बुर्किना फासोमा राष्ट्रपति इब्राहिम ट्राओरेविरुद्धको हत्या षड्यन्त्र विफल

पवन कुलकर्णी

बुर्किना फासोका सुरक्षा बलहरूले योजनाबद्ध सैन्य आक्रमणअघि राष्ट्रपति इब्राहिम ट्राओरेको हत्या गर्ने र ड्रोन बेस निष्क्रिय पार्ने षड्यन्त्र विफल पारेका छन्। देशका सुरक्षा मन्त्री महमादु सानाले जनवरी ६ मा यस्तो घोषणा गरेका हुन्। उनले राति ढिलो टेलिभिजन सम्बोधनमा भने- “हाम्रा गुप्तचर सेवाहरूले अन्तिम घडीमा यस अपरेसनलाई रोक्न सफल भए।”  

सुरक्षा निकायले प्राप्त गरेको एक रेकर्डिङअनुसार, जसमा कथित रूपमा षड्यन्त्रकारीहरूले योजनाबारे छलफल गरिरहेको देखिन्छ । यो अपरेसन जनवरी ३ को मध्यरातभन्दा एक घण्टा अघि सुरु गर्ने तयारी थियो। “राष्ट्र प्रमुख तथा फासोका राष्ट्रपति कमरेड क्याप्टेन इब्राहिम ट्राओरेलाई नजिकैबाट गोली हानेर वा उनको निवासमा माइन प्रयोग गरेर खत्तम पार्ने योजना थियो,” सानाले भने। “यससँगै ड्रोन बेसलाई काम नलाग्ने पार्ने प्रयास र बाह्य शक्तिहरूको स्थलगत सैन्य हस्तक्षेप पनि योजनामा थियो।”

दक्षिणी सीमामा रहेका विरोधीहरू

यस कथित सैन्य हस्तक्षेपमा संलग्न देशहरूको नाम उनले खुलाएनन्। तर बुर्किना फासोका उत्तरपूर्वी र उत्तरपश्चिमी छिमेकी नाइजर र माली उसका सहयोगी राष्ट्र हुन्। फ्रान्सद्वारा समर्थन गरिएका शासनहरू हटाएर, फ्रान्सेली सेनालाई देशबाट निकालेका र केही स्रोतहरू राष्ट्रियकरण गरेका लोकप्रिय सैन्य सरकारहरू स्थापना गरेपछि यी तीन देशहरूले साहेल राज्यहरूको गठबन्धन (AES) गठन गरेका हुन्।

बुर्किना फासोका विरोधीहरू दक्षिणतर्फ छन्, जहाँ फ्रान्स समर्थित शासनहरू अझै कायम छन्। विशेष गरी दक्षिणपश्चिमतर्फको आइभोरी कोस्ट (कोट द’आइभोर) लाई सुरक्षा मन्त्री महमादु सानाले यस अपरेसनका लागि १ लाख २५ हजार अमेरिकी डलरको वित्तीय सहयोग गरेको आरोप लगाए। दक्षिणपूर्वतर्फ रहेको बेनिनको भूभागलाई फ्रान्सले बुर्किना फासोलाई अस्थिर पार्न आतङ्ककारीहरूलाई प्रशिक्षण दिन प्रयोग गरिरहेको आरोप पनि बुर्किनाबे सरकारले लगाएको छ, किनकि फ्रान्सलाई यसअघि देशबाट निष्कासित गरिएको थियो।

यसअघि, डिसेम्बर २०२५ को सुरुवातमा, फ्रान्स, नाइजेरिया, आइभोरी कोस्ट, बुर्किना फासोको दक्षिणी छिमेकी घाना तथा सियरा लियोनले देशमा सैन्य हस्तक्षेप गरेका थिए। राष्ट्रपति प्याट्रिस तालोनविरुद्ध कू प्रयास भएपछि, फ्रान्स समर्थित उनलाई सत्तामा टिकाइराख्न उक्त हस्तक्षेप गरिएको थियो।

यी विदेशी सेनामध्ये केही जो बुर्किना फासो र साहेल राज्यहरूको गठबन्धन (AES) प्रति शत्रुतापूर्ण छन् अझै पनि बेनिनमा तैनाथ छन्। बुर्किना फासोको दक्षिणी सीमामा पर्ने पश्चिमतर्फ टोगो अवस्थित छ, जहाँ यस षड्यन्त्रमा सानाले उल्लेख गरेका “मुख्य पात्र” बुर्किना फासोका पूर्व लेफ्टिनेन्ट कर्नेल पॉल–हेन्री डामिबा बसोबास गरिरहेका छन्।

डामिबा को हुन्?

देशबाट फ्रान्सेली सेनाको निष्कासनको माग गर्दै उठेको व्यापक जनप्रदर्शनको लहरमा सवार हुँदै, डामिबाले जनवरी २०२२ मा तत्कालीन राष्ट्रपति रोच काबोरेविरुद्ध कूको नेतृत्व गरेपछि संक्रमणकालीन राष्ट्रपतिको रूपमा सत्ता हात पारेका थिए। काबोरेलाई देशभित्र व्यापक रूपमा फ्रान्सको कठपुतली मानिन्थ्यो।

तर डामिबाले फ्रान्सेली सेनालाई देशबाट निकाल्ने आदेश दिएनन्। काबोरे हटाइसकेपछि पनि फ्रान्सेली उपस्थितिप्रति जनआक्रोश बढ्दै गएपछि, सोही वर्ष सेप्टेम्बरमा अर्को कू भयो। उनका कनिष्ठ अधिकृत क्याप्टेन इब्राहिम ट्राओरेले सत्ता सम्हाल्दै डामिबालाई पदच्युत गरे।

सत्ता सम्हालेको केही महिनामै ट्राओरेले फ्रान्सेली सेनालाई देशबाट निष्कासन गरे, जसका अन्तिम सैनिकहरू फेब्रुअरी २०२३ सम्म फिर्ता भइसकेका थिए। १९८७ मा हत्या गरिएका बुर्किना फासोका क्रान्तिकारी मार्क्सवादी नेता थोमस सङ्काराको जस्तै व्यक्तित्व भएका उनी एक घोषित प्यान-अफ्रिकीवादी ट्राओरे आज अफ्रिकामै होइन, पश्चिममा रहेका युवा अफ्रिकी प्रवासी समुदायबीच पनि सम्भवतः सबैभन्दा लोकप्रिय नेता बनेका छन्।

उता डामिबा भने यसबीच टोगोमा बसोबास गरिरहेका छन्, जहाँबाट उनले ट्राओरेविरुद्ध पटक–पटक कू प्रयासहरूको योजनाबद्ध निर्देशन दिएको आरोप लाग्दै आएको छ। ती सबै प्रयासहरू हालसम्म असफल भएका छन्।

साम्राज्यवादको जन्जिरबाट मुक्तितर्फको अपरिवर्तनीय यात्रामा बुर्किना फासो

जनवरी ३ र ४ को मध्यरातमा सुरक्षा बलहरूको गतिविधि तीव्र भइरहेका बेला, ट्राओरेविरुद्ध सम्भावित कूको चर्चा व्यापक रूपमा फैलियो। सामाजिक सञ्जालमा रहेका विभिन्न समूहहरूले सरकारको रक्षा गर्न नागरिकहरूलाई एकजुट हुन आह्वान गरे। राजधानी औआगाडुगुमा सयौँ मानिसहरू चोक र गल्लीहरुमा उत्रिए । ट्राओरेको समर्थनमा नारा लगाउँदै आफूलाई उनको रक्षा गर्ने ढालका रूपमा घोषणा गरे।

सानाले मंगलबारको आफ्नो प्रसारणमा भने - “नेतृत्वकर्ता, सहकर्मी क्याप्टेन इब्राहिम ट्राओरेको रक्षा गर्न जनताले गरेको यो पछिल्लो एकजुटता, साम्राज्यवादका शृङ्खलाबाट बुर्किना फासोलाई मुक्त गराउनेतर्फको अपरिवर्तनीय यात्रालाई समर्थन गर्ने उनीहरूको दृढ संकल्पको प्रमाण हो

स्थिति नियन्त्रणमा छ” भन्ने आश्वासन दिँदै सानाले जनतालाई “साम्राज्यवादविरुद्धको सङ्घर्षमा रणनीतिक निगरानी अझ सुदृढ बनाउन उच्च सतर्कता अपनाउन” आग्रह पनि गरे।

Source: https://peoplesdispatch.org