​ ट्रम्पको हुङ्कार: “मलाई अन्तर्राष्ट्रिय कानुन चाहिँदैन”

कूटनीतिक समुदायमा हलचल

जनवरी ८, २०२६ मा प्रकाशित द न्यु योर्क टाइम्स सँगको एक विस्तृत र उत्तेजक अन्तर्वार्तामा, राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको लागि कठोर दृष्टिकोण प्रस्तुत गरेका छन् । उनले  आफ्नो कार्यकारी अधिकार  र विशेष गरी 'कमान्डर-इन-चिफ' (प्रमुख सेनापति) को रूपमा अन्तर्राष्ट्रिय आदेशहरू भन्दा पनि व्यक्तिगत दृढ विश्वासद्वारा निर्देशित हुने दावी गरेका छन्। अन्तर्वार्ताका क्रममा  राष्ट्रपति ट्रम्पले "मलाई अन्तर्राष्ट्रिय कानुनको आवश्यकता छैन," भन्दै कूटनीतिक समुदायमा हलचल पैदा गरिदिएका छन् । आफ्नो विश्वव्यापी अधिकारका सीमाहरूको बारेमा सोधिएको प्रश्नमा उनले  भने  कि उनको शक्ति केवल उनको "आफ्नै नैतिकता" र "आफ्नै विवेक" द्वारा मात्र सीमित छ। यद्यपि उनले  पछि आफूले कानुनको "पालना" गर्ने बताए, तर ती कानुनहरूलाई कसरी परिभाषित गर्ने भन्ने कुराको अन्तिम निर्णायक आफैँ हुने स्पष्ट पारे ।

विश्वव्यापी तनावका केन्द्रहरू (ताइवान र रूस) प्रमुख प्रतिद्वन्द्वीहरूको सन्दर्भमा राष्ट्रपतिले "शक्ति मार्फत शान्ति" को छवि प्रस्तुत गरे । ट्रम्पले  ताइवानमाथि चीनद्वारा हुनसक्ने आक्रमणको तत्काल खतरालाई खारेज गर्दै  उनी पदमा रहुञ्जेल सी जिनपिङले टापुमा आक्रमण गर्ने "आँट गर्ने छैनन्" भने। रूस र नेटो  युरोपेली सुरक्षा गठबन्धनको बारेमा बोल्दै ट्रम्पले ‘रूस संयुक्त राज्य अमेरिका बाहेक अन्य कुनै पनि नेटो  सदस्य राष्ट्रहरूसँग "रत्तिभर पनि चिन्तित छैन" भन्ने दावी समेत गरे। उनका  अनुसार मस्कोले सम्मान गर्ने एक मात्र अवरोध अमेरिकी सैन्य शक्ति हो।

क्युबा र इरानको सम्बन्धमा ट्रम्पले क्षेत्रीय र वैचारिक प्रतिद्वन्द्वीहरूप्रति "अधिकतम दबाब" को नीतिको संकेत दिए । क्युबालाई "एउटा त्यान्द्रोमा झुण्डिएको" रूपमा वर्णन गर्दै ट्रम्पले कूटनीतिक र आर्थिक दबाब असफल भएमा, "त्यो टापुमा गएर सबै कुरा उडाइदिनु बाहेक अरू कुनै विकल्प बाँकी छैन।" भन्ने दावी गरे ।  यदि राष्ट्रपतिले इरानको आन्तरिक नागरिक अशान्तिको सन्दर्भमा तेहरानलाई प्रत्यक्ष चेतावनी दिँदै ‘त्यहाँको शासनले प्रदर्शनकारीहरूको हत्या गर्न सुरु गरेमा इरानमाथि "कडा प्रहार" गरिने’ खुलासा गरे। परमाणु सन्धिहरूको सम्बन्धमा अमेरिका र रूसबीचको अन्तिम प्रमुख परमाणु हतियार नियन्त्रण सम्झौता, 'न्यु स्टार्ट' (New START) सन्धिको म्याद समाप्त हुने विषयमा राष्ट्रपति निश्चिन्त देखिए। "यो जसरी पनि समाप्त हुनेछ," भन्दै उनले  परम्परागत हतियार नियन्त्रण ढाँचाबाट पछि हट्ने संकेत दिए। उनले  अब चीन जस्ता अन्य विश्वव्यापी शक्तिहरूलाई समेत समावेश गर्ने नयाँ र अझै परिभाषित हुन बाँकी सम्झौताहरूको पक्षमा रहने संकेत गरे ।