इरानमा विरोध प्रदर्शन हिंसात्मक बन्दै

इरानमा महँगी र मुद्राको कमजोर अवस्थाको विरोधमा सुरु भएका प्रदर्शनहरू बिहीबार पाँचौँ दिनमा प्रवेश गरेको छ। बिहीबार केही स्थानहरूमा हिंसा भड्किएको छ र सुरक्षाबल तथा प्रदर्शनकारीहरूबीच झडप भएको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीहरूसँगको झडपमा एक सुरक्षाकर्मीको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (IRGC) का स्वयंसेवक थिए। आइतबारदेखि सुरु भएका प्रदर्शनपछि अधिकारीहरूले पहिलो पटक कुनै मृत्यु भएको पुष्टि गरेका हुन्।

इरानमा विरोध प्रदर्शन आइतबार तेहरानको ग्रान्ड बजारका व्यापारीहरूबाट सुरु भएको थियो। खुला बजारमा इरानी रियाल अमेरिकी डलरको तुलनामा ऐतिहासिक रूपमा सबैभन्दा कमजोर स्तरमा पुगेपछि यी प्रदर्शनहरू चर्किएका हुन्। तेहरानबाट सुरु भएको आन्दोलन हामेदान, केशम, मलार्ड, इस्फहान र शिराजलगायत अन्य सहरहरूमा पनि फैलिएको छ।

सुरक्षाबलतर्फ पहिलो मृत्यु

इरानी अधिकारीहरूले बिहीबार जानकारी दिएअनुसार खराब आर्थिक अवस्थाका कारण भइरहेका प्रदर्शनका क्रममा देशको पश्चिमी प्रान्तमा इरानको अर्धसैनिक रिभोल्युसनरी गार्डका एक स्वयंसेवक सदस्यको मृत्यु भएको छ। प्रदर्शनका क्रममा सुरक्षाबलतर्फ भएको यो पहिलो मृत्यु हो। बसीज फोर्सका २१ वर्षे स्वयंसेवकको मृत्यु बुधबार राति भएको बताइएको छ।

स्टुडेन्ट न्युज नेटवर्क’ नामक इरानी समाचार एजेन्सीका अनुसार सार्वजनिक शान्ति–सुरक्षा  कायम राख्ने क्रममा IRGC का एक सुरक्षाकर्मी मारिएका हुन्। यसै क्रममा १३ जना बसीज सदस्य तथा प्रहरी अधिकारीहरू घाइते भएका छन्। ती विरोध प्रदर्शन तेहरानबाट करिब ४०० किलोमिटर दक्षिण–पश्चिममा रहेको कौहदश्त सहरमा भएका थिए। स्थानीय अभियोजक काजिम नजारीले २० जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्।

सरकारद्वारा वार्ताको प्रस्ताव

राष्ट्रपति मसूद पेजेशकियनको नेतृत्वमा रहेको इरानी सरकारले प्रदर्शनकारीहरूसँग वार्ता गर्न चाहेको बताएको छ। पेजेशकियनले हाल आफूले धेरै गर्न नसक्ने स्वीकार गरेका छन्, किनभने इरानी रियाल मुद्रा तीव्र रूपमा अवमूल्यन हुँदै गएको छ। हाल एक अमेरिकी डलरको मूल्य १४ लाख इरानी रियाल पुगेको छ, जसका कारण व्यापारीहरू गम्भीर संकटमा परेका छन्।

इरानमा सन् २०२२ का विरोध प्रदर्शनपछि पहिलो पटक यति ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिएका हुन्। सन् २०२२ मा प्रहरी हिरासतमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि देशभर व्यापक प्रदर्शन भएका थिए। यसपटक भने महँगी र कमजोर मुद्रा नै विरोधको मुख्य कारण बनेका छन्। यद्यपि हालका प्रदर्शनहरू अझै देशव्यापी रूपमा फैलिएका छैनन्, तर सरकारले सामना गर्नुपर्ने एक गम्भीर चुनौती अवश्य बनेको छ।

Source: https://navbharattimes.indiatimes.com