धनी र गरिबबीचको खाडल झनै फराकिलो बन्दै !

विश्व असमानता प्रतिवेदनले देखाएको भयावह तस्विर

डिसेम्बर १०, २०२५ मा प्रकाशित विश्वव्यापी असमानताबारेको एक ऐतिहासिक प्रतिवेदनले मानव समाजको सबैभन्दा धनी सानो वर्ग र बाँकी जनसङ्ख्याबीचको खाडल यस वर्ष पनि अझै फराकिलो हुँदै गएको देखाएको छ। प्रतिवेदनअनुसार शीर्ष ०.००१ प्रतिशत (६० हजारभन्दा कम अरबपतिहरूसँग) विश्वको सबैभन्दा गरिब आधा जनसङ्ख्याको संयुक्त सम्पत्तिभन्दा तीन गुणा बढी सम्पत्ति छ।

विश्वव्यापी आय असमानता यति भयावह स्तरमा पुगेको छ  र यसको अर्थतन्त्र तथा लोकतान्त्रिक संस्थामाथिको असर यति विनाशकारी बन्दै गएको छ, कि नीतिनिर्माताहरूले यसलाई आपतकालीन अवस्थाका रूपमा लिनुपर्ने तर्क विश्व असमानता प्रतिवेदनको तेस्रो संस्करणले अघि सारेको छ। सयौँ विद्वानहरूको विश्वव्यापी अनुसन्धानमा आधारित यो विस्तृत विश्लेषणको प्रमुख लेखक विश्व असमानता प्रयोगशालाका अनुसन्धानकर्ता रिकार्डो गोमेज–करेरा हुन्।

नयाँ प्रतिवेदनमा भनिएको छ, “असमानता लामो समयदेखि विश्व अर्थतन्त्रको एक परिभाषात्मक विशेषता रहँदै आएको छ, तर सन् २०२५ सम्म आइपुग्दा यो तत्काल ध्यान दिनैपर्ने स्तरमा पुगेको छ। वैश्वीकरण र आर्थिक वृद्धिका लाभहरू अत्यन्तै सानो अल्पसङ्ख्यकमा असमान रूपमा केन्द्रित भएका छन्, जबकि विश्वको ठूलो हिस्सा अझै स्थिर जीविकोपार्जन हासिल गर्न संघर्षरत छ। यी विभाजनहरू अपरिहार्य होइनन्; यी राजनीतिक र संस्थागत छनोटहरूको परिणाम हुन्।”

नवीनतम तथ्याङ्कअनुसार विश्व जनसङ्ख्याको सबैभन्दा धनी १० प्रतिशतले विश्वको कुल सम्पत्तिको तीन–चौथाइ हिस्सा ओगटेका छन् र बाँकी सम्पूर्ण मानव समुदायभन्दा बढी आम्दानी कब्जा गर्छन्। अधिकांश देशहरूमा तल्लो ५० प्रतिशत जनसङ्ख्याले राष्ट्रिय सम्पत्तिको ५ प्रतिशतभन्दा बढी नियन्त्रण गर्नु दुर्लभ छ।

यो केन्द्रीकरण केवल निरन्तर मात्र होइन, अझ तीव्र गतिमा बढिरहेको छ,” प्रतिवेदनले उल्लेख गरेको छ। “१९९० को दशकयता अर्बपति र सयौँ मिलियन सम्पत्तिका धनीहरूको सम्पत्ति वार्षिक करिब ८ प्रतिशतका दरले बढेको छ, जुन तल्लो आधा जनसङ्ख्याले अनुभव गरेको वृद्धिदरको झण्डै दोब्बर हो। गरिब वर्गले केही सीमित प्रगति गरेको भए पनि, त्यो अत्यन्तै सानो माथिल्लो तहमा भएको असाधारण सम्पत्ति सञ्चयले छायामा पारेको छ।”

प्रतिवेदनले निष्कर्षमा थप्छ, “यसको परिणाम यस्तो विश्व बनेको छ जहाँ अत्यन्तै सानो अल्पसङ्ख्यकले अभूतपूर्व वित्तीय शक्ति नियन्त्रण गर्छ, जबकि अर्बौँ मानिसहरू आधारभूत आर्थिक स्थिरताबाट समेत वञ्चित छन्।”

यो प्रतिवेदन यस्तो समयमा आएको छ, जब विश्वको सबैभन्दा धनी र शक्तिशाली राष्ट्र—राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा जलवायु परिवर्तन र करसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यबाट पछि हट्दै, आन्तरिक तथा वैदेशिक सहायता कार्यक्रमहरूमा ठूलो कटौती गर्दै, र सबैभन्दा धनी अमेरिकीहरूलाई विशाल आर्थिक छुट तथा अनुदान प्रदान गरेर असमानतालाई अझ तीव्र बनाउने दिशामा काम गरिरहेको छ।

विश्वव्यापी असमानतासम्बन्धी जी–२० को स्वतन्त्र विज्ञहरूको विशेष समितिकी सदस्य तथा नयाँ प्रतिवेदनको प्रस्तावनाका सह–लेखक जयन्ती घोषले एक वक्तव्यमा भनिन्, “हामी यस्तो प्रणालीमा बाँचिरहेका छौँ जहाँ न्यून–आय भएका देशहरूमा श्रम र प्रकृतिबाट निकालेका स्रोतहरूले निरन्तर रूपमा उच्च–आय अर्थतन्त्रका जनसमुदाय र विभिन्न देशका धनी अभिजात वर्गको समृद्धि तथा अस्थिर जीवनशैलीलाई टिकाइरहेका छन्।”

घोषका अनुसार, “यी अवस्थाहरूले इतिहासको विरासत र संस्थागत संरचना, नियम तथा नीतिहरूको कार्यप्रणालीलाई प्रतिबिम्बित गर्छन् । जसका सबै पक्ष असमान शक्ति सम्बन्धसँग जोडिएका छन्, र ती सम्बन्धहरू अझै पुनःसन्तुलित हुन बाँकी छन्।”

दशकौँदेखि बढ्दै गएको विस्फोटक असमानताको प्रवृत्ति उल्ट्याउन स्पष्ट समाधानहरू अपनाउने राजनीतिक इच्छाशक्ति आवश्यक छ, जसमा अति–धनीहरूमाथि न्यायोचित कर व्यवस्था लागू गर्नु र सामाजिक कार्यक्रम तथा जलवायु कार्यमा साहसी लगानी गर्नु पर्दछ । किनकि जलवायु संकट असमान रूपमा धनी वर्गद्वारा नै उत्प्रेरित भएको छ। जबसम्म यो प्रणालीलाई चुनौती दिइँदैन, तबसम्म विश्व अर्थतन्त्र चरम केन्द्रीकरणको बाटोमै अघि बढिरहनेछ, वा साझा समृद्धितर्फ मोडिन असफल हुनेछ।

Source:- https://www.frontierweekly.com