास खोतलेको खै ? भूगोल चिनाएको खै ? समाज, त्यसमा बस्ने जातजाती र तिनका संस्कार चाडपर्वहरुको मौलिकपन बुझाएको खै ? राष्ट्रियता, घरको र परिवारको माया गर्न सिकाएको खै ? पुर्वमा इलाम, पाँचथरका लिम्बुहरुको धाननाच सिकाएको खै ? खोटाङ्ग र भोजपुरका राइहरुको साकेला बुझाएको खै ? सिन्धुपाल्चोक र नुवाकोटका तामाङ्गहरुको भेषभुषा र चाडपर्व र इतिहास सम्झाएको खै ? लमजुङ्ग, तनहँु तिरका गुरुङ्गहरुको घालेक चिनाएको खै ? गोर्खा र रोल्पा अनि म्याग्दीका मगरहरुको रोदीको चिनारी दिएको खै ? डोटी अनि जुम्लाका खस अनि ठकुरीहरुको संस्कार सिकाएको खै ? दंङ्गिशरण, कैलाली र चितवनका थारु राजाहरुको इतिहास कोट्याएको खै ? मिथिलाको बैदेह सभ्यताको लहरो तानेको खै ? कुसुण्डा, सतार, धिमाल, मेचेहरुको मौलिकता नयाँ पुस्तालाई बुझाएको खै ? के हामी गोडामुनिको दाल, चामल कुल्चेर एकादेशको कुहिएको पिज्जा अनि बर्गरमा आँखा लगाउन अभ्यस्त भइसकेका हौं त ? सोचान्तरणको समय आएको छ । रुपान्तरणको समय आएको छ ।
सोच्ने संसारको, बुझ्ने पुरै ब्रम्हाण्डको तर गर्ने गोडामुनिको हो । गरेको खै ? जति फैलिए पनि एकदिन खुम्चिनु छँदैछ । बुढो हुनु छँदैछ । मर्नु छँदैछ । शुन्यबाट आएको, शुन्यमा बिलाउनु त छँदैछ । के दौडनु र अथाह ओगट्नु मात्र जिवन हो त ? त्यसको सदुपयोग र आनन्दसँग आराम गर्दै भोग गर्न पर्दैन ? जीवनदौडमा कुदिरहने मात्र हो त ? त्यो दौडिरहने इन्धन सधैँलाई आइरहन्छ त ? के फैलिनेको पनि त सिमाना हुन्छ होला नि ! के फेरि खुम्चिनु पर्दैन र ? कुरो बुझेको खै ? पहिले हामीले आफैंलाई चिनेको खै ? चिनाएको खै ?
८. धनीहरुको भिन्नै भाका
के सबै धनी उद्योगीहरु आफ्ना उत्पादनहरु आफ्ना सन्तानहरुलाई दिनैपिच्छे खुवाउँछन् त ? के हाम्रा चाउचाउ अरबपतिका नाति नातिनाहरु दिनैपिच्छे सात स्वादको चाउचाउ खाजाको रुपमा दिनहुँ खान्छन् त ? तराईमा एक पोखरी मालिकले मलाई माछा खुवाउने बेलामा एक सानो पोखरीबाट माछा झिके र भने कि यो घरमा खानको लागि हो अनि बाँकी पाँचवटा पोखरीको माछा बेच्नको लागि मात्रै हो । एक ब्यबसायिक किसानले बेच्ने सागपात घरमा खाँदैनन् र घरमा खानको लागि छुट्टै रोप्छन् । किन ? के मानिस यति निर्दयी अनि क्रुर बन्नुको कारण के हो त ? आफ्नो मात्र राम्रो होस् र अरुको जेसुकै होस् भन्ने भाव सबैमा किन पलाउँदैछ ? अझ, अरु रोगी, कमजोर बनेको देखे खुसी हुने सोच किन र कसरी मौलाउँदै गएको होला ? मेरा मित्र राम नायक सर सधैं भन्नुहन्थ्यो ‘हम अपने दुखसे दुखी नही दुसरोंके सुखसे बडा दुखी होते है’ । सबै क्षेत्रमा किन यस्तो देखिएको होला ? यस्तो समाजले हाम्रा सन्ततीहरुलाइ के सिकाउँदै होला ? स्कुलमा जति अत्तर छर्किएर पठाए पनि धेरै समय बिताउने घर परिवार र समाजमा त्यस्तो दुर्गन्धित बास्ना फैलिएपछि के काम होला र ? अनि न स्कुलहरु बिस्तारै लाचार, कमजोर र असफल बन्दै गइरहेका छन् ।
एक व्यवसायिक किसानले बेच्ने सागपात घरमा खाँदैनन् र घरमा खानको लागि छुट्टै रोप्छन् । किन ? के मानिस यति निर्दयी अनि क्रुर बन्नुको कारण के हो त ? आफ्नो मात्र राम्रो होस् र अरुको जेसुकै होस् भन्ने भाव सबैमा किन पलाउँदैछ ?
स्टिभ जब्सलाई एक पत्रकारले लिएको अन्तवार्ता मानसपटलमा ताजा नै छ । के तपाई एप्पलका उत्पादनहरु तपाईका छोराछोरीलाई निस्फिक्री प्रयोग गर्न दिनुहुन्छ ? त्यसको जवाफ टाउको हल्लाउने मात्र थियो । सिलिकन भ्याल्लीको अरबपतिहरुको उत्तर प्राय सबैको उस्तै छ । उनीहरुका सन्तान वाल्ड्रोफ स्कुलहरुमा पढ्छन् । त्यहाँ प्रकृति पढाइन्छ । आध्यात्मिकता सिकाइन्छ । भावना बुझाइन्छ । साँच्चैका मानिसहरुसँगको अन्र्तकृयालाई बढि महत्व दिइन्छ अनि मेसिनहरुसँगको संगत सकेसम्म कम गर्न कोसिस गरिन्छ । किन ? अनि हामी चैं अल्पबिद्या भयंकरी किन ? किनकी यो पुँजीबादको पराकाष्टाको युग हो । अरुलाई बिगार्ने र आफुमात्र बन्न कोसिस गर्नेको युग हो त ?
९. हिंसाको व्यापार र शान्त शिक्षाको पतन
जब बेलायत आफ्नो साम्राज्य फैलाउन र भारत लुटेर धनी बन्न एसिया आयो तब शान्त शिक्षाको पतन शुरु भयो । गुरुकुलमाथि प्रतिबन्ध लगाइयो । गै¥हकानुनी बनाएर बन्द गर्न थालियो । भाषा, धर्म, संस्कार, जातजाति फुटाऊ, एक आपसमा लडाऊ, कमजोर बनाऊ र राज गर, रणनीति शुरु भयो । जति धेरै हिंसा, त्यति पश्चिमालाई फाइदा थियो र आज पनि त्यहि छ । चार महिना अन्न उत्पादन नहुने ठाउँका जंगली स्वभावका फिरन्ते र क्रुर मानिसहरुले बा¥ह महिना अन्न, फलफुल, तरकारी फल्ने ठाउँका मानिसहरुलाई दास बनाए । उनीहरुको ज्ञान लगे, धन लगे, जमिन खोसे, एक आपसमा लडाए र मराए अनि उनीहरु झन् धनी बने । बटुलेको धन र ज्ञानलाई आफ्नो देशमा लगेर उद्योग खोले अनि झन् धनी बने । त्यो धन र उत्पादन फेरि हामीलाई नै बेच्न थाले र झन् धनी बने ।
हाम्रो ५००० वर्ष पुरानो ज्ञान र बिज्ञानलाई अर्को बोटलमा हालेर आफ्नो बनाए अनि हाम्रो मौलिक मुल चाँहि पुरै नष्ट गर्न कोसिस गरे । हाम्रो विचार थाङ्ने हो भनेर हौवा फैलाए, उनीहरुको सभ्य हो भनेर ढोल पिटे । हामी त्यसैको पछि कुद्यौं । कान पनि नछामी कुद्यौं । आज एक लिम्बुको छोराछोरीलाई न आफ्नो मुन्धुम थाहा छ , न भाषा थाहा छ, न इतिहास । आजको नेवारलाई नेवारी थाहा छैन, मगरलाई मगर संस्कार । सबै भन्दा बिग्रेका त लोभी बाहुन नै भैहाले । कौडिमा पनि बिक्ने र छद्म भेषमा भएपनि आत्मघात गरिरहने, राष्ट्रघात गरिरहने । एक मालामा रहेका अनेक फुलहरु जस्तो समाज भाँडिएको छ । सबै नाता र भावनाहरु कमजोर बन्दै गएका छन् । सबैको हाल उस्तै उस्तै छ । नेपालमा हरेक जातजातीको आफ्नै सभ्यता थियो, मौलिकता थियो तर सबै पोलेर खाँदै गयौं । गलत भाष्य सिकाइयो । पढाइयो । हामीले बिर्षदै गयौं ।
हाम्रो ५००० वर्ष पुरानो ज्ञान र विज्ञानलाई अर्को बोटलमा हालेर आफ्नो बनाए अनि हाम्रो मौलिक मुल चाँहि पुरै नष्ट गर्न कोसिस गरे । हाम्रो विचार थाङ्ने हो भनेर हौवा फैलाए, उनीहरुको सभ्य हो भनेर ढोल पिटे । हामी त्यसैको पछि कुद्यौं ।
उनीहरुले बाँच्नको लागि लडाइँ रोजे अनि हामी शान्तिको वकालत गरिरह्यौं । सर्वजन हिताय, सर्वजन सुखाय, कमजोर बन्दै गयो । राजपुत शैलीमा युद्धकला सिक्नुपर्ने थियो तर शान्तिको मंगलमन्त्रमात्रले काम गरेन । यो मन्त्रले भोलीको चिप्स युद्ध र भ्याक्सिन युद्ध झन् कसरी झेल्छ होला र ? अस्तिको तीन चोटि भ्याक्सिन घोचेर के हाम्रो शरिर भित्र घुसाइयो ? कसैलाई अत्तोपत्तो छैन । हात हातमा मोबाइल नामक भ्रमको बम थमाएर अर्को दास बनाइनै रहेका छन् । यो नबोके त जीवन नै के जीवन भन्ने भ्रम रटाइएको भिड छ जतै । अझै हरेक मानिसको परिचय पत्र नै हावामा हालेपछि अनि दिमागको सोच र भावना नै केही सीमित व्यक्तिको हातमा परेपछि तेरा क्या होगा कालिया ? भने जस्तै होला । भिडको पछि सबै कुदेका छन् अनि दास अनि झन् दास बनेका बनेकै छन् । आफु पनि त्यै भिड भित्रको एक पात्र भैएको छ । कुरो बुझेर पनि बाध्यता छ । यो बाध्य बनाउनु नै युद्धको खास रहस्य हो ।आजको युद्धमा जीत हतियारको होइन, मानसिक रुपमा दास बनाउन सक्नेको हो । दास बन्ने नै बाध्यताले हो । रहरले त को पो दास बन्न चाहन्छ र ?
आफ्नै एक घरमा डढेलो लगाएर पचासवटा छिमेकीलाई दोष लगाउँदै, पचास छिमेकीको घर लुट्न पल्केका महामानवहरुको समय हो यो । द्वापर युगमा नै युद्ध र छल शुरु भैसकेको थियो । कृण्णले नै त्यसको प्रयोग नगरे सुख छैन भनेर भनेका थिए र प्रयोग गरेका पनि थिए । आजको समय झन् कलियुगको पनि उन्नत समय । हाल के होला ? छलको राजनीति, छलको समाज, छलको बिद्यालय, छलको परिवार अनि अन्तमा हरेक व्यक्तिले मिलेसम्म आफैंले आफैंलाई पनि छलिरहेको समय हो यो ।
आफ्नै एक घरमा डढेलो लगाएर पचासवटा छिमेकीलाई दोष लगाउँदै, पचास छिमेकीको घर लुट्न पल्केका महामानवहरुको समय हो यो । द्वापर युगमा नै युद्ध र छल शुरु भैसकेको थियो ।
यस्तो समयमा शिक्षाको वकालत कसरी गर्ने होला ? यो शिक्षाको गोरेटो नै मेटिएला कि जस्तो लाग्न थालेको छ । सबै आत्मज्ञानी भएपछि शिक्षालय किन पो चाहियो र ? छलज्ञानी, भ्रमज्ञानी वा आत्मज्ञानी के हो के हो ? तै पनि समय अनुसार परिवर्तन हुनैपर्छ । सोच्ने बेला आएको छ । केही गरिहाल्ने बेला आएको छ । दश वर्षमा हैन, दुई दुइ वर्षमा पाठ्यक्रम परिवर्तन गर्ने समय आएको छ । कि परिर्वन हुने कि बाष्पिकरण भएर बिलाउने भन्ने कथन प्रख्यात भएको छ । सोचौं । थालौं । आफ्नो आफ्नो ठाउँबाट । आधुनिक गुरुकुल बनाएर ।
१०. आधुनिक गुरुकुलको आर्थिक खाका
आधुनिक गुरुकुलमा अब गाई हुन्नन् र एकजना मात्र गुरु पनि हुन्नन् । त्यहाँ कुटी हुन्न अनि धनुकाँड र घोडचढी पनि हुन्न । अन्न उत्पादन गर्न खेत नहुन सक्छ अनि भिक्षाटन गर्दा भिख नमिल्न सक्छ । गुरु पनि सित्तैमा शिक्षादान गर्ने नपाउन सकिन्छ । नयाँ र आधुनिक गुरुकुलको सञ्चालन कसरी होला त ?
अब बाख्राको खोर जस्तो चारवटा कोठामा गुरुकुल चलाउन हुन्न । आधारभुत तह कक्षा ५ सम्म रहनेछ । कक्षा ६ माथिका बिद्यार्थी आधुनिक गुरुकुलमा जानेछन् र त्यहाँ पुर्णकालिन आवासीय रुपमा बस्नेछन्, खानेछन्, काम गर्नेछन् र अध्ययन गर्नेछन् । त्यहाँको कुल खर्चको ३३देखि ५३ प्रतिशत सम्म कक्षास्तर अनुसार, बिद्यार्थी स्वयं आफैंले निश्चित समय काम गरेर पुरा गर्नुपर्नेछ । अर्को ३३देखि १३ प्रतिशत खर्चको जिम्मेवारी बा आमाले उठाउनेछन् भने बाँकी ३४ प्रतिशत रकमको ब्ययभार राज्यले लिनेछ । संस्थागत विद्यालयहरुको बिद्यार्थीको हकमा त्यो बिना ब्याजको ऋण हुनेछ भने सामुदायिक बिद्यालयका लागि पुर्ण अनुदान रहनेछ । त्यसमा थप्न सके राज्यले अन्य सुबिधाहरु थप गर्न पनि सक्छ । सबैको दायित्व रहन्छ, जिम्मेवारी रहन्छ । सबै सचेत बन्छन् अनि गम्भिर पनि रहन्छन् ।
भौतिक संरचनाहरुको हकमा भने न्युनतम आवश्यकता चाहियो नै । सबै भार राज्यले धान्न नसक्ने हुनाले न्युनतम ब्याजमा संस्थागत बिद्यालयहरुलाई भौतिक संरचना बिस्तारको लागि ऋण उपलब्ध गराउन पनि सक्छ । यो आधुनिक गुरुकुलमा बिद्यार्थी बिश्वको ज्ञान लिन्छन्, मौलिक ज्ञान लिन्छन्, प्रकृति पढ्छन्, विविध संस्कारको अभ्यास गर्छन्, अनेक पुराना र आधुनिक ६४ सीप र कला सिक्छन्, सिकेको सिपलाई काममा प्रयोग गर्छन् र धनआर्जन पनि गर्छन् । त्यसको निश्चित भाग आफ्नो पकेट खर्च चलाउँछन् त बाँकी गुरुकुलको खर्चको दायित्व निभाउँछन् । निश्चित समय, नयाँ नयाँ प्रबिधिको ज्ञान पनि लिँदैजान्छन् । सन्तुलन मिलाउँछन् । यो थप छलफलको लागि प्रारम्भिक रुपरेखा मात्र हो ।
११. पुरानो गुरुकुलका प्रेरक पक्षहरु
कुनै एक मन्त्र १०८ चोटि दोहोर्याएपछि कण्ठ बन्थ्यो । बारम्बार दोहोर्याईकन लिइने ज्ञान बिज्ञान थियो । आधुनिक स्नायु बिज्ञानले प्रस्ट पारिसकेको छ कि जति धेरै अभ्यास गर्यो वा दोहोर्यायो, त्यति न्युरोन्समा माइलिन सिथको तह थपिँदै जान्छ र त्यो ज्ञान वा सीप स्थाइ बन्दै जान्छ । जति ग्रे म्याटर थपिँदै जान्छ, त्यति सुचनाको प्रवाह बढ्दै जान्छ र बिद्युतिय तरंगहरु चुहिएर कम नष्ट हुन्छन् । संस्कृत पढेका पण्डितहरुको तेज दिमाग यसको एक उदाहरण हो । भाषाको प्रकार र त्यसको उच्चारणध्वनि अनि त्यसको दिमागको अनेक आयाममा पर्ने प्रभावको बारेमा पनि गहिरो अध्ययन भएको छ । त्यसमा सबैभन्दा धेरै ध्वनिको सदुपयोग गर्ने भाषा संस्कृत नै हो । यसमा दुइमत कतै छैन । तर हामीले हाम्रो कस्तुरीको बिना चिनेनौ । एक फगत पोको सम्झेर मिल्कायौं । भिल्लको देशमा मणी भयो ।
आधुनिक स्नायु बिज्ञानले प्रस्ट पारिसकेको छ कि जति धेरै अभ्यास गर्यो वा दोहोर्यायो, त्यति न्युरोन्समा माइलिन सिथको तह थपिँदै जान्छ र त्यो ज्ञान वा सीप स्थाइ बन्दै जान्छ । जति ग्रे म्याटर थपिँदै जान्छ, त्यति सुचनाको प्रवाह बढ्दै जान्छ र बिद्युतिय तरंगहरु चुहिएर कम नष्ट हुन्छन् । संस्कृत पढेका पण्डितहरुको तेज दिमाग यसको एक उदाहरण हो ।
सीप वा ज्ञान, जति घेरै समय त्यसमा घोत्लिन सक्यो, त्यति गहिरोसँग सिकिन्छ । जति धेरै अभ्यास गर्न सक्यो, त्यति त्यो पक्का बन्दै जान्छ । त्यसमा नयाँ सिर्जनशिल टुसो पलाउन थाल्छ । त्यो सबै पुरानो गुरुकुलको पद्धतिमा थियो । गणित निरन्तर महिनौंसम्म पढाइन्थ्यो र पढिन्थ्यो । त्यो ज्ञान र सिपमा एक स्तर सम्मको पारंगत भएपछि मात्र अर्को सीप र ज्ञानमा हामफालिन्थ्यो । रुचीको सीप र ज्ञानमा केन्द्रित हुनु अगाडी, ६४ बिद्याको बिकल्प दिइन्थ्यो ।
तर आज ३५ मिनेटको पिरियड भनेको ३ सेकेन्डको टिकटक हेरेर म प्रोफेसर बन्छु वा मार्सलआर्टको ग्रान्डमास्टर बन्छु भन्नु उस्तै हो । यति छिटो दिमागको ध्यान स्विच गर्नु वा फेर्नु न्युरोन्सको वरिपरि माइलिन सिथ बेरिन नदिनु हो । त्यसको अर्थ कुनै ज्ञान वा सिप गतिलो गरी सिक्न कहिल्यै पनि नसक्नु हो । सधैँ अधकल्चे रहन दिनु हो । कमजोर बन्नु हो । कारिन्दा बन्नु हो । यसको रहस्य टि.बि. म्याकलेलाई र विलियम एडम्सलाई थाहा थियो । उनीहरुले गुरुकुललाई बन्द गराउने कानुन पारित गरे र भारतवर्षमा कारिन्दा शिक्षा घुसाए । हली बनाउने शिक्षालाई संसारको उत्तम भन्दै लादे । आजको नेपालको शिक्षा त्यसैको निरन्तरता हो । यसको विकल्प छिटो चाहियो । अब आँखा खोल्ने बेला आयो । अझै पनि नब्युँझने ?
गुरु शिष्य वा सामुहिक शास्त्रार्थ अर्को अस्त्र थियो । तर हामीले कक्षाकोठामा चुप लागेर भाषण सुन्ने संस्कारको जरा गाड्यौं । विचारहरु दबिएर बसे । आविष्कारहरु दास भए, निसासिएर मरे । गुरुहरुको जीवन एक नमुना हुन्थ्यो र त्यो देखेर शिष्यहरु नक्कल गर्दै सिक्थे । आजका गुरुहरु नै सही नमुना बन्न सक्दैनन् । बोल्छन् एउटा कुरा, अनि गर्छन् अर्कै । तब, शिष्यले गन्दैनन् अनि भनेको मान्दैनन् । अभिभावकको ताल पनि उस्तै छ । गर्ने एक कुरा तर छोराछोरीलाई भन्ने र सिकाउने अर्कै कुरा । तव के होला ?
आजका विद्यालयहरुमा अनुभव गर्ने मौका नै मिल्दैन वा दिँइदैन । घरमा पनि उनीहरुलाई बा आमाको लाडप्यार यति धेरै छ कि कुनै काममा हात हाल्नै दिँइदैन । तब, सही सिकाइ कसरी हुन्छ ? हामी नयाँ कुरा र ठूलो भाग खोज्ने क्रममा यथार्थबाट र प्रकृतिबाट टाढा अनि झन् टाढा हुँदै गएका छौं ।
अर्को, त्यो समयको सिकाइ अनुभवमा आधारित थियो । आफ्नै हातले गरेर सिक्थे । अहिले, गर्न लगाइँदैन । सुनाइन्छ मात्र । अनुभवको ज्ञान मात्र सही ज्ञान हो तर आजका बिद्यालयहरुमा अनुभव गर्ने मौका नै मिल्दैन वा दिँइदैन । घरमा पनि उनीहरुलाई बा आमाको लाडप्यार यति धेरै छ कि कुनै काममा हात हाल्नै दिँइदैन । तब, सही सिकाइ कसरी हुन्छ ? हामी नयाँ कुरा र ठूलो भाग खोज्ने क्रममा यथार्यबाट र प्रकृतिबाट टाढा अनि झन् टाढा हुँदै गएका छौं । तर नतिजा चाँहि सबैलाई यथार्थमै चाहिन्छ । भ्रमको खुराक, भर्चुअल खुराक, तर शक्ति चैँ साँच्चैको चाहिने । आउला कसरी ? आजको हरेक व्यक्ति र विचार छल र भ्रमबाट सञ्चालित भएका छन् झैँ लाग्न थालेको छ । जस्तो हाल्यो, त्यस्तै नतिजा । जस्तो दृष्टि, त्यस्तै सृष्टि ।
उपसंहार
यो वर्ष २०८२ सालमा मैले चारवटा स्कुलहरुलाई नजिकबाट नियालेर सक्दो अध्ययन, खोज र अनुसन्धानबाट निस्केका नितान्त व्यक्तिगत निष्कर्षहरु हुन् यी । पुर्वप्राथमिक तहका बालबालिकादेखि कक्षा दश सम्मका बालबालिका, अभिभावक, शिक्षकहरु तथा स्कुल सञ्चालकहरुसँगको नियमित अन्र्तकृया र अध्ययनको निष्कर्ष हो यो । अक्षरा स्कुल, न्यू स्टारपोल स्कुल काँडाघारी, स्वप्नसंसार स्कुल बोडे भक्तपुर, शिक्षालय नेपाल मुलपानीका सञ्चालकहरु र शिक्षकहरुप्रति धेरै आभारी छु जो निरन्तर नयाँ केही बिशेष गर्न लागिपरिरहनुभएको छ । नयाँ नयाँ कोसिसहरु गरिरहनु भएको छ । परिवर्तनको हुटहुटी र भित्री असल भाव बोकेर जीवनहरु बनाउने काम गरिरहनु भएको छ । सबैमा नमन ।
मैले नगरे, कल्ले गर्ने ? अहिले नगरे, कहिले गर्ने ? कर्म गर, फलको आशा नगर । यसको भाव हुन्छ, अति आशक्ति रहित कर्र्ममा तल्लिन भैरहने । ठूलो विचारको तरंग आकाशमा छोड्ने तर सानो कर्मलाई निरन्तर जोड्ने । चाँडै आउँदै गरेको अर्को पुस्तक ‘सन्तान सपार्ने कोसिस’को लागि मेरो कोसिस पनि निरन्तर चलिरहेको छ । त्यसमा अझ बिस्तृतमा विचार मन्थन गरौंला, नयाँ कर्मको भाँडोमा तिनै विचार भरौंला ! चरैवति चरैवति !
भेनेजुएलाको व्यथा: अमेरिकी दादागिरीको कथा !
इरानको उथलपुथललाई बुझाउने ६ बुँदा
आठ वर्षे अध्ययन बिदा
इरानको गहिरिँदो संकट: अर्थतन्त्र, सत्ता र आन्दोलन
मिथकबाट एल्गोरिदमसम्म: भ्रम कसरी बन्छ र किन टिक्छ ?
विज्ञान र आध्यात्मवाद
ग्रीनल्याण्ड अधिग्रहणमा संयुक्त राज्य अमेरिकाको चासो : एक रणनीतिक, राजनीतिक र …
प्रतिक्रिया