‘डिरेल्ड’ राजनीतिलाई राजाले मात्रै ठीक गर्न सक्ने हो ?

मार्क्सेली भाष्यअनुसार राजतन्त्र पुँजीवादभन्दा पनि गएगुज्रेको सामन्तवादी शासन व्यवस्थाको अवशेष हो । तर नेपालको विडम्बना ! वामपन्थी चेतनाको वाहुल्यता भएको देश नेपालमा राजतन्त्रको माग बेलाबखत निक्कै चर्कोसँग गुञ्जने गर्छ । अझ त्यो भन्दा पनि लज्जाजनक विडम्बना त के हो भने, वामपन्थकै चोला ओढेकाहरुबाट समेत राजतन्त्रको पक्षमा घुमाउरो ढङ्गले पक्षपोषण गर्दै बेलाबखतमा आवाज मुखरित हुने गर्छ ।

नेपालको यतिखेरको तीतो राजनीतिक यथार्थता भनेको के हो भने, अग्रगमनकारी, प्रगतिशील भनिने राजनीतिक शक्तिहरु जनताको नजरमा नाङ्गिएका छन् । उनीहरुको जनताको आशा–अपेक्षामा अनुत्तीर्ण भएका छन् । उनीहरु शासनसत्ता सञ्चालनका लागि अयोग्य र पत्रु साबित भएका छन् । २०४६ सालको परिवर्तन यता निरन्तर राजनीतिक सत्तामा चलखेल गर्दै आएका नेपालका प्रमुख भनिएका राजनीतिक दलहरुले जनतालाई उन्नति र प्रगतिको जुन सपनाहरु देखाउँदै आएका छन्, ती सबै फोस्रा साबित भएका छन् । सत्तास्वार्थ र राजनीतिक भागबण्डाको दाउपेचमा लिप्त भएर जनअपेक्षा तथा आफूले नै बाचा कबोल गरेअनुसारका कामकारवाहीहरु गर्नेतिर गम्भीर नब्दा जनतामा राजनीतिक दलहरुप्रति नै मोहभङ्गताको हदसम्म वितृष्णा र निराशा पैदा भएको छ । यो स्थितिमा नेपथ्यबाट परिचालित शक्तिहरुको चलखेल एकातिर तीब्र बनिरहेको छ भने अर्कोतिर आफ्नो गुमेको स्वर्ग फिर्ता गर्न राजतन्त्रवादी शक्तिहरु न्वारानदेखिको बल लगाइरहेका छन् ।

निश्चय पनि राजनीतिक दलहरु यतिखेर जनताको परीक्षामा अनुत्तीर्ण भएका छन् । उनीहरुले जनतामा आशावादिता हैन, चरम निराशा पैदा गराएका छन् । तर यसको अर्थ यो कदापि होइन कि अहिलेको शासन व्यवस्थाको विकल्प राजतन्त्र वा नेपथ्यबाट नियन्त्रण र परिचालित हुने शक्तिहरुको शासन व्यवस्था नै हो । अहिलेको खाँचो भनेको बारम्बार शासन गर्ने अवसर पाउँदा पनि निकम्मा साबित भएकाहरुलाई शासनसत्ताको सिंहासनमा फेरि विराजमान हुनबाट बञ्चित गर्ने हो । बदलामा असल, इमान्दार र जनताप्रति प्रतिबद्ध भएका राजनीतिकर्मीहरुलाई शासनसत्तामा आउने अवसर र परिस्थितिको निर्माण गर्ने हो । गरिनुपर्ने शासन व्यवस्थामा पलाएका ऐंजेरु शासकहरुलाई उखेलेर फ्याँक्ने हो, वर्तमान शासन व्यवस्थाभन्दा पनि पश्चगमनतिर लैजाने विकल्प खोज्ने र सोच्ने अवश्य पनि होइन ।

नेपालका वामपन्थमा महेन्द्रीय राष्ट्रवादको जब्बर असर र प्रभाव देखिन्छ । त्यसबेलाको जटील भूराजनीतिक अवस्थामा महेन्द्रको कुटनीतिले निश्चय पनि केही सकारात्मक भूमिकाहरु खेलेका छन् । तिनलाई सकारात्मक रुपमा लिने र सिक्ने कुरा एउटा पक्ष हो । तर हरहमेशा महेन्द्रीय राष्ट्रवादको अनुकरण र अनुशरणबाट मात्र मुलुकको रक्षा हुने, समस्याहरुबाट निकास पाइने सोच पछौटै सोच हो । त्यही पछौटे सोचको प्रतिविम्बन राजतन्त्रलाई अझै नेपालमा जब्बर शक्तिको रुपमा देख्ने र तिनको उदयको सम्भावनालाई मुखर गर्ने वाणीहरुमा देखापर्छ ।

हालसालै मात्र पूर्व राष्ट्रपति विद्या भण्डारीले पूर्व राजा ज्ञानेन्द्रको प्रशंसामा शब्दहरु खर्च गर्दै दलहरुको खराब क्रियाकलापका कारण राजतन्त्र फेरि शासनसत्तामा फर्कन सक्ने विचार व्यक्त गरिन् । व्यक्तिका रुपमा भण्डारीको विचार राख्ने स्वतन्त्रताको सम्मान गरिनु पर्छ । तर भण्डारी एक व्यक्ति मात्र होइनन्, उनी गणतान्त्रिक नेपालका दोस्रो तथा पहिलो महिला राष्ट्रपति पनि हुन्, जसले दुइ कार्यकाल उक्त पदमा विराजमान हुने अवसर प्राप्त गरिन् । त्यसबाहेक उनी गणतन्त्रवादी विचार बोक्ने नेता पनि हुन् । उनको विचार र भनाइका अन्तर्य जे भए पनि त्यसले जनतामा अहिलेको शासन व्यवस्था सच्चिनै नसक्ने गरी पत्रु भइसकेको तथा विकल्पमा सही शासन व्यवस्था राजतन्त्र नै हो वा हुन सक्छ भन्ने नकारात्मक सन्देश जान सक्छ । यस कुरा भण्डारीमा देशको दीर्घकालीन हित हैन, तात्कालिक हिसाबले मात्रै सोच्ने चिन्तन हावी भएको प्रष्टै देखिन्छ ।

राजतन्त्रको बारे यस किसिमको धारणा राख्ने भण्डारी मात्रै एक्लो नेता हैनन् । यदाकदा कट्टर गणतन्त्रवादी भनिएका वामपन्थी नेताहरुबाटै पनि राजतन्त्रको पक्षमा नरम अभिव्यक्तिहरु आउने गरेको पाइन्छ ।  वास्तवमा वामपन्थी राजनीतिमा लागेकाहरुले बुझ्नुपर्ने तर बुझ्न नचाहिरहेको वा बुझेर पनि बुझ पचाइरहेको कुरा के हो भने, नीति–सिद्धान्तबाट पथविचलित भएर, व्यक्तिगत अहंकार र तुष्टिकरणमा लगेका कारण शासनसत्ताको सही सञ्चालन गर्न नसक्दा ‘डिरेल्ड’ भएको वर्तमान राजनीतिलाई इतिहासको रछ्यानमा जनबलले मिल्क्याइएका राजा वा लोकप्रियतावादको घोडा चढेर आएका नीति–सिद्धान्तविहीनहरुले ठीक पार्ने कुरा घोर पश्चगामी चिन्तनको द्योतक हो । वास्तवमा, त्यसलाई ठीक पार्ने एक मात्र उपाय र तरिका भनेको फेरि पनि सही राजनीतिक नेतृत्व र सिद्धान्तको प्रयोगले नै हो । विडम्बनाको कुरा, यतिखेरको नेपालको राजनीतिमा त्यही कुराको सबैभन्दा ठूलो खडेरी छ ।