शक्तिशालीले जे गर्न सक्छ, त्यही गर्छ। कमजोरले जे सहनु पर्छ, त्यही सहन्छ: थ्यूसीडिडीज

शक्तिशालीले जे गर्न सक्छ, त्यही गर्छ। कमजोरले जे सहनु पर्छ, त्यही सहन्छ: थ्यूसीडिडीजको यही भनाइ यही आजको विश्व राजनीतिमा नबोलिएको सत्य बनेको छ। डोनाल्ड ट्रम्प  ‘अमेरिकाकै कारण क्यानडा  जीवित छ’ भन्छन् । यो भाषा नयाँ होइन। तर मित्र देशका बारेमा खुला मञ्चबाट प्रयोग गरिएको यस्तो भाषाले अब मित्रता र गठबन्धन पनि सर्तसहितका भएका छन् भन्ने संकेत गर्छ।

यसको ठीक उल्टो, वर्ल्ड इकोनोमिक फोरम (World Economic Forum) को मञ्चमा दावोस (Davos) मा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ‘नियममा आधारित, अमेरिकी नेतृत्वको विश्व व्यवस्था अब समाप्त भइसकेको छ र त्यो फेरि फर्कनेवाला छैन’ भनेर स्पष्ट भने। उल्लेखनीय कुरा के हो भने उनले यो कुरा न आक्रोशका साथ, न त कुनै पुरानो सम्झनामा डुबेर नै भने ।

कार्नीले आफ्नो भाषणमा थ्यूसीडिडीज (Thucydides) र भाच्लाव हावेल (Václav Havel) लाई उद्धृत गरे। थ्यूसीडिडीजको भनाइ, “शक्तिशालीले जे गर्न सक्छ, त्यही गर्छ। कमजोरले जे सहनु पर्छ, त्यही सहन्छ” आजको विश्व राजनीतिमा नबोलिएको सत्य बनेको छ। कार्नीले कुनै देशको नाम लिएनन्। तर संकेत त्यसलाई बेवास्ता गर्न असम्भव हुने गरी स्पष्ट थियो ।

क्यानडा र अमेरिका सम्बन्धमा आएको फाटोको सन्दर्भमा कार्नीले मझौला शक्तिहरूले नयाँ गठबन्धन बनाउनुपर्ने बताए। वास्तवमा यो सामूहिक आत्मरक्षाको प्रस्ताव हो।

यस सम्पूर्ण प्रसंगमा सबैभन्दा रमाइलो कुरा के छ भने ट्रम्प भविष्यको संसारलाई पहिले नै आइसकेको जस्तो मानेर अघि बढिरहेका देखिन्छन्। त्यस्तो संसार जहाँ नियम होइन, केवल सम्झौता र दबाब छन्। अर्कोतर्फ कार्नी त्यही भविष्यलाई स्वीकार गर्दै त्यसमा न्याय, स्थिरता र स्वायत्तता कसरी जोगाउने भन्ने प्रश्न उठाइरहेका छन्। कार्नीको भाषणले रोग त चिनिरहेको छ, तर उपचार अझै स्पष्ट छैन। के क्यानडाले साँच्चै अमेरिकामाथिको निर्भरता घटाउन सक्छ ? के मझौला शक्तिहरू एकजुट हुन सक्छन् ? अथवा कि सँगै हिँड्ने बानीले उनीहरूलाई फेरि झुकाइदिन्छ ?

प्रश्न को सही हो भन्ने होइन। प्रश्न ‘जब संसार साँच्चै पोस्ट-ऑर्डर युगमा प्रवेश गर्दैछ, के इमानदार स्वीकारोक्ति मात्र पर्याप्त हुन्छ ?’ भन्ने हो । वा त्यसका लागि आज शक्तिशाली देशहरूमा देखिएको जस्तै कठोर राजनीतिक इच्छाशक्ति पनि आवश्यक पर्छ ?