सिरियाली कुर्द विद्रोहको अस्ताउँदो सूर्य

लोकतन्त्र र गरिमाको भाषा कहिलेकाहीँ कुनै अमेरिकी कूटनीतिज्ञलाई आकर्षक लाग्न सक्छ, तर वाशिङ्टनमा त्यसको कुनै अर्थ रहेन। सम्झौतापछि केही घण्टामै एक सिरियाली कुर्द अधिकारीले मलाई भने, “हामीले रोजाभा दलदलमाथि निर्माण गरेका थियौँ।”

सिरियाली कुर्द परिक्षेत्रको अन्त्य गर्ने सम्झौतालाई त्यसका हस्ताक्षरकर्ताहरूले व्यावहारिक समाधानका रूपमा प्रस्तुत गरे। तर वास्तविकतामा यो सम्झौता सिरियाली कुर्द राजनीतिक  संरचनाहरूका लागि ठूलो राजनीतिक पराजय हो। निश्चय नै, राष्ट्रपति अहमद अल-शराप्रति वफादार सिरियाली सशस्त्र समूहहरूको तीव्र अग्रसरताले मुख्यतः कुर्दहरूबाट बनेको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) को प्रतिरोध तोडिदियो। तर यो अग्रसरतालाई एसडीएफविरुद्ध सिरियाली सरकारलाई अमेरिकाले दिएको पूर्ण समर्थनको सन्दर्भमा मात्र बुझ्न सकिन्छ। एसडीएफ हतियारको दृष्टिले कमजोर थियो र उसँग हवाई समर्थन थिएन । जुन समर्थन उसले इस्लामिक स्टेटविरुद्धको युद्धमा पाएको थियो। एसडीएफका नेता माज्लुम अब्दीले आफ्ना पार्टी र सेनाको तर्फबाट व्यवहारतः आत्मसमर्पणमा हस्ताक्षर गरे। अमेरिकी राजदूत टम बाराकको ट्वीटले (यसको अतिरञ्जनाका बाबजुद) ‘रोजाभा’ भनेर चिनिने सिरियाली कुर्द प्रयोगको अन्त्य संकेत गर्‍यो । ‘रोजाभा’ कुर्द भाषामा ‘सूर्य अस्ताउने स्थान’ वा कुर्द भूभागको पश्चिमी भाग भन्ने अर्थ दिन्छ।

यो सम्झौताले महिनौँदेखि चलिरहेको सैन्य दबाबले पहिल्यै स्पष्ट गरिसकेको अवस्थालाई औपचारिक रूप दियो। सिरियाली राज्यका संस्थाहरू उत्तरपूर्वमा साझेदारका रूपमा होइन, अहमद अल-शराप्रति वफादार बलियो केन्द्रीय राज्य चाहने अधिकार सम्पन्न निकायका रूपमा फर्किए। बितेको एक वर्षको अवधिमा विभिन्न समूहहरूको नियन्त्रणमा रहेका सीमा नाका केन्द्रीय  सरकारको नियन्त्रणमा फर्किए र तेल राजस्व दमास्कसका लागि संकलन हुन थाल्यो। सिरियन डेमोक्रेटिक फोर्सेस—सिरियन अरब सेनाको पराजयपछि अहमद अल-शराका विरुद्ध बाँकी रहेका अन्तिम स्वतन्त्र सैन्य चुनौतीहरूमध्ये एकले सेनाको केन्द्रीय कमान्डअन्तर्गत अधीनस्थ हुन  सहमति जनायो, तर आफ्ना इकाइहरू विघटन हुन नदिन चाह्यो; अर्थात् एसडीएफले सिरियाली सशस्त्र बलभित्रै आफ्ना संरचनाहरू जोगाइराख्न चाह्यो। यही सम्झौताप्रति अब्दी र कुर्द नेतृत्वका अन्य व्यक्तिहरू, जस्तै इल्हाम अहमद (एसडीएफका पूर्व सह–अध्यक्ष), अनुकूल थिए। तर कुर्द एन्क्लेभको स्वायत्तता गुमाउन नचाहने सिरियाली कुर्द नेतृत्वका केही धाराहरूले उनीहरूलाई पछि पारिदिए। तर अब कुर्द राजनीतिक कार्यालयहरू बन्द हुन थालेका छन्, झण्डाहरू हटाइँदै छन्, र स्वायत्तताको भाषा आधिकारिक कागजातहरूबाट मेटिँदै गएको छ।

अहमद अल-शराअल–कायदाका सिरियाली मोर्चाहरूमा उनको राजनीतिक सक्रियतामार्फत सिरियाको राष्ट्रपतिको पदमा पुगे। उनले पगडी त्यागेर सूट लगाउन थालेका भए पनि, उनका आफ्नै समर्थकहरू अल–कायदा र इस्लामिक स्टेटको विचारधारा तथा तिनसँगका सम्बन्धप्रति सहज छन् भन्ने संकेतहरू छन्, र उनीहरू संयुक्त राज्य अमेरिका तथा इजरायलसँगको गठबन्धनलाई समेत स्वागत गर्छन्। यो युद्धविराम र सम्झौताअघिका दिनहरूमा एसडीएफका अधिकारीहरूले सिरियाली सशस्त्र बलहरूले एसडीएफले नियन्त्रणमा राखेका इस्लामिक स्टेटका बन्दीहरू राखिएका कारागारहरूमाथि ध्यान केन्द्रित गरेको बताएका थिए। वास्तवमै शद्दादी कारागार (हसाका) र अल–अक्तान कारागार (रक्का) नजिक भीषण लडाइँ भएको खबर आएको थियो। एसडीएफका अनुसार यी आक्रमणहरू “अत्यन्तै खतरनाक विकासक्रम” थिए, किनकि यसले सरकारी सेनाहरू इस्लामिक स्टेटका लडाकुहरूलाई कारागारबाट मुक्त गरी फेरि एसडीएफजस्ता समूहहरूविरुद्ध युद्धभूमिमा उतार्न चाहन्थे भन्ने संकेत दिन्थ्यो। अहिले राज्यको नियन्त्रणमा यी कारागारहरू छन् र ती बन्दीहरूसँग राज्यले जे चाहे पनि गर्न सक्छ।

रोजाभाको उदय

२०१२ मा बशार अल–असदको सरकारले विद्रोहहरूको चक्रबाट दक्षिण–पश्चिम क्षेत्रको रक्षा गर्न उत्तर–पूर्वबाट आफ्ना सेना फिर्ता गर्‍यो। यस फिर्तीले दशकौँदेखि स्वतन्त्र कुर्दिस्तान वा सिरियाभित्र स्वायत्तताको माग गर्दै आएका सिरियाली कुर्दहरूलाई अवसर प्रदान गर्‍यो। डेमोक्रेटिक युनियन पार्टी (पीवाईडी) का नेता सालेह मुस्लिमले २०१३ मा मलाई भनेका थिए कि कुर्द राजनीतिक र सैन्य शक्तिहरूले उत्पन्न भएको शून्यतालाई भरे। “हामीले समाजलाई यसरी संगठित गर्‍यौँ कि अराजकता फैलिन नपाओस्।” पीवाईडीका मुस्लिमले तीन मुख्य बुँदा राखे: सिरिया एकीकृत रहनुपर्छ, सिरिया त्यहाँ बसोबास गर्ने सबैको हुनुपर्छ, र सिरिया विकेन्द्रित हुनुपर्छ। दमास्कसको सरकारले यी तीनै बुँदालाई स्वीकार गर्‍यो, र सिरियाली कुर्द राजनीतिक शक्तिहरू, सिरियाका अन्य अल्पसंख्यक समुदायहरू तथा असद सरकारबीच मौन समझदारी कायम भयो। यही अवसरले रोजाभाको जन्म सम्भव बनायो।

२०१२ यता बितेको एक दशकमा रोजाभा एन्क्लेभ इस्लामिक स्टेट (२०१४–१५), टर्कीका सशस्त्र बलहरू (२०१८) तथा विभिन्न साना समूहहरूको निरन्तर आक्रमणको चपेटामा पर्यो। यस अवधिमा एसडीएफको सेना, पिपुल्स डिफेन्स युनिट्स (वाईपीजी), इराकबाट आएका कुर्द पेस्मर्गा, र टर्कीस्थित कुर्द वर्कर्स पार्टी (पीकेके) का सशस्त्र बलहरूले यस एन्क्लेभको रक्षा गरे । विशेषतः इस्लामिक स्टेटको अग्रसरता रोक्न निर्णायक रूपमा। अगस्त २०१४ मा इस्लामिक स्टेटले सिँजार कब्जा गरी यजिदीहरूलाई जातीय रूपमा सफाया गर्न थालेपछि, वाईपीजी र उसका सहयोगीहरूले त्यहाँ लामो घेराबन्दी सुरु गरे, जुन अत्यन्त ठूलो क्षतिका बाबजुद नोभेम्बर २०१५ मा मात्र उनीहरूको विजयमा टुंगियो। इस्लामिक स्टेटलाई पराजित गर्ने र दमास्कसबाट स्वतन्त्र एन्क्लेभका रूपमा अस्तित्व कायम गर्ने प्रयासमा अमेरिकी हवाई समर्थनले वाईपीजी र एसडीएफलाई सहयोग गर्न थाल्यो। तर सालेह मुस्लिम वा अन्य सिरियाली कुर्द नेताहरूले संयुक्त राज्य अमेरिकामाथि पूर्ण रूपमा भरोसा राखेका थिएनन्, यद्यपि शक्तिसन्तुलनले यस्तो गठबन्धन जन्मायो, जसले अन्ततः विश्वासघाततर्फ लैजानु नै थियो।

असदको पतन

इजरायल र संयुक्त राज्य अमेरिकाका हवाई आक्रमणहरूको पूर्ण भारसहित, अहमद अल-शराको नेतृत्वमा रहेको हयात तहरीर अल–शाम (एचटीएस) का सैनिकहरु दमास्कसतर्फ तीव्र गतिमा प्रवेश गरे। यो विजय सिरियाली कुर्दहरूका लागि निर्णायक विच्छेदको संकेत बन्यो। नयाँ राष्ट्रपति अहमद अल-शराले आफ्नो सरकारले उत्तरी भूभागहरू पुनः अधिग्रहण गर्ने बताए (तर उनले इजरायलद्वारा गोलान हाइट्सको कब्जाबारे केही भनेनन्, न त अल–शराआले दमास्कस  नियन्त्रणमा लिएपछि इजरायलले कब्जा गरेको संयुक्त राष्ट्रसंघीय बफर जोनका सयौँ वर्ग किलोमिटर क्षेत्रबारे नै कुनै उल्लेख गरे)। दमास्कसबाट आएका वक्तव्यहरूले कुर्दहरूलाई चेतावनी दिए, यद्यपि कुर्द नेतृत्वले तर्कविहीन आशामा संयुक्त राज्य अमेरिकाले आफूहरूलाई जोगाउने विश्वास राखिरह्यो (डिसेम्बर २०२४ मा अब्दीले सिरियाली कुर्दहरू ‘तनाव रोक्न र एकीकृत राज्यको ढाँचाभित्र कुर्दहरूको अधिकारसहित सबै सिरियाली समुदायका अधिकार सुनिश्चित गर्ने हाम्रो प्रयासलाई समर्थन गर्ने अमेरिकी मित्रहरूसँग निरन्तर सम्पर्कमा’ रहेको बताएका थिए)। संयुक्त राज्य अमेरिकाले आफ्ना सेना फिर्ता गर्न थाल्यो, र सिरियाली कुर्दहरूले निराशा व्यक्त गर्न थाले। एसडीएफकी एक अधिकारीले मलाई भनिन् कि उनीहरूको बलले इस्लामिक स्टेटसँग लडेर ठूलो क्षति व्यहोरेको थियो, तर अहिले उनको शब्दमा उनीहरू “केही पनि होइनन्”। सिरियाली सेनाहरू उत्तरतर्फ ओइरिए। “सिरियालाई बल प्रयोग गरेर थोपरेका प्रयोगहरूको आवश्यकता छैन,” अल–शराले भने। रोजाभा उनको निशानामा थियो। काम पूरा हुन धेरै समय  लागेन। “हामी क्रान्तिका उपलब्धिहरू जोगाउन कटिबद्ध छौँ,” अब्दीले भने, तर यो भनाइ यथार्थभन्दा बढी कामनाजन्य सोचजस्तो देखिन्छ।

सिरियाको उदाहरणले उत्तरी इराकको कुर्द स्वायत्त क्षेत्रमा सीमा पारि चिसो हावा ल्याएको छ। इराकी नेता मुक्तदा अल–सद्रले एक्स (X) मा सन्देश पोस्ट गर्दै सिरियामा जे भयो, त्यसलाई “सरल रूपमा लिनु हुँदैन” भन्ने चेतावनी दिए। “खतरा निकट छ,” उनले लेखे, “र आतंकवादलाई विश्वव्यापी अहङ्कारले समर्थन गरिरहेको छ।” टर्कीको पीकेकेको रणनीतिमा आएको परिवर्तन र सिरियाली कुर्दहरूको पराजयसँगै, इर्बिल (इराक) मा कुर्द स्वायत्त क्षेत्र शाश्वत छ भन्ने विश्वास अब धुमिल बन्दैछ जानेछ। अल–सद्रले बाह्य आक्रमणको सामना गर्न एकताको सुझाव दिए। यस्तो सुझावलाई यस्ता कठिन समयमा अस्वीकार गर्न गाह्रो हुनेछ।

रोजाभाको पतन केवल स्थानीय विद्रोहलाई दीर्घकालसम्म टिकाइराख्न नसक्नु मात्र थिएन। यो एउटा राजनीतिक दाउको पराजय थियो । विकेन्द्रीकरण र सशस्त्र आत्मरक्षाले संयुक्त राज्य अमेरिकाको समर्थनमा भर पर्न सक्छ भन्ने विश्वासको पराजय। लोकतन्त्र र गरिमाको भाषा कहिलेकाहीँ कुनै अमेरिकी कूटनीतिज्ञलाई आकर्षक लाग्न सक्छ, तर वाशिङ्टनमा त्यसको कुनै अर्थ रहेन। सम्झौतापछि केही घण्टामै एक सिरियाली कुर्द अधिकारीले मलाई भने, “हामीले रोजाभा दलदलमाथि निर्माण गरेका थियौँ।”

Source: https://globetrotter.media/

 

विजय प्रशाद

विजय प्रशाद एक भारतीय इतिहासकार, सम्पादक तथा पत्रकार हुन्। उनी ग्लोबट्रटर (Globetrotter) मा लेखन फेलो तथा प्रमुख संवाददाता हुन्। उनी लेफ्टवर्ड बुक्स (LeftWord Books) का सम्पादक तथा ट्राइकोन्टिनेन्टल: सामाजिक अनुसन्धान संस्थान (Tricontinental: Institute for Social Research) का निर्देशक पनि हुन्। उनले द डार्कर नेशन्स र द पुअरर नेशन्स सहित २० भन्दा बढी पुस्तक लेखेका छन्। उनका पछिल्ला कृतिहरूमा अन क्युबा: ७० वर्षको क्रान्ति र संघर्षमाथि चिन्तन (नोम चोम्स्कीसँग संयुक्त रूपमा), स्ट्रगल मेक्स अस ह्युमन: समाजवादका आन्दोलनहरूबाट सिकाइ, तथा (फेरि नोम चोम्स्कीसँगै) द विथड्रअल: इराक, लिबिया, अफगानिस्तान र अमेरिकी शक्तिको नाजुकता समावेश छन्। चेल्वा र प्रशादको संयुक्त पुस्तक हाउ द इन्टरनेशनल मोनेटरी फन्ड इज सफोकेटिङ अफ्रिका यसै वर्ष इन्कानी बुक्स (Inkani Books) बाट प्रकाशन हुने छ।