नेपालमा वामराजनीति र मातृका पोखरेलको निराशाको अर्थ
“निराश पनि छु; ममा निराशा पनि छ" आफ्नो कथासंग्रह 'म पनि निदाउन सकिनँ’को विमोचन कार्यक्रममा विद्युत प्राधिकरणको सभा कक्षमा पुस २५ गते कथाकार मातृका पोखरेल भन्दै थिए– “परबाट हेर्दा मान्छे सुन्दर देखिन्छ; नजिक पुगेपछि त्यही मान्छे घीनलाग्दो देखिन्छ ।" नेपाली साहित्यमा समाजवादी यथार्थवाद कित्ताका लेखकको पहिचान बनाएका पोखरेलले अगाडि भने– “म नेता हुन हिडिनँ; म अगाडि जान हिडेको होइन; समाज बदल्ने नारामा आकर्षित भएर लुरुलुरु पछिपछि हिडेको हुँ । हिडाइका क्रममा यस विन्दूमा आइपुग्दा ममा निराशा थुप्रिएको छ ।"
के हो 'निराशा’ भनेको ?
वृहत् नेपाली शब्दकोशले निराशालाई 'आशाको अभाव वा आस मार्ने अवस्था’ भनेर अर्थ्याएको पाइन्छ ।
धेरै लेखकहरू निराशाजनक परिस्थितिहरूको गहिरो बुझाइले बौद्धिक व्यक्तिमा निराशा उत्पन्न हुन्छ भन्दछन् । मानिसका निजी अपेक्षाहरू र वास्तविकताका बीचमा जब खाडलको अवस्था देखा पर्दछ; त्यसले मानिसलाई निराश बनाउने सम्भावना बढ्छ भन्ने गरिन्छ । बौद्धिक साहित्यकार लेखकहरू आफ्ना अपेक्षा र वास्तविक उपलब्धिलाई अझ स्पष्ट रूपमा देख्न सक्दछन् । अत्यधिक सोचविचार, असफलता र वास्तविकतामा अनुवाद हुन नसकेका अपेक्षाहरूले निराशालाई निम्त्याउन सक्दछन् । बुँदागत रूपमा बौद्धिक प्रौढ व्यक्तिको निराशाका कारणहरूलाई निम्नानुसार चर्चा गर्न सकिन्छः
१) वास्तविकता र आदर्श बीचको खाडल : आशा र वास्तविकताको द्वन्द्वको रूपमा पनि बुझ्न सकिन्छ । बौद्धिक व्यक्तिहरूलाई प्रायः सामाजिक जीवनका समस्याहरू र मानवीय कमजोरीहरूको गहिरो बुझाइ हुन्छ; जसले गर्दा उनीहरूलाई वास्तविकता उनीहरूको आदर्शबाट टाढा छ भन्ने महसुस हुन्छ र यो खाडलले निराशा निम्त्याउँछ ।
२) गहिरो विश्लेषण : बौद्धिक व्यक्तिहरूले समस्या र परिस्थितिहरूको गहिरो विश्लेषण गर्छन्; जसले गर्दा त्यस्ता व्यक्तिमा संसारको असंगति, अन्याय र कमजोरीहरूको स्पष्ट बुझाइ हुन्छ । यो यस्तो गहिरो समझ र जागरूकताले निराशा निम्त्याउन सक्छ । विषयहरूको गहिरो र निरन्तर चिन्तनले क्रोध, आसक्ति वा लोभ जस्ता भावनाहरू निम्त्याउन सक्छ, जसले बुद्धिलाई भ्रमित गर्न सक्छ र विनाश निम्त्याउन सक्छ ।
३) अस्वीकार र असफलता : जब एक बौद्धिक असफलता वा अस्वीकृतिको सामना गर्छ; नकारात्मक दृष्टिकोण विकास हुन सक्छ; जसले निराशा निम्त्याउँछ ।
४) उच्च आदर्शवाद : बुद्धिजीवीहरूसँग प्रायः संसारको लागि उच्च आदर्श र अपेक्षाहरू हुन्छन् । जब तिनीहरूले देख्छन्, महसुस गर्छन्; वास्तविक संसार उनीहरूको आदर्श अनुरूप छैन, तब तिनीहरू निराश हुन सक्छन् । उच्च अपेक्षा/आदर्शहरू प्रायः उच्च बुद्धिमत्तासँग सम्बन्धित हुन्छन् । जब वास्तविकताले ती अपेक्षाहरू पूरा गर्दैन; तब निराशा हुन्छ ।
५) मानसिक स्वास्थ्य : तनाव, चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरूले जो कोहीलाई पनि निराश पार्न सक्छ र बुद्धिजीवीहरू पनि यसको अपवाद छैनन् ।
६) एक्लोपन र सम्बन्धको अभाव : बौद्धिक व्यक्तिहरूमा एक्लोपन विकास हुन सक्दछ । यस्ता व्यक्तिहरूको बौद्धिक रुचि र विचारहरू सामान्य मानिसहरूको भन्दा फरक हुन्छन्; जसले गर्दा उनीहरू सामाजिक रूपमा एक्लो महसुस गर्न सक्छन् । यो एक्लोपनले निराशा निम्त्याउन सक्छ ।
सारमा भन्दा, बौद्धिक व्यक्तिहरूले सामाजिक जीवनलाई अझ स्पष्ट रूपमा देख्छन् । यिनीहरूसंग अपेक्षा र वास्तविक उपलब्धिलाई केलाउने र गहिरो गरी बुझ्ने क्षमता हुन्छ; यिनीहरूमा आदर्शतर्फको यात्रामा देखापरेका कमजोरीहरू बुझ्ने सम्भावना बढी हुन्छ; जसले निराशाको सम्भावना बढाउँछ ।
साहित्यमा समाजवादी यथार्थवाद
समाजवादी यथार्थवाद सन् १९३२ देखि १९८० को दशकको मध्यसम्म सोभियत संघमा आधिकारिक रूपमा स्वीकृत कला साहित्यको सिद्धान्तका रूप थियो । साहित्यमा समाजवादी यथार्थवादले कलाको त्यस्तो शैलीलाई जनाउँछ; जसले समाजवादी आदर्शहरूलाई प्रवद्र्धन गर्छ, कामदार र मजदुरहरूको जीवनको महिमा गर्छ र उज्ज्वल कम्युनिस्ट भविष्यतर्फको प्रगतिलाई चित्रण गर्छ । समाजवादी यथार्थवादका अनुसार, साहित्यको उद्देश्य सामाजिक चेतना जगाउनु र पार्टीको विचारधारा अनुरूप समाज निर्माण गर्नु हो । समाजवादी यथार्थवादले वास्तविकतालाई क्रान्तिकारी दिशामा चित्रण गर्छ । समाजवादी यथार्थवादमा सामूहिक प्रगति र कम्युनिस्ट पार्टीको भूमिका व्यक्तिगत सम्बन्धहरू भन्दा बढी महत्त्वपूर्ण हुन्छ ।
समाजवादी यथार्थवादका मुख्य विशेषताहरूः
१) आधिकारिक शैली : समाजवादी यथार्थवाद सन् १९३० को दशकमा सोभियत संघमा विकसित भयो र अन्य समाजवादी देशहरूमा आधिकारिक सांस्कृतिक शैली बन्यो।
२) पार्टी समर्थन : समाजवादी यथार्थवाद कम्युनिस्ट पार्टीको नीति र कम्युनिस्ट लक्ष्यहरूसँग नजिकबाट मिल्दोजुल्दो छ ।
३) आदर्शवादी यथार्थवाद : समाजवादी यथार्थवादले वास्तविकतालाई जस्तो छ त्यस्तै चित्रण गर्नुको सट्टा, यसले वास्तविकतालाई भविष्यको कम्युनिस्ट समाजसँग मिल्दोजुल्दो हुने गरी आदर्शवादी र प्रगतिशील दिशामा चित्रण गर्छ ।
४) कामदारहरूको महिमा : समाजवादी यथार्थवादमा परिश्रमी जनता, किसान र सर्वहारा वर्गलाई नायक, समाजका निर्माताहरूको रूपमा प्रस्तुत गरिन्छ ।
५) स्पष्ट उद्देश्य : समाजवादी यथार्थवादमा सरल शैलीसहितको स्पष्ट उद्देश्य हुन्छ । यसको उद्देश्य जनतालाई शिक्षित गर्नु र साम्यवादतर्फ सकारात्मक हुन प्रेरित गर्नु हो ।
६) व्यक्तिवाद विरोधी : समाजवादी यथार्थवादमा व्यक्तिगत भावना वा तटस्थ प्रतिबिम्बको सट्टा सामाजिक र सामूहिक हितमा जोड दिइन्छ।
७) पूँजीवादको अस्वीकृति : समाजवादी यथार्थवादले आधुनिकतावाद, व्यक्तिवाद र कलाप्रति 'कलाको खातिर कला' दृष्टिकोणलाई पुँजीवादी र पतनशील ठहर गर्दै अस्वीकार गर्दछ ।
नेपाली लेखक जगदीशचन्द्र भण्डारी भन्छन्– 'वर्ग, विचार र यथार्थ प्रतिको सक्रिय प्रतिबद्धताका साथै आशावादिता एवम् मुक्त जीवन निर्माणप्रतिको तीव्र आकाङ्क्क्षा व्यक्त हुनु र मालेमावादी विश्वदृष्टिकोणसँग गाँसिनु एवम् ऐतिहासिक र समकालीन यथार्थको वस्तुपरक र सौन्दर्ययुक्त प्रतिबिम्बन गर्नु, क्रान्तिकारी वर्ग, पार्टी र विचारप्रति प्रतिबद्ध भई क्रान्तिलाई सहयोग पु¥याउनु जस्ता युगीन दायित्व निर्वाह गर्नु समाजवादी यथार्थवादी साहित्यको संज्ञानपरक, विचारपरक तथा कलात्मक काम हो ।’
(भण्डारी, जगदीशचन्द्र, साहित्यमा संशोधनवाद र समाजवादी यथार्थवाद, ’मूलबाटो’ २०७८ वैशाख ११ शनिवार)
सारमा, समाजवादी यथार्थवादले साहित्यलाई एक उपकरणको रूपमा हेर्छ । यसले प्रायः पार्टीको मार्गदर्शनमा साम्यवादको अन्तिम लक्ष्यको मान्दछ र वास्तविकतालाई समाजलाई समाजवादी दिशामा रूपान्तरण गर्न प्रयोग गर्दछ ।
मातृका पोखरेलको राजनीतिक एवम् साहित्यिक पहिचान
‘मातृका पोखरेलको जीवनी व्यक्तित्व र कृतित्वको अध्ययन’ शीर्षकमा शोधपत्र (नेपाली शिक्षण विभाग, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, २०६५) तयार गरेका चक्र बुढा थापाले आफ्नो शोधपत्रमा मातृका पोखरेलको राजनीतिक व्यत्तित्वका बारेमा चर्चा गरेका छन् । यिनका अनुसार, निर्मल लामाले नेतृत्व गरेको ने.क.पा. (चौम), प्रचण्डले नेतृत्व गरेको ने.क.पा. (मशाल), रूपलाल विश्वकर्माले नेतृत्व गरेको सर्वहारावादी श्रमिक सङ्गठन, बाबुराम भट्टराईले नेतृत्व गरेको विद्रोही मसाल र रूपचन्द्र बिष्टले नेतृत्व गरेको ने.क.पा. (जनमुखी) मिलेर वि.सं. २०४७ सालमा ने.क.पा. (एकता केन्द्र) को गठन भयो । मातृका पोखरेलले श्याम श्रेष्ठ मार्फत् वि.सं.२०४६ सालमा नै ने.क.पा. (चौम) को तर्फबाट कम्युनिष्ट पार्टीको सदस्यता पाएका थिए । मातृका पोखरेल ने.क.पा.(एकता केन्द्र) लाई वैचारिक समर्थन गर्ने अखिल नेपाल जनवादी युवा लिगको वि.सं. २०४८ देखि वि.सं.२०५२ सालसम्म काठमाडौँ अध्यक्ष वि.सं.२०४९ देखि वि.सं.२०५० सम्म केन्द्रीय सदस्य र वि.सं.२०५१ देखि वि.सं. २०५४ सालसम्म केन्द्रीय कोषाध्यक्षको भूमिका खेले । नेपाली कम्युनिष्ट आन्दोलनमा तीव्र रूपमा देखापरेको फुट र विघटनको स्थितिबाट ने.क.पा. (एकता केन्द्र) पुन प्रभावित हुन पुग्यो । यस चरणमा पोखरेल दीपक शर्मा (प्रकाश) उर्फ नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको ने.क.पा. (एकता केन्द्र) नजिक नै युवा लिगको केन्द्रीय नेतृत्वमा रहे । प्रगतिशील सांस्कृतिक आन्दोलनमा चाँसो राख्ने र साहित्य क्षेत्रमा पनि कलम चलाउने पोखरेल वि.सं. २०५२ देखि वि.सं. २०५४ सालसम्म इन्द्रेणी सांस्कृतिक समाजको केन्द्रीय सदस्य वि.सं.२०५४ देखि वि.सं.२०५८ सम्म केन्द्रीय कोषाध्यक्ष र रक्तिम सांस्कृतिक परिवारसँग एकता गरेर बनेको प्रगतिशील सांस्कृतिक सङ्गठनको केन्द्रीय सदस्य बनेको पाइन्छ । वि.सं. २०५९ सालमा पोखरेलले ने.क.पा. (एकता केन्द्र–मसाल) लाई वैचारिक समर्थन गर्ने प्रगतिशील सांस्कृतिक सङ्गठनको महासचिव पदमा जिम्मेवारी निर्वाह गरे ।
२०८२ साल पुस २५ गते पोखरेलको म पनि निदाउन सकिनँ कथा संग्रह सार्वजनिक भएको हो । यिनको 'सेतो दरबारको छेउबाट' (कविता सङ्ग्रह २०५६), 'यात्राको एउटा दृश्य' (कविता सङ्ग्रह २०६०), 'सन्त्रस्त आँखाहरू' (कथासङ्ग्रह २०६१) र 'अनुहारहरू' (कविता संग्रह २०६४) पहिल्यै प्रकाशित भइसकेका साहित्यिक कृतिहरू हुन् ।
उनी नेपाल प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष पनि हुन् ।
मातृका पोखरेलको निराशाको अर्थ
मातृका पोखरेल नेपाली समाजमा साहित्यिक र राजनीतिक व्यक्तित्व रूपमा देखिन्छन् । साहित्यमा यिनी समाजवादी यथार्थवादको कित्तामा सिर्जनारत् व्यक्ति हुन् । यिनको राजनीतिक व्यक्तित्व चै नेपाली वामपन्थी आन्दोलनसंग गाँसिएको छ । समाजवादी यथार्थवादले कला साहित्यलाई समाजवादी समाजका दिशामा समाजलाई बदल्ने कलात्मक साँस्कृतिक औजारका रुपमा ग्रहण गर्दछ । यसरी हेर्दा पोखरेलको साहित्यकारिता पनि राजनीतिक उद्देश्यसहित देखिन्छ । यसप्रकार यिनको निराशा नेपालको वामपन्थी आन्दोलनसंग सोझै गाँसिएको देखापर्छ ।
मातृका पोखरेल वामपक्षधर बौद्धिकहरूका प्रतिनिधि व्यक्तित्व हुन् । यिनको निराशाले यिनको वर्गको मनस्थितिलाई प्रतिनिधित्व गर्दछ । यिनको कथनबाट नेपाली वामपन्थी आन्दोलनको वर्तमान अवस्थामा नेपाली वामपक्षधर बौद्धिक वर्ग घोर निराशामा रहेको छनक पाइन्छ । एक बौद्धिक व्यक्तिले आफ्नो निराशालाई तार्किक रूपमा बुझ्ने प्रयास पनि गरी राखेको हुन्छ; तर जब उनीहरूले समाधान फेला पार्न सक्दैनन्; निराशा अझ गहिरो हुन पनि सक्छ ।
(लेखक समाजशास्त्री हुन् ।)
प्रतिक्रिया